June 20, 2021, Sunday

गोठालाले प्रयोग गरेको बाटो पर्यटन पदमार्गमा रुपान्तरण हुँदै

म्याग्दी । म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर–कालीबराह हुँदै रघुगङ्गा गाउँपालिकास्थित धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माण शुरु भएको हो ।

दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैँसीको गोठ लेक–बेँसी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । “सडक विस्तारसँगै पुराना पदमार्ग र पर्यटकको बसाइ छोटिएकाले नयाँ पदमार्ग पहिचान गरेको बताए । “गोठालाले प्रयोग गरेको बाटोमा पूर्वाधार तयार पारेर पदमार्गमा रुपान्तरण गर्न थालिएको छ ।”

यसअघि पहिचान भएको नारच्याङ हँुदै संसारमै पहिलो पटक आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने “मौरिस हर्गोज” पदमार्गमा पर्यटन विभागले पूर्वाधार निर्माण शुरु गरेको छ । जलथले हुँदै चारदेखि पाँच दिन पैदलयात्रा गरेर धवलागिरि आधार शिविरमा पुग्न सकिन्छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्गको प्रवेशविन्दु जलथलेबाट पदमार्ग निर्माण शुरु गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त सुवेदीले जलथलेबाट फगामको चिहानडाँडाको टावरसम्म पदमार्ग निर्माण शुरु भएको बताए । उकालोमा १.५ मिटर फराकिलो सिँढी चिनेर एक हजार १३३ मिटर पदमार्ग बनाउन लागिएको छ ।

“२० सेन्टिमिटर उचाइ र ४५ सेन्टिमिटर चौडाइ भएको सिँढी बनाउने डिजाइन छ ।” “विभिन्न ठाउँमा पाँच चौतारी पनि बनाउने लक्ष्य छ ।” गाउँपालिकाले रु १० लाख विनियोजन गरेको जलथले–फगाम पदमार्ग निर्माणमा उपभोक्ताले रु एक लाख २३ हजार बराबरको श्रमदान गर्नुपर्नेछ ।

फगाम, सुवा र जलथलेका बासिन्दा पदमार्ग निर्माणमा खटिएका छन् । ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउन लागिएको हो । गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गत आवमा बजेट विनियोजन भएपनि बन्दाबन्दीका कारण कार्यान्वयन हुन नसकेको योजनालाई यसपालि निरन्तरता दिएको बताए ।

धवलागिरि आधार शिविर पुगेपछि रघुगङ्गा, अन्नपूर्ण र थासाङ गाउँपालिकाको सिमानामा पर्ने कालीबराह हुँदै मुस्ताङ निस्कने अर्को धवलागिरि आइसफल पदमार्ग छ । यो पदमार्गअन्तर्गत पर्ने दानाको मतिचौर बराहमा १०८ धारा निर्माण शुरु भएको छ । धारा निर्माण गर्न गाउँपालिकाले रु आठ लाख विनियोजन गरेको छ ।

जनै पूर्णिमाको दिन पूजाआजा र मेला लाग्ने मतिचौर बराहलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्ने उद्देश्यले धारा निर्माण गर्न लागिएको उपभोक्ता समितिका सचिव गङ्गा पुनले बताए । मतिचौर बराहमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनले चिताएको कुरा पूरा हुने विश्वास समेत रहेको छ ।

पदमार्गमा पूर्वाधार निर्माणलाई निरन्तरता दिनुका साथै नक्शा तयार पार्न प्राविधिक टोलीसहित स्थलगत सम्भाव्यता अध्ययन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पुनले बताए । ग्रामीण बस्ती, जनजीवन, वनजङ्गल, झरना, वन पैदावार, वन्यजन्तु, तालतलैया र अग्ला पहाडबाट हिमालको दृश्यावलोकन गर्न पाउनु यो पदमार्गको विशेषता हो । पूर्वाधार तयार भएपछि पदमार्ग सञ्चालनमा ल्याउने गाउँपालिकाको तयारी छ ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे,  बारअनुसार पसल खोल्न पाइने
काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे, बारअनुसार पसल खोल्न पाइने
  • २०७७ माघ १६, १२: २१: २१

नयाँ विकल्प, काठमाडाैं- उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार...

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
  • २०७७ माघ १६, १२: २१: २१

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता...

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
  • २०७७ माघ १६, १२: २१: २१

नयाँ बिकल्प, काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र...

भर्खरै

TOP