April 19, 2021, Monday

यस्तै बेलामा हो संसदीय व्यवस्थाको जगेर्ना गर्ने…… !

१. प्रतिनिधि सभाको सातौँ अधिवेशनले दिने सकारात्मक सन्देश सुन्न र देख्नका लागि नेपाली जनता लालायित छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले हठात् बिघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले फागुन ११ गते पुस ५ भन्दा पहिलेकै अवस्थामा पुनस्र्थापना गरेकाले र १३ दिनभित्रमा बाध्यकारी अवस्थामा अधिवेशन बोलाउन भनेकोले फागुन २३बाट अधिवेशन सुरु भएको हो ।

संघीय संसदको तल्लो सदनको बैठक बस्ने हुँदा पनि सरकारका मन्त्रीहरुले त्यही रटना लगाइरहेका छन्-अहिलेको राजनीतिक समस्यको समाधान भनेको ताजा निर्वाचन नै हो ।

२. संसदको जोड घटाउले के देखाउँछ भने अबका दिन ओली सरकारका लागि सहज छैन र अरुलाई पनि अहिलेको सरकार हटाएर अर्को स्थायी सरकार बनाउनका लागि सजिलो छैन ।

जसरी पनि संसदीय व्यवस्थालाई असफल बनाउने खेलमा राजनीतिक दलहरु जानेर, नजानेर लागिरहेका छन् । कम्युनिस्टहरुका लागि भनिने गरिन्थ्यो—खसीको मासु टेबलमा देखाएर कुकुरको मासु बेच्छन् ।

अर्थात् मनमा या नियतमा खोट राखेर उदार प्रजातन्त्रको दुरुपयोग गरिन्छ त्यो बेलासम्म जबसम्म आफ्नो दलको निहित स्वार्थ पूरा गर्ने बेला आउँदैन ।

३.जब संसद बिघटन गर्ने काम भयो, त्यसको पक्षमा बोल्ने प्रधानमन्त्रीले त्यो बेलामा नैतिक आधारमा राजीनामा दिनुपथ्र्यो जुनबेलामा उनको सिफारिसअनुसार भएको बिघटन बदर भएको थियो । राजीनामा भनेको स्वेच्छाले र नैतिकताका आधारमा दिने कुरा हो ।

कसैले भनेर त कसैले राजीनामा दिने नै होइन तर आफैँले मृत्युवरण गराएको संसद ब्युँतिए पछि आफ्नो राजनीतिक गणना असफल भएको किन नबुझेको होला ?

४.फेरि ब्युँतिएको संसदमा पनि चलखेल गरेर संसदीय व्यवस्था भनेको फोहोरी खेलको थलो हो भन्ने प्रमाणित गर्ने बेला आएको छ भने त्यसलाई संसदवादीहरुले नै असफल बनाउन सक्नुपर्छ ।

५. अहिलेको सरकारको विकल्प भनेको अर्को सरकार नै हो । त्यो पनि नेकपाकै । सरल बाटो हिँड्दा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने र एकीकृत संसदीय दलबाट वहुमतमा संसदीय दलको नेता चुनेर प्रधानमन्त्रीका लागि नेपालको संविधानको धारा ७६.१ अनुसारको सरकार बनाउने ।

नैतिकताको प्रश्न गर्ने हो भने अबको संसदीय दलको नेतामा ओलीलाई पार्टीले उठ्ने नै अनुमति दिनु हुँदैन तर के देखिएको छ भने ओलीले बाटो पनि नछोड्ने र अर्को कसैलाई सरकारमा आउन नदिने ।

६. यसले संसदमा मुठभेड निम्तने छ । अहिलेको अवस्था हेर्दा त्यो मुठभेड भौतिकरुपमा पनि हुनेछ र सरकारमा रहने पक्ष यसमा फाइदामा रहनेछ ।

तर जनताका आँखामा सत्ताका लोभीले गरेको कामहरु बिस्तारै जनताका लागि बोझ हुनेछन् अनि सडकमा आन्दोलन सुरु हुनेछ । सहज तरिकाले सत्ता हस्तान्तरण हुने अवस्थालाई ओली सरकारले सहज वातावरण देला भन्ने देखिँदैन ।

७. यस्तै बेलामा हो, प्रजातन्त्रवादीहरु र असली संसदवादीहरुले संसदको लाज राख्ने । संसद पनि रहनु पर्छ, सरकार पनि बहुमतले चलाउनु पर्छ र प्रतिनिधि सभाको निर्वाचन पनि बेलैमा हुनुपर्छ ।

संसदको अधिवेशन सुचारु रुपले चल्नका लागि पनि अहिलेको नेकपा भित्रको किचलोको समाधान हुनु जरुरी छ ।

८. राजनीतिक रुपमा जब मिलेर बस्न नै नसकिने भएपछि ओली र प्रचण्ड—नेपाल समूहमध्ये एउटाले नयाँ पार्टी खोल्ने पर्ने भयो । यदि मिल्न पनि नसक्ने अनि मिलेर सरकार पनि बनाउन नसक्ने फेरि एउटै छौँ भनेर दुनियाँलाई हँसाउनु पनि जरुरी छैन ।

सभामुखले यसमा अन्य दलहरुसँग सल्लाह गरेर, निर्वाचन आयोगको अकर्मण्यताका विरुद्धमा नयाँ नजिर आवश्यक पर्नेछ तर त्यसले संसदमा निम्त्याउने मुठभेड सोचेभन्दा भयावह छ ।

९. यही बेला हो नेपाली काँग्रेसले बुद्धिमत्तापूर्ण निर्णय लिने । नेकपा भित्रको तानातानमा प्रवेश नगर्ने तर निष्पक्ष भूमिकाका वारेमा सोचेर सभामुख र अदालतसँग पनि छलफल गर्न सक्नुपर्छ ।

यसमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको त्यो भनाइसँग सहमति जनाउन सकिन्छ-अहिलेको बेलामा नेपाली काँग्रेसको भूमिका भनेको संसदको गरिमा जोगाउने गरी निर्णय दिन सक्नुपर्छ । संसदमा आउने छलफलले दिने सही बाटो नेकपाका दुवै समूहले स्वीकार गर्नुपर्छ ।

अस्थिर सरकार हुँदा हुने बेफाइदा मुलुकलाई नै हो । भनिन्छ नि-फर्सीमाथि चुलेसी परे पनि फर्सी नै काटिने हो, चुलेसी माथि फर्सी परे पनि फर्सी ने काटिने हो ।

सरकार अस्थिर हुँदा या संसदमा मुठभेड हुँदा बेफाइदा भनेको नेपालको नयाँ संविधानअनुसारको लोकतान्त्रिक व्यवस्थालाई नै हो ।

१०. अन्त्यमा मुस्कान खातुनलाई वधाइ । तेजाब जस्तो पदार्थको तापले डढेका व्यक्तिहरुका पक्षमा आफैँ पीडित भएर पनि अनवरत लागिरहने नेपाली छोरी मुस्कानको प्रयास र संघर्षको पक्षमा अमेरिकी सरकारले उनलाई साहसी महिलाको पुरस्कार दिएको छ र अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेश मन्त्री ब्लिंकेनबाट पुरस्कार पाउने भएकी छिन् ।

यो नेपालका लागि गौरवको विषय यसकारण हो कि मुस्कान जस्ता धेरै मुस्कानहरुको भविष्य तेजाबबाट पीडित नहुन् भन्ने र नेपाल तेजाबका विरुद्धमा सचेतना अभियान चलाउन अरु पनि खासगरी महिलाहरु आउने छन् भन्ने अनुमान गर्न सकिन्छ ।

अमेरिकी सरकारलाई धन्यवाद, यस्तो संवेदनशील विषयमा नेपालमा भएका घटनाप्रति चिन्तनशील बनेको रहेछ ।

अमेरिकी राजदूत ¥यान्डी बेरीलाई धेरै धेरै धन्यवाद छ जसले यस्ता कुराहरुको सिफरिस गरेर आगामी दिनमा महिला सशक्तीकरणमा नेपाललाई सहयोग गरिरहने संकेत देखाउनु भएको छ ।

मुस्कान बहिनीलाई वधाइ तथा आगामी दिनमा अरु सामाजिक कामका लागि यस पुरस्कारले अभिप्रेरित गरोस् र बहिनीले आफ्नो मुस्कानसँगै थुप्रै तेजाब पीडितहरुको मुस्कान ल्याउन सफल हुन सकून् ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ फाल्गुन २४, १२: ४१: ३३

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ फाल्गुन २४, १२: ४१: ३३

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ फाल्गुन २४, १२: ४१: ३३

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP