May 14, 2021, Friday
नेपाली सेनाद्वारा निर्माणाधिन फास्ट ट्रयाककाे प्रगति ११ प्रतिशत

काठमाण्डौं-तराई फास्ट ट्रयाकः काेरियन टाेलीले काम थाल्याे, ३ बर्षमा सक्न चुनाैति !


नयाँ विकल्प ,


काठमाडाैं – नेपालकाे बहुप्रतिक्षित विकास परियाेजना काठमाडाैं –तराइ \मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणकाे समय लम्बिने संकेत देखिएकाे छ । नेपाली सेनाले बनाउन लागेकाे साे बहुप्रतिक्षित परियाेजना २०८० भित्र सम्पन्न हुने लक्षसहित काम अघि बढाइएकाे छ ।

काठमाडाैंबाट तराइ जाेडने सबैभन्दा छाेटाे मार्ग अर्थात फास्ट ट्रयाक निर्माणपूर्व परामर्शदाता छानाेट गर्दा गाेप्य सूचना चुहिएकाे शंकापछि नेपाली सेनाले पुनः टेण्डर गर्नु परेकाे थियाे।

परियाेजना निर्माण क्षेत्रमा स्थानीयवासीकाे अवराेध, काेराेना संक्रमण र विस्तृत परियाेजना प्रतिवेदन (डिपिआर) समयमै उपलब्ध हुन नसकेका कारण परियाेजना समयमै सम्पन्न हुन नसक्दा परियाेजनाकाे अवधि लम्बिने संकेत देखिएकाे हाे ।

साे मार्ग निर्माणकाे जिम्मेवारी पाएकाे नेपाली सेनाले भने ताेकिएकै समयमा सक्ने दाबी गरेकाे छ । नेपाली सेनाले एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण थालेकाे राष्ट्रिय गौरवको उक्त परियोजनाले विभिन्न व्यवधानको सामना गर्दै काम अघि बढाएकाे छ। सेनाले निर्धारित समयसीमा भित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको दावी गरेकाे छ ।

७२.५ किलाेमिटर लामो उक्त परियोजना बागमती र २ नम्बर प्रदेशका चारवटा जिल्लाहरु (ललितपुर-काठमाण्डौं-मकवानपुर-बारा) हुँदै निजगढ पुग्ने छ । लामो समयसम्म डिपिआर उपलब्ध नहुनु, उपलब्ध भइसके पछि पनि स्वीकृत नहुनु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनौटमा ढिलाई हुनु तथा कोभिड-१९ का कारण ताेकिएकाे समयमा काम सक्न कठिन देखिएकाे हाे ।

अन्तराष्ट्रिय परामर्शदाताकाे टिम नेपाल आएर आयाेजनाकाे जटील पक्ष मानिएकाे सुरुङ्ग मार्गको काम अगाडि बढाएकाे छ । विदेशी कम्पनिहरुले सुरूङमार्ग निर्माण अघि गर्नुपर्ने प्राविधिक पक्ष सर्टलिस्टिङ तथा मुल्याङ्कन काम सम्पन्न भइ निर्माण सुरू गरेका छन् ।

एक खर्व ७५ अर्व लागत रहेकाे परियाेजना निर्माण गर्ने भनी मन्त्रिपरिषद्‍को २१ बैशाख २०७४ को निर्णयअनुसार यो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएकाे थियाे । दुइ वर्षपछि अर्थात ११ भदौ २०७६ मा सरकारले साे परियोजनाकाे डिपिआर बल्ल स्वीकृत गरिएकाे थियाे । जसका कारण परियाेजना निर्माणमा ढिलाइ भयाे ।

उक्त द्रुतमार्गको निर्माण कार्य आर्थिक बर्ष २०८० /८१ मा सम्पन्न गर्ने लक्ष्य सेनाले राखेकाे छ । साेही अनुसार निर्माण कार्य तिव्र गतिमा अघि बढेकाे नेपाली सेनाले जनाएकाे छ । आयोजनाको हाल सम्मकाे कार्य विवरण अनुसार छैठौ चरणमा चलिरहेको छ ।

गत आर्थिक बर्षको वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२. ८० प्रतिशत रहेको थियाे । समष्टिगत आयोजनाको प्रगति भौतिक तर्फ ११.११ प्रतिशत रहेको छ । त्यस्तै वित्तिय तर्फ ९.५२ प्रतिशत काम सकिएकाे छ । यस आयोजनाको वित्तीय प्रगति विवरण अनुसार हालसम्मको कुल वित्तिय खर्च १७ अर्व ८३ करोड ( २०७७ पौष मसान्तसम्म ) रहेको नेपाली सेनाले जनाएकाे छ ।

काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६.४१ किलाे मिटर रहेकाे छ । त्यस्तै साे आयोजना पुलहरुको लम्बाई १०.५९ किलाेमीटर रहेकाे छ । ढुङ्गा माटोको कट एण्ड फिट गर्नुपर्ने सडक खण्डको लम्बाई ५५.५ किलाेमीटररहेको छ ।

आयोजनाको ४४. १ किलाेमिटर सडक खण्डको सव ग्रेड लेवलसम्म तयार गर्न समष्टिगत माटो काट्ने/पुर्ने (कटिङ फिटिङ ) कार्यहरु हालसम्म ८८ प्रतिशत सम्पन्न भएको छ । २०७७/७८ को आयोजनाको कुल कार्य अंशको थप ५.१० प्रतिशत काम सम्पन्न गराई आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष राखिएको नेपाली सेनाले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय परामर्शदाता छनौट

काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग (एक्सप्रेस वे ) सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्शन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता एम/एस याेसिन इन्जिनियरिङ काेअपरेशन,काेरिया (याेसिन जेभी ) को टिम लिडर नेपाल आई स्थानिय परामर्षदातासंग विषय विज्ञहरु समेतको टोलीद्वारा आयोजनाको फिल्ड सर्भे लगायतका काम शुरू भएकाे छ ।

हाल उक्त जेभिअन्तर्गत काेरियाबाट टिम लिडर , प्राेजेक्ट काे–अर्डिनेटर, टनेल इन्जिनियर, हाइवे इज्निनियर, व्रिज इन्जिनियर, बस्तुगत विज्ञ, सडक सुरक्षा विज्ञ, भाैगाेलिक विषेशज्ञ र भाैगाेलिक विषेशज्ञ इन्जिनियरहरूले काम सुरू गरेका छन् ।

सुरुङ्ग खण्ड निर्माण


सुरुङ्ग निर्माण सम्बन्धी भाैगाेलिक विज्ञ तथा अनुसन्धानकर्ताकाे लागि राष्ट्रिय परामर्शदाता छनौट भई कार्य सुचारु गरिएकोमा भाैगाेलीक अवस्थितिकाे मुल्याङ्कन काम सकिएकाे सेनाले जनाएकाे छ । उक्त टाेलिले गरेकाे अध्यायन रिपाेर्ट समेत नेपाली सेनाले पाइसकेकाे जनाएकाे छ । भाैगाेलिक अवस्थिती बारे अनुसन्धान अन्तर्गत महादेवटार, धेद्रे र लेनडांडा, गरी कुल १८ गोटा वाेर हाेल्स ड्रिलिङकाे काम सकिएकाे छ । त्यस्तै । लग स्याम्पलको नतिजा आउने क्रममा रहेको सेनाले जनाएकाे छ ।
अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार थप ड्रिलिङ तथा परिक्षणकाे काम भईरहेको छ । सुरुङ्ग मार्ग निर्माण कार्यको लागि अन्तर्राष्ट्रिय परामर्शदाता याेसिन जेभीले सुरुङ्ग मार्ग प्याकेजको निर्माण कार्यको लागि आवश्यक विड डकुमेन्ट (इपिसि) तयार गरी बोलपत्र आव्हान गर्ने कार्य अन्तिम चरणमा पुगेकाे छ ।

ठेक्का बन्दोबस्तीको स्थिति

नेपाली सेनाले साे परियाेजना अन्तर्गतकाे सुरुङ्ग मार्ग निर्माणको लागि अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट गर्नु पूर्व योग्यता निर्धारणको सूचना ३० फागुन २०७६ प्रकाशित भए अनुरुप ३० भादाै २०७७ मा प्रि विड मिटिङ गरेकाे थियाे । साेहि अनुरूप १४ अशाेज २०७७ मा विड भएकाे थियाे । ९ पुस २०७७ मा मूल्याङ्कन कार्य सम्पन्न गरी १० माघ २०७७ मा दाेस्राे पटककाे परामर्स दाताकाे छनाैट गरिएकाे थियाे ।

ढुङ्गा माटो तथा संरचना निर्माण कार्य अन्तर्गत आर्थिक बर्ष ०७४/७५ मा २० र आर्थिक बर्ष०७५/७६ मा १० वटा प्याकेज गरी ३० वटा प्याकेजमा राष्ट्रिय निर्माण व्यवसायीद्वारा निर्माण कार्य संचालन गरिएको थियो जस अन्तर्गत कुल ३० वटा प्याकेजहरुको ठेक्का प्याकेजमध्ये १५ वटा प्याकेजहरुको कार्य सम्पन्न भएको छ । फाेरएक्स प्याकेजहरुको न्यून प्रगति तथा साइट अवस्थाको कारण टर्मिनेटिङको लागि नियमानुसारको कारवाही अगाडी बढाईएको छ ।

विश्व महामारीका रूपमा फैलिएकाे कोभिड-१९ को सन्दर्भमा नेपाल सरकारको २९ असार २०७७ को निर्णय अनुसार ११ वटा प्याकेजहरुको ६ महिना ठेक्का समयावधी थप गरी निर्माण कार्य सुचारु राखिएको नेपाली सेनाले जनाएकाे छ ।

पुल निर्माण

पुल निर्माण सम्बन्धी ६ वटा एनसिवी (नेशनल कम्पिटेटिभ विल्डिङ प्याकेज अन्तर्गत भाैगाेलीक प्राविधिक अनुसन्धानकाे लागि आवश्यक राष्ट्रिय परामर्शदाता छनौट गर्न इअाेअाइ ( एक्प्रेसन अफ इनट्रेस्ट ) मूल्याङ्कन कार्य सम्पन्न गरी सुचिकृत भएकालाइ (सर्ट लिस्टेड ) परामर्शदाताहरुबाट आरएफपि (रिक्वस्ट फर प्रपाेजल माग गरिएकाे थियाे ।

साेही अनुसार २५ भदाै २०७७ मा खोलुवा पश्चात मूल्याङ्कनको कार्य सम्पन्न भई ७ मंसिर २०७७ मा ठेक्का सम्झौता भएकाे थियाे । हाल फिल्ड माेविलाइजेसन पश्चात वाेर हाेल ड्रिलिङकाे काम शुरु गरिएको छ ।

वेलिवृज निर्माण कार्य

फास्ट ट्रयाक अन्तर्गत महादेवटार, लेनडांडा र धेद्रे सुरुङ्ग निर्माण तथा विभिन्न पुल निर्माण कार्यको लागि आवश्यक हुने पहुंच मार्ग (एसेस राेड ) तथा बेलीबृजकाे निर्माणकाे काम सम्पन्न गरिएकाे छ जस अन्तर्गत, धेद्रे,। सिस्नेरी,राजदमारमा वेलिव्रिज बनिसकेकाे छ भने ललितपुरकाे खोकनामा निर्माणाधीन वेलिव्रिज स्थानियकाे अवराेधका कारण रोकिएको छ ।

ल्याब सेटअप

मख्खुवेशी, महादेवटार, लेनडांडा, राजदमार र निजगढ गरी ५ स्थानमा ल्याब भवन निर्माण भई आधारभुत वेसिक ल्याव इक्यूपमेन्ट जडान गरी आयोजनाको निर्माणको आधारभुत गुणस्तर परीक्षणको व्यवस्था मिलाइएको छ । अन्तराष्ट्रिय परामर्शदाताको परामर्श अनुसार एडभान्स ल्याव इक्यूपमेन्टहरु समेत थप तयारी भैरहेकाे छ ।

जग्गा अधिग्रहण तथा मुआब्जा वितरण सम्बन्धी कार्य प्रगति

आर्थीक बर्ष २०७६ /७७ मा साे आयोजना अन्तर्गत अधिग्रहण गर्नको लागि प्रकाशित सूचना मध्ये हालसम्म ८४ प्रतिशत जग्गाको मुआब्जा बितरण भइसकेको छ । परियाेजनाकाे १६ प्रतिशत जग्गाको मुआब्जा सम्बन्धितहरुले लैजान बाँकी रहेको छ । जस अनुसार १२ पुस २०७५ मा मकवानपुर जिल्लाको सूचनामा प्रकाशित ऐलानी जग्गा ४४१-९-१-० रोपनी मध्ये १०४-५-१-१ रोपनी जग्गा सडकको मध्य भागबाट दाँया-बाँयाको फैलावट परिवर्तन भएको कारण आयोजनालाई आवश्यक नपर्ने र बाँकी ३३७-३-३-३ रोपनी जग्गाको सम्वन्धित जग्गाधनीहरुलाई मुआब्जा रकम बितरण गर्ने कार्य सम्पन्न भएको ।

साे परियाेजना अन्तर्गत विवादमा परेकाे खोकना ईलाकाको जग्गा रेखाङकनमा पर्ने स्थानीयकाे अवराेधका कारण जग्गा प्राप्तिमा बाधा परेको छ । सो सम्वन्धमा समस्या समाधानको लागि आवश्यक समन्वय तथा पहल भइरहेको नेपाली सेनाले जनाएकाे छ । हालसम्म साेहि विवादित क्षेत्र मध्येकाे ४४५ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको छ ।

रुख कटान तथा व्यवस्थापन

बागदेवको मौरीभिर ईलाकामा २६७ वटा रुख कटान गरी उक्त ईलाकाको रुख कटान कार्य सम्पन्न गरिएको । धेद्रे सुरुङ्ग मार्गको एक्जिट पाेर्टलको लागि गौरीशंकर वन उपभोक्ता समितिसंग समन्वय गरी रुख कटान कार्य शुरु गरिएकोमा हालसम्म कटान गर्नुपर्ने रुख ४९० वटा मध्ये २०० वटा रुख काटिएको छ । रुख कटान भए अनुसार १:२५ को अनुपातमा बृक्षारोपण कार्य गर्दै जाने योजना मुताविक चालु आर्थिक बर्षकाे पाैष महिनासम्ममा १९ हजार २२ फलफूलका विरुवाहरु र अन्य प्रजातीका विरुवाहरु एक लाख ५७ हजार ४९४ गरी कुल जम्मा एकलाख ७६ हजार ५१६ वटा वृक्षारोपण गरिएको छ ।


आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भई नेपाली सेनामा हस्तान्तरण हुनु पूर्व स्वीकृत भइसकेको छ। हाल आयोजनामा सुरुङ्ग मार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भए अनुरुप आवश्यक थप वातावरण ब्यावस्थापन परियाेजना सम्वन्धी काम भईरहेको छ ।

आर्थिक बर्ष २०७७/७८ को बार्षिक कार्यक्रम तथा कार्यान्वयन कार्ययोजनालागि चालु आर्थिक बर्ष २०७७/७८ को पुंजीगत तर्फ ८ अर्ब ८४ करोड र चालु तर्फ ९ करोड ८४ लाख गरी जम्मा ८ अर्व ९३ करोड ८८ लाख बजेट बिनियोजन भएको छ ।

आर्थिक बर्ष२०७७ /७८ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना अनुसार काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग निर्माण आगामी तीन वर्षमा सम्पन्न गरिनेछ । आगामी आर्थिक बर्षमा यस सडकमा पर्ने जटिल प्रकृतिका पुल तथा सुरुङ्ग निर्माण कार्य प्रारम्भ गरिनेछ ।

सुरुङ्गमार्ग निर्माण कार्य सुरू

सडक निर्माणको लागि ढुङ्गा माटो कटिङ्ग तथा फिलिङ्गको कार्य (४ किलाेमिटर ) सम्पन्न गरिने छ । नेपाली सेनाको संलग्नतामा राष्ट्रिय निर्माण व्यवसायी अन्तर्गत ११ वटा प्याकेजहरुबाट निर्माण कार्य सञ्चालन गरिएको छ । जस अन्तर्गत मुआब्जा वितरण गर्न बाँकी ४४५ रोपनी जग्गाको मुआब्जा बितरण गरिने छ ।

२९० वटा रुख कटान गरिने तथा वृक्षारोपण काम सुरु गरेकाे नेपाली सेनाले जनाएकाे छ । आयोजना निर्माणको समष्टिगत कार्य योजना अनुसार आयोजनाको कार्य क्षेत्रलाई ११ वटा विभिन्न क्लस्टरमा विभाजन गरी आर्थिक बर्ष २०८०/८१ सम्म कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

द्रुतमार्ग निर्माणमा काेराेना प्रभाव

हाल विश्वव्यापी महामारीको रुपमा रहेको काेभिड-१९ को प्रभावको कारण आयोजना निर्माण कार्यमा चुनौती थपिएको छ । गत आर्थिक बर्षकाे लक्ष्य अनुरुपको कार्य प्रगति समेत प्रभावित भएको छ ।

नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी अनुरुप राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको यस काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजना पारदर्शी एवं गुणस्तरीय रुपमा लक्षित समयमै सम्पन्न गर्ने गरी समष्टिगत कार्य योजना अनुसार हालको विश्वव्यापी काेराेना महामारी लगायत विभिन्न चुनौतिको बाबजुद आयोजना निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको छ ।

नेपाल सरकारद्वारा निर्दिष्ट भए अनुरुप नेपाली सेना राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको यस द्रुतमार्ग सडक आयोजना सफलतापूर्वक सम्पन्न गर्न कटिबद्ध रहेकाे सेनाले जनाएकाे छ ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ माघ १४, १६: १८: ५५

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ माघ १४, १६: १८: ५५

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ माघ १४, १६: १८: ५५

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP