September 20, 2021, Monday

हामी आमचुनाव भन्दा पनि पार्टीको महाधिवेशनको लागी बढी केन्द्रित छौं

विद्यार्थी राजनीतिबाट खारिएका युवा नेता प्रकाश रसाइली स्नेही नेपाली कांग्रेसका सांसद् हुन् । उनी सालिन नेताको रुपमा चिनिन्छन् ।

सरकारका कमीकमजोरीलाई नजिकबाट नियालिरहेका उनी प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकताको खडेरी परेको टिप्पणी गर्दछन् ।

यिनै समसामयिक विषयमा केन्द्रित रहेर सांसद रसाइली स्नेहीसँग नयाँ विकल्पल साप्ताहिकका लागि कालिका महतले गरेको कुराकानीको शारसंक्षेपः


नेपाली कांग्रेसको देश दौडाहा पार्टी महाधिवेशनको तयारी की आमचुनावको ?
नेकपालाई नेपाली जनताले दुई तिहाई हाराहारीमा मत दिएर सरकारमा पु¥याएका हुन् । देशमा संघीय सरकार पनि बन्यो । तर, नेकपाबाट ती जनताको मतमाथि ठूलो कुठाराघात भयो ।

त्यसकारण अहिले आमनेपाली जनताहरुले नेपाली कांग्रेसलाई आशा र भारोसाको केन्द्रमा राखेका छन् । त्यो आशा र भरोसालाई विश्वस्त पार्न हामी जनताको घरदैलो पुगेका हौं । अहिले देशैभरबाट अन्य पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गर्ने जनलहर बढिरहेको छ ।

त्यो अनुरुप नै अहिले हामी देशभरि रहेका पार्टीका नेता, कार्यकर्ताहरुबीच गइरहेका छौं । अहिले हामी आमचुनाव भन्दा पनि पार्टीको महाधिवेशन तयारीका लागि बढी केन्द्रित छौं ।

त्योसँगै कांग्रेसको पक्षमा जनमत निर्माण गर्ने पनि हाम्रो उद्देश्य हो ।

त्यसोभए तपाईंहरुको दौडाहा महाधिवेशन लक्षित हो ?
त्यसलाई महाधिवेशन लक्षित कार्यक्रम भन्दा पनि हुन्छ । त्योसँगै निर्वाचन लक्षित पनि दुवै हो ।

अब आम निर्वाचन पनि छिट्टै हुने सम्भावना भएको हो ?
आमनिर्वाचनको आवश्यकता भइसकेको छ । किन भने सधैं देश अस्थिरतातिर जानाले दीर्घकालीन विकासको काम हुन सकेन भनेर जनताले नेकपालाई झन्डै दुईतिहाइ मत दिएका थिए । त्यो विश्वास र भरोसालाई नेकपाले कुल्चने काम ग¥यो ।

देशलाई फेरि अस्थिरतातिर धकेल्ने गरी पार्लिमेन्टको परिकल्पना भयो । पार्टीको आन्तरिक कलह झांगिँदै गएर एकथरी सत्ता र अर्कोथरी सडकमा गएर गालीगलौजमा उत्रिए । जसको कारण मुलुकमा अस्थिरता सिर्जना भयो ।

अहिले वैधानिक रुपमा नभएपनि व्यवहारिक रुपमा नेकपा विभाजित भइसकेको छ । झन्डै एक वर्षदेखि सत्तासिन पार्टीले संसद्लाई अनिर्णयको बन्दी बनायो ।

यो अवस्थामा देशलाई गुमराहमा पार्नुभन्दा सबै दलहरुबीच राष्ट्रिय सहमति गरेर जनताबीच जानु नै राम्रो हुन्छ ।

संसद् पुनःस्थापनाले संविधानलाई लिकमा ल्याएकाले यसलाई टेकेर निर्वाचनमा जाँदापनि हुन्छ भन्ने कांग्रेसको भनाइ हो त ?
हाम्रो संविधानले संसद्बाट संविधान नबन्ने अवस्था भएमा निर्वाचनमा जान सकिन्छ भनेको छ । त्यो त संसद र राजनीतिक दललाई अधिकार छँदैछ ।

दोस्रो कुरा के भने संसद्भित्र रहेका राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति गरियो भने त सबै दलहरु तयार हुन्छन् । त्यसपछि त निर्वाचनमा जान सकिहालिन्छ नि ।

नेपाली कांग्रेसले त अहिले जुन राजनीतिक शक्तिहरु छिटोभन्दा छिटो सहमतिबाट निर्वाचनमा जान तयार हुन्छन् । उनीहरुसँग सहकार्य गरेर अगाडि जाँदा राम्रो हुन्छ ।

तपाईं त विभिन्न जिल्लामा गइरहनुभएको छ, कांग्रेसप्रति कत्तिको जनआकर्षण पाउनुभएको छ नि ?
म जहाँजहाँ गएको छु त्यहाँ राम्रै प्रतिक्रियाहरु पाइराखेको छु । हालैमात्र सिन्धुली पनि गएँ । त्यहाँ पार्टीका केन्द्रीय नेता गगन थापा, श्याम श्रेष्ठ, डा. डिला संग्रौला पन्त पनि जानुभएको थियो ।कार्यक्रम सिन्धुलीको तीनपाटन गाउँपालिकामा भएको थियो ।

त्यहाँ नेकपालगायत अन्य पार्टीबाट कम्तिमा एक हजार हाराहारी नेता, कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरे । एउटा गाउँपालिकाको कार्यक्रममा एक हजार मान्छे प्रवेश गर्नु चानचुने कुरा होइन ।

त्यस्तो धेरै जिल्लाहरुमा भएको छ । जस्तो इलाम, पाँचथर, ताप्लेजुङ, हेटांैडालगायत धेरै जिल्लाहरुमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्ने लहर देखेको छु ।

यी सबै दृश्यहरु हेरिरहँदा राजनीतिक स्थायित्व, संघीयता र लोकतन्त्र, समृद्धि र प्रेस स्वतन्त्रताको लागि अब कांग्रेस नै हो भन्ने नेपाली जनतामा छाप परिसकेको छ ।

यी लगायत मुलुकका जेजति परिवर्तनका विषय छन् । त्यसलाई पनि कांग्रेसले नै परिपूर्ति गर्न सक्छ भन्ने जनमानसमा भइसकेको छ ।

यसरी देशभरि जनलहर बढिरहेकाले महाधिवेशनको तयारी पनि गर्ने र निर्वाचनलाई पनि सँगै लिएर जाने भनेर कांग्रेस घनिभूत ढंगले लागि परेको छ ।

कम्युनिष्ट पार्टीहरुले विभिन्न बहानामा संसद्लाई अनिर्णयको बन्दी बनाइरहने र प्रधानमन्त्रीले पनि साँढे जस्तै मनलाग्दी बोल्दै हिड्ने प्रवृत्तिलाई जनताले रुचाएका छैनन् ।

अब संसद्बाटै राष्ट्रिय सहमति बनाएर निर्वाचनको लागी अगाडि बढ्नुपर्छ । त्यसले मात्रै देशलाई सही निकास दिन्छ भन्ने मेरो धारणा हो ।

प्रधानमन्त्रीले विघटन गर्नुभएको संसद् पुनःस्थापनापछि उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्दैन, यहाँलाई के लाग्छ ?
प्रधानमन्त्री केपी शर्मा ओली जस्तो नैतिकताको खडेरी भएको मान्छेमा हामीले नैतिकताको खोजी गर्नु मूर्खता शिवाय केही हुँदैन ।

उहाँ जस्तो अराजक, असंवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक व्यक्तिको टिकाटिप्पणी गरेर समय खेर फाल्नु उपयुक्त हुँदैन ।

उहाँ त लोकतन्त्र र लोकतान्त्रिक संविधानलाई मासेर सर्वसत्तावाद लाद्न उन्मुख भइसकेको व्यक्ति हो । यो मात्रै होइन प्रधानमन्त्री संवैधानिक, लोकतान्त्रिक मूल्य र मान्यतालाई पटक–पटक कुल्चेर अगाडि बढेको व्यक्ति हो ।

उहाँ राजनीतिक रुपले बहस गर्न योग्य हुनुहुन्न । त्यसैले उहाँका बारेमा बहस गरेर समय खेर फाल्न चाहन्न ।

अहिले नेकपा फुटिसक्यो भनिरहँदा कांग्रेसमा पनि भित्रभित्रै भुसको आगो जस्तो विभाजित मानसिकता देखिन्छ नि ?
त्यो त कम्युनिष्टहरुले चलाएको हल्ला मात्र हो । त्यसमा नेकपाले आफूहरु फुटिसकेपछि नेपाली कांग्रेसलाई लगाउने आरोप हो । कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा आन्तरिक विचार, विमर्श, छलफल, बहस हुन्छन् ।

गुट, समूह भनेको विचारका आधारमा, तत्कालीन मुद्दाका आधारमा हुने हो । कसैले कसैका विचार मन पराउलान् । कसैले अर्कोको कुरा मन नपर्ला । फेरि महाधिवेशन सघारमा आइसकेको छ । महाधिवेशनमा बैठकद्वारा चुनाव हुन्छ ।

