March 9, 2021, Tuesday

हे नवदुर्गा देवी, संसारबाट कोरोनाको कहर हटाउने आशीर्वाद देऊ

१. मैले यी हरफहरु कोर्न थाल्दा यसपटकको दसैँ सुरु भएको छ । २०७७सालको दसैँ कात्तिक १गतेबाट सुरु भएको हो र कात्तिक १०गते विजया दशमीको टीका लगाउने साइत छ भनिएको छ ।
२.यसपटक अधिकमास असोज महिनाको पहिलो दिनबाट सुरु भएकाले दसैँ पर्व एक महिना पर धकलिएको हो ।

नेपालमा दसैँ लामो पर्व हो । हुन त यो पर्व यसो हेर्दा हिन्दू धर्मावलम्बी , त्यो पनि पहाडमा बस्नेहरुको मात्र हो जस्तो लाग्छ तर दसैँ अहिले सम्पूर्ण नेपालीको साझा चाडको रुपमा विश्वभर छरिएर बसेका नेपालीहरुले मनाउन थालेका छन् । एकप्रकारले दसैँ नेपालीको परिचयसँगै जोडिन थालेको छ ।

३. दसैँ धार्मिक चाड भन्दा साँस्कृतिक परम्पराको रुपमा नेपालीहरुले धानेका छन् । कुरो त नवदुर्गाको पूजा आराधना हो ।

शिव र शक्तिमध्ये, प्रकृति र पुरुषमध्ये शक्ति र प्रकृतिकी विम्वको रुपमा मानिने मातृशक्तिको पूजा नै यस चाड वा पर्वको विशेषता हो । त्यसैले दसैँ अहिले हिन्दू, बौद्ध , किराँतहरुको साझा पर्व बनेको छ ।

नेपालका इस्लामहरुले पनि धार्मिक सहिष्णुताका लागि दसैँमा सबैसँग मिलेर दसैँ मनाउन थालेका छन् जसरी कि हिन्दूहरु पनि ईद मनाउँछन् । नेपाली इसाइहरु त झन नेपाली परिवारकै बढी हुनाले उनीहरुको नाम र थरले पनि गैर नेपाली देखाउँदैन र परम्परागत मनाउने दसैँलाई धार्मिक चाडभन्दा पनि खानपिनको चाडको रुपमा मनाउँदै आएका पाइन्छन् ।

अर्थात् दसैँ सम्पूर्ण नेपालीहरुको एउटा साझा चाडको रुपमा मानिएको छ । यसमा लामो विदा पनि दिइन्छ जसमा धार्मिकरुपले विदा लिने र दिनेमा कुनै विभेद गरिँदैन ।

४. प्रत्येक अढाइ वर्षमा तिथिहरुका थपघटका आधारमा अधिकमासको परिकल्पना गरिएको छ ज्योतिष शास्त्रमा । नेपालमा दुवै तिथिहरुलाई सँगै मानिन्छ । हाम्रो देशमा सौर्य मास र चान्द्र मास दुवैलाई दैनिकीमा समानान्तररुपमा प्रयोग गरिएको पाइन्छ ।

अधिक मास , जसलाई पुरुषोत्तम मास पनि भन्दछन् र जन जिब्रोमा मलमास पनि भन्दछन् । अढाइ वर्षभरिका विभिन्न तिथिहरुको गणनापछि मिलान गर्न अधिकमासको व्यवहारमा ल्याइएको छ । त्यसैले पनि होला, सामान्यतया शरद ऋतुको सुरुमै आउने दसैँ यसपटक ढिलो सुरु भएको छ । प्रत्येक तीन वर्षमा यस्तै हुन्छ ।

५. कारोना कहरसँग दसैँ आएको छ । लामो अवधिसम्म कोरोनाको कहर रहला भन्ने सोचिएकै थिएन । हुन त प्लेगले पनि ३वर्षसम्म कहर कटाएको इतिहासमा पाइन्छ र करोडौँ मानिसहरु त्यो रोगले मारिएको बुझ्न सकिन्छ । त्यो बेलामा पनि फेस मास्क लगाउन अनिवार्य गरिएको र नलगाउनेलाई जेलमा समेत पठाउने कडा कानुन रहेको बुझिन्छ ।

६. एकातिर परिवारका सदस्यहरु जम्मा भएर र अरु परिवारसँग पनि भेटेर आपसी सम्बन्ध सुधार्ने दसैँको विशेषता हो भने यसपटकको चाडको कुरा अरुसँग भेटघाट नगर्ने गरी दूरी कायम गर्ने रहेको छ । बाँचौँ र बचाऔँको सिद्धान्तले भन्छ—रोग सर्ने वा सार्ने गरी कुनै त्यस्तो व्यवहार नअपनाऔँ ।

७. नोबेल कोरोनाको कुनै ओखती छैन । मात्र के थाहा छ भने त्यो विषाणुबाट सर्छ । विषाणु देखिँदैन । कसलाई भएको छ भनेर थाहा पनि हुँदैन । रोगको लक्षण पनि विभिन्न स्वरुपमा देखिएको छ ।

यतिमात्र थाहा छ, रोग लाग्दैमा सबै नमर्न पनि सक्छन् अनि रोगले सबै बाँच्छन् भन्ने पनि छैन । सतर्कताले पनि रोग सर्न छोडेको छैन र सरेको रोगमो कारण पनि खासै थाहा हुन सकेको छैन । र पनि कोरोन कहरलाई कोभिड—१९ नाम दिइएको छ र अहिले पनि संसारमा फैलिरहेको छ । नेपालमा पनि फैलिने क्रम झन तीब्र गतिमा छ ।

८. मैले यो समीक्षा लेखिरहेको बेलामा युरोपमा कारोना महामारी दोहोरिएर सुरु भएको छ र भयावह स्वरुपमा देखिन थालेको छ । फ्रान्समा लकडाउन , कर्फ्यु लगाइँदैछ धेरै सहरमा । अमेरिका आक्रान्त छ, भारतमा अनियन्त्रणमा छ, ब्राजिल, मेक्सिको जस्ता देशहरुमा कसरी नियन्त्रणमा ल्याउने भन्ने ठुलो समस्या देखिएको छ ।

९. नेपालमा धेरै भनियो, केही भएन । अब अस्पतालमा बेड छैन, आइ सि यु को व्यवस्था हुन नसक्ने अवस्था छ , भेन्टिलेटरको झन कुरै भएन । श्वास प्रश्वासमा देखिने असहजताका लागि अक्सिजनको मात्रा बेलैमा दिन सक्ने अवस्था सरकारसँग देखिएन ।

यसमा जनताको के भूमिका हुने भयो र ? सबै कुराको जिम्मा दिएको सरकार बेसार पानी खाएर बिसेक हुन्छ भनेर बसेकोले आजको यो भयावह स्थिति आएको हो भनेर भन्दा कुनै गल्ती हुँदैन ।

१०. जनताको बाँच्न पाउने हक पूरा गरिदिन अरु कसलाई गुहार्ने र ? निर्लज्ज तरिकाले अब आफ्नो नियन्त्रणभन्दा बाहिर गएको कुरा सरकारका प्रवक्ता भन्न थालेका छन् । हाम्रो प्रश्न एउटै मात्र हो , चार चार महिना लकडाउन गरेर सम्पूर्ण मुलुकलाई ठप्प पार्दा किन तयारी गरिएन ? तीन करोड मानिसहरु बस्छन् ।

नेपाल बाहिर गएका करिब ५०लाख पनि आउन सक्नेछन् भनेर अनुमान लगाउन स्वतन्त्र प्रेसले भन्दा प्रेसमाथि अंकुश लगाउने काम हुन लागेको थियो तर नागरिक समाज र प्रेसले विरोध गरेपछि धन्न स्वास्थ्य समस्याको भ्रष्टाचार र अक्षमता बाहिर आउन सकेको हो ।

११. आखिर कोभिड १९ले जति गाँजे पनि जीवन त बचाउनै पर्छ । फेरि पनि जीवन त चाहिन्छ । रोगसँग कसरी लड्ने भन्ने बानी जति परे पनि जब गाँज्छ, स्वास्थ सेवाको न्यूनतम आवश्यकता पर्छ । यही बेलामा धेरै कुरामा व्यवस्थापन हुन सके पनि मानवीय समस्याको वारेमा अझै संवेदनशीलता देखिन सकेको छैन ।

१२. अहिले सबैतिर यसरी कोरोना कहर फैलिएको छ कि जसलाई देख्दा पनि संक्रमित जस्तो लाग्छ र आफू पनि संक्रमित भइसकिएको हो कि भन्ने डर लाग्न थालेको छ । यही मौकामा नेपालीहरुको मौलिक चाड दसैँ पनि घरमा प्रवेश गरेको छ ।

१३. र अन्त्यमा, दसैँ सादगीपूर्ण तरिकाले मनाऔँ । भीडभाड गरेर मनाउन त अर्को साल पनि त छ बाँँच्दाखेरि । ज्येष्ठ नागरिकहरुको ख्याल गरौँ । सबै सतर्कता अपनाआँै ।

खानपिन गरौँ, टीकाटालो लगाऔँ र दसैँ मनाऔँ र दुर्गा मातासँग यही आशीर्वाद मागौँ —हे दुर्गा माता, तिम्रा यी संसारका सबै सृष्टिमा यो रोगबाट मुक्ति दिलाऊ र एउटा स्वस्थ संसारमो निर्माणका लागि हामी सबैलाई जागरुक हुने आशीर्वाद देऊ ।

त्यस्तो शक्ति हामीलाई देऊ जसले यो कोरोनासँग लड्ने क्षमता हामीमा आओस् ।संसारको जुनसुकै कुनामा रहेका नेपालीहरु हुन् या मानव जाति जोसुकै हुन् सबैको कल्याणका लागि आशीर्वाद देऊ दुर्गामाता ।

या देवी सर्वभूतेषु शक्तिरुपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।

सम्बन्धित समाचार

बैशाख महिनाबाट हुलास आइरन इण्डष्ट्रिज सञ्चालन हुँदै
बैशाख महिनाबाट हुलास आइरन इण्डष्ट्रिज सञ्चालन हुँदै
  • २०७७ कार्तिक ४, ११: ३४: ०५

नयाँ विकल्पवाग्मती–पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको...

लक्ष्यभन्दा अगाडि नै छात्रावास भवन निर्माण सम्पन्न
लक्ष्यभन्दा अगाडि नै छात्रावास भवन निर्माण सम्पन्न
  • २०७७ कार्तिक ४, ११: ३४: ०५

नयाँ विकल्पम्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना...

रुख ढलेर नहर भत्किँदा विद्युत् अवरुद्ध
रुख ढलेर नहर भत्किँदा विद्युत् अवरुद्ध
  • २०७७ कार्तिक ४, ११: ३४: ०५

नयाँ विकल्पसिमकोट–हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत्...

भर्खरै

TOP