February 28, 2021, Sunday
सन्दर्भः नेपाली कांग्रेसको १४औं महाधिवेशन

कोरोनाको बहानामा महाधिवेशन टार्दै पद लम्ब्याउँदैं

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको घोषित मिति आउन अब दुई महिना तीन साता मात्र वाँकी छ । तर, महाधिवेशनको तयारी र आधार भने बनेको छैन् । देशको सबैभन्दा ठूलो पुरानो र ठूलो लोकतान्त्रिक दलले आफ्नो संगठनको आवधिक निर्वाचन समेत नियमित गर्न नसक्ने स्थिति देखिएको छ ।

पार्टी महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पार्टीको क्रियाशील सदस्यदेखि नेतृत्व (केन्द्रीय सभापति) तहसम्मको हुन्छ । कर्तब्य र जिम्मेवारीको हिसावले क्रियाशिल सदस्यको तुलनामा केन्द्रीय नेतृत्व बढी जिम्मेवार हुनुपर्छ र हुन्छ ।

तर नेपाली कांग्रेसमा महाधिवेशनको तयारी र आधार निर्माण गर्ने भन्दा तलदेखि माथिसम्म नेतृत्व प्राप्त गर्ने उदेश्यले आफ्नै सहकर्मी र सहधर्मीको चरित्र हत्या गर्ने, आरोपको वर्षा गराउने र हुर्मत लिने कार्य जोडतोडका साथ भएको छ ।

पार्टीको संस्थापन पक्षदेखि संस्थापनइत्तर पक्षका नेताहरु समेत पार्टी नेतृत्व र जिम्मेवारी लिने आफ्ना चाहना प्रकट गर्नु भन्दा अन्य नेता र सहकर्मीको कमजोरी औल्याउने अभियानमा जुटेको पाइन्छ ।

राजनीतिक संस्कार, जीवन शैली र मुलुकको उज्वल भविश्यका लागि आफ्नो प्रस्ताव, योजना र खाका प्रस्तुत गरेर आफ्नो दृष्टिकोण र दलिल दिनु भन्दा प्रतिष्पर्धी नेताको आलोचना, टिप्पणी र विरोधमा समय खर्चिएका छन् ।

कांग्रेस नेताहरुमा पद प्रतिको आशक्ति र लालचाले आफ्नो योग्यता, क्षमता वा मार्गचित्र प्रस्तुत नगरी अरुको कमजोरीलाई आफ्नो सबल पक्ष र शक्ति आर्जनको स्रोत सम्झने प्रबृत्तिले कांग्रेस संगठन मक्किदै गएको छ ।

त्यसमा पछि सत्तारुढ दलको किचलो, देश र जनताप्रति सत्ताको हेलचेक्र्याईं, तिरस्कार र हरेक क्षेत्रमा मौलाएको भ्रष्टाचारलाई आमनागरिकमा मात्र होइन, कांग्रेसका आम कार्यकर्तामा समेत असन्ुतष्टि चुलिन थालेको छ ।

सत्ताधारी दल, सरकार र उनीहरुका नजिक रहेका पात्र र प्रबृत्तिले नागरिकको नजरमा चरम अलोकप्रिय बनेको सत्ताको आलोचना, टिप्पणी र बिरोधमा प्रमुख प्रतिपक्षी र त्यसमा पनि शीर्ष नेता बढी नै व्यस्त हुन थालेका छन् ।

सत्ताधारी दलको अलोकप्रियतालाई आफ्नो लोकप्रीयता ठान्ने कांग्रेसका अपरिपक्व नेताको व्यवहारले आमनागरिकमा आकर्षण दिएको छैन् । सत्ता र सत्ताधारी दलले विधि, विधान र बैधानिकतालाइ कुल्चिँदै गएको घटनालाई टिप्पणी गर्नमा कांग्रेस नेताले धेरै समय बर्बाद गरिरहेका छन् ।

पार्टी संगठन, भ्रातृ संस्था र शुभेच्छुक संस्थालाई बर्तमान चुनौतिपूर्ण अवस्थाको सामना गर्न र संवोधन गर्न त के आफ्नै बैधानिकतामाथि प्रश्न आउँदा समेत नेतृत्वलाई खासै चासो, चिन्ता वा चिन्तन गरेको पार्इँदैन ।

पार्टीको महासमिति बैठकले स्वीकृत गरेको पार्टी बिधानलाई अन्तिम रुप दिन ६ महिना लगाउने कांग्रेसले विधानको कार्यान्वयन नगरी त्यसको संशोधन गर्नेदेखि विधानलाई पालना नगर्ने लाइन अबलम्वन गरेको छ ।

पार्टी नेतृत्वमा नयाँ पुस्तालाई स्थान दिने वा जिम्मेवारी दिने पक्षमा कांग्रेस नेतृत्व नदेखिनु र महाधिवेशनजस्तो महत्वपूर्ण र ऐतिहासिक कार्यलाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल र चिन्ता गरेको पाइँदैन ।

आफैले गरेको निर्णय कार्यान्वयन भयो भएन ? भएन भने निर्धारित समयमै गर्न र गराउन कांग्रेसका केन्द्रीय सदस्यको खबरदारी समेत नहुनु अर्को कमजोर पक्ष हो ।

महाधिवेशनले निश्चय पनि नेतृत्व परिवर्तन गर्छ । महाधिवेशनले गर्ने निर्णयबाट आफू छनोट भइएला वा नभइएला ? आफ्नो पद सुरक्षीत होला वा नहोला भन्ने भय र त्रास शीर्ष नेतादेखि केन्द्रीय सदस्य अधिकांसमा देखिएको छ ।

उमेरले ६० बसन्त पार गरीसकेका तर आफूलाई यूवा नेतादेखि दोश्रो पुस्ताको नेता भन्न रुचाउनेहरुको दृष्टिकोण स्पस्ट देखिँदैन भने नेतृत्वमाथि खबरदारी र दबाब समेत देखिँदैन ।

कोरोना भाइरसको संक्रमण बिश्वव्यापी भएको रयसबाट भागेर सफलता पाउन नसकेपछि त्यसको सामना गर्दै विश्वका धेरैजसो देशले राज्य संचालन र समाज परिचालन गरिरहेका छन् । तर, हाम्रो मुलुकमा सत्ताधारीदेखि पार्टीको सस्थापन पक्षका केही नेतामा सोही बमोजिमको मनोग्रन्थिले राज गरेको छ ।

मुलुक, पार्टी र पार्टी कार्यकर्ताको भविश्वको चिन्ता भन्दा आफ्नै पद र प्रतिष्ठाको चिन्तन बोकेका नेताले महाधिवेशनको तयारीका लागि नेतृत्वलाई दबाब दिन नसक्नु स्वभाविक नै हो ।

केन्द्रीय कार्यसमिति बैठकले पार्टीका क्रियाशिल सदस्यताको नविकरण र वितरण सम्पन्न गरी केन्द्रीय कार्यसमितिले सभापतिबाट प्रमाणीत गरी केन्द्रीय निर्वाचन समितिसमक्ष पेश गर्ने मिति मंसिर मसान्तसम्म तोकिएको छ ।

तर, केन्द्रीय सदस्यहरु आफैले गरेको निर्णयप्रति जिम्मेवार देखिँदैनन् । बरु कात्तिक २८ गतेको बैठकमा पार्टीको वडा, गाउँ÷नगर, प्रदेश क्षेत्र, संघीय प्रदेश क्षेत्र तथा जिल्ला अधिवेशन निर्धारित समयमा सम्पन्न गर्न नसकिने यथार्थतालाई न त स्वीकार गर्न सके नत अश्विकार नै ।

पार्टी संगठनका सात वटै तहको अधिवेशन पुुस ६, ८, ११, १३ र १६ गते तोकिएको छ । महाधिवेसनको कार्यतालिका परिवर्तन नगरी कांग्रेसले क्रियाशिल सदस्यताको नविकरण गरी आगामी मंसिर मसान्तभित्र केन्द्रमा पठाउन उर्दी जारी गर्यो ।

कांग्रेसको यो निर्णय यति धेरै अपूर्ण र अधुरो छ कि नयाँ क्रियाशिल सदस्यता वितरण कहिले गरिसक्ने, छानबिन कहिले हुने र अन्तिम नामावली कहिले प्रकाशित गर्ने भन्नजे विषय मौन छ ।

पार्टी केन्द्रीय कार्यसमितिको असार २२ गते बसेको बैठकले गरेको निर्णय बमोजिम प्रकाशित भएको महाधिवेशनको कार्यतालिका परिर्वत वा संशोधन पनि नगर्ने र कार्यतालिका अनुसार काम समेत सम्पन्न गर्न नसक्ने किंकर्तव्यविमुढ अवस्थामा नेतृत्व पुगेको छ ।

निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्ने आधारभूत सर्त भनेकै क्रियाशिल सदस्यता नविकरण र वितरणपछिको अन्तिम नामावली हो । क्रियासिल सदस्य को को हुन र कति संख्या छ भनेर यकिन नभएसम्म पार्टी महाधिवेशनको प्रस्थान बिन्दु शुरु हुन सक्दैन । त्यसमा पनि अन्य दलबाट कांग्रेसमा समाहित भएकाहरुको विवरण अद्यावधिक नगरिनु पनि पार्टी महाधिवेशनको लागि बाधा हो ।

हाल पदाधिकारी रहेका सबैजसो नेताले पार्टी नेतृत्वको दाबी गरिरहेका छन् । तर, महाधिवेशनले आफ्नो हैसियतलाई माथि पु¥याउने हो वा तल झार्ने हो भन्ने विषयमा आत्मविश्वास नभएका नेताले महाधिवेशन गर्न सकिने व्यवहारिक मिति संशोधन वा परिमार्जन गर्ने पक्षमा स्पस्ट धारणा राख्न सकेका छैनन् ।

पार्टी नेतृत्वको नजिक रहेकाहरुलाई निर्धारित समयमा महाधिवेशन सम्पन्न भएमा आफ्नो हैसियत अहिलेको अवस्थामा भन्दा पनि कमजोर हुन सक्ने भयले कोरोना भाइरसको बहानामा पार्टीका कुनै पनि तहको निर्वाचन गराउन नहुने पक्षमा अभिव्यक्ति दिने र वातवरण बनाइ रहेका छन् । संस्थापनइत्तर पक्षका नेताहरुको भूमिका पनि संस्थापन पक्षका नेताको आलोचना र टिप्पणीमा सिमित हुन थालेको छ ।

महाधिवेशन सम्पन्न गर्नका लागि आधारभूत पक्ष भनेकै क्रियाशिल सदस्यता हो । यो नै फाइनल नभएसम्म वडा, नगर, गाउँ, प्रदेश सभा निर्वाचिन क्षेत्र, संघीय संसद निर्वाचन क्षेत्रको महाधिवेशन सम्भव छैन ।

संघीय संसद निर्वाचन क्षेत्रको अधिवेशनले मात्र महाधिवेशन प्रतिनिधिहरुको छनोट गर्न सक्छ । त्यसको लागि सदस्यता वितरण अभियानले कहिले, कसरी र कुन मापदण्डबाट गर्ने भन्ने विषयमा संस्थापनइत्तरका नेताहरुले पनि सुझाव दिएका छैनन् ।

क्रियाशिल सदस्यता फाइनल नभइ महाधिवेशनको परिकल्पना पनि गर्न सकिँदैन । तर असन्तुष्ट नेताहरु महाधिवेशन फागुनमै हुनु पर्छ भनेर अड्डी लिइरहेका छन् । जुन व्यवहारिक र सम्भव छैन् । महाधिवेशनबाट आफूले अवसर नपाइने हो कि भन्ने भयमा रहेका नेताहरुले महाधिवेशन नभए आफ्नो पद जोगाउने घुमाउरो अभ्यास र प्रचलनलाई शुरुआत गरेका छन् ।

खासमा महाधिवेशन नयाँ पुस्ता र अनुहारलाई चाहिएको छ तर पदाधिकारी वा पुराना नेतालाई खासै आवश्यकता देखिएको छैन् । त्यसैले होला कांग्रेस केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार के गर्दैछ भन्ने विषयमा हराउनुभन्दा पार्टी, पार्टीका भातृसंस्था नेविसंघ, तरुण दल, महिला संघलगायत सबै भातृ तथा शुभेच्छुकलाई महाधिवेशनमा केन्द्रीत हुन आव्हान गरेका छन् ।

उनले नेपाली काँग्रेसको महाअधिवेशन सकेसम्म फागुनमा र सकिएन भने चैत बैसाखसम्म जसरी पनि सम्पन्न नगरे काँग्रेसको भविश्य समाप्त हुनसक्ने चेतावनी दिएका छन् । उनले अधिवेशन समयमा गर्नुपर्ने भएपनि काँग्रेस कता कता अल्मलिएको देखेको बताए । कोईरालाले नेपाली काँग्रेस पुनस्थापना भएर बलियो अवस्थामा फर्कन सबै देशभरका कार्यकर्ताले महत्वपूर्ण योगदान गर्नुपर्ने बताए ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले समेत पार्टी महाधिवेशन निर्धारित समयमै गर्नु पर्ने धारणा राखेका छन् । अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि महाधिवेशन टारेर अघि बढे पार्टी कमजोर हुन सक्ने र कार्यकर्तामा निरासा छाउन सक्ने बताए ।

सिटौलाले भने महाधिवेशन फागुनमा सम्भव नभएकाले जेठमा गर्नु पर्ने सुझाव दिँदै आएका छन् । तर, पार्टी सभापति देउवाले भने आगामी भदौ अर्थात १० महिनापछि महाधिवेशन गर्नु पर्ने प्रस्ताव गरेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
  • २०७७ मंसिर १५, १०: ३८: ३९

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...

अदालतले संविधान व्याख्याा गर्ने हो, त्यो जुलुस, नारा र भाषणको व्याख्या गर्ने होइन  –प्रचण्ड
अदालतले संविधान व्याख्याा गर्ने हो, त्यो जुलुस, नारा र भाषणको व्याख्या गर्ने होइन –प्रचण्ड
  • २०७७ मंसिर १५, १०: ३८: ३९

नयाँ बिकल्प, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीशमाथी...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
  • २०७७ मंसिर १५, १०: ३८: ३९

नयाँ विकल्प तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको...

भर्खरै

TOP