November 30, 2020, Monday

याे सरकारबाट जनताले आशा गर्नु भनेकाे तितेपाती राेपेर अंगुर खाेज्नु जस्तै हाेः खतिवडा

नयाँ विकल्प

काठमाडाैं- दुर्गम पहाडी जिल्ला ओखलढुंगामा जन्मिएका रामहरि खतिवडा नेपाली कांग्रेसका उदीयमान युवा नेता हुन् । विद्यार्थी राजनीतिबाट करियर बनाएका खतिवडासँग अहिलेको समसायिक विषयमा केन्द्रित रहेर नयाँ विकल्पका लागि कालिका महतले गरेको कुराकानीको संपादित अंश ।

यसपालिको दशैं कस्ताे रह्यो, कहाँ मनाउनुभयो ?

यसपालिको  दशैं सदजस्तै स–परिवार ओखलढुंगास्थित घरमै जम्मा भएर मनायौं । कोरोनाको कहरले अलिकति फरक जस्तो देखियो । पहिलादेखि नै हामीहरु सतर्क रुपमै बसेका थियौं । काठमाडौंबाट घर आउनेहरु सबैले पीसीआर टेष्ट गरेर आएका थियौं । अहिलेसम्म हाम्रो घरपरिवार लगायत छरछिमेकमा पनि ठिकै छ । सबै परिवारले आमा, बुबासँग आशिर्वाद लियौं । समग्रमा दशैं ठिकै रह्यो ।

जिल्लाका नेता, कार्यकर्ताहरुसँग पनि भेटघाट गर्नुभयो होला नि ?

दशैं घरमै मनाएपनि अस्टमी र टिकाको दिन मात्रै घरमा बसियो । अरु दिन साथीभाइहरुसँग भेटघाट गर्ने कार्यमै व्यस्त रहेँ । त्यसमा कसैसँग राजनीतिक संवाद, कसैसँग यो कोरोनाको कहरबाट कसरी बच्ने । त्यसका लागि उपायहरु के के छन् भनेर कतै माक्स, भलिबल, कतै फुटबल साथीभाइहरुलाई वितरण गरेँ ।

त्यसको अलावा हामीले काठमाडौंबाट स्थानीय ओखलढुंगामा रोप्नका लागि अलिकता गुर्जो ल्याएका थियौं । त्यसले मानिसमा एकदमै इमिनिटी पावर बढाउँछ भनेर वितरणका लागि गाउँपालिकाका अध्यक्षसहितलाई लिएर गाउँगाउँ गयौं । गाउँपालिका अध्यक्षसहित कहाँ कहाँ वितरण गर्ने भनेर छलफल गर्यौं ।

त्यसपछि हामी उँबु, वाक्सा, केतुके, हिलेपानी, टोक्सेल जस्ता ठाउँहरुमा गयाैं । अर्को पटक कटुञ्जे, रामपुर, हर्कपुरलगायतका ठाउँहरुमा पुगियो । त्यसपछि जेलमा बसेका कैदी, थुनुवाहरुलाई भेट्न गइयो । उनीहरुलाई खानेपानीको धेरै अभाव रहेछ । त्यो देखेपछि त्यहाँ सिडिअाेलाई राखेर छलफल गरियाे ।

२५, ३० जना अट्ने ठाउँमा ७५ जनासम्म कोचेर राखिएको रहेछ । ६ महिना कैद हुने मुद्दामा पनि डेढ वर्षदेखि थुनुवाहरु थुनिएर बसिराखेका रहेछन् । उनीहरुको न्याय सम्पादन ढिला भएकाले त्यसै थुनिएर बसेको देखेँ । खानेपानी ट्यांकीको व्यवस्था गरिदिएँ ।

जेलमा फलफूल लगेर बाँडे । अरुले जेलका मान्छेलाई भेट्न जाँदा टोपी उपहार दिने गरेका रहेछन् । मैले चाहीं टोपी नदिएर त्यसको मूल्य बराबरको नगद उपहार दिएँ । कसैले मासु खानलाई खसी उपहार दिएर गएछन् ।

