May 6, 2021, Thursday

राजा महेन्द्रको पुतला दहन !

नयाँ विकल्प

काठमाडाैं- हामी रिहा भएको जानकारी दमन ढुङ्गानाले राजधानीका नेविसङ्घका साथीहरूलाई दिइसक्नुभएको रहेछ । सभापति विपिन कोइरालाले दुईजना अरू साथीसहित आएर भोलिपल्ट वैशाख ७ गते अफिसमा आउन निम्ता दिए । भोलि विद्यार्थी सङ्घको स्थापना दिवस रहेछ । त्यो पनि मनाउने, हाम्रो स्वागत गर्ने कार्यक्रम रहेछ ।


कार्यक्रमको सुइँको पाएर प्रशासनले भोलि बिहानै खेमराज मायालु र अर्का एकजनालाई पक्राउ गर्यो । त्यसैले साथीहरूमा कार्यक्रम असफल हुन्छ कि भन्ने डर थियो । हामी अफिस पुग्यौं । एउटा गोप्य कोठामा ४०–५० जना जम्मा भइसकेका रहेछन् । नेविसङ्घको प्रथम वार्षिकोत्सवको तुल पनि टाँगिएको थियो । कार्यक्रम सञ्चालन भयो ।

विपिन, अर्जुननरसिंह केसी, टीका पोखरेल, मच्छेन्द्र पाठक लगायत विद्यार्थी नेताले भाषण गरे । सबै वक्ताले सर्वोच्च अदालतले हामीलाई त्यसरी जिताउनु सरकारको लज्जास्पद हार हो भन्दै सरकारले यसबाट शिक्षा लिएर विद्यार्थीलाई थुनेर अधिनायकवादी शासन चलाउने नीति त्याग्नुपर्ने र जनताका खोसिएका अधिकार स्थापित गर्नुपर्ने कुरामा जोड दिए ।


हाम्रो तर्फबाट महन्थले मन्तव्य दिए । आयोजकहरूले हामीलाई अबिरको टीका र माला लगाइदिएर सम्मान प्रकट गरे । हामी हर्षले गद्गद भयौं । नाम सुनिरहेका चर्चित विद्यार्थी नेताहरूलाई यसरी एकैपल्ट भेट्न पाउनु पनि हाम्रो लागि कल्पना नै नगरिएको उपलब्धि थियो ।
त्यसबेला काठमाडौंबाट जनकपुर जान वीरगन्जसम्म बसमा, त्यसपछि ’रक्सौल, जयनगर हुँदै जनकपुर जानुपर्थ्यो ।


हामी चारपाँच दिन काठमाडौं बसेर फर्कियौं । हाम्रो रिहाइको खबरले जनकपुरको विद्यार्थी जगतमा उत्साह ल्यायो । सरकार विरोधीहरूको मनोबल हवात्त बढ्यो । हामी फलानो दिन जयनगर हुँदै आउँदैछौं भनेर बोधदादाले आकाशवाणी पठाइसक्नुभएको थियो । विद्यार्थीहरूको एक हुल हामीलाई लिन ’जयनगर पुगेको थियो । उनीहरूले अबिर–माला लगाएर हाम्रो स्वागत गर्दै नारा लगाए, “इनकलाब– जिन्दावाद, विद्यार्थी एकता– अमर रहोस्, नेपाल विद्यार्थी सङ्घ– जिन्दावाद !“
स्टेसनमा हामीलाई हेर्नेहरूको भीड लाग्यो ।

हामी सबै एउटै डिब्बामा बस्यौं । रेल हिँड्नासाथ विद्यार्थीहरू उत्सुकता पोख्थे, जेल कस्तो हुँदोरहेछ ? सर्वोच्च अदालत कस्तो रहेछ ? जेलमा के–के खान दियो ? राजबन्दीलाई त जे माग्यो, त्यही दिन्छ, हैन ? मिठाई र फलफूल पनि दिन्छ रे, हैन ? कपाल कसरी काट्नुभयो ? लुगा धुने धोबी पनि हुँदोरहेछ ? सबैजना मोटाउनुभएछ । रमाइलो हुन्छ जस्तो छ । अब आन्दोलन गर्दा हामीलाई पनि भन्नुस् है !

हाम्रो हैसियत फेरिएको थियो । देख्दादेख्दै हामी विद्यार्थीबाट विद्यार्थी नेता को श्रेणीमा उक्लिएका थियौं । समाजले हामीलाई पहिलेभन्दा बढी सम्मानले हेर्न थालेको अनुभूति भइरहेको थियो ।
अन्धो प्रशासन

हामी जनकपुर पुगेको केही दिनमै जेठको सुरुमा राजा वीरेन्द्र भ्रमणका क्रममा त्यहाँ आउने समाचार सुनियो । भर्खर जेलबाट छुटेर आएका हामी ६ जना जम्मा भएर विरोधको कुनै कार्यक्रम गर्ने कि भनेर छलफल गयौं । र, अहिले चुपचाप बसेर हेर्ने, राजाले नेपाली काङ्ग्रेसविरूद्ध भाषण गरे वा निर्देशन दिए भने विरोधमा केही गर्ने निर्णयमा हामी पुग्यौं ।

राजाको पूर्वनिर्धारित कार्यक्रम बिथोल्न खोज्दा चर्को दमन हुन्छ र सफल पनि हुँदैन । त्यसकारण उनीहरूले कल्पनै नगरेको दिन केही गर्नुपर्दछ भन्ने कुरामा सबैको सहमति भयो ।
यो सहमतिपश्चात् मैले आफूलाई राजनीतिभन्दा अध्ययनमा केन्द्रित गर्ने निश्चय गरें । पढाइमा अलि ध्यान दिएर अरू साथीहरूभन्दा अब्बल निस्कने सोच बनाई पाठ्यक्रमका पुस्तक बढी पढ्न तल्लीन भएँ ।

तर, हामीले नसोचेको कुरा भयो । राजाको सवारी हुनुभन्दा एक साताअघि प्रशासनले हामीलाई बिनाकारण पक्राउ गरी सार्वजनिक सुरक्षा ऐनको पुर्जी दिई त्यसै दिन जलेश्वर जेल पठाइदियो । हामीसँगै थप ४–५ जना विद्यार्थीलाई पनि पक्राउ गरी जेलमा कोच्यो ।

करिब एक महिनामा रिहा भएपछि एकदिन जनकपुरमा सहअञ्चलाधीश रत्नबहादुर गुरूङ (त्यसबेला उनी पदोन्नति भएर सहायकबाट सह भइसकेका थिए) सँग अनौपचारिक कुराकानीमा मैले प्रशासनको सूचना संयन्त्र निकम्मा रहेको बताउँदा उनले भने, “श्री ५ को सवारी हुनुभन्दा केही दिन पहिले तपाईंहरू ६ मध्ये चारजना, निधिको छोरा र अरू दुईतीन जना विद्यार्थी रेल स्टेसनपूर्वको पोखरीको घाटमा बसेर छलफल गरेको होइन र ? हाम्रो मान्छे (गुप्तचर)ले त्यस्तै सूचना ल्याएको थियो ।

उनको सूचना सुन्दा त म छक्क परें । किनभने उनलाई गुप्तचरले दिएको जानकारी गलत थिएन । त्यो छलफलमा आनन्द ढुङ्गाना, महन्थ ठाकुर, केशव र म अनि विमलेन्द्र निधि, नारायण घिमिरे र रेवती कोइराला तथा अहिले नाम सम्झना नभएका दुईजना विद्यार्थी सम्मिलित थियौं । हाइस्कुल हडताल गराउन सकिने प्रस्ताव विमलेन्द्रले राखेका थिए । उनी त्यसबेला सरस्वती हाइस्कुलका अगुवा छात्र थिए ।

हामी सँगसँगै उनलाई पनि पक्रिने आदेश रहेछ, तर संयोगले उनी भूमिगत हुन भ्याएछन् । नारायण र रेवतीको नाम थाहा नपाएर नै होला, उनीहरू गिरफ्तार हुनबाट जोगिए । उनीहरूको आशङ्कामा अन्य ४–५ जना राजनीतिमा रूचि नै नभएका बिचराहरू फसेका थिए । तर भेला भएको जानकारीकै आधारमा राजाको विरोधमा कार्यक्रम बनाएको निष्कर्षमा पुगी हामीलाई त्यसरी थुन्नु प्रशासनको अन्धोपन थियो । त्यसरी अप्रत्याशित रूपमा नथुनिएको भए हामीमध्ये कोही उत्कृष्ट छात्र बन्ने धुनमा राजनीतिबाट टाढा पुग्थ्यौं कि !


त्यसलगत्तै नेपाल विद्यार्थी सङ्घको धनुषा जिल्ला अधिवेशन भयो, जसमा केन्द्रको प्रतिनिधिका रूपमा तत्कालीन केन्द्रीय सदस्य वसन्त गुरूङ गएका थिए । उद्घाटन महेन्द्रनारायण निधिले गर्नुभयो । अधिवेशनले सर्वसम्मतिबाट रामप्रसाद गिरीलाई अध्यक्ष, मलाई उपाध्यक्ष र विमलेन्द्र निधिलाई सचिव चयन गर्यो ।


ठाकुर क्याम्पस युनियनको सभापतिमा कायम थिए र आनन्दलाई छिट्टै हुने युनियन चुनावमा सभापतिमा उठाउने सल्लाह भयो । अर्का साथी केशव आफ्नो जिल्ला गएका थिए ।
अधिवेशनपछि म आफ्नो जिल्ला सिन्धुलीमा सङ्गठन निर्माण गर्नतिर लागे । सिन्धुली काङ्ग्रेसको स्थिति कमजोर रहेको जिल्लामध्ये एक थियो ।

पहिले पूर्व २ नम्बरको रूपमा चिनिने क्षेत्र तीन जिल्लामा विभाजित भएको थियो– दोलखा, रामेछाप र सिन्धुली । २००७ सालमा काङ्ग्रेसको जग बसाल्न सक्रिय रहेका नेतामध्ये सिन्धुलीमा प्रायः कोही पनि क्रियाशील थिएनन् । कोही जिल्लामा परेकारबसेका थिएनन् भने कोही राजनीतिलाई टाढैबाट नमस्कार गरी पूर्ण रूपमा कृषक वा शिक्षकका रूपमा कार्यरत थिए । पुराना कार्यकर्ता वासुदेव बरालको रहस्यमय हत्या भएको थियो भने आम निर्वाचनमा प्रत्यासी रहेका कुलचन्द्र कोइराला राजनीतिबाट पाखा लागेर साहित्य, संस्कृति र अनुसन्धानमूलक कार्यमा केन्द्रित भई जिल्लाबाट बसाइ नै सर्नुभएको थियो ।

राजनीतिमा रूचि भएका युवा विद्यार्थी काठमाडौं वा जनकपुरमा बस्थे । २०१५ सालको निर्वाचनमा देशभरि काङ्ग्रेसको अद्भुत लहर भएको अवस्थामा समेत जित्न नसकेको यो जिल्लामा पार्टीको अस्तित्व कतै देखिंदैनथ्यो । २०१९ सालमा सशस्त्र सङ्घर्ष क्रममा हतियार र बमसहित भूमिगत रूपमा पूर्व २ नम्बरमा आक्रमण गर्ने ध्येयले आउँदा वासुदेव कोइराला आदि यहाँबाट गिरफ्तार भएका थिए । भीमबहादुर तामाङ भेष बदलेर भारत पुगे । काङ्ग्रेस–कम्युनिस्ट समर्थक आफ्नो पहिचान र भावना लुकाएर प्रजातन्त्रको आराधना गर्दै बसेका थिए।

राजनीति पञ्चहरूको सेरोफेरोमा कैद थियो । पञ्चहरूमध्ये उदारवादीलाई काङ्ग्रेस मानिन्थ्यो भने कट्टर पञ्चलाई कम्युनिस्ट । कम्युनिस्ट ठानिने पञ्चहरूको नीति चर्को स्वरमा राजाको प्रशस्ती गाउनु, राजभक्ति देखाउनु र भित्रभित्र काङ्ग्रेस विरोधी वातावरण सिर्जना गर्नु एवं कम्युनिस्ट विचारधाराको प्रचार गर्नु थियो ।

यस्तो बेला २०२८ सालको सुरुमा म त्यहाँ गएँ र नेपाल विद्यार्थी सङ्घको अधिवेशन गराएँ । आफ्नै गाउँ खुर्कोटमा गरिएको उक्त अधिवेशनमा प्रमुख अतिथिका रूपमा जनकपुरबाट बोधबाबु र विशिष्ट अतिथिका रूपमा रामेछापबाट पद्मशङ्कर अधिकारीलाई निम्त्याएँ । काङ्ग्रेसका क्रान्तिकारी नेताका रूपमा त्यस भेगमा चर्चित नेताद्वयलाई हेर्न छेउछाउका गाउँबाट मानिस ओइरिएका थिए ।

नेविसङ्घलाई केही समय अघिमात्र सर्वोच्च अदालतले वैधता प्रदान गरेकाले सरकारले यसको अधिवेशनमा हस्तक्षेप नगर्न प्रशासनलाई निर्देशन दिएको थियो । त्यसैले स्थानीय चौकीबाट प्रहरीहरू आए पनि उनीहरू छेउमा बसेर भाषण सुनेर गए ।

रामराजा काण्ड !

राजनीतिक दलहरूलाई प्रतिबन्धित गरेर ल्याएको निर्दलीय पञ्चायती प्रणालीलाई देशको बौद्धिक समुदायले बहिष्कार गरेकाले बुद्धिजीवीलाई पञ्चायतमा आकर्षित र सहभागी गराउने ध्येयले राजा महेन्द्रले संविधान संशोधन गरी देशका स्नातकहरूले व्यवस्थापिकामा चारजना सदस्य पठाउन पाउने व्यवस्था गरेका थिए ।

यसका लागि निर्वाचन नै हुन्थ्यो, जसमा देशभरिका स्नातकहरूले उठ्न र मतदान गर्न पाउँथे । २०२८ सालको चुनावका प्रत्यासीमा रामराजाप्रसाद सिंह पनि थिए । व्यवस्था विरोधीहरूको मुद्दा लडेर साहसिक छवि बनाइसकेका रामराजा कुनै पार्टीप्रति आबद्ध नभए पनि लोकतन्त्रप्रति आस्था राख्ने वरिष्ठ अधिवक्ता थिए ।

चुनावको सन्दर्भमा उनले निकालेको ’स्वर्णयुगतिर’ नामक घोषणापत्रमा राजा महेन्द्रको २०१७ पुस १ को कदम अलोकतान्त्रिक र अराष्ट्रिय मात्र होइन, असंवैधानिक पनि थियो भन्ने प्रमाणित गर्दै बिपी कोइराला नेतृत्वको सरकार रहेको संसदीय काल नेपालका लागि स्वर्णयुग थियो र आफू निर्वाचित भए मुलुकलाई संसदीय व्यवस्थाको स्वर्णयुगतिर लैजान प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

उनको त्यो घोषणापत्रले देशभरि आँधी ल्यायो घोषणापत्र प्रकाशित हुनासाथ रामराजालाई गिरफ्तार गर्न वारेन्ट जारी भयो । तर पनि घोषणापत्र गुप्तरूपमा वितरण भयो । पहिले छापेको प्रति अपुग भएर ठाउँठाउँमा प्रजातन्त्रवादीहरूले स्वस्फुर्त रूपमा पुनःमुद्रण गर्दै छ्याप्छ्याप्ती पारे । प्रजातन्त्रवादी विद्यार्थीहरूले ठाउँ फेरीफेरी विभिन्न ठाउँमा लुकाएर सुरक्षित राख्नुका साथै गोप्य बठक र भेलाहरूमा भाषण गर्न पुर्याए ।

२०२८ सालमा चितवनमा भएको नेपाल विद्यार्थी सङ्घको दोस्रो महाधिवेशनमा विशिष्ट अतिथि रामराजालाई बनाइयो । गोप्य भेलाहरू गरी उनलाई भाषण गर्न लगाइयो । उनी निरङ्कुश राजतन्त्रविरुद्ध आगो ओकल्थे र उनको भाषण उनको पर्चाभन्दा कडा हुन्थ्यो । देशको बौद्धिक समुदाय उनका पक्षमा जुरूक्कै उठ्यो ।

यसअघिका चुनावलाई बहिष्कार गरिरहेकाहरू पनि पञ्चायतलाई चुनौती दिन यो वातावरणको उपयोग गर्नतिर लागे । अन्ततः उनी सानदार मतले विजयी भए । रामराजा सिंहको जित प्रजातन्त्रको विजय तथा पञ्चायत व्यवस्थाको हारजस्तो बन्यो । देशका बुद्धिजीवी पञ्चायतविरुद्ध रहेको तथा उनीहरूले यो चुनावमार्फत् राजाको शासनलाई अस्वीकार गरेको निष्कर्ष निकालियो । जितपछि वारेन्ट कायमै रहेकाले सिंह भूमिगत नै रहे ।

शपथग्रहण नगरेसम्म वैधानिक रूपमा राष्ट्रिय पञ्चायत सदस्य (रापस) अर्थात् सांसद नहुने भएकाले सरकार उनलाई शपथग्रहण गर्ने नदिने निश्चयमा पगेको थियो । त्यसैले शपथग्रहण गर्नका लागि सिंहदरबार (राष्ट्रिय पञ्चायत) गएका बेला जसरी भए पनि पक्रने भनी व्यापक प्रहरी परिचालन गरियो । तर रामराजा त्यसदिन प्रहरीले नचिन्ने भेषमा अर्कै रापसको गाडीमा चढेर सुत्त भित्र छिरे ।

कुनै रापसले सिंहलाई यसरी प्रहरीलाई झुक्काएर छिराउन सक्छन् भन्ने कल्पना सरकारले गरेको थिएन । यो असफलतापछि राजाले आफूलाई नै कारबाही गर्न सक्छन् भनेर आत्तिएको सरकारले व्यवस्थापिकामा प्रहरी प्रवेश गर्न नपाउने नियम र मर्यादा तोडेर सदनभित्रै प्रहरी पठाएर रामराजालाई गिरफ्तार गयो । सदनभित्र प्रहरी आएर उनलाई गिरफ्तार गर्न खोज्दा सांसद र प्रहरीबीच झडप भयो । सिंहलाई गिरफ्तारीबाट जोगाउन खोज्ने आङदण्डी लामासहित कतिपय सांसद घाइते भए ।

रामराजाको गिरफ्तारीले देशका बुद्धिजीवी र राजनीतिकर्मीलाई झन् आन्दोलित बनायो । देशभरि आन्दोलनको लहर चल्यो भने राष्ट्रिय पञ्चायतमा प्रहरी प्रवेश एवं राष्ट्रिय पञ्चायत सदस्यहरूमाथि आक्रमणप्रति उदारवादी पञ्चले कडा आपत्ति जनाए ।

यस्तो परिस्थितिमा हामी रमिता हेरेर बस्न सम्भव थिएन । रामराजालाई चुनाव जितेर पनि शपथग्रहण गर्न नदिनु देशको सम्पूर्ण बुद्धिजीवीको अपमान हो र पञ्चायती संविधानको पनि उल्लङ्घन हो भन्दै हामीले निकम्मा र तानाशाही सरकार राजीनामा दे’ भन्ने नारासहित जनकपुरमा जुलुस निकाल्यौं । जुलुसमा ठूलो सङ्ख्यामा विद्यार्थी सहभागी थिए ।

प्रहरीलाई झुक्याउँदै राममन्दिर नजिकबाट सुरू गरिएको जुलुसको आकार झन्झन् ठूलो हुन थालेपछि एक हुल प्रहरी आएर अन्धाधुन्ध लाठी प्रहार गर्दै १२–१५ जनालाई पक्रियो र अरूलाई तितरबितर पायो । यसमा हामी ६ जना हुने त निश्चितै थियो । हामी फेरि जलेश्वर जेलमा पुग्यौं ।
तीन महिनापछि हामी रिहा भयौं ।

रिहा भएपछि मैले जनकपुरको सट्टा आफ्नो पुख्र्यौली जिल्ला सिन्धुलीमा केन्द्रित हुने निश्चय गरें ।
२०१७ पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएकाले सरकार र पञ्चहरू पुस १ लाई देशको सबैभन्दा महत्त्वपूर्ण ऐतिहासिक दिवसका रूपमा देशभरि विभिन्न कार्यक्रम गर्थे, हर्षबढाइँ र महोत्सव मनाउँथे ।

हामी भने त्यसलाई इतिहासको सबैभन्दा कालो दिन ठान्दथ्यौँ । यसको विरोध गर्नुपर्छ भनेर २०२८ पुस १ भन्दा दुई दिनपहिले माढी पुगें र नेविसङ्घ सम्बद्ध साथीहरूलाई कालो दिवस’ मनाउन कुनै कार्यक्रमको तयारी गर्न भनें । चक्रमान श्रेष्ठ सक्रिय भए । सदरमुकामको ढुङ्गेबासस्थित कमला हाइस्कुलमा विरोधसभा आयोजना भयो, सुटुक्क । मैले राजा महेन्द्रको स्केच गरेर बनाइएको रङ्गीन तस्बिरमा आगो लाएर कार्यक्रम उद्घाटन गरें । पुलिस, पञ्च, गुप्तचर कसैले थाहा नपाऊन् भना एकाछनमा कायक्रम सक्या ।


प्रशासनले हाम्रो कुनै गोप्य कार्यक्रम भएको शङ्का नगरोस् भनी म दिनभरि सबैले देख्नेगरी बजारतिर यताउता गरिरहें । त्यहीँ घर भएका एकजना वामपन्थी शिक्षकले राति सिडिओकहाँ गएर पोल लगाएछन् । शिक्षकले भनेको कुरा अन्य सूत्रबाट पनि पुष्टि भएपछि भोलिपल्ट बिहान सईको नेतृत्वमा एक डफ्फा पुलिस ढुङ्ग्रेबास आएर म बसेको डेरामा छापा मार्दै मलाई पक्रिहाले । उक्त कार्यक्रममा उपस्थित मुख्य व्यक्ति चक्रमान श्रेष्ठ, भरत आचार्य, जनार्दन कोइराला, केशव बराल र गोपाल खड्कालाई पनि पक्रेर सँगसँगै लगे।

डेरा खानतलासीका क्रममा सईले म सुतेको ओछ्यान पनि पल्टाए । त्यही मुनि मैले लगेको ’तरूण’ पत्रिका थियो । ओछ्यान आधामात्र पल्टाएकाले धन्य त्यो भेट्टाएनन् । अन्यथा अर्को पनि मुद्दा लगाउँथे होलान् । हामी थाना पुग्दा नरेन्द्रजङ्ग थापालाई पनि गिरफ्तार गरेर ल्याइसकेको रहेछ । तत्कालीन जिल्ला पञ्चायत सभापति पद्मजङ्ग थापाका छोरा नरेन्द्र त्यहाँ विद्यालयमा पढ्थे र कुनै ’साथीले जनकपुरबाट हरिहर आएका छन्,।

हाम्रो स्कुलमा पुस १ को कार्यक्रम ’छ’ भनेकाले उनी काङ्ग्रेसको कार्यक्रम कस्तो हुँदोरहेछ भन्ने उत्सुकताले आएका थिए । उनका बुबाले छोराप्रति सहानुभूति राखी छोरालाई निर्दोष ठहरÞ्याएर रिहा गराउने कोसिस गर्दा आफूमाथि ’अराष्ट्रिय तत्त्वसँग निकट रहेको आशङ्का सरकारले गर्ला भनेर तटस्थ बसे ।

तीन दिनपछि थानामा बयान सकेर सबैजनालाई जलेश्वर पुरÞ्याइयो । राजकाज अपराध तथा सजाय ऐनअन्तर्गत तीनतीन वर्ष कैद र तीनतीन हजार जरिवाना गर्नुपर्ने मागदाबीसहित अञ्चलाधीशकहाँ उभ्याइयो र मुद्दा सुरू गर्नासाथ ’बाँकी भोलि गर्ने भन्दै पुर्पक्षका लागि महोत्तरी कारागार पठाइयो ।

पुस १ गते कालो दिवस मनाएको र राजाको तस्बिर जलाएको थाहा पाएपछि प्रशासनले मलाई पक्रेकोमा कुनै दुःख लागेन । किनभने त्यो स्वाभाविक थियो । तर राजनीतिमा लाग्ने इच्छा नभएका जेहेनदार विद्यार्थीहरू मेरो कारणले थुनिएकोमा धेरै चिन्ता लाग्यो । मैले गर्दा उनीहरूको भविष्य नै सङ्कटमा पर्न लागेकोमा आत्मग्लानि भयो ।

तिनका आमाबाले मलाई कति सराप्दा हुन् ! यो सोच्दा झन् पीडा हुन्थ्यो । थुनिएकामध्ये भरत भतिजा थिए भने केशव भानिज । त्यस्तै, पिताको छाया गुमाइसकेका चक्रमानलाई वृद्धा आमाले बडो दुःख गरेर पढाउनुभएको थियो ।

आर्थिक अवस्था कमजोर भएकाले उनी तत्काल पढाइ स्थगित गरेर राष्ट्रिय वाणिज्य बैंकको जागिर खाएर आमालाई सहारा दिइरहेका थिए । अब उनकी आमालाई कसले संरक्षण देला ? उहाँ कसको सहारामा, कसको आशामा बाँच्नुहोला ?

मैले मेरी आमा २०२७ सालमा म पहिलोपल्ट थुनामा पर्दा जलेश्वर जेलमा आएर माफी मागेर नछुटे आत्महत्या गर्छ भनी रोएको सम्झिएँ । अनि सबैजनालाई भने, “बयान गर्दा सबै दोष मलाई दिनू । जे–जे भन्दा छोड्छ, त्यो सबै भन्नू । पूरा इन्कारी बयान दिनू । राजनीतिबारे केही थाहा छैन, रमिता हेर्न मात्र गएको हो भन्नू ।’

सबैको बयान समाप्त भएपछि मात्र मेरो बयान लिइयो । बयान लिन खटिएको कर्मचारी म वा नेपाली काङ्ग्रेसप्रति सद्भाव राख्ने मानिस रहेछन् । उनले चारैतिर हेरेर मप्रति सहानुभूति देखाउँदै भने, “तपाईंले साथ लिएकामध्ये एकजना पनि काम लाग्ने रहेनछ । सबैले खुट्टा कमाए । हामीले कुटेका, तर्साएका थिएनौं । तर सबैले इन्कारी बयान दिँदै सबै दोष तपाईंलाई बोकाइदिएका छन् है।“
उनले अझ थपे, ’चक्रमान त सिआइडी पो रहेछ ।

मैले पत्याइनँ । भनें, “बिचरा वृद्धा र बिरामी आमा तथा बैंकको जागिरसमेत माया मारेर मलाई साथ दिएका छन् । सिआइडी भए प्रशासनले उनलाई किन थुन्थ्यो ? उनलाई मैले नै नेविसङ्घको अध्यक्ष बनाएको हो र त्यो कार्यक्रमको सभापतित्व पनि उनैले गरेका थिए, थुनिने काम किन गर्थे ?“
उनको भनाइ नपत्याएपछि उनले मलाई सबैको बयान राखिएको मिसिलको थाक पढ्न दिए ।

सबैले पुलिसमा पनि, अञ्चलाधीशकहाँ पनि मैले भनेजस्तै इन्कारी बयान दिएका रहेछन् । तर चक्रमानले अञ्चलाधीशकहाँ एउटा थप बठ्याइँ गर्न खोजेका रहेछन् । उनले बयानमा भनेका रहेछन्( हरिहर विरही अराष्ट्रिय तत्त्व हो, ऊ यहाँ किन आएको, के(के गर्छ, कसकसलाई भेट्छ, त्यो पत्ता लगाएर सिडिओलाई रिपोर्ट दिने उद्देश्यले उनको पछाडि लागेको हुँ, मेरो काङ्ग्रेस पार्टीसँग कुनै सम्बन्ध छैन । काङ्ग्रेस अराष्ट्रिय तत्त्व हो, म राजभक्त बयान लिनेले प्रश्न गरेको छ, “तपाईंलाई त्यो कार्यक्रममा कसले पठाएको थियो अथवा कसको अनुमतिले जानुभएको थियो र सो घटनापछि कसलाई रिपोर्ट दिनुभयो ?

जवाफमा उनले तत्कालीन जिल्ला पञ्चायत सभापति थापा र प्रहरी निरीक्षक रामेश्वर श्रीवास्तवले अहाएकाले हरिहरको पछि लागेको र उनीहरूलाई रिपोर्ट गरेको दाबी गरेका रहेछन् । अञ्चलाधीश कार्यालयले त्यसपछि औपचारिक रूपमा थापा र श्रीवास्तवसँग वास्तविकता बुझ्न खोज्दा दुवैले चक्रमानको दाबी सत्य नभएको, आफूले उनलाई त्यस्तो निर्देशन नदिएको, उनले घटनाको जानकारी पनि नदिएको, उनी गुप्तचर नरहेको र काङ्ग्रेस समर्थक नै भएको बताउँदै यसबारे लिखित रूपमै जवाफ पठाएछन् ।


मिसिल पढेर कुनै प्रतिक्रिया नजनाई मैले फिर्ता दिएँ । मभन्दा उमेरले निकै जेठा ती कर्मचारी मलाई व्यङ्ग्य गर्दै थिए, “यस्ता डरछेरुवा केटाहरूलाई लिएर कसरी सङ्गठन बन्छ, बाबु !“
मचाहिँ बयानमा जेसुकै भनिए पनि उनीहरूप्रति पूर्ण विश्वासका साथ सहानुभूति राखिरहेको थिएँ र चक्रमानप्रति झन् दया पलाएको थियो ।

उनले बयानमा कुनै कारणले जे भने पनि उनी सो कार्यक्रमको आयोजक नै रहेकाले उनको नियतमाथि मलाई पटक्कै शङ्का लागेन । त्यसमाथि प्रशासनको जिम्मेदार व्यक्ति प्रहरीको हाकिम र जिल्ला पञ्चायत सभापतिले नै ऊ गुप्तचर होइन, काङग्रेसी नै हो भनेपछि म कसरी शङ्का गरूँ ?

उनीहरूमा हीनभाव जागृत नहोस् भनी मैले उनीहरूको बयान आफूले पढेको सङ्केतसम्म दिइनँ । उनीहरू सबैजना जसरी भए पनि चाँडै रिहा होऊ भन्ने म चाहन्थें । मैले आफ्नो बयानमा पुस १ को घटनाको सम्पूर्ण जिम्मेदारी आफूले लिँदै अरू सबैजना मेरो आग्रह टाल्न नसकी हेर्नका लागि मात्र त्यहाँ गएको उल्लेख गरें । बयानमा मैले राजाको पुस १ को कदमले जनताका मौलिक अधिकार खोसिएकाले राजाको उक्त कदमप्रति जनताको के भावना रहेछ भन्ने कुरा राजालाई थाहा होस् भनी राजाकै हित चिताई पुतला जलाएको पनि स्पष्ट गरें ।

बयान सकिएको पर्सिपल्ट अप्रत्याशित रूपमा मलाई सर्लाही कारागार सरुवा गरियो, जलेश्वरबाट पैदल, भारतीय सीमाको बाटो हुँदै । साथमा एउटा हवल्दार र दुईजना कन्स्टेबल थिए । अपराह्न सीमा क्षेत्रको एउटा छाप्रोमा बास बसियो । त्यो छाप्रो प्रहरी चौकी रहेछ । गाउँको नाम थियो सम्सी । त्यहाँका प्रहरीले पाहुनाको राम्रो स्वागत गरे ।

पोखरीमा मार्दै गरेको ताजा माछा ल्याए । एक भाँडो महुवाको रक्सी ल्याए । रामप्रसाद कुमी नामक एउटा पुलिसको मावलीपट्टिको हजुरबा काङ्ग्रेसी रहेछन् । २००७ सालको क्रान्तिको सेनानी रे । म नेपाली काङ्ग्रेसको कार्यकर्ता भएको र पक्राउ गरेर मलङ्गवाको जेलमा लैजान लागेको थाहा पाएपछि उनी असाध्य खुसी र भावुक भए । गिरफ्तारीको कारण सोधे । मैले राजाको पुतला जलाएकोले थुनिएको बताएपछि उनले अश्लील शब्दमा राजालाई गाली गर्दै यो “कन्हा राजालाई त देशबाट खेद्नुपर्छ, पहाडे राजा मूर्ख हुन्छन् भने ।

एउटा साधारण पुलिसको यस्तो भावना देखेर म छक्क परें । म स्थानीय भाषामा बोलिरहेकोले सायद उनले म पहाडे हुँ भन्ने शङ्का नै गरेनन् । राति उनले म सुतेको ओछ्याननजिक आएर भने, “तपाईं हिंडेर आउनुभएको, भोलि पनि हिँड्नुपर्छ, जिउ थिचिदिऊँ ?“
म नहीं नहीं’ भन्दै जुरूक्क उठेर बसें । उनले एक लोटा पानी ल्याएर नजिकै राखिदिए ।
भोलिपल्ट साँझ मात्र हामी मलङ्गवा पुग्यौं । मसँग गिरफ्तार भएका सबैजना जलेश्वर जेलमै रहे ।(आगो निभेको छैन नामक पुस्तकबाट ।)

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ पुष २७, १५: ४३: ५५

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ पुष २७, १५: ४३: ५५

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ पुष २७, १५: ४३: ५५

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP