January 16, 2021, Saturday

गुल्मीका कृषककाे तरकारी किन्न सरकारी गाडी खेतमै पुग्न थालेपछि…


नयाँ विकल्प
गुल्मी- रेसुङ्गा नगरपालिका–१० सिमीचौरकी भगवता कुँवर आफ्नै करेसाबारीमा फलेका खुर्सानी टिपेर सिमीचौरको बाँसखर्क आइन । उनले आफ्नै करेसाबारीबाट टिपेर ल्याएको खुर्सानी खरिद गर्न रेसुङ्गा नगरपालिकाको गाडी त्यस स्थानमा पुगेको थियो । नगरपालिकाले तोकेको भाउअनुसार आधा किलो खुर्सानीको उनले रु ७० पाउने भइन् । “खुर्सानी, केराउका मन्टा, रायो साग, पिडालुलगायतका तरकारी नगरपालिकाले खरिद गरिदिन्छ”, उनले भनिन यो, “तरकारी बेचेको पैसा पनि केही दिनपछि घरमै आउँछ ।”

आफूहरुले तरकारी बिक्री गरेर मासिक पाँच हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । घरमा भएको सबै कृषि उपज नगरपालिकाले खरिद गरिदिँदा स्थानीय कृषकले उत्पादन गरेको तरकारीले बजार पाएको र राम्रो आम्दानीको स्रोत भएको उनले बताइन् । श्रीमान् रोजगारीका लागि विदेशमा भए पनि घरमा आफू र छोरीको खर्च चलाउन श्रीमान्को आस गर्नुनपर्ने उनको अनुभव छ ।

सोही ठाउँकै मीना पाण्डे पनि नगरपालिकाले उत्पादित सबै कृषि उपज खरिद गरिदिन थालेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको र आम्दानीको स्रोत बढेको बताउनुहुन्छ । नगरपालिकाको गाडी आउँदा प्रत्येकपटक थोरै भए पनि तरकारी बिक्री गर्ने र त्यसबाट घर खर्च चलाउन सहज भएको उनको बुझाइ छ । “पहिले–पहिले एक पाउ तरकारी बोकेर बजारमा बेच्न जाँदैन थियौँ”, उनले भनिन “अहिले गाउँमा आएको गाडीले तरकारी लैजान्छ ।”

नगरपालिकाले पिडालु प्रतिकिलो ५० र अदुवा प्रतिकिलो ९० मा खरिद गर्ने गरेको उनले बताइन । पिडालु, गिठ्ठाजस्ता कहिल्यै बिक्री नहुने तरकारी र फलफूलजन्य उपज पनि नगरपालिकाले खरिद गरिदिँदा आफूहरुको आम्दानीको स्रोत राम्रो भएको उनी बताउँछिन् । नगरपालिकाले हाटबजार सञ्चालन गरी कृषकले उत्पादन गरेका कृषि उपजको बजारको ग्यारेन्टी गरेपछि कृषक लाभान्वित भएका छन् । नगरपालिकाले २०७६ कात्तिक २३ गतेदेखि हाटबजार सञ्चालन गरेको छ तर कोरोना महामारी शुरु भएसँगै गत चैतबाट बन्द भएको थियो । त्यसको नौ महिनापछि गत पुस ८ गतेदेखि हाटबजार पुनः सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेको कृषि उत्पादनले बजार पाएको छ । नगरपालिकाले समय मिलाएर रेसुङ्गा–४ अर्खले, वडा नं १० सिमीचौर, धुर्कोट गाउँपालिका तथा अर्घाखाँचीको ढिकुरासम्म पुगेर कृष उपज सङ्कलन गरी हाटबजारमार्फत बिक्री गर्दै आएको छ ।

बाँसखर्ककै सुमित्रा पाण्डेका श्रीमान् वैदेशिक रोजगारीमा छन् । घरमा दुई छोरी र आफूको खर्च तरकारी बिक्रीबाटै जुटाउने गरेको उनी बताउँछिन् । पहिले–पहिले डोकोमा बोकेर बजारसम्म तरकारी बेच्न हिँड्ने पाण्डेका लागि अहिले तरकारी लिन घरमै गाडी आउँछ । नगरपालिकाले सञ्चालन गरेको यो योजनाले स्थानीयवासी कृषकको समयको बचत, सबै तरकारी बिक्री तथा तत्काल भुक्तानी पाइनेजस्ता फाइदा रहेको उनले सुनाइन । उनी भन्छिन, “अहिले नसोचेको काम स्थानीय सरकारले गरेको छ ।” यसरी तरकारी खरिद गर्न नगरको गाडी टोलटोलमै पुग्छ भन्ने आफूले कहिल्यै नसोचेको बताउनुभयो । डोकोमा बोकेर तरकारी लैजाँदा व्यापारीका अनेकथरीका भनाइ सुन्नुपरे पनि अहिले सम्मानजनकरूपमा तरकारी बिक्री हुने र उत्पादन गर्न हौसला मिलेको उनको अनुभव छ ।

स्थानीयवासी ५१ वर्षीय खेतबहादुर कुँवरले तरकारी खेतीका लागि पानीको समस्या भएको बताए । पानी भए आफूहरुले जति पनि तरकारी उत्पादन गर्ने बताउँदै उनले सिँचाइको व्यवस्था मिलाइदिन आग्रह गरे । कृषकले उत्पादन गरेको कृषि र कृषिजन्य उत्पादनलाई हाटबजारमार्फत उपभोक्तासम्म पुर्याउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले हाटबजार सञ्चालन गरेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार तम्घास चारिखोलामा रहेको हाटबजार प्रत्येक दिन दिउँसो १ बजे पछाडि सञ्चालनमा आउँछ । हाटबजारमा अहिले विभिन्न स्थानमा उत्पादन भएका स्थानीय तरकारीजन्य सामग्री खरिद बिक्री हुन्छ ।

लोकल कुखुरा, लोकल अण्डा, प्याज, टमाटर, गाजर, आलु, पिडालु, अदुवा, बन्दागोभी, धनियालगायतका ३३ प्रकारका स्थानीय उत्पादन पाइन्छन् । तरकारीको दर प्रत्येक दिन फरक–फरक हुन्छ । औसतमा सागको मुठा तीन, अदुवा प्रतिकिलो ९०, टमाटर प्रतिकिलो ५५, प्याज प्रतिकिलो ८० लगायतको दरमा खरिद तथा बिक्री भइरहेको कृषि शाखा प्रमुख पन्थीले बताए ।

हाटबजारमा तरकारी किन्न पुगेकी रेसुङ्गा–१ की आरुसी खनालले हाटबजार सञ्चालन हुँदा आफूहरुलाई सहज भएको बताइन । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले हाटबजारलाई थप व्यवस्थित बनाउन जिल्ला तथा जिल्लाबाहिरका पालिकासँग समन्वय भइरहेको जानकारी दिए । कृषि र पशुपालनमार्फत रोजगारको सिर्जना गर्ने लक्ष्य लिएकाले नगरपालिकाले आवश्यक लगानी गर्ने बताए। रासस

सम्बन्धित समाचार

रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख वलीसहित ५ जना जुवा खालबाट पक्राउ
रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख वलीसहित ५ जना जुवा खालबाट पक्राउ
  • २०७७ पुष २४, १२: ०१: ५८

नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...

शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
  • २०७७ पुष २४, १२: ०१: ५८

नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...

तङ्ग्रिदै छ पोखराको पर्यटन ब्यावसाय
तङ्ग्रिदै छ पोखराको पर्यटन ब्यावसाय
  • २०७७ पुष २४, १२: ०१: ५८

सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...

भर्खरै

TOP