May 17, 2021, Monday

एक सय २५ कृषकले पाए एक लाखका दरले पुरस्कार

नयाँ विकल्प

पाँचथर- मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई एक लाखका दरले पुरस्कार प्रदान गरेको छ ।

गाउँपालिकाले तय गरेको मापदण्ड पूरा गरेका धान र मकै उत्पादक कृषकलाई बिहीबार आयोजित गाउँपालिकाको नवौँ गाउँसभाको अवसरमा रु एक लाख पुरस्कारले पुरस्कृत गरिएको हो । गाउँपालिकाको ‘कोरोना सङ्क्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्य उपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६’ अनुसार मापदण्ड पुगेका कृषकलाई पुरस्कार प्रदान गरिएको हो ।

गाउँपालिकाले ४० मुरी वा सोभन्दा बढी धान फलाउने तथा कम्तीमा २० फिट लम्बाइ र चार फिट चौडाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई उक्त पुरस्कार प्रदान गरेको हो । कृषक प्रोत्साहन कार्यविधिअनुसार यतिका कृषि उपज एकै परिवारले उत्पादन गर्नुपर्ने व्यवस्था थियो । कृषि उपज उत्पादनको मात्रा वृद्धि गर्न गाउँपालिकाले तय गरेको नीतिअनुसार पुरस्कार दाबी गर्नेमध्ये १२५ जनाले मापदण्ड पूरा गरेपछि नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए ।

पुरस्कृतमध्ये ५९ मकै उत्पादक कृषक छन् भने ६६ धान उत्पादक कृषक छन् । सबैभन्दा बढी मिक्लाजुङको वडा नं ८ का २७ कृषकले तोकिएको मात्रामा मकै उत्पादन गरेका छन् । मकै उत्पादकतर्फ वडा नं १ का तीन, वडा नं २ का चार, वडा नं ३ का १०, वडा नं ५ का तीन, वडा नं ६ का पाँच, वडा नं ७ का सात र वडा नं ८ का २७ कृषकले पुरस्कार पाएका हुन् । यस्तै धान उत्पादकतर्फ वडा नं २ का सात, वडा नं ३ का १४, वडा नं ४ का १४, वडा नं ५ का १८, वडा नं ६ का सात र वडा नं ७ का सात कृषकले पुरस्कार पाएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीले बताए ।

कोभिड–१९ सङ्क्रमणको महामारी र बन्दाबन्दीसँगै कृषकलाई कृषि उपज उत्पादनमा प्रोत्साहित गर्न गाउँपालिकाले मापदण्ड तय गरी पुरस्कार दिने नीति लिएको थियो । गत वैशाख अन्तिम साता बसेको गाउँ कार्यपालिकाको बैठकले मापदण्ड पूरा गर्ने कृषकलाई पुरस्कार दिने निर्णय गरेपछि कृषकहरू परम्परागत बालीका रूपमा रहेका धान र मकैको उत्पादन वृद्धिमा जुटेका थिए । एकै परिवारले भाडा वा अन्य शर्तमा अर्काको जमिनमा तोकिएको मात्रामा धान र मकै उत्पादन गरे पनि पुरस्कार दिने गाउँपालिकाको निर्णयले कृषकलाई हौस्याएको थियो ।

गाउँपालिकाले ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो २० पुरस्कार दिइने निर्णयसमेत गरेको थियो । उक्त मापदण्डानुसारका दाबीको गाउँपालिकाको अनुगमन समितिले अनुगमन गरिरहेको बताइएको छ । वास्तविक उत्पादकले मात्रै पुरस्कार प्राप्त गर्ने व्यवस्थाका लागि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा प्राविधिक सम्मिलित अनुगमन टोली निर्माण गरेको थियो ।

नियमित अनुगमनमा तोकिएको मात्रामा अन्न उत्पादन गर्न सफल भएका कृषकलाई पुरस्कृत गर्न सिफारिस गरिएको थियो । सोही सिफारिसका आधारमा गाउँपालिकाले कृषकलाई पुरस्कृत गरेको हो । आगामी आर्थिक वर्ष कृषक प्रोत्साहन पुरस्कारसम्बन्धी मापदण्डलाई थप परिमार्जित गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको कृषक प्रोत्साहन नीतिले कृषकलाई दोहोरो फाइदा भएको छ । पुरस्कार प्राप्त गर्न कृषक उत्पादन वृद्धिका लागि लागिपर्दा उनीहरुका परिवारलाई वर्षभरि खान पुग्ने अन्न उत्पादन भएको छ भने १२५ जनाले एक लाख रकम प्राप्त गरेका छन् । एकैपटक रु एक करोड २५ लाख कृषकका हातमा पुगेको छ ।

अधिकांश क्षेत्र खेतीयोग्य जमिन रहेको मिक्लाजुङमा अन्य स्थानीय तहको तुलनामा सिँचाइको समेत राम्रो व्यवस्था छ तर खेतीयोग्य जमिन बाँझिदै गएकाले गाउँपालिकाले प्रोत्साहनको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । रासस

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २१, ०९: ३५: ४४

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २१, ०९: ३५: ४४

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २१, ०९: ३५: ४४

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP