काठमाडाैं- ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ दर्शन गर्न बिहानैदेखि तःबहालमा भक्तजनको भीड लागेको छ ।
बुधबार साँझ ५ बजे रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन ल्याइएसँगै दर्शनार्थी बढेका हुन् । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले दिएकाे शुभ साइतअनुसार मच्छिन्द्रनाथलाई पाटन तःबहाल ल्याइएको पुजारी मदन शाक्यले जानकारी दिए ।
उनले भने , “बुधबार दिउँसो सवा ४ बजे मच्छिन्द्रनाथलाई बुङ्मतीबाट गुरुज्यूको पल्टन र केही सुरक्षाकर्मीसहित आठ जना पानेजुले पालेपालो बोकेर ल्याएका थियौँ । आज यहाँ भक्तजनको खुबै चहलपहल बढेको छ ।” मच्छिन्द्रनाथको रेखदेखमा आगामी आइतबारसम्मका लागि तःबहालमा आफ्नो पालो परेको पुजारी शाक्यले बताए ।
पाँच दिनअघिदेखि चोखो खाएर बसेका पुजारीले करुणामयलाई पाटन लगिसकेका ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारी दिए । उनले भने , “यही महिनामा मच्छिन्द्रनाथलाई पाटन ल्याउने परम्पराअनुसार मुलुकमा कोरोना महामारी रहिरहँदा पुजारीले समेत थाहा नपाउने गरी साइत हेरिएछ ।
यसपटक खासै हल्ला नगरी मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन लगियो ।” लोकेश्वरलाई पाटन ल्याउनुपूर्व बुङ्मतीका विभिन्न देवीदेवताको पूजा गरिएको पानेजु हेम बज्राचार्यले बताए । वृष्टिदेवलाई गत भदौ २९ गते दिउँसो ३ बजे पुल्चोकबाट खटमा बोकेर बुङ्मती लगिएको थियो । बुङ्मती लगिएको ५७ दिनमा नै यसपटक मच्छिन्द्रनाथलाई पाटन ल्याइएको हो ।
लोकेश्वरको मन्दिर बुङ्मतीमा हाल निर्माणाधीन रहेको छ । सो मन्दिर पछाडि रहेको अस्थायी मन्दिरमा मच्छिन्द्रनाथ राखिएको थियो । गत वर्ष कोरोना जोखिमका कारण मच्छिन्द्रनाथलाई गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल नलगी एकैपटक रथ तानेर जात्रा समाप्त गरिएको थियो । रातो मच्छिन्द्रनाथलाई हिन्दूधर्माबलम्बिले भर्खरै उदाउन लागेको सूर्यनारायणका रूपमा लिन्छन् भने महायानी बौद्ध परम्परामा लोकेश्वरलाई अभिताभ बुद्धका रूपमा लिइन्छ ।
नेवार बौद्ध संस्कृतिमा आर्यावलोकितेश्वरको ठूलो महिमा रहेको मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरक्षनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरक्षनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरक्षनाथ आसनबाट उठी वर्षा र सहकाल हुने पत्ता लगाइएको थियो ।
यसपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका बताइएको छ । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने गर्छन् ।
प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन आर्यावलोकितेश्वरको महास्नान गर्ने परम्परा रहेको छ । दमकलचोकस्थित जोगाम्बर पीठमा मच्छिन्द्रनाथको रथ बनाउने गरिन्छ । विसं ८०० मा राजा वरदेवले रथ बनाउन लगाएका थिए । यस वर्ष मच्छिन्द्रनाथलाई टोलटोल घुमाउने, नरिवल खसाल्ने ,एक्लो महिलाले रथ तान्ने र अन्त्यमा जावलाखेल लगेर भोटो देखाउने इच्छा रहेको सुन्धारा निवासी सूर्यमान डङ्गोलले इच्छा व्यक्त गरे ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...