एक दिनको लागि खसी उपहार दिएर के गर्नु अघिपछि पानी खाननपाएर मान्छेहरु मरेका छन् । जेलमा बसेका मान्छेलाई समाचार सुन्ने माध्येमको अभाव रहेछ । नेपाली कांग्रेस ओखलढुंगाका सचिव रुद्र अधिकारीले उनीहरुलाई समाचार सुन्न र मनोरञ्जन प्रदान गर्न एउटा टेलिभिजन उपलब्ध गराउनुभयो । त्यसलाई मसहित गएर हस्तान्तरण गरेर आयाैं ।

उँबुमा राई गाउँ छ, उनीहरु सेतो टिका लगाउँछन् । मलाई पनि एकजना बूढी आमाले टिका लगाइ दिनुभयो । साथीहरुले पनि लगाए, त्यसरी सामुहिक रुपमा टिका लगाउने र भेटभाट गर्ने कार्यक्रम पनि रह्यो । यसरी यसपालिको दशैं मैले व्यक्तिगत र राजनीतिक भेटघाट अनि आफूभन्दा ठूलासँग आशिर्वाद लिएर मनाएँ ।

तपाईंले गुर्जाे लिएर जानुभयो, त्यसले कोरोना लाग्नबाट जोगाउँछ ?

यसले मानिसमा राेग प्रतिराेधात्मक क्षमता बढाउँदो रहेछ । प्रेसर अलिकति लो गर्दोरहेछ । त्यसकोसँगसँगै रुगाखोकीलाई एकदमै ठीक बनाउँदोरहेछ । प्रधानन्त्रीले यसको औषधि बेसार भन्नुभयो । मैले प्रधानमन्त्रीजस्तो ज्ञाता भएर भन्न खोजेको होइन । यसले चाहीं प्रेसर कम गर्ने, इमिनिटी पावर बढाउने, रुगाखोकीलाई छिटो निको बनाउने काम गर्ने रहेछ ।

जनचाहना अनुसार सरकारले काम गर्न सकेन, कांग्रेसले पनि दरिलो प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भन्ने गुनासो छ नि ?

केन्द्रमा प्रतिपक्षले जसरी भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसमा कमी भएको आमजनताले महसुस गरिरहेका छन् । यो सरकार खाली आफ्ना कार्यकर्ता पालनपोषणमा व्यस्त छ । जनताको काम पटक्कै गरेको छैन ।

स्वास्थ्योपचार नभएर जनता त्यसै मर्न वाध्य छन् । त्यतिमात्र होइन अहिले गाउँगाउँमा भ्रष्टाचारको जालो फिजिइसकेको छ । सांसदहरुले केही आफ्ना कार्यकर्ताबाहेक कसैका काम गरेका छैनन् । कमिसन नखाइ सर्वसाधारणको केही काम हुँदैन ।

त्यो चाहे सांसद् कोषबाट होस्, अन्य विकास निर्माणको बजेटबाट होस् जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् । सरकार औषधिमा कमिसन खाइरहेको छ । जनताकाबीचमा कुनै पनि राहतका प्याकेजहरु पुग्न सकेको छैन ।

जनता एकदमै आहतमा छन् । सरकारको भर पर्नु भनेको मर्नुको विकल्प छैन भन्ने भइसकेको छ । मानिसहरु उपचार नपाएर मरिरहेका छन् त्यसमा सरकारको कुनै पनि ध्यान गएको छैन । प्रतिपक्ष दलका सांसद र नेताहरु पनि आफ्ना महाधिवेशनको लागि उम्मेदवारी घोषणा गर्नमै व्यस्त छन् । जनताका आवाजहरु मुखरित गर्नतिर पटक्कै ध्यान छैन ।

त्यो आमनागरिकहरुले भन्न थालेका छन्  । तथापि हामीहरुले आफ्ना गाउँ, क्षेत्र र जिल्लाका सबै ठाउँमा पुगेर सकेको सहयोगहरु गरेका छाैं। म अझै २, ३ दिन ओखलढुंगामै बस्छु । योबीचमा अझै भेटघाट गर्न बाँकी छन् ती ठाउँहरुमा पुगेर सुखदुःख हेरविचार गरेर काठमाडौं आउँछु ।

सरकारको लापरवाहीका कारण काठमाडौं कोरोना कहरले आक्रन्त छ, गाउँमा कत्तिको प्रभाव देख्नुभयो ?

मेरो छिमेकी जिल्लाको हलेसी महादेवसम्मको भाग त्यहाँका प्रमुख जिल्ला अधिकारीदेखि सबै सरोकारवालाको रोहवरमा सिल गरिएको अवस्था छ । तर, ओखलढुंगामा भने अहिलेसम्म कममात्रामा देखिएको छ ।

केही दिन पहिला त ओखलढुंगा जिल्ला कोरोना मुक्त भनेर घोषणा भएको थियो । तर, दशैंको बेला धेरै साथीहरु बाहिरबाट आउनुभएको छ । कत्तिको परीक्षण भएको छैन । कति घरमै बिरामी हुनुहुन्छ होला । त्यसैले यसको प्रभाव पर्न सक्छ । तर, सतर्क रहनुपर्छ । जुन स्वास्थ्य मापदण्डका कुराहरु छन्, त्यसलाई पालना गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

काठमाडौंमा कोरोनाको भयावह अवस्था भएपछि सरकारले हात झिकेर प्राइभेटलाई जिम्मा लगाउने, उपचार नगर्ने गरीरहेको यसलाई नेपाली कांग्रेसले कसरी लिएको छ ?

जनताको सरकारसँग त कुनै अपेक्षा नै छैन । सरकार त केही मान्छेको स्वार्थमा कसलाई मन्त्री बनाउने, कसलाई राजदूत बनाउने कसलाई नियुक्ति  लाभदायी ठाउँमा नियुक्ति गर्ने, कसलाई बढुवा गर्नेतिरै केन्द्रित छ ।

प्रचण्डलाई आफ्ना सन्तान र ओरपरकालाई गर्नुपर्ने छ । ओलीलाई त्यही छ, आफ्ना नाता र दातालाई ठाउँमा पु¥याउनुपर्ने छ । कसले कमिसन दिन्छ, कसले चन्दा दिन्छ त्यसैलाई हेर्दै ठीक छ । माधव नेपाल त्यसैगरी दुई-चारजना कार्यकर्तालाई च्याखे थापेर हिंडिरहेका छन् । सरकारमा बस्नेहरु सबैभन्दा बढी मजदूर किसानका कुरा गर्दछन् ।

अहिलेजति मज्दूर किसानले दुःख पाएका कहिल्यै छैन । रोजगारीका अवसरहरु धमाधम गुमेका छन् । किसानहरुले मल, बीऊ पाएका छैनन् । मन्त्रीहरु ब्रम्हा र विष्णुका नाम लिएर बसेका छन् । विदेशबाट आउने हाम्रा श्रमिकहरुलाई लिन प्लेन जान्छ र रित्तै फर्किन्छ । रक्षा मन्त्रालयको जिम्मा पाएका मन्त्री आफ्ना सन्तानको मात्रै रक्षा गर्न केन्द्रित छन् ।

आज राष्ट्रियता कमजोर बनाउने बारेमा विदेशी खुपियाका प्रमुखसँग रातारात छलफल, कुराकानी गर्दछन् । तर, राष्ट्रियताका बारेमा ध्यान दिएका छैनन् । यो दुई तिहाईको सरकार आफ्ना कार्यकर्ताको भरणपोषणमा मात्रै केन्द्रित भयो, जनताको समस्याप्रति पटक्कै ध्यान दिएन ।

त्यसोभए यो सरकारले आफ्ना कार्यकर्ताबाहेक जनताको काम गरेको छैन हो ?

केही दलाल, पुँजीवाद, विचौलिया, पुँजीपतिहरु, शामन्तीहरु, यति, ओम्नीहरु, सुनतस्करहरु, केही हतियारका व्यापारीहरु, बूढी गण्डकी र गेजुवाका एजेन्टहरुको मात्रै सरकार बनेको छ । नेपाली जनताको पक्षमा बनेको छैन ।

त्यसोभए यो सरकार मजदूर, किसानलगायत आमजनताको होइन ?

यो सरकार गेजुवा, यति, ओम्नी, बूढीगण्डकीका एजेन्डहरुको संरक्षण गर्न मात्र सरकार लागेको छ । गरीव, किसान, मजदूर, पिछडा वर्ग, अल्पसंख्यक, दलित, मुस्लिम, मधेसी, कर्मचारी, चिकित्सक, उद्योगी, व्यापारी कसैको पनि यो सरकार होइन । आमनागरिकको चाहना अनुसार सरकारले काम गरेको छैन । गर्ने चासो पनि देखाएको छैन ।

विदेशबाट धेरै युवाहरु बेरोजगार भएर फर्किएका छन् तिनलाई स्वरोजगार बनाउन के गर्न सकिन्छ ?

यसको लागि अन्तर्राष्ट्रिय प्रचलन पनि हेर्नुपर्छ । त्यहाँ के भएको छ भने उनीहरुले आफ्ना देशमा भएका उद्योगी, व्यवसायी पुँजीपति सबै एकठाउँमा बोलाएर छलफल गरे । त्यसमा उनीहरुले कोरोना कहरसँगै देशका उद्योगी व्यवसायीबाट रोजगारी गुम्न नदिनको लागि पहल गरे । तर, हाम्रो सरकार भने सबै उद्योग व्यवसाय र रोजगारी गुम्दा पनि चुपचापसाथ बस्यो । जसको कारणले भएका उद्योग, धन्दाहरु पनि बन्द भए ।

रोजगारीहरु सबै गुम्यो । जनताहरु खाननपाउने अवस्थामा पुगिसके । नयाँ उद्योगधन्दाहरु खुलेका छैनन् । नेपाली जनतालाई राहतको अनुभूति दिलाउन सकेको छैन । यस्तो बेलामा पनि सरकार आफ्ना आसेपासे र भरौटेलाई मात्रै पाल्न तयार भयो । अर्को वर्षदेखि विदेशबाट आउने रेमिट्यान्स पनि बन्द हुँदैछ ।

किन भने नयाँ मान्छेहरु जान छोडे । पुराना मान्छेहरु धमाधम फकिईरहेका छन् । हिजो पो विभिन्नहरुले जस्तै जापान, चीन, भारतलगायत अन्य रोपियन मुलुकहरुले सहयोग गर्दथ्यो । अहिले त उनीहरुकै हालत खराब भइसकेको छ । उनीहरुको आर्थिक वृद्धिदर कम भइसकेको छ । उत्पादन पनि घटेको छ ।

नेपाल कुनै वस्तुमा आत्मनिभर छैन । हामी कृषि र ऊर्जामा मात्रै आत्मनिर्भर हुने हो भने पनि धेरै राहत हुन्छ । तर, त्यसमा पनि सरकारको ध्यान गएको छैन । विदेशबाट केही कमाएर आइका साथीहरु पनि दुई दशैं मनाउन रमाइलो गर्ने, घरमा खसी काटेर खाने गरेका छन् । भोलिदेखि के गर्ने के खाने भन्ने चिन्ता हुनथाल्छ । त्यसमा सरकारलाई चिन्ता छ । भएको ढिकुटी आफ्ना नातागोता र कार्यकर्ता पोस्दै सकिदैछ ।

अब रोजगारीको सम्भावना कृषि क्षेत्रमा देख्नुहुन्छ हो ?

अहिलेसम्म पनि ८० प्रतिशतभन्दा बढी कृषिमै निर्भर छौं भन्ने तर धान, कोदो, मकै, फापर, गहुँ, तरकार, अदुवादेखि लसुन, प्याज सम्पूर्ण चिज बाहिरबाट आयत गरिरहेका छौं । यसमा ६०, ७० अर्बको चामल, ३०, ३५ अर्बको दाल हामी बाहिरबाटै ल्याउँछौं । यसरी आवश्यक खाद्यन्नहरु सबै बाहिरबाट ल्याउने हाम्रा भएका खेतबारीहरु सबै बाँझै राख्ने ।

कृषि क्षेत्रको आम्दानी बढाउनको लागि माटो परीक्षण गरेर ठाउँअनुसारको खेती लगाउने हो भने राम्रो आम्दानी गर्न सकिन्छ । कृषि क्षेत्र ठप्प हुँदा किसानहरु बेरोगार भए, देशमा खाद्यन्न अभाव हुँदै गयो । सरकारको आँखा यसमा गएन ।

कृषि उद्योममा सरकारबिना हामीहरुले मात्रै पहल गरेर हुँदैन । यहाँ न अध्ययन भएकालाई ठाउँ दिइयो । न उनीहरुले अध्ययन गरे । जनताको अगाडि चटक देखाएर अयोग्य मान्छेले हिजो चुनाव जितेका छन् । उनीहरु सत्तामा रहुन्जेल चटक देखाउने हुन् त्यसपछि केही गर्न सक्दैनन् यी चटकेहरुले ।

अहिले सरकारमा रहनेहरु अयोग्य हुन् ?

यी सबै चुनावको बेलामा नाटक गर्ने र जनताको भोट सोहोर्ने चटकेहरु हुन् । अहिले सदन नचलेको १० महिना भइसकेको छ । अहिलेपनि सद्नमा जानको लागि भनेर यातायात खर्च लिइरहेका हुन्छन् । भर्चुअल मिटिङको पनि भत्ता लिइरहेका छन् । घरमा र मन्त्री क्वाटरमा बसेर घर भाडा लिन्छन्, त्यस्ता मन्त्रीहरु छन् ।

अर्काको मोटरसाइकिलमा आएर यातायात खर्च बुझेर लिन्छन् । अनि तलभत्ता आफ्नो खातामा जम्मा भइसकेपछि मलाई थाहा भएन छ भन्छन् । जब कि खातामा पैसा जानेबित्तिकै म्यासेज आउँछ त्योसम्म थाहा नपाउने सांसदहरु छन् । ठेकेदारका गाडी १०, १५ दिन चढेर ड्राइभरको तलब र तेलको पैसा लिएर हिड्छन् ।

पत्रकारले लेखेर दशैं खर्च पाइएन भनेर रोइलो काढ्ने सांसदहरु पनि भेटिए, यसलाई नेपाली कांग्रेसले कसरी लिएको छ ?

नेपाली कांग्रेसले पार्टीको बैठक बसेरै अहिले दशैं खर्च नलिने भनेर निर्णय ग¥यो । पहिला म सांसद् हुँदा ४ वर्षसम्म एक रुपैयाँ पनि तलब, भत्ता लिइन । हामी राजनीतिक गर्ने भएपनि खानलाउनका लागि सानोतिनो पेशा, व्यवसाय गरेर बसेका छौं ।

जुन मान्छे आफ्नो घरव्यवहार त चन्दाले चलाउँछ भने त्यसले पदमा पुगेपछि के गर्ला ? यस्ता प्रवृत्तिका नेताहरुदेखि सचेत रहनुपर्छ । पहिला चुनावका बेला बेपत्ता पैसा खर्च गर्ने । अनि त्यसलाई उठाउनका लागि ठेकेदारदेखि विभिन्न अनियमितता गर्नेहरुसँग सम्झौता गर्ने । भ्रष्टाचारी, कालाबजारिया, बिचौलीहरुसँग सम्बन्ध बढाउने र कसैलाई भत्ता, कसैलाई बाढेर चुनाव जितेकाहरुले के गर्नेछन् ।

त्यसकारण दशैं खर्च सांसद्हरुले काम नगरिकन लिनु हुँदैन । फेरि सबैको हैसियत एउटै हुँदैन कतिपय सांसदहरु खान नपुग्नेहरु पनि हुनुहुन्छ । उहाँहरुलाई खाननै धौधौ होला । तर, सबैको त्यस्तो हुँदैन त्यसलाई विचार गर्नुपर्ने बेला भएको छ ।

संसद् नचलेको झन्डै वर्षदिन हुन लाग्यो, अनि कसरी लोकतन्त्र भयो ? कांग्रेसका सांसदले पहल गर्नुपर्दैन ?

अहिले कांग्रेससँग संसद बोलाउने प्रतिशत पुग्दैन । यो सरकार संसद् खुलाएपछि आफ्ना कर्तुतहरु त्यहाँ छताछुल्ला हुन्छ भनेर डराएको छ । त्यसैले संसद बन्द गरेर बसेको हो । अहिलेको अवस्थामा छिटोभन्दाछिटो संसद् खुलाएर त्यहाँ जनताका पीरमर्का र कोरोनाको विषयमा छलफल गर्नुपर्छ ।

राष्ट्रिय महामारी कोरोनाको विषयमा संसद् खुलाएर सर्वपक्षीय छलफल गर्नुपर्ने होईन र ?

अहिलेका सांसद्हरु श्रीमान्, श्रीमतीको फोटो हालेर सोफासेटको विज्ञापन देखाइरहेका छन् । उहाँलाई त्यो फोटो देखेर चर्चित, ठूलो मान्छे भएँ भन्ने लागेको होला । आफ्नो भूमिका र मर्यादा के हो भन्ने कुरा उहाँलाई अझै पनि ख्याल छैन । यस्ता अयोग्य मान्छेहरुले चुनाव जितेर आएका छन् अनि जनताको काम हुन्छ ।

त्यसोभए अब जनताले योग्य मान्छे छानेर मात्रै भोट हाल्नुपर्यो ?

हो नि, त्यसमा त दुईमतै भएन । च्याउ रोपेर स्वाउ खान पाइँदैन । तितेपाती रोपेर अंगुर खान पाइँदैन । विष वृक्ष रोपेर पिपलको अपेक्षा गरेर हुँदैन । जे रोपेको हो, त्यही खान पाइन्छ । अहिले कम्युनिस्टहरुले जनतालाई भुलभुलैयामा पारेर देशको अर्थतन्त्र डामाडोल भयो । अन्तर्राष्ट्रिय रुपमा विश्वासको वातावरण समाप्त भयो । त्यसकारण जनताले हिजो गल्ती गरेका रहेछौं भनेर बुझ्नुपर्यो ।

यो सरकारबाट लोकतन्त्रमाथि नै खतरा छ भन्नेहरु पनि छन् नि ?

यो सरकारले आफूले कमाएर खानेभन्दा बाहेक केही काम गरेको छैन । जनताको पक्षमा केही काम गरेको छैन अनि लोकतन्त्रमाथि खतरा हुँदैन त ? राजनीतिक सिद्धान्त कमजोर भएको छ । भ्रष्टाचार, अनियमितता दिनानुदिन बढेको छ । संविधानले नचिनेका मान्छेहरुको हालीमुहाली भएको छ । पार्टीमा योगदान नभएका मान्छेहरु नियुक्ति भएका छन् ।

चुनाव हारेका मान्छेलाई राष्ट्रियसभामा ल्याइएका छन् । वडा सदस्य हारेका पनि राष्ट्रिय सभामा आएका छन् । संसद्मा हारेका पनि राष्ट्रियसभामा आएका छन् । कसैले नचिनेका मान्छेहरु मन्त्री भएका छन् । बालुवाटार अभियोग लागेका मान्छेहरु अर्थमन्त्री बनेका छन् । बालुवाटार प्रकरणका अर्का नायक माधव नेपाल हाइदुहाइमा बसेका छन् । १७, १८ हजार मान्छे मार्नेहरुको हातमा देशको चाबी छ । प्रधानमन्त्री आफू १४ वर्ष जेल बसेँ भन्छन् । जनतालाई पनि जेलैमा राख्ने काम गरे, अरु केही काम गरेनन् ।

अन्त्यमा केन्द्रविन्दुमा रहेको लोकप्रिय अनलाइन नयाँ विकल्प डटकम मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद दिँदै नजिकिएको दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सम्बन्धित समाचार

कुनै पनि शिक्षकहरु पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट वञ्चित गर्नुपर्छ
कुनै पनि शिक्षकहरु पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट वञ्चित गर्नुपर्छ
  • २०७७ कार्तिक १७, १२: ५२: ३४

तीनपाटन गाउँपालिकालाई कोरोनाले कत्तिको पिरोलो त ?कोरोनाले नेपाललाई मात्रै नभएर विश्वलाई नै प्रताडित बनाएको छ । त्यसमा तीनपाट गाउँपालिका अछुतो रहने...

भरतपुर महानगरपालिका-५ को वडा कार्यालय भवन शिलान्यास
भरतपुर महानगरपालिका-५ को वडा कार्यालय भवन शिलान्यास
  • २०७७ कार्तिक १७, १२: ५२: ३४

नयाँ विकल्प चितवन – भरतपुर महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन शिलान्यास भएको छ । सोमबार महानगरपालिकाको वडा...

कोरोनाको बहानामा महाधिवेशन टार्दै पद लम्ब्याउँदैं
कोरोनाको बहानामा महाधिवेशन टार्दै पद लम्ब्याउँदैं
  • २०७७ कार्तिक १७, १२: ५२: ३४

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको घोषित मिति आउन अब दुई महिना तीन साता मात्र वाँकी छ । तर, महाधिवेशनको तयारी...

भर्खरै

TOP