February 26, 2021, Friday
ताबाको माछा उफ्रेर भुङ्ग्रामा

मुलुक जसरी पनि अस्थिरतामा त फस्यो फस्यो

१.मुलुकको राजनीतिमा देखिएको महान अस्थिरताले अहिले नेपालीहरुको मनस्थिति ४ पक्षमा विभाजित छ । पहिलो पक्ष हो, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली (केपी शर्मा ओली)ले गरेको असमयको प्रतिनिधि सभाको पक्षमा छ ।

२. दोस्रो पक्ष प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभाको विघटनको विपक्षमा छ र त्यो पक्षचाहिँ सडक र कानुनी उपचार दुवैको प्रयोग गरेर संविधानबमोजिम संविधानको रक्षा गरेर संसदको गरिमा जोगाउने पक्षमा उभिएको छ । त्यसमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष लागेको छ ।

३.अर्को तेस्रो पक्ष भनेको विघटित तल्लो सदन ब्युँतिए पनि ठिकै छ, संसदमा पक्ष वा विपक्षमा भूमिका निर्बाह गरौँला, नब्युँतिएर निर्वाचन नै भयो भने निर्वाचनमा जाउँला, पहिलो दल हुनका लागि नेपाली जनतालाई अनुरोध गरौँला किनभने कृत्रिमतरिकाले एकताको नाटक गरेर प्रजातन्त्र पक्षधरलाई हराएका थिए, अब प्रजातन्त्र बचाउनका लागि जनताले फेरि हामीलाई मत दिई प्रजातन्त्र जोगाउन मद्दत गर्नुहोस् भनौँला ।

यसो भन्ने पक्ष भनेको हालसम्म प्रमुख प्रतिपक्षका रुपमा रहेको तर परिस्थितिले मुलुकको राजनीतिमा फेरि नेतृत्व लिने मौका पाउन सक्ने नेपाली काँग्रेसको धारणा त्यस्तै देखिन्छ ।

४. अर्को चोथो पक्ष हो यही अस्थिरतामा नै धमिलो पानीमा माछा मारौँला र मुलुकमा राजतन्त्रलाई पुनस्र्थापित गरौँला । त्यो पक्षसँग खासै यही तरिकाले नै राजतन्त्र पुनस्र्थापना होला भन्ने त छैन तर नेपाली जनतामा रहेको राजाप्रतिको परम्परागत मान्यताले राजालाई सदाका लागि फर्काउन सकिन्छ कि भन्ने आशा जागेको पाइन्छ ।

५. राजतन्त्र फर्कला नफर्कला तर जनतामा देखिएको दलहरुप्रतिको निराशाले भने कुनै तुफानको अनुमान गर्न सकिन्छ । त्यो तुफानले एउटा विश्वसनीय नेतृत्वको चाहना गरेको छ । त्यस्तो नेतृत्व कुनै पनि दलमा नदेखिएकोले नै धमिलो पानीमा माछा मार्नेहरु सलबलाएका हुन् ।

६. संविधानको दुरुपयोग र सदुपयोगको मुद्दामा अहिले संवैधानिक इजलासमा बहस चर्किएको छ र कोही पनि यस्तै निर्णय आउने कुरामा विश्वस्त छैनन् । एउटा कुरा चाहिँ के पक्का हो भने संसदबाट यो सरकार भाग्न चाहेको पक्का हो र यो संसद पुनस्र्थापना भयो भने पनि यसको विघटन अवश्यंभावी छ किनभने यो सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव पारित हुने बेलासम्ममा फेरि अर्को षडयन्त्रले संसदको आयु छोट्याउने देखिन्छ ।

कसैले पनि मत विभाजनमा वहुमत नल्याउन सम्भावना पनि छ र वहुमत ल्याई हाले पनि त्यो सरकार पनि अस्थिर हुनेछ । त्यो बेलामा अहिलेको सत्ताधारी पनि चुप लागेर बस्ने छैन ।

७. तर संविधानको मर्मलाई एकपटक जीवन दिन पनि संसदको पुनस्र्थापना अपरिहार्य छ जसले गर्दा जसले पनि तल्लो सदन विघटन गर्नका लागि धेरैपटक सोच्न बाध्य पार्नेछ ।

तर राजनीतिक प्राणीहरुले आफ्नो विवेक र क्षमतालाई आफैँले अवमूल्यन गरेर अदालतको निर्णयमा पठाएका छन् र अब चाहेर पनि अदालतको आदेश विना केही पनि गर्न सक्ने छैनन् । सरकार र व्यवस्थापिकाको मूल्यांकन गर्ने न्यायपालिकालाई सरकारले गर्ने र व्यवस्थापिकाले गर्ने कामको जिम्मा लगाइएको अवस्था छ ।

