May 11, 2021, Tuesday

घारखोलामा मोटर चल्ने पुल निर्माण शुरु

नयाँ विकल्प

वेनी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण शुरु भएको छ ।

पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको शनिबार विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलान्यास गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले ठेक्का लगाएको एक वर्षपछि पुल निर्माण शुरु भएको हो ।

तीन करोड ४८ लाख ९४ हजार ७० लागत अनुमान गरिएको पुल निर्माण गर्न फेवा–बिएम जेभी पोखरालेरु दुई करोड ८१ लाख ७८ हजार ६४६ मा ठेक्का लिएको छ । विसं २०७६ माघ १७ गते ठेक्का सम्झौता भएको पुल २०७८ साउन २४ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि पुल निर्माण शुरु भएको हो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताए ।

“सम्झौता लगत्तै पुल निर्माण गर्ने ठाउँमा लगेका मेसिन दुई महिनासम्म खोला किनारमै राखेर फिर्ता गर्नुपर्यो”, उनले भने , “प्राधिकरणले गत भदौमा नयाँ डिजाइन स्वीकृत गरेर कार्यादेश दिएपछि अहिले काम शुरु गरेका छौँ ।” पुलको पाउद्वारतर्फको पिलर निर्माण शुरु गरेको निर्माण कम्पनीले पोखरेबगर तर्फको पिलरको जग खन्ने तयारी गरेको छ ।

पच्चीस मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौँको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डिपिआर बनाएको थियो । सोही डिपिआरको आधारमा ठेक्का लगाइएकाले पुल निर्माण प्रभावित भएको अन्नपूर्ण–५ का कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए । घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्वार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको छ ।

“घारखोलामा पुल बन्यो भने बाह्रै महिना गाडी चल्छ”, वडाध्यक्ष तिलिजाले भने , “सडक भए पनि पुल नहुँदा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ ।” भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो ।

बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डिपिआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनःडिजाइन गरेर काम अघि बढाएको एकाइका प्रमुख नारायण ढकालले बताए । “डिजाइन संशोधन गरेर २५ मिटरकै पुल बनाउन लागिएको छ”, उनले भने , “ठेकेदारले पनि कामलाई तीव्रता दिएका छन् ।”

परामर्शदाताले एउटा ठाउँको योजनाको डिपिआरलाई अर्को ठाउँको भनेर दिएकाले पुल निर्माण कार्य प्रभावित भएको हो । शिलान्यास कार्यक्रममा निवर्तमान सांसद थापाले रद्द हुने अवस्थामा पुगेको पुललाई धेरै मेहनत गरेर कार्यान्वयनको अवस्थामा ल्याइएको बताए । घारखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि नेपाने, पाउद्वार, किन्दु, स्वाँताका बासिन्दालाई सुविधा पुग्ने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेकपाको ओली समूहका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठलगायतको उपस्थिति थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मङ्सिरदेखि काम भइरहेको छ । ठेकेदारले पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गर्न नसकेका कारण सम्झौताको म्याद सकिए पनि करिब आधा मात्र भौतिक प्रगति भएको छ ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ फाल्गुन ९, १५: २५: ४४

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ फाल्गुन ९, १५: २५: ४४

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ फाल्गुन ९, १५: २५: ४४

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP