November 24, 2020, Tuesday

अमेरिकामा नयाँ इतिहास रच्दै बनेको बाइडेन र कमलादेवीको जोडीलाई बधाइ र शुभकामना

१. संयुक्त राज्य अमेरिकामा नोभेम्बर ३ तारिख वा कात्तिक १८ गते रातीबाट सुरु भएको निर्वाचनमा जोए बाइडेन राष्ट्रपतिमा र कमला देवी ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । यी हरफ लेखिरहँदासम्म निर्वाचनको अन्तिम परिणाम प्राप्त भइसकेको छैन र पनि आवश्यक मत प्राप्त गरिसकेकाले जोए बाइडेनलाई अमेरिकाको आगामी राष्ट्रपतिका रुपमा मानिएको छ ।

अमेरिकाको चलन अनुसार प्रत्येक ४ वर्षमा राष्ट्रपतिको निर्वाचन हुन्छ त्यो पनि नोभेम्बरको पहिलो मंगलबारमा । त्यो पनि सोमवार पछिको मंगलबार । अर्थात् पहिलो तारिखमा नै मंगलवार परेमा अर्कोहप्ताको मंगलवारमा मात्र निर्वाचन हुन्छ ।

डेमोक्राटिक पार्टीबाट विभिन्न निर्वाचनका प्रक्रिया पूरा गर्दै जोए बाइडेन जुनियर राष्ट्रपतिको निर्वाचनका लागि छानिनु भएको थियो । त्यसैगरी उहाँका साथीको रुपमा सिनेटर कमला देवी ह्यारिस छानिनु भएको थियो ।

२. संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिको निर्वाचन प्रत्यक्षरुपमा जनताको मतबाट चुनिँदैन तर प्रत्यक्ष निर्वाचनद्वारा छानिएका ५३८ओटा निर्वाचक मण्डलको मतबाट छानिन्छन् । जम्मा ५३८ मतको निर्वाचक मण्डल मानिएको छ र जसले ती तोकिएका राज्यहरुबाट निर्वाचक मण्डलका मतहरुमध्ये ५० प्रतिशतभन्दा बढाउन सक्छ, उही अमेरिकाको राष्ट्रपति बन्नेछ ।

जसले २७० वा बढी निर्वाचक मण्डलको संख्या कटाउँछ, उसैले राष्ट्रपतिको निर्वाचनमा विजयी भएको ठानिन्छ ।

३. सबै मतको गणना अझै प्राप्त नभए पनि २७० मत जुन दलको पुगेको ठानियो , त्यसैलाई विजयी मानिने हुनाले यसपटक डेमोक्राटिक पार्टीका मनोनयनमा पर्नु भएका पूर्व उपराष्ट्रपति बाइडेनलाई राष्ट्रपति मानिने भयो ।

अब आगामी २०२१को जनबरी २० तारिखमा राष्ट्रपतिको शपथ ग्रहण समारोह हुनेछ अनि विधिवतरुपमा जोसेफ बाइडेन जुनियरले राष्ट्रपतिमा र कमलादेवी ह्यारिसले उपराष्ट्रपतिमा कार्यभार सह्माल्नु हुनेछ ।

४. अहिलेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीबाट उम्मेदवार हुनुहुन्थ्यो । यी हरफ लेख्दासम्म उहाँले आफ्नो हार स्वीकार गर्न सक्नुभएको छैन र उल्टै बाइडेन र कमलाको जोडीलाई आगामी दिनमा मुद्दा खेप्न तयारी हुने सन्देश दिइरहनु भएको छ ।

५. यसपटकको निर्वाचन सहज मानिएको थियो डेमोक्राटिक पार्टीका लागि जित्न तर सोचेभन्द अलि समस्याजनक नै देखियो । डोनाल्ड ट्रम्पको जथाभाबी निर्णय गर्ने चलन र भावावेशमा बोल्ने बानीले अमेरिकामा देखिएको उकुसमुकुसले निकास पाएको ठानिएको छ ।

६. अमेरिकामा निर्वाचनको तोकिएको दिनभन्दा पहिले पनि भोट दिन पाइन्छ र हुलाकबाट निर्वाचन आयोगको आधिकारिक मतपत्र पनि भोट दिएको मतपत्र पठाउन पाइन्छ । कोरोना कहरका कारणले बाइडेनले धेरै मतदाताहरुलाई मतदान केन्द्रसम्म आउँदा हुने स्वास्थ्य खतराका कारणले घरबाटै मत पत्र भरेर पठाउन प्रेरित गर्नु भएको थियो जवकि त्यो त्यहाँको चलन नै हो ।

यसपटक करिब ६ करोड देखि ९ करोड मतदाताहरुले मतपत्र त्यसैगरी पठाएका कारणले सुरुदेखि नै राष्ट्रपति डोनाल्डले त्यस्तो मतपत्रको विरोध गर्दै आउनु भएको थियो र अहिले आफूले निर्वाचन हार्नेजस्तो हुनेबित्तिकै ती वैध मतपत्रहरुलाई अवैध मतले मलाई हराउन लागियो भनेर अदालतका शरणमा पुग्ने हुनु भएको छ ।

७. अमेरिकीहरुले यी गत चारवर्षमा धेरै कुरामा हास्यास्पद अवस्थाबाट गुज्रिनु परेको ठानेका छन् । एउटा राजनीतिक अनुभवहीन व्यक्तिले शक्तिशाली राज्यको वागडोर सह्माल्दा के हुन्छ भन्ने कुराको उदाहरणका लागि अमेरिकालाई लिइन्छ ।

उहाँका छिन छिनमा लिइन निर्णय, भावावेशमा उत्तरदायी व्यक्तिहरुलाई तत्काल निकाल्ने र जुनसुकै निर्णय पनि आफ्नो व्यापारको नाफा र नोक्सानको आधारमा लिने भएकाले अमेरिकीहरुले जसरी पनि हटाउनै पर्ने ठानेका थिए । केही समयदेखि रिपब्लिकन दलका महत्वपूर्ण राजनेताहरुले पनि डोनाल्डको विरोध गरिरहेका थिए र अहिले निर्वाचनको वैधतामा राष्ट्रपति जस्तो गरिमामय पदको व्यक्तिले प्रश्न उठाउँदा लाजमर्नु भएको ठानिएको छ ।

हुन त निर्वाचन आयोगले अन्तिम मतपत्रको गणना नहुन्जेल घोषणा गर्ने छैन । हुलाकबाट आएका मतपत्रहरुको अन्तिम गणना गरेर परिणाम घोषणा गर्न अझै एकहप्ता पनि लाग्नेछ तर आवश्यक मत गणना गरिसकेपछि भने विजेताले जितेको र हार्नेले हार स्वीकार गर्ने भद्रचलन संसार भरमा छ र अमेरिकाको प्रजातन्त्रले त्यसलाई जगेर्ना गर्दै पनि आएको छ ।

८. स्वाभाविकरुपमा निर्वाचनका बेलामा देशका नागरिकहरु र मतदाताहरु कुनै न कुनै दलको पक्षमा वा त्यो दलको उम्मेदवारको पक्षमा लागेकै हुन्छन् । अमेरिकाजस्तो शक्तिशाली देशको शक्तिशाली राष्ट्रपतिको निर्वाचनमा त्यहाँका आधिकारिक मतदातासँगै विश्वभरका सचेत व्यक्तिहरुको चासो त्यहाँको निर्वाचनमा हुन्छ र कसले जिते हुने भन्ने धारणा बनाएका हुन्छन् ।

नेपालमा पनि धेरैजसो प्रजातन्त्रवादी तथा प्रगतिशील पक्षहरुले डेमोक्राटिक दलका जोए बाइडेन र कमलादेवीको जीत सुनिश्चित भए हुन्थ्यो भन्ने भित्री चाहना राखेका थिए भन्ने कुरा अहिले सामाजिक सञ्जालमा स्वतस्पूmर्तरुपमा बधाइको ओइरो देखेपछि अनुमान गर्न सकिन्छ ।

९. अमेरिकाका हालका राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको शासन कालले पनि नेपाललाई खासै नराम्रो भएको थिएन र अबका दिनमा पनि नराम्रो हुने कुनै कुरा देखिँदैन । तर भावावेशमा राजनीति गर्ने जोडी र राजनीतिलाई तर्कका रुपमा लिएर काम गर्नेहरुका बिचमा पक्कै फरक हुनेछ ।

पुराना राजनीतिज्ञ र ८ वर्ष बाराक ओबामाको उपराष्ट्रपति भएर अनुभव सँगाली सक्नु भएका बाइडेनको राष्ट्रपति काल र सधैँ समानता र सामाजिक न्यायका लागि संघर्षरत एउटी अफ्रिकन अमेरिकी तथा एसियन अमेरिकी महिलाको रुपमा कमलादेवीको क्रान्तिकारी छविले पक्कै संसारको नयाँ विकासका लागि नयाँ क्षितिज उघार्ने विश्वास गरिन्छ ।

१०. यो निर्वाचनले अमेरिकामै नयाँ इतिहास बनाएको छ । सबैभन्दा ज्येष्ठ नागरिकका रुपमा जोए बाइडेनको ओभल अफिसमा पदार्पण हुनेछ जवकि कुनै बेलामा सबैभन्दा कान्छा सिनेटरको उपाधि पाउने पनि उहाँ ने हुनुहुन्थ्यो ।

अमेरिका जस्तो देशमा महिलाले राष्ट्रपति या उपराष्ट्रपतिमा कुनै निर्वाचन जितेको इतिहास थिएन तर यसपटक कमलादेवी ह्यारिसले जितेर अर्को इतिहास बनाउनु भएको छ । पिताजी ह्यारिस जमैकाबाट अमेरिका गएका आप्रवासी र आमा भारतबाट गएकी आप्रवासीकी छोरी कमलादेवी ह्यारिसले एकैपटक अफ्रिका र एसियाको प्रतिनिधित्व गर्नु भएको छ त्यस्तो ठुलो पदमा निर्वाचित हुने कुरामा ।

११. पहिले बाराक ओबामा राष्ट्रपति हुँदा एउटा इतिहास बनेको थियो–अफ्रिकाबाट पढ्न गएका विद्वानको बाराक ओबामाका छोरा जो अमेरिकी आमाबाट जन्मिएका थिए । अहिले त कमलादेवी पिता पनि आप्रवासी, आमा पनि आप्रवासी तर अमेरिकामा जन्मेकीले कमलाले उपराष्ट्रपतिमा जितेर तेहेरो इतिहास तयार गर्नुभयो ।

५५ वर्ष अघिमात्र अमेरिकामा महिलालाई मतदान दिने अधिकार दिइएको थियो, अनि आप्रवासी पिता र माताकी सन्तानले अमेरिकी भएकाले नयाँ इतिहास बनेको मान्नुपर्छ । सायद त्यही भएर होला हाम्रा धेरै नेपालीहरुले पनि आफ्ना अमेरिकामा जन्मेका सन्तानलाई लक्षित गरी लेखेका छन्—कमला हामी सबैकी पथप्रदर्शक भएकी छिन् ।

अनि कमलादेवीले पनि भन्नुभएको छ जितेको थाहा पाउने बित्तिकै–म नै अन्तिम महिला हुने छैन उच्चपद हासिल गर्ने कुरामा जवकि इतिहासमा म नै महिला निर्वाचित भएकी छु ।(पहिलो काली,अफ्रिकी र भारतीय महिला भएकी छु त भन्नै परेन किनभने त्यो त स्वर्ण अक्षरले अमेरिकी इतिहासमा अब सबैले देख्नेगरी लेखिएको छ ।)

१२.कोरोना कहरको कारणले अन्यौलग्रस्त भएको अमेरिका जहाँ संसारमा सबैभन्दा बढी विरामी छन् र मृतकको संख्या छ । आर्थिक अवस्था धरमराएको छ र स्वास्थ्य सेवाका वारेमा ठुलो प्रश्न चिन्ह लागेको छ। मुलुक गोरा र कालामा विभाजित छ, धनी र गरिबका बिचमा ठुलो खाडल छ र पनि पहिलो शक्तिको रुपमा छ ।

त्यसको सकारात्मक स्वरुपलाई जीवित राखेर विश्वको हितमा अमेरिकाको तागत लगाउनु छ, सायद त्यही नै विभाजित अमेरिकाको पहिलो कर्तव्य हुनेछ कि मुलुकलाई एकीकृत गर्ने र अमेरिकी जनतामा फेरि विश्वासको जागरण गराउने । कामले गफले होइन । उग्रताका पक्षमा होइन, विभाजनका बाटोले होइन एकताको बाटोले पथप्रदर्शन गर्ने ।

१३.र अन्त्यमा, राष्ट्रपतिमा निर्वाचित जोए बाइडेन जुनियर र उपराष्ट्रपतिमा निर्वाचित संघर्षशील महिला कमलादेवी ह्यारिसलाई धेरै वधाइ छ ।

नयाँ इतिहास बनाएर ओभल अफिसमा गएजस्तै गरी विश्व समुदायमा अमेरिकाले दिने योगदान दिन सक्नुहोस् र विश्वमा देखिएको नयाँ संकटलाई सुझबुझपूर्ण तरिकाले समाधान गरी नयाँ विश्वको संरचना गर्न सक्नुहोस् । शुभकामना र सहर्ष वधाइ सफल कार्यकालको र सुखद कार्यकालको ।

सम्बन्धित समाचार

हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
  • २०७७ कार्तिक २५, १२: ०५: १०

नयाँ विकल्प काठमाडाैं-वैदेशिक रोजगार विभागले दुई दिनमा तीन वटा मेनपावर कम्पनीमा छापा मारेको छ। विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर...

बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते,  आराेपीकाे घर जलाइयाे
बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते, आराेपीकाे घर जलाइयाे
  • २०७७ कार्तिक २५, १२: ०५: १०

नयाँ विकल्प बर्दिवास । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले मंगलबार गोली चलाउँदा दुइ...

तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
  • २०७७ कार्तिक २५, १२: ०५: १०

नयाँ विकल्प, काठमाडौं – नेपाल आयल निगमले तुलसीपुर उपमहानगरपालिकास्थित दाङको टरीगाउँ विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना गर्ने भएको छ ।...

भर्खरै

TOP