८. मुलुक फेरि जे गरे पनि आन्तरिक द्वन्द्वमा फसेको छ र त्यसका लागि अब एउटै उपाय छ, सर्वोच्च अदालतको निर्णय पर्खेर बस्ने ।

अदालतप्रति पूर्ण आस्थासहित आउने फैसलालाई इमान्दारिताका साथ पालना गर्ने । तर त्यो सम्भव देखिँदैन । सबै आप्mनो पक्षमा नै फैसला आओस् अनि मात्र मान्ने भन्ने पक्षमा देखिन्छन् । खासगरी नेकपाले फैसलाको पक्षमा कति इमान्दारिता देखाउला भन्ने शंका छ किनभने नेकपा आफैँ दुईधारमा विभजित छ । एउटा प्रधानमन्त्रीको पक्षमा र अर्को पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधव र झलनाथहरुको पक्षमा ।

नियमले कानुनसम्मत तरिकाले तीनओटा प्रधानमन्त्रीहरु भएको नेकपाको खण्ड वहुमतमा छ तर प्रधानमन्त्रीसँग अहिले सत्ता छ र ढिपी गर्ने शक्ति छ ।

९. काँग्रेस अन्यमनस्क यसकारणले देखिन्छ कि दुवै अवस्थामा उसको पक्ष सकारात्मक छ तर आफ्नो दलमा एकता छैन । प्रजातन्त्रका पक्षमा एकता भए पनि आन्तरिक प्रजातन्त्रका कमीले ठिक र बेठिकका मानकहरु फरक फरक अथ्र्याइने गरेको छ ।

पुनस्र्थापनाका पक्षधर र निर्वाचनका पक्षधरहरुको आफ्नेै तर्कहरु छन् । प्रधानमन्त्रीसँग निकटता पार्टी सभापति शेरबहादुर देउवाको देखिन्छ भने प्रचण्ड र माधवसँगको वैचारिक निकटता वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको देखिन्छ । तर पनि काँग्रेस सरकारको असंवैधानिक निर्णयका विरुद्ध सडकमा ओर्लिएको भने नाङ्गो सत्य हो ।

निर्वाचनका पक्षमा त्यो सडक आन्दोलनमा बोलेको पनि अर्को सत्य हो । सडकमा नजाँदा र आन्दोलनमा जाँदा प्रयोग गरिने भाषा फरक हुन्छन् तर एउटै भाषामा नेपाली काँग्रेस किन गएको होला भने हिजोको धोखाले अझै काँग्रेस सदनहरुमा अत्यन्त न्यून संख्यामा उपस्थित छ ।

यदि संसद पुनस्र्थापना भयो भने काँग्रेस तेस्रो दल हुनेछ र प्रमुख प्रतिपक्षको भूमिका समेत चुडिने छ एकातिर भने कुनै न कुनै नेकपाको पछि लागेर सरकार वा विपक्षी भएर बस्नु पर्नेछ ।

१०. आखिर मुलुकले पर्खने भनेको संवैधानिक इजलासको फैसला हो । अनिमात्र मुलुकले नयाँ राजनीतिक बाटो पैल्याउने छ, त्यो बेलासम्ममा धेरै खेलहरु खेलिने छन् । जुन फैसला आए पनि त्यसले उपचार दिनेभन्दा पनि समस्या थप्ने सम्भावना देखिन्छ ।

मुलुक जसरी पनि अस्थिरतामा त फस्यो फस्यो । ताबाको माछो उफ्रेर भुङ्ग्रामा परेको जस्तो पो हुनेभयो । अदालतले राजनीतिक कुरा हेर्दैन अनि राजनीतिले अदालती कुरामा मात्र अडिएर निर्णय गर्न सक्दैन ।

११. अन्त्यमा, अन्त्यमा मेरा आत्मीय जन भरतराज गजुरेलजीको महायात्राको प्रसङ्ग । उहाँलाई म भानिज भन्थेँ पहिले । उहाँको मावल मेरै गाउँ ग्वाल्टारमा हो । मेरो विवाह भएपछि २०३१सालबाट मैले उहाँलाई साँढदाजु भन्नुपर्ने भयो ।

भानिज भनिरहेको मेरो बानी मलाई पछिसम्म पनि भानिज नै भन्ने बानी परेको थियो तर दाइ या भरतजी भन्ने गर्थेँ । मेरी जेठी सासु राधा गजुरेल आचार्य आपैmँमा एउटी सँस्कारित महिला अनि भरत दाइ एउटा साँच्चै नै भलाद्मी मानिस हुनुहुन्थ्यो । धेरै वर्षसम्म राष्ट्रिय वाणिज्य बैँकको कर्मचारीको रुपमा रहँदा धेरै जिल्लामा व्यवस्थापक वा मेनेजर भएर काम गर्नुभयो ।

अत्यन्त इमानी, रेखी , कसैको कुनै लोभ नभएको । उहाँका छोरी विनया, विनीता , छोराहरु विजय र विनोद ती पनि उहाँको शालीनता र परोपकारका भावलाई पछ्याइरहेका छन् । उहाँले दिनु भएको सँस्कारलाई शिरोधार्य गरिरहेका छन् ।

भरत दाइको निधनले दिदी राधामाथि पर्न गएको यो बज्रपातमा हामी (देवकी र म, मेरो ठुलो छोरो सिद्धि ,बुहारी विजया र सानो छोरो पुलकित, छोरीहरु करुणा तथा ज्वाईँ प्रदीप पौेडेल, अरुणा र ज्वाईँ रवि काफ्ले, अर्चना र ज्वाई नवराज सापकोटा तथा नातिनीहरु विश्रुता अधिकारी, आरुषि अधिकारी, सुदेष्णा पौडेल, प्रसिद्धि काफ्ले र अदिति सापकोटा)सबैको शब्द श्रद्धाञ्जलि अर्पण गर्दछौँ र यो बज्रपात सहने शक्ति श्रीकृष्णले राधा दिदी, छोराहरु विजय, बुहारी नीता, विनोद, बुहारी सुस्मिता, छोरीहरु विनया, ज्वाईँ उज्ज्वल पोखरेल, विनीता र ज्वाईँ घनश्याम पोखरेललाई र नाति नातिनीहरु त्था सम्पूर्ण परिवारलाई दिनुहोस् भनेर प्रार्थना गर्दछौँ ।

हामीले पनि एउटा असल अभिभावक गुमाएका छौँ । यो सिन्धुलीका लागि पनि एक अपूरणीय क्षति हो किनभने उहाँमा रहेको बैँकसम्बन्धी सिपले नेपालका लागि धेरै सहयोग गरेको थियो । एउटा घटना घटेको रहेछ २०४० सालको असार मसान्तमा ।

गुल्मी जिल्लाको पूर्तिघाटमा रहेको बाणिज्य बैँकमा त्यसदिन दिउँसै विशेष प्रहरीबाट आएको भनेर सात जना चोरले बैँकमा भएको सुन, चाँदी र नोटहरु लिएर गएछन् । बैँकका अरु स्टाफ र भरतजीसमेतलाई बाँधेर पैसा लिएर गएपछि राधा दिदी तीनतलामाथिबाट हाम फालेर गुहार गुहार राज्यको सम्पत्ति लुटे भन्दै रुँदै कराउँदै बुर्तीबाङ्सम्म जानु भएछ ।

नजिकका गाउँलेहरुले डरले सहयोग गरेनन् रे, अनि ती डाकाको पछि पछि रुँदै कराउँदै जाँदा अर्को गाउँका मानिसहरुले सहयोग गरेछन्, त्यतिबेलासम्ममा बैँकबाट पनि मानिसहरु बाँधेको फुकाएर दौडदै आएछन् । चारजनालाई पक्राउ गर्न सकेछन् । पछि दिदीलाई सरकारले गोरखा दक्षिण बाहुले सुशोभित गरेको रहेछ ।

दिदीलाई किन त तपाईँले त्यत्रो जोखिम मोल्नुभयो ज्यानको भन्दा उहाँको भनाई थियो—एउटा इमानदार मेनेजरलाई चोरीको अबगाल पर्ने भयो, अनि जीवन भर जेलमा कोचिनु पर्ने भयो । दोष आफ्नो थिएन अनि इज्जत र अवगालभन्दा ज्यान ठुलो होइन भनेर म चोरको पछि पछि लागेँ ।

अहिले पनि तीन तलाबाट हामफालेकोले उहाँको गोडामा जखम छ र दुख्छ । यसरी एउटा इमान र जमानको बैँकर भएर भरत दाइले आफ्नो कार्यकाल सम्पन्न गर्नु भएको थियो ।

एउटा असल अभिभावक, एउटा असल पिता, हजुर्बाको रुपमा उहाँको छवि रहिरहने छ । शालीनता र भद्रताका लागि अनुपम व्यक्तित्व हुनुहुन्थ्यो भरत दाइ ।

२००५साल मंसिर ९ गते यस धराधाममा आउनु भएका भरत दाइको परमधाम गमन २०७७ साल माघ ५ गते विहान २ः१० बजे भएको रहेछ । उहाँको आत्माको चिर शान्तिको कामना सहित शब्द श्रद्धासुमन व्यक्त गर्दछु ।

सम्बन्धित समाचार

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ माघ १२, १५: ०८: ५८

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ माघ १२, १५: ०८: ५८

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

इन्डोनेसियामा भारी वर्षाका कारण सुन खानीमा पहिरो
इन्डोनेसियामा भारी वर्षाका कारण सुन खानीमा पहिरो
  • २०७७ माघ १२, १५: ०८: ५८

इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब...

भर्खरै

TOP