त्यसको लागि दुई समूह भइहाल्छ । फेरि नेपाली कांग्रेसमा गुट र समूह भएपनि कम्युनिष्टहरुको जस्तो सडकमा गएर अराजनीतिक ढंगले गाली, गलौज, आरोप प्रत्यारोप गर्ने काम हुँदैन ।

कांग्रेसमा सडकमै गएर एक नेताले अर्का नेताहरुको मानमर्दन गर्ने, अपमान गर्ने काम कसैले गरेको छैन र आउँदा दिनमा पनि त्यस्तो हुँदैन ।

महाधिवेशनमा पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ । अहिले हामो पार्टीको महाधिवेशन हुँदैछ । त्यसमा एकअर्का नेताको सम्मान गर्दै स्वस्थ प्रतिस्पर्धामा चुनाव गराउने हो । नेपालमा मात्रै होइन संसारभरिका लोकतान्त्रिक पार्टीभित्र समूह, गुटहरु हुन्छन् ।

ती विधानसम्मत र मर्यादित ढंगले अगाडि बढ्छन् । आपसमा छलफल विचार, विमर्श गरेर अगाडि बढ्ने हो । हिजो वीपीको विचारसँग सहमत हुनेहरु उहाँसँग थिए ।

सुवर्ण शमशेरसँग सहमत हुनेहरु उहाँसँग थिए, किसुनजी र गणेशमानसँग स्वभाव मिल्ने मान्छेहरु उहाँहरुसँग थिए । गिरिजाबाबुसँग स्वभाव मिल्ने मान्छेहरु उहाँसँग थिए ।

जो नेतासँग बढी जेलमा सँगै बसेर सामिप्यता बढ्छ त्यसको आधारमा गुट बन्छन् । कोही विचार र दृष्टिकोणका आधारमा उनका पक्षमा उभिन्छन् ।

यसरी लोकतान्त्रिक पार्टीभित्र धेरै कारणले गुट र समूहहरु निर्माण भएका हुन्छन् । त्यसको आधारमा लौ फुटिनै सक्यो भनेर चिच्याउनु सान्दर्भिक हुँदैन ।

त्यसोभए राष्ट्रिय मुद्दामा कांग्रेस एकढिक्का छ त ?
राष्ट्रिय मुद्दामा कांग्रेस एक ढिक्का छ । पार्टीलाई देशव्यापी रुपमा एक बनाएर अगाडि बढ्नेमा कांग्रेस एकढिक्का छ । महाधिवेशन समयमा गराउन कांग्रेस एकढिक्का छ ।

संविधान जोगाउने, मुलुकलाई समृद्ध बनाउन, मुलुकलाई सुशासन दिलाउन र कानुनी राज्य स्थापना गराउन कांग्रेस एकढिक्का भएर अगाढि बढेको छ ।

लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन, संघीयतालाई दर्बिलो बनाउन पूर्ण नागरिक अधिकार प्रेस स्वतन्त्रताका लागि कांग्रेस एक भएर अगाढि बढ्ने छ ।

कांग्रेस नेतृत्व त सत्तामा जान अत्तालियो भन्ने आरोप छ नि ?
कांग्रेसलाई सत्तामा कसैले पु¥याएर जाने होइन । वीपीले भन्नुभएको छ, ‘मेरो लागि प्रधानमन्त्री पद खुट्टाको जुत्ता सहर हो’ भनेर । हामी अरुलाई प्रधानमन्त्री, राष्ट्रपति बनाउने पार्टी हो ।

कम्युनिष्टले बनाएर प्रधानमन्त्री, राष्ट्रपति बन्ने पार्टी होइन । नेपाली कांग्रेस आफ्नै राजनीति मुद्दाको आडमा जनताको बहुमत लिएर सत्तामा पुग्ने हो । हामी चुनावबाट जनताको विश्वास जितेर दुई तिहाई बहुमत ल्याएर प्रधानमन्त्री, राष्ट्रपति बन्छौं ।

कथमकदाचित परिबन्दमा परेर नेतृत्व लिनुप¥यो भने त्यो फरक विषय हो । अहिले नै सत्तामा जानका निम्ति कत्तिपनि उत्साहित छैनौं ।

अहिले पनि कम्युनिष्ट पार्टी मिलेको हेर्न चाहन्छौं । उहाँहरु जनतासामू लोकप्रिय भएको हेर्न चाहन्छौं ।

अझ उहाँहरु दुईवटा पार्टी मात्रै होइन विप्लब, वैद्य, चित्रबहादुर केसी, सीपी मैनाली सबै