May 11, 2021, Tuesday

नेपालमा ७२ प्रतिशत जनसंख्यालाई कोभिड–१९ खोप दिइने सरकारकाे तयारी

नयाँ विकल्प

काठमाडाैं- नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ ।

कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

अहिले बन्न थालेको खोप १५ वर्षभन्दा माथिका उमेर समूहलाई मात्र परीक्षण गरिएकाले नेपालमा पनि सोही समूहका व्यक्तिलाई लगाइने छ । नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसङ्ख्या रहेको र उनीहरुलाई खोप लगाइने छैन । उनले बालबालिकाभन्दा माथिका उमेर समूहमा परीक्षण भएर सफल भएपछि तिनलाई पनि खोप लगाइने जानकारी दिए।

सरकारले पहिलो चरणमा २० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने भएको छ । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइन्स ‘गाभी’ र ‘सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क खोप ल्याउने तयारी गरेको छ । ‘कोभ्याक्स सुविधा’ ले गरीब र कम आय भएका मुलुकलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।

कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले कोभ्याक्समार्फत ल्याइने खोपका लागि यही मङ्सिर १९ गते कूटनीतिकपत्र पठाइसकिएको जानकारी दिए । पहिलो चरणमा आउने २० प्रतिशतमध्ये शुरुमा तीन प्रतिशत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई दिइनेछ ।

सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी) सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउने छ । उनका अनुसार सरकारले रु ४८ अर्ब खोप ल्याउनका लागि बजेट विनियोजन गरेको छ । अहिले फाइजर एण्ड बायोएनटेक, मोडेर्ना (अमेरिका), अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत), ‘स्पुतनिक–भी’ र ग्यामेलिया (रुस) र ‘साइनोभ्याक्स’(चीन) का खोप अहिले अन्तिम परीक्षणमा छन् । तीमध्ये फाइजर कम्पनीको खोप सफल परीक्षण भई विश्व वास्थ्य सङ्गठन (डब्लुएचओ)ले भर्खरै मान्यता प्रदान गरेको छ ।

नेपाललाई कुन खोप उपयुक्त नेपालका लागि अक्सफोर्ड–एस्ट्राजेनेकाले बनाएको खोप उपयुक्त रहेको देखिएको छ । फाइजरको माइनस ८० डिग्री सेल्सियस तापक्रम र मोडेर्नाले बनाएको खोप माइनस २० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । उक्त दुवै खोप नेपालका लागि उपयुक्त नभएको विज्ञको भनाइ छ ।

अहिले अन्तिम परीक्षणका रुपमा रहेका अक्सफोर्ड– एस्ट्राजेनेकाले बनाएको खोप दुईदेखि आठ डिग्री सेल्सियसमा राख्न सकिने भएकाले उपयुक्त हुने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । “हाम्रो यहाँ निकै कम तापक्रममा खोप राख्न सम्भव हुँदैन”, उनले भने , “त्यसैले यहाँको वातावरणअनुसार कम तापक्रममा रहने खोप नै उपयुक्त हुन्छ ।”

निकै कम तापक्रममा राख्न मिल्ने खोप केही अस्पतालसँग मात्र राख्न सक्ने क्षमता रहेको उनले बताए । खोप ल्याउने तयारी गरिएपछि मन्त्रालयले खोप भण्डारण क्षमता बढाउन थालेको छ । खोप भण्डारणको व्यवस्थापन गर्नका लागि व्यवस्थापकलाई अभिमुखीकरण तालीमसमेत दिइसकिएको छ । डा उप्रेतीले खोप ल्याउनका लागि तयारी तिव्रगतिमा भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ मंसिर २५, १५: १०: ०३

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ मंसिर २५, १५: १०: ०३

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ मंसिर २५, १५: १०: ०३

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP