March 7, 2021, Sunday

प्रदेश १ को सरकार पनि धरापमा, मन्त्री आङ्बो निकालिएपछि मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव आउने


नयाँ विकल्प,
काठमाडौं – प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबिरुद्ध पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह खुलेर लागेपछि त्यसको असर प्रदेशमा पनि देखापर्नं थालेको छ ।
बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध अविश्वासको प्रस्ताव पेश भएको दुई दिन पछि आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध पनि प्रचण्ड–नेपाल समूहका प्रदेश सांसदले अविश्वासको प्रस्ताव पेश गर्ने भएका छन् ।
मुख्यमन्त्री राईले प्रचण्ड –नेपाल समूहमा रहेका प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेलगत्तै उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरिएको हो ।

मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–नेपाल समूहले भोलि अर्थात् आइतबार प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराउने भएको मुख्यमन्त्री राईद्वारा पदमुक्त गरिएका आङम्बोले संचारकर्मीसँग बताएका छन् ।

उनले प्रदेश सभामा बहुसंख्यक सांसदहरूले मुख्यमन्त्री राईविरुद्ध हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता हुने बताए । एक दिन पर्खिएको भए आफैं राजीनामा दिने तयारीमा रहेको बताएका मन्त्री आङ्बोले मुख्यमन्त्रीले पदमुक्त गरेपछि अविश्वासको प्रस्ताव लैजाने बाटो खुलेको जनाएका छन् ।

नेकपा ओली समूह प्रदेश १ मा अल्पमतमा हुनु र नेकपाकै बहुमत सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव गर्ने भएपछि राईको सरकार धरापमा परेको हो । अविश्वास प्रस्ताव दर्ता भएसँगै प्रदेश १ मा नयाँ सरकार गठनबारे पनि चर्चा सुरू भएको छ ।

दुई खेमामा विभाजित भएका नेकपालाई प्रदेश १ मा सरकार बनाउन नेपाली कांग्रेसको समर्थन अनिवार्यजस्तै देखिएको छ । प्रदेश १ का मुख्यमन्त्री राई नेकपा ओली समूहका हुन् । नेकपाको संसदीय दलमा मुख्यमन्त्री राई अल्पमतमा छन् ।

मुख्यमन्त्री राईले २६ मत पाएर तत्कालीन नेकपा एमालेको संसदीय दलको नेता भएका थिए । उनले भीम आचार्यलाई २ मतले हराउँदै मुख्यमन्त्री बनेका थिए । प्रदेशसभामा पूर्वएमालेतर्फका ५१ जना सांसद छन् भने पूर्वमाओवादीतर्फका १६ जना छन् । प्रदेशसभा ९३ जनाको छ । सभामुख र उपसभामुख पनि नेकपाकै भएकोले ९१ जना सांसदको बहुमत सिद्ध गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहले नै आफूहरुको पक्षमा बहुमत रहेको दाबी गरिरहेका छन् । नेकपा एक्लैको ६७, काङ्ग्रेसको २१ र साना दलका पाँच सांसद छन् । पार्टी विभाजनपछि ६७ मध्ये ओली पक्षमा २० सांसद खुलेका छन् । प्रचण्ड–नेपाल पक्षले आफूहरूसँग ४७ सांसद रहेको दाबी गरेका छन् ।

पार्टी विभाजनको मुखमा परेको संकटपूर्ण अवस्थामा मुख्यमन्त्री शेरधन राईले ६ पुसमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

तर त्यो बैठकमा प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो सहभागी भएका थिएनन् । तीन राज्यमन्त्रीसहित प्रदेश सरकारमा प्रचण्ड–नेपाल समूहका पाँच सदस्य छन् । ओलीले केन्द्रीय सदस्यमा मनोनित गरे पनि सामाजिक विकास मन्त्री घिमिरेले अश्वीकार गरेका थिए ।

प्रदेशसभामा ओली र प्रचण्ड दुवै समूहको बहुमत ४७ सांसद पुग्दैन । त्यसैले दुवै समूह बहुमत पु¥याउन कोसिस गरिरहेका छन् । नेपाली कांग्रेसको समर्थन नभए बहुमत कसैको नपुग्ने र प्रदेशसभा विघटन हुने ओली निकटका सांसदहरु बताउँछन् ।

प्रदेशसभामा कसको नेतृत्वमा सरकार बन्ने वा प्रदेशसभा विघटन हुने कि नहुने भन्ने निर्णायक अवस्थामा कांग्रेस छ। नेकपा विभाजन भएको स्थितिमा ओली समूह वा प्रचण्ड दुवैको प्रदेशसभामा बहुमत ४७ जना नपुग्ने अवस्था छ। त्यसैले दुवै पक्षले प्रतिपक्षी दल कांग्रेसको साथ खोजिरहेका छन्।

प्रतिपक्षी दल कांग्रेस भने पर्ख र हेरको स्थितिमा छ भने केन्द्रको निर्देशनको प्रतीक्षामा पनि छ। प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला नेकपाको दुवै समूहको अंकगणित प्रस्ट भएपछि मात्र निर्णायक कदम चाल्ने बताउँछन्।

मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरेका उनको सचिवालयले जनाएको थियो । आङ्बो पूर्वमाओवादी कोटामा मन्त्री बनेका थिए। उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन्।

रामबहादुर थापा बादलनिकट आङम्बो पछिल्लो समय उनको साथ छाडेर प्रचण्डतिर लागेका छन्। उनी अहिले राजधानी काठमाडौंमा प्रचण्ड र नेपालसँगै सडक आन्दोलनमा समेत सहभागी भएका छन्।

सम्बन्धित समाचार

भारतद्घारा बुटबलस्थित नहरपुर माविलाई ४ करोड ४१ लाख रुपैयाँ सहयोग
भारतद्घारा बुटबलस्थित नहरपुर माविलाई ४ करोड ४१ लाख रुपैयाँ सहयोग
  • २०७७ पुष ११, २२: ३२: १७

नयाँ बिकल्प,काठमाडौं । बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारले चार करोड ४१ लाख ४० हजार रुपैयाँ...

मदनराज गुरुङ स्मृति कप फुटसलको उपाधि बाह्रदशीलाई
मदनराज गुरुङ स्मृति कप फुटसलको उपाधि बाह्रदशीलाई
  • २०७७ पुष ११, २२: ३२: १७

काठमाडौं । नेपाली कांग्रेस झापा — काठमाडौं सम्पर्क समिति क्षेत्र नं ६ ले आयोजना गरेको मदनराज गुरुङ स्मृति कप फुटसल...

वैधानिक नेकपा हामी हौँ :  अध्यक्ष प्रचण्ड
वैधानिक नेकपा हामी हौँ : अध्यक्ष प्रचण्ड
  • २०७७ पुष ११, २२: ३२: १७

नयाँ विकल्प काठमाडाैं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गरेका छन् ।...

भर्खरै

TOP