February 27, 2021, Saturday

नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा

नयाँ विकल्प

झापा, – कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन ।

नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् । झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन । सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी घोषणा गरेसँगै सीमा नाका बन्द भए ।

त्यसको तीन महिनापछि बन्दाबन्दी खुल्यो, तर नाका खुलेन । एघार महिनादेखिको लगातार नाका बन्दले सीमा क्षेत्रको होटेल र अरू व्यवसाय चौपट भएको होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए। उनका अनुसार पूर्वीद्वार काँकडभिट्टामा मात्र चार सयभन्दा साना ठूला होटेल सञ्चालनमा छन् ।

यसै वर्ष मेचीनगरमा खुलेको पाँचतारे होटेल मेची क्राउन पनि नाका नखुल्दा पर्यटक अभावमा सङ्कट झेलिरहेको छ । होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष श्रेष्ठका अनुसार बन्दाबन्दी यता काँकडभिट्टाका थुप्रै होटेल व्यवसायी पलायन भइसकेका छन् ।

कतिले घरधनीको भाडा तिर्न नसक्दा होटेलको तालाचाबीसँगै फर्निचरलगायत सामान घरधनीलाई बुझाएर व्यवसाय त्यागेका छन् । “नाका बन्द भएपछि आउजाउ ठप्प भयो, पर्यटक आउने क्रम रोकियो”, उनले होटेल व्यवसायी पलायन हुनुका कारण खुलाउँदै भने , “घरभाडा र बैंकको साँवाब्याज तिर्न नसकेर कैयौँ साथीले व्यवसाय नै छाडिदिनुभयो ।” होटेल व्यवसायीहरुले नाका खुलाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई समेत गुहारे ।

काँकडभिट्टामा व्यवसायीहरुले सङ्घर्ष समिति गठन गरेर एक महिना निरन्तर आन्दोलन सञ्चालन गरे । नाराजुलुस, धर्ना र सभाको बाक्लै कार्यक्रम आयोजना गर्दासमेत सरकारले व्यवसायीको पीरमर्का नसुनेको अध्यक्ष श्रेष्ठले गुनासो गरे ।

धर्नाका क्रममा प्रहरीसँग व्यवसायीको झडप भएको थियो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले माथिबाट आदेश नआएसम्म नाका नखुल्ने बताए । तर आवश्यक कामकाजका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर नाकाबाट दुवै देशका नागरिकले आउजाउ गर्न पाइरहेको उनले बताए ।

“पहिलेको भन्दा अहिले नाकालाई सहज तुल्याइएको छ”, प्रहरी नायब उपरीक्षक दाहाल भन्छन , “कोरोनाको जोखिम अझै सकिएको छैन भन्ने कुरा आम जनसमुदायले बिर्सनु हुँदैन ।” भारतबाट आँखाको उपचारका लागि काँकडभिट्टा हुँदै दिनहुँ सयौँ भारतीय नागरिक नेपाल आउने गर्छन् ।

उपचारका लागि नेपाल आउने र नेपालबाट भारत जानेलाई अवरोध नगरिएको प्रहरीको भनाइ छ । विगतको तुलनामा हाल नाकामा आवतजावत खुकुलो बनाइए तापनि पर्याप्त नभएको व्यवसायीहरुको भनाइ छ । होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले महामारीको त्रास कम भएको र कोभिडको खोपसमेत सर्वसाधारणले लगाउन थालिसकेको अवस्थामा सीमाका नाकाहरु पूरै खुला गरिनुपर्ने माग गरे ।

काँकडभिट्टा नाकाबाट आउजाउ गर्नका लागि मोटरसाइकल र सिटी रिक्साहरुलाई पुलसम्म जान दिइएको छ । बिरामी बोकेका एम्बुलेन्सहरु नाका पार भएर जाने गरेका छन् । पैदल यात्रीको भीड चाहिँ बढिरहेको छ । भारतीय नाका पानीट्याङ्कीमा नेपालीहरुलाई सीमा पार गर्न नागरिकता देखाउनपर्ने हुन्छ ।

नाका खटिएका सुरक्षाकर्मीले नागरिकता हेरेर नाका पार गर्न अनुमति दिँदै आएका छन् । नाकामा मालवाहक ठूला गाडीहरु भारतबाट एकतर्फीरुपमा नेपाल भित्रिरहेका छन् । सरकारले नाका खुलाउन पहल गरिरहेको धेरै पहिलेदेखि हल्ला आउने गरेको छ । शिक्षण संस्था, अस्पताल, सुपरमार्केट, यातायातलगायत सबै क्षेत्र खुला भइसकेको अवस्थामा सीमा नाकामात्र बन्द गरिनु असङ्गत भएको व्यवसायीको भनाइ छ ।

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ फाल्गुन ५, १५: ५९: ५६

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ फाल्गुन ५, १५: ५९: ५६

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ फाल्गुन ५, १५: ५९: ५६

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP