February 26, 2021, Friday

कोरोना संक्रमित आयल निगमका कर्मचारीलाई हौसला दिँदै कार्यकारी निर्देशक

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पाैडेल

नयाँ विकल्प
काठमाडौं ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कोरोना भाइरस संक्रमण भएर आइसोलेसनमा रहेका निगमका कर्मचारीसँग भेटघाट गरी उनीहरुको स्वास्थ्य स्थितिको जानकारी लिएर हौसला दिएका छन् ।

निगमका भलवारी डिपो कर्मचारीले पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था मिलाउने क्रममा कार्यक्षेत्रमा खटिदा ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हाल होटल, घर र स्थानीय तहले निर्माण गरेको आइसोलेसनमा बसिरहेका ति कर्मचारीलाई निगमले सबै किसिमको सहयोग गर्ने निगमका कार्यकारी निर्देशक पौडेलले बताए ।

संक्रमित कर्मचारीको कोरोना बीमा दाबीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पौडेलले निर्देशन दिइ सकेका छन् । कर्मचारीमा संक्रमण पुष्टि भएपछि पाँच दिन बन्द रहेका भलवारी डिपो र भैरहवास्थित खुद्रा बिक्री केन्द्र तोकिएका पेट्रोल पम्प संचालनमा ल्याइएको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर डिपो र पेट्रोल पम्प संचालनमा ल्याउन कार्यकारी निर्देशक पौडेलले निर्देशन दिएका थिए । निगमको भलवारी डिपोमा निर्माणधिन अवस्थामा रहेको भौतिक पूर्वाधारको उनले निरीक्षण गरेका छन् ।

पौडेलले पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसियसन र पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघसँग छुट्टाछुट्टै बैठक बसेर संक्रमणको अवस्थामा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि के कस्ता प्रक्रिया, कदम चाल्नु पर्ने लगायत विषयमा छलफल गरेका थिए ।

निगमको भलवारी डिपोले रुपन्देही, नवलपरासी, स्याङ्जा, बाग्लुङ, पाल्पा, कपिलवस्तु, गुल्मी, अर्घाखाँची जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।

लकडाउनका कारण विगतभन्दा पेट्रोलियम पदार्थको माग घटेपनि दैनिक १० ट्यांकर पेट्रोल र २५ ट्यांकर डिजेल बिक्री हुने गरेको निगमको भलवारी डिपोले जनाएको छ ।

भर्खरै

TOP