May 11, 2021, Tuesday

किन पार्टी फुटाउन चाहन्छन् प्रधानमन्त्री ओली ?


नयाँ विकल्प,
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्र्टीका दुई अध्यक्षबीचको मतभेदले पार्टी एकताको भविष्यबारे गम्भीर प्रश्न उत्पन्न भएको छ । शक्ति समिकरणकालागि शीर्ष नेताविचको संघर्षका कारण पार्टी फुटको संघारमा पुगेको नेकपाका नेताहरू नै बताउँछन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी विभाजनको मुडमा रहेको प्रचण्ड पक्षले निरन्तर आरोप लगाउँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले प्रचण्डले पार्टी र सरकार सञ्चालनमा निरन्तर भाँजो हालेका कारण गतिरोध उत्पन्न भएको दाबी गर्दै आएका छन् ।

पुरानै अबस्थामा फर्किन उचित हुने भन्दै विभाजनको घुमाउरो पारामा ओलीले स्विकारोक्ति दिएका छन् । त्यसो त नेकपा फुटको संघारमा पुगेको यो पहिलो पटक होइन । सरकार गठनसँगै पार्र्टीभित्र आन्तरिक विवाद बढदै जाँदा चार महिनाअघि पार्टी फुटको अवस्थामा पुगेको थियो ।

ओलीले अध्यादेश मार्फत पार्टी फुटाउन सहज हुने भएपछि चालु संसद अधिवेशनको अन्त्य गरेको आरोप लगाइदै आएको छ । पार्टी विभाजनको अन्तिम अवस्थामा पुगेको बेला चिनियाँ राजदुत होउ यान्छीको पहलमा तत्काल विभाजन रोकिएको जानकारहरू बताउँछन् ।

नेकपाको विवाद समाधानकालागि गत साउनमा कार्यदल नै गठन गरिएको थियो । कार्यदलले तत्काल देखिएको विवाद समाधानका लागि संसदको पुरा कार्यकाल भरि नै अध्यक्ष ओली प्रधानमन्त्री रहने, पार्र्टीको कार्यकारी अधिकार प्रचण्डले प्रयोग गर्ने सुझाव दियो ।

कार्यदलले सरकारका कामकारबाही पार्टीको सल्लाहमा हुनु पर्ने, केन्द्र र प्रदेशमा मन्त्रिपरिषद्को पुनर्गठन गर्ने, पार्टी एकतामा केन्द्रित हुने जस्ता सुझाव दिएको थियो ।

कार्यदलको सुझाव कार्यान्वयन गर्न ओली र प्रचण्ड सहमत रहेपनि कार्यान्वयनमा दुवै नेता टसको मस नभएपछि समस्या पुनः ज्यूँ का त्यूँ को अवस्थामा पुगेको छ ।

दुवै पक्षले सहमती कार्यान्वयनको कुरा त परै जाओस आफ्नो पूर्व अडानमै एक अंश पनि पछाडि हटेनन् । जसका कारण विबाद बढ्दै गएपछि दुई अध्यक्षवीच बोलचाल नै बन्द भएको थियो ।

विवाद समाधानकालागि गठित कार्यदलले दिएका सुझावमध्ये कतिपय कार्यान्वयनमा अर्का अध्यक्ष प्रचण्डले अग्रसरता नलिएको बरू सत्ताको किचलो निरन्तर उचालेका कारण पार्टी र सरकार नै थप विवादमा फसेको ओली पक्षको आरोप छ ।

राजदूत नियुक्तिदेखि मन्त्रिमण्डलमा हेरफेरमा प्रधानमन्त्री ओलीले पार्र्टी र शीर्ष तहमा कुनै छलफल नगरेको अर्का अध्यक्ष प्रचण्ड र असन्तुष्ट पक्षको आरोप छ ।

कर्णाली प्रदेशमा पूर्वमाओवादी पृष्ठभूमिका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई प्रधानमन्त्री ओलीको योजना अनुसार नै अविश्वासको प्रस्ताव ल्याइएको विषयलाई लिएर नेकपाभित्र फेरि कलह उत्कर्षमा हो ।

यही विवाद उत्कर्षमा पुगेपछि ओलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँग भेट गरे । दुई नेताको कुराकनी अनुसार दुवै पक्षले मतभेद थप गहिरो बन्दै गएको र पार्टी विभाजनकै मुखमा पुगेको बताएका थिए ।

प्रचण्डले आफूपक्षीय सचिवालयका सदस्यलाई ओलीले पार्टी विभाजन प्रस्ताव गरेको बताएपछि अवस्था थप जटिल देखिएको हो ।


के ओली साच्चिकै विभाजन चाहन्छन त ?

प्रधानमन्त्री ओलीले नेकपा एकिकरण र गत चुनावमा पार्टीले पाएको सफलताको श्रेय र जस आफु मात्र रहेको दावी गरेका छन् । अर्का अध्यक्षले भने जस्तो आलोपालो प्रधानमन्त्रीको सहमती समेत ओलीलीले इन्कार गर्दै आएका छन् ।

पार्टी र सरकार सञ्चालनमा समेत औपचारीकता निभाउनबाहेक ओलीले प्रचण्डसंग परामर्श गर्दैनन् । सरकार गठनदेखि नै ओलीले यही कार्यशैली देखाउँदै आएका थिए । नेकपाको कतिपय बैठकमा ओलीले आफुलाई एकल अध्यक्ष दावी गर्ने उदेश्यले आफु बस्ने कुर्सी प्रचण्डभन्दा अगाडि राख्नसम्म लगाएका थिए ।

प्रधानमन्त्रीको यो कार्यशैलीविरूद्द प्रचण्ड योजनाबद्ध रूपमा अगाडि बढेको देखिन्छ , चाहे त्यो चुनाव हारेका बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रलोभन देखाएर होस वा ओलीसँग असन्तुष्ट माधवकुमार नेपाललाइ प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाउने कार्ड फ्याकेर किन नहोस ।

ओली विरूद्द निरन्तर मोर्चाबन्दी गर्दै आएका प्रचण्ड प्रधानन्त्री ओलीविरूद्द जुनसुकै बेला अविश्वासको प्रस्ताव ल्याउने तयारीमा छन् । प्रधानन्त्रीबाट हटाउन प्रचण्डले जुनसुकै कदम चाल्न सक्ने आशंकाका कारण आफु सुरक्षित अवस्थामा रहने प्रयासमा ओली छन् ।

संसदको चालु अधिवेशन विना परामर्श अन्त्य यसको एउटा उदाहरण हो । प्रधानमन्त्री केपी ओलीको योजनामा विघटित नेकपा एमाले दर्ता गर्न लगाउनु पार्टी विभाजनको लागि तयार पारिएको अर्को राजनीतिक बाटो हो ।

जानकारहरुका अनुसार आफुलाइ अप्ठयारो अवस्था देख्ने वित्तिकै ओलीले पार्टी फुटाउएर संसद समेत विघटन गर्ने योजनामा अगाडि बढेका छन् ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ कार्तिक १८, १६: १८: ०६

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ कार्तिक १८, १६: १८: ०६

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ कार्तिक १८, १६: १८: ०६

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP