वेनी म्याग्दीकाे रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ ।
गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो । मौवाफाँट, पिप्ले र बेग मध्ये कहाँ अस्पताल बनाउने भन्ने विषयमा जनप्रतिधिबीच सहमति जुट्न नसकेपछि निर्णयका लागि गाउँसभामा मतदान गराइएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँसभा सदस्यको बहुमतबाट बेगमा अस्पताल निर्माण गर्ने निर्णय भएको जानकारी दिए । “४२ जना गाउँसभा सदस्यमध्ये सभामा ३५ जनाको उपस्थिति थियो”, उनले भने “मतदानमा सहभागी ३० मध्ये २६ जनाले बेग र चार जनाले मौवाफाँटको पक्षमा मत हाल्नुभएको थियो ।”
बहुमतबाट स्थान छनोट गर्ने निर्णयमा वडा नम्बर ३ पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्ल र तीन जना जनप्रतिनिधिले फरक मत राख्नुभएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले मत जाहेर गर्न नपरेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो ।
विसं २०७७ कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो । मौवाफाँटमा अस्पताल बनाउने आशयले निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्यचौकीको सूचीमा पिप्ले स्वास्थ्यचौकीलाई राखेको थियो ।
ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेको थिएन । बेगको देउरालीमा अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले नौ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको वडाध्यक्ष बिलप्रसाद फगामीले बताए । लोकबहादुर, हिमबहादुर र मेजन फगामीले पाँच रोपनी तथा देउबहादुर, टुकबहादुर, दानबहादुर पुर्जा र जीतबहादुर गर्बुजाले चार रोपनी जग्गा उपलब्ध गराए ।
गाउँसभाले वडा नम्बर ३ लाई विभाजन गरेर दुई वटा वडामा कायम गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मालिका, अक्षता, कलेजाबाङ, फूलबारी, मौवाफाँट र कुदबाङ क्षेत्रलाई समेटेर नयाँ वडा कायम गर्न प्रदेश सरकारमार्फत सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।
त्यसैगरी गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि रघुगङ्गा नदीबाट पारि रहेका भूगोललाई समेटेर थप नयाँ गाउँपालिका बनाउनको लागिसमेत अनुरोध गर्ने निर्णय गाउँसभाले गरेको छ । वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ८ को कुइनेबस्तीलाई समेटेर पाखापानीमा केन्द्र रहने गरी नयाँ गाउँपालिका माग गर्ने निर्णय भएको छ ।
पाखापानीलाई दुई वडामा विभाजन गर्ने, धौलागिरि गाउँपालिकाको वडा नम्बर ५ र बेनी नगरपालिकाका–१० लाई समेत प्रस्ताव गरिएको नयाँ गाउँपालिकामा समावेश हुनका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध र समन्वय गर्ने सभाले निर्णय गरेको छ । मौवाफाँटमा व्यवस्थापन भइरहेको जग्गामा प्रशासकीय भवन निर्माण कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।
भवन निर्माणमा जिल्ला समन्वय समितिमार्फत रु ६० लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले रु २० लाख बजेट विनियोजन गरेको छ । प्रशासकीय भवन निर्माणमा प्रदेश सरकारले रु एक करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रु नौ करोडसम्म बजेट उपलब्ध गराउन सक्ने कार्यविधि छ ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...