February 27, 2021, Saturday

अबदेखि जंगल छेउको जग्गामा कित्ताले बित्ता तान्छु भनेर कसैले आश नगरे हुन्छ 

देशै कोरोना कहरले आक्रन्त छ, कमलामाई नगरापालिकामा यसको प्रभाव कत्तिको छ ?
देशै कोरोनाले आक्रन्त भइरहँदा सिन्धुलीको कमलाई नगरपालिका पनि अछुतो रहेन । यसलाई व्यवस्थित र न्यूनिकरण गर्नको लागि हामीले हाम्रो साधन, स्रोतले भ्याएसम्मको प्रयत्न गरेका छौं । यसबाट बच्नको लागि सबैले अनुसासित भएर नियमको पालना गर्नुपर्छ ।

जबसम्म अनुसाशित भएर बस्न सकिँदैन तबसम्म यसलाई न्यूनिकरण गर्न गाह्रो छ । त्यसकारण अनुसाशनलाई प्राथमिकता दिएर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार व्यवहार गरेर बस्नुको विकल्प छैन । त्यसलाई सबैले पालना गरेर आफ्ना क्रियाकलापलाई अगाडि बढाउनुपर्छ ।

अहिले त्यहाँ कक्षा ११, को जाँच चलिरहेको छ, कक्षा १२ को पनि हुँदैछ, कोरोनाको महामारीबीच कसरी व्यवस्थापन गर्नुभएको छ ?
यहाँ अहिले कक्षा ११ को जाँच चलिरहेको छ । ती जाँच चलिरहेका ठाउँहरुमा म आफै गएर अनुगमन गरिरहेको छु । चलिरहेका परीक्षामा हामीले भौतिक दुरी कायम गरेर, सेनिटाइर प्रयोग गरेर, माक्स लगाएर परीक्षा चलेको छ । परीक्षा चल्नुपनि पर्छ ।

यही मापदण्ड अनुसार कक्षा १२ को पनि जाँच हुन्छ । अब कोरोनाको कारणले विद्यार्थीलाई अलमल्याएर राख्नुहुँदैन । स्वास्थ्य संगठनले तोकेका मापदण्डलाई पालना गरेर अनुसासित ढंगले जाँच गर्ने, पढाइलाई अगाडि बढाउने काम गर्नुपर्छ ।

जाँचपछि कलेज, स्कुलको पढाइपनि सुचारु गर्नुहुन्छ ?
अहिले पनि विभिन्न माध्यमबाट शिक्षक, विद्यार्थी र अभिभावकहरु जोडिइरहेका छौं । स्कुल, कलेजमा विद्यार्थी बोलाएर, घुईंँचो बनाएर भन्दा पनि अन्य वैकल्पिक माध्यम जस्तो, सामुदायिक रोडियो, इन्टरनेट यी सुविधान पनि नभएको ठाउँमा शिक्षकहरु आफै उपस्थित भएर पनि होमवर्कका कामहरु चलिरहेका छन् ।

ठाउँ विशेष उपलब्ध साधन, स्रोतको माध्यमबाट कुनै न कुनै रुपले पढाइ चलिरहेको छ । तर, अहिले नै स्कुल, कलेजमा विद्यार्थी ल्याएर भीडभाड गर्ने काम हुँदैन । शिक्षकहरुले आफ्ना विषयको विभिन्न माध्यमबाट विद्यार्थीहरुलाई होमवर्क दिने काम गरिरहेका छन् ।

विद्यार्थीहरुले इन्टरनेट, टेलिफोन, रेडियोको माध्यमबाट आफूले नजानेका कुरा सोध्ने, बुझ्ने काम भइरहेको छ । त्यसकारण कोरोनाका कारणले पढाइ ठप्प भएको अवस्था छैन ।

अब कोरोनासँग डराएर सबै काम थाँति राख्नु हुँदैन, योसँग लडेर अगाडि बढ्नुपर्छ भन्न खोज्नुभएको हो ?
हो, भौतिक दुरीलाई कायम राख्दै, स्वास्थ्य समाग्रीलाई प्रयोग गर्दै अगाडि बढ्नुपर्छ । अब पनि कोरोनाको डरले बालबच्चा नपढाउने, परीक्षा नगर्ने होइन । यी कामलाई सुचारु गर्नुपर्छ ।

तर, स्वास्थ्य संगठनले तोकेका मापदण्डअनुसार अनुसानलाई अत्यन्तै ख्याल गर्नुपर्छ । स्वास्थ्य समाग्रीहरु प्रयोग गर्न कन्जुस्याईं गर्नुहुँदैन । यसलाई अनुसासित ढंगले प्रयोग गरेर अगाढि बढ्नुपर्छ ।

अहिले कमलाई नगरपालिकामा संक्रमितहरु छन् ?
अहिले पनि यहाँ संक्रमितहरु हुुनुहुन्छ । कोही अस्पतालको आइसुलेसनमा हुनुहुन्छ भने कोही होम आइसुलेसनमा हुनुहुन्छ । त्यसकारण कमलामाई नगरपालिकामा पनि संक्रमित त छन् तर, त्यस्तो औधी बढेको अवस्था छैन ।

विकास निर्माणको काम कोरोनाको कारणले अलमलिएको छैन ?
कोरोनाकै कारणले यहाँको विकास निर्माणको काम अलमलिएको छैन । सबै वडा कार्यालयले उपभोक्ता समिति गठन गरेर तोकिएको काम छुट्ट्याइएको बजेटबाट भइरहेको छ । कोरोनाको समस्या समाधानसँग विकासका काम हामी रोक्दैनौ ।

किन भने विकासका काम रोकिए भने जनताले खान पाउँदैनन् । त्यसकारण कमलामाई नगरपालिकाका सबै वडाका विकास निर्माणका काम सुचारु ढंगले अगाढि बढिरहेका छन् ।

जनअपेक्षा अनुसार जनप्रतिनिधिहरुले काम गरेनन् भन्ने गुनासाहरु छन् नि यसमा के भन्नुहुन्छ ?
म जनताका गुनासाहरु बुझ्न सबै वडाका गाउँगाउँमा गइरहेको हुन्छु । ती ठाउँका जनताको धेरै गुनासाहरु छैनन् । थोरै गुनासाहरु छन्, हिजो हामीले चुनावका बेला भनेका कामहरु गरिरहेका छौं । केही काम गर्न बाँकी छन् ।

त्यसमा उहाँहरुको गुनासा हुन सक्छन् । ती पनि पुरा गर्नको लागि दत्तचित्त भएर लागिरहेका छौं । यो कोरोना भाइरसको समयमा पनि म एक दिन घरमा बसेको छुइन । सधैं जनताकै दरदैलोमा गइरहेको छु ।

म विहान ४ बजेदेखि बेलुका १० बजेसम्म जनताकै काममा लागिरहेको छु । जसरी जनताले जनप्रतिनिधिहरु आफ्ना घरमा आइदिनुपर्ने, उनीहरुका गुनासा सुनिदिनुपर्ने र त्यसको समाधान गर्नुपर्ने अपेक्षा थियो । त्यो हामीले उपलब्ध साधन, स्रोतले भ्याएसम्म लागेर पुरा गर्ने प्रयत्न गरिरहेका छौं ।

कमलामाई नगरपालिकाभित्र विकट वडाहरु पनि छन् ती ठाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र बाटो कुन क्षेत्रको बढी गुनासो आउँछ ?
विकास भन्ने बित्तिकै बाटो मात्रै होइन । भौगोलिक दृष्टिकोणले विकट रहेको ठूलोमा कमलामाई नगरपालिका नेपालको छैटौं हो । त्यसले गर्दा बाटाको पहुँच जनताको बीचमा पुग्छ । ती पुगेका सबै बाटाहरु पिच हुन्छन् मेरै कार्यकालमा म भन्न सक्दिँन ।

तर, बाटाको पहुँच मैले जनताबीच पु¥याइदिएको छु । कमलामाई नगरपालिकाको प्रत्येक घरमा बिजुली बत्ती पुगेको छ । खानेपानी पनि पुगेको छ । यसका बाबजुद पनि जनतामाझ केही गुनासाहरु होलान् त्यो पनि परिपूर्तिका लागि लागिरहेको छु ।

सबैभन्दा महत्वपूर्ण कुरा खानेपानी सबैले पाउनुपर्छ भन्ने मेरो मान्यता हो । कमलामाई नगरपालिका भौतिक दृष्टिकोणले विकट पनि मानिन्छ । त्यति हुँदाहुँदै पनि हरेक घरमा पानीको धारो पु¥याउनुपर्छ भन्ने अभियानमा छु ।

यहाँका जनताले खानेपानीको लागि घरबाट दुरी तय गर्नुनपरोस् भन्ने अभियान हाम्रो छ ।


कमलामाई जिल्लाको सदरमुकाम भएकाले अरु गाउँपालिकाबाट पनि गुनासाहरु आउँदा हुन् नि ?
खड्ग खत्रीलाई नजप्रतिनिधि बनाएर हाम्रो सेवा गराउन पाए हुन्थ्यो भन्ने कुरा कमलामाई नगरपालिका वासीले मात्र होइन सिन्धुली जिल्लावासीकै अपेक्षाभित्र म परेको छु ।

तर, अहिले जुन ठाउँबाट जितेर जुन पदको जिम्मेवारी पाइरहेको छु । त्यो ठाउँमा चुनावका बेला बोलेका कुरा म अहिले पुरा गर्दैछु ।

जहाँसम्म तपाईंले अन्य गाउँपालिकाबाट पनि गुनासाहरु आउँदाहुन् भन्नुभयो । त्यहाँका जनप्रतिनिधिहरुले जिम्मेवार ढंगले काम गर्नुभएको छ भन्नेमा म विश्वस्त छु । केही गुनासाहरु आउन सक्छन् ।

तर, ती आउने गुनासाहरु यथार्थ हुन् कि होनन् त्यसलाई पनि ध्यान दिनुपर्छ । गुनासा आउनेबित्तिकै यथार्थ नबुझि मैले त्यत्तिकै बोल्न मिल्दैन । मेरो गुनासोहरु अरुसँग गए गर्नुहुँदो हो । म केमा विश्वस्त छु भने अहिलेका जनप्रतिनिधिहरुले जनताप्रति उत्तरदायी भएर काम चाहीं गरेका छन् ।

जनप्रतिनिधिहरु कामभन्दा धेरै सुविधाभोगी भए भन्ने छ नि ?
अहिलेका जनप्रतिनिधिहरुले नियमले पाएको सेवा, सुविधाहरु लिएका होलान् । तर, त्यो लिएको सेवा, सुविधालाई सही रुपमा प्रयोग गरेका छन् कि छैनन् । सही ठाउँमा प्रयोग गरे कि गरेनन् भन्ने चाहीं महत्वपूर्ण कुरा हो ।

ती पाएका सेवा, सुविधालाई सही काममा प्रयोग गरेको भए त्यसलाई जनताले आपत्ति मान्दैनन् । तर, सेवा सुविधा लिएर जनउत्तरदायी भएर काम गरेन भने त्यहाँ गुनासो हुन्छ ।

अहिलेका वडा अध्यक्षहरु आफै ठेकेदार बन्ने, आफै स्काभेटर हाल्ने, उपभोक्ता समिति नबनाई खर्च गर्ने गरेको गुनासोहरु छन् नि यसलाई के भन्नुहुन्छ ?
कमलामाई नगरपालिकाको प्रत्यक्ष वडामा उपमेयरको संयोजकत्वमा अनुगमन समिति बनाइएको छ । त्यो अनुगमन समितिलाई मैले ‘तपाईंहरु पत्रकार पनि लिएर जानुहोस्, जनताले यो वाडमा यो कामको लागि यति पैसा आएको छ भनेर ठ्याक्कै थाहा पाउनुपर्छ,’ भनेको छु ।

ती कामहरु जनताले थाहा पाउनेगरी गर्नुपर्छ । त्यो कामको अनुगमन गर्न जाँदा हामीले नाप्ने फित्ता र गैँची पनि सँगै लिएर जानुपर्छ । ती गरिएका कामहरु नाप नक्साअनुसार गुणस्तरयुक्त छन् कि छैनन् भन्ने कुरा राम्रोसँग अनुगमन हुनुपर्छ भनेर मैले निर्देशन दिएको छु ।

मेरो नगरपाकालिका भित्र कहीं कतै त्यस्तो अनियमितता गरेको थाहा पाएँ भने तिनलाई कारबाही पनि गर्छु ।

वडा अध्यक्षहरुले मापदण्डविपरीत काम गरेमा कारबाही गर्नुहुन्छ ?
मेरो नगरपालिकाभित्रका वडा अध्यक्षले अनियमितता गरेको अहिलेसम्म देखेको छुइँन । त्यस्तो गुणस्तरहिन र लापरवाहीपूर्ण काम गरेको पाइएमा कडा कारबाही गर्छु । अहिलेसम्म यहाँका वडा अध्यक्षहरुले गलत काम गरेका छैनन् । यदि कसैले गलत गरेको पाइएमा उहाँहरुलाई कारबाही हुन्छ ।

तपाईं एउटा परिपक्व नेताको हैसियतले कमला नदी नियन्त्रणको लागि कस्तो योजना बनाउनुभएको छ ?
कमला नदीले कमलामाई नगरपालिकाभित्रको धेरै खेतीयोग्य जमीन नष्ट गरेको छ । त्यसकारण कमलामाई नगरपालिकाले नदी नियन्त्रणको लागि एउटा डीपीआर तयार भएको छ । अब कमला नदी नियन्त्रण अभियानमा हामी जाँदैछौं ।

डीपीआर नबनाई प्रक्रिया अगाडि नबढ्ने भएकाले अब डीपीआर बनेको छ । यो डीपीआरको आधारबाट कमलामाई नियन्त्रणको अभियानमा हामीहरु लागिसकेका छौं ।

त्यसोभए अब कमला नदीले नष्ट गरेको जमीन उक्सिन्छ ?
कमला नदीमा चुरेको खहरे मिसिएर धेरै मान्छेका खेतीयोग्य जमीन नष्ट गरेको छ । ती हिजो नष्ट भएका खेतीयोग्य जमीनलाई बँचाउँदै कमला नदीलाई नियन्त्रण गरेर त्यहाँका जनतालाई हाँसीखुसी बनाउने काममा हामी दत्तचित्त भएर लागेका छांै ।

अहिले जनप्रनिधिहरुकै संरक्षणमा वन विनास भइराखेको छ भन्ने गुसानाहरु आएका छन् उही हो ?
अहिले कमलामाई नगरपालिकाले जंगल विनास हुँदै गएकाले वडा कार्यालयको सिफारिस बिना बाहिर काठ लान नपाउने नीति बनाएको छ । मैले भ्याएसम्म र हेरेसम्म बाहिर भनिएजस्तो जंगल फँडानी गरिएको छैन ।

एक पटक अख्तियारमा पनि उजुरी परेर हाम्रो कमलामाई नगरपालिकाको वडा नं. १४ रानीबासमा वैज्ञानिक वनको नाममा रुखहरु काटिए भन्ने सुनेर त्यहाँ म पनि गएर हेरेको छु ।

हाम्रो नगरपालिकाले कुनै पनि नाममा जंगललाई अतिक्रमण गर्ने फँडानी गर्ने काम गर्न दिँदैन । कमलामाई नगरपालिकाले जमीनहरु नापी गरिरहेको छ ।

अब यो नगरपालिकाभित्रका कुनै पनि मानिसले म भूमिहीन भन्नुपर्ने छैन । किन भने जो मान्छे जुन भूमिमा बसेको उसको जमीन नापेर हामीले रसिद दिइसकेका छौं ।

त्यसको उसले अब लालपूर्जा पनि पाउँछ । र, उसको भोगचलन बाहेकको कुनै पनि जग्गा कमलामाई नगरपालिकाले छुन पनि दिँदैन, त्यसमा तपाईं ढुक्क हुनुहोस् ।

त्यसोभए भोगचलन गरिरहेको जग्गाको लालपूर्जा दिनुहुन्छ, सार्वजनिक जग्गा छुनखान दिनुहुन्न हो ?
उनीहरुको भोगचलन बाहेकको सार्वजनिक कसैलाई छुन पनि दिँदैनौं । अबदेखि जंगल छेउको जग्गामा कित्ताले बित्ता तान्छु भनेर कसैले आश नगरे हुन्छ । हामीले नापेको बाहेक एक बित्ता पनि तलमाथि हुन दिँदैनौं ।

कमला खोचको दोभानहुँदै छर्छरे जोड्ने बाटो तपाईंका कार्यकालमा पीच गर्नुहुन्छ ?
कमलामाई नगरपालिकाको पुरानो वडा नं. १६, १७ र १८ मा पर्ने बाटो पीच गर्ने कुरा हो । चुनाव अगाडि म पार्टीको प्रतिनिधि भएर जाँदा पनि मेरो त्यो बाटो पीच गर्ने योजना थियो ।

त्यसलाई मेरो कार्यकालमै पुरा गर्ने योजना छ । कमला नदीमा पुल बनाउने योजना थियो, त्यो बनेको छ । पोहोर दुई करोडको ठेक्का परेको थियो । अहिले पनि दुई करोडको ठेक्का परेको छ । अब त्यसलाई निरन्तरता दिएर अगाडि जाने हो ।

तपाईंले थाहा पाएसम्म उप–प्रमुखको संयोजकत्वमा बनेको न्यायिक समितिमा कस्ता प्रकृतिका मुद्दाहरु बढी आउँछन् ?
उप–प्रमुख संयोजकत्वमा भएको समितिको बारेमा म धेरै जान चाहन्न । तर, मलाइ थाहा भएसम्म जग्गा खिचलोकै मुद्दा बढी आउँछन् । अर्को जटिल मुद्दा भनेको अहिले धेरै मान्छेहरु विदेश जानेआउने भएकाले पैसा लेनदेनको आउने गर्दछ ।

अहिले गाउँदेखि शहरसम्म किन जग्गा खिचलोका मुद्दा बढी आउँछन ?
हिजो जग्गा नापी गर्दा राम्रो ध्यान दिएनन् । अर्को ठूला–ठालुले बिना नापनक्सा यहाँदेखि त्यहाँसम्म भनेर कागज गरिदिए । राम्रोसँग नपाएनन् एउटा समस्या त्यहाँनेर छ । अर्को समस्या भनेको किनबेच गर्दा गम्भीर ढंगले ध्यान नदिएर भएको हो ।

त्यसपछि हिजो बाटोघाटोको सुविधा दिएन । पाखोरेखोको जग्गामा मान्छको ध्यान गएन । आज बाटो, बिजुलीको सुविधा भयो अनि जग्गाप्रति मान्छेको मोह जागेर पनि समस्या थपिएको हो ।

अन्त्यमा हिजो चुनावमा बाँडिएका आश्वासन र आज जनताको असन्तुष्टिप्रति के भन्नुहुन्छ ?
अन्त्यमा मैले ठ्याक्कै भन्नुपर्दा चुनावका बेला जाहेर गरेको घोषणापत्रप्रति पतिबद्ध छु । त्यस मुताविकको काममा अगाडि बढिरहेको छु । अर्को भनेको कमलामाई नगरपालिका मात्रै नभएर सिन्धुली जिल्लाकै जनताले मलाई जसरी माया गर्नुभएको छ ।

उहाँहरुको त्यो माया र ममतालाई म कहिल्यै पनि तल झर्न दिने छैन । ती जनताको माया र ममताको कदर गर्दै सकारात्मक सोचको विकास गरेर अगाढि बढ्ने छु । कमलामाई नगरपालिकाले गरेका राम्रो कामलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर औंल्याइदिन नगरवासीलाई हार्दिक अनुरोध गर्दछु ।

नराम्रो कामको आलोचनाले पनि राम्रो गर्ने अवसर मिल्छ । म यहाँका जनताबाट तीन पटक अनुमोदित भइसकेकाले प्रशंसा र आलोचना दुवै सहनसक्ने क्षमता राख्छु ।

अन्त्यमा केन्द्रविन्दुमा रहेको लोकप्रिय नयाँ विकल्प अनलाईन मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद दिँदै नजिकिएको दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हाम्रा संवाददाता कालिका महतले तयार पारेको अन्तर्वार्ता ।

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ कार्तिक २४, १३: ०७: ५७

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ कार्तिक २४, १३: ०७: ५७

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७७ कार्तिक २४, १३: ०७: ५७

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP