June 20, 2021, Sunday

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३ मन्त्रीको राजिनामा


नयाँ विकल्प,
बिराटनगर – प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार बिहानै अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि सो कदमबिरुद्ध पार्टीका अर्का अध्यक्ष तथा बरिष्ठनेता माधवकुमार नेपाल समूहले ओली र उनी किनटका नेताबिरुद्ध मोर्चाबन्दी शुरु गरेका छन् ।

आइतबार मुख्यमन्त्री राईबिरुद्ध प्रदेश सभामा दर्ता गरिएको अविश्वासको प्रस्तावमा बहुमत प्रदेश सभाका सदस्यले हस्ताक्षर गरेका छन् । नेकपाका ६७ जना सदस्यमध्ये ४७ जना आफ्नो पक्षमा रहेको प्रचण्ड –माधव पक्षको दाबी भए पनि आइतबार वुझाइएको अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर छ ।

वाँकी १० जना प्रदेश सभा सदस्य कोभिडको कारण र आ–आफ्नो निर्वाचन क्षेत्रमा रहेका कारण भौतिक रुपमा उपस्थित हुन नसकेको दाबी गरिएको छ । प्रस्तावमा नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले समेत हस्ताक्षर गरेका छन् ।

दर्ता गरिएको अविश्वासको प्रस्तावमा पूर्वएमालेका केन्द्रीय सचिव भीम आचार्यलाई मुख्यमन्त्री बनाउने भनी प्रस्ताव गरिएको छ । प्रस्तावको प्रस्तावकमा अर्थमन्त्रीबाट निकालिएका इन्द्रबहादुर आङ्बो रहेका छन् भने समर्थकमा तेह्रथुममा प्रदेससभा सदस्य लक्ष्मण तिवारी रहेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि नै प्रदेश सरकारका तीन मन्त्रीले राजिनामा समेत बुझाएका छन् ।
प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । तीनैजनाले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन् ।

अर्थमन्त्री आङबो यसअघि बादल समूहमा थिए । तर, प्रधानमन्त्री ओलीले संसद विघटन गरेर पार्टी विभाजन गरेपछि उनले बादलको साथ छाडेर प्रचण्ड–माधव समूहलाई साथ दिएका छन् ।

प्रदेश एकका नेता शावित्रीकुमार काफ्ले पनि बादल समूहमै थिए । तर, बादल ओलीको पक्षमा लागेपछि काफ्लेले पनि बादलको साथ छाडेका छन् ।

कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद छन् । पार्टी विभाजनपछि ओली समूह अर्थात शेरधन राईको पक्षमा २० जना मात्रै रहेको बताइन्छ । प्रचण्ड र माधव पक्षमा ४७ सांसद रहेको बताइन्छ ।

यसअघि माधव नेपाल पक्षले साथ दिएका कारण भीम आचार्यलाई हराएर शेरधन राई संसदीय दलको नेता अनि मुख्यमन्त्री बनेका थिए । माधव नेपाल पक्षको साथ नपाएको भए ओली पक्षले प्रदेश १ मा मुख्यमन्त्री पाउने सम्भावना यसअघि पनि थिएन ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला समेत समेटिएको प्रदेश १ मा पूर्वएमालेभित्रै पनि माधव नेपाल पक्षभन्दा ओली पक्ष कमजोर देखिँदै आएको थियो । यसमा माओवादीले माधव नेपाल पक्षलाई साथ दिएपछि ओली पक्ष थप कमजोर बनेको हो ।

विशेष गरी मोरङ र सुनसरीमा ओली पक्षको भन्दा माधव नेपाल पक्षको पकड बलियो मानिँदै आएको छ । यद्यपि, भीम आचार्यको कार्यशैलीका कारण नेपाल पक्षका राजकुमार ओझा लगायतका केही नेताहरु भने असन्तुष्ट रहँदै आएका छन् ।

तत्कालिन नेकपाको प्रदेश नं १ संसदीय दलको नेतामा भीम आचार्य अर्का नेता शेरधन राईसँग १ मतले पराजित भएका थिए ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे,  बारअनुसार पसल खोल्न पाइने
काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे, बारअनुसार पसल खोल्न पाइने
  • २०७७ पुष १२, १३: ०५: ३२

नयाँ विकल्प, काठमाडाैं- उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार...

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
  • २०७७ पुष १२, १३: ०५: ३२

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता...

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
  • २०७७ पुष १२, १३: ०५: ३२

नयाँ बिकल्प, काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र...

भर्खरै

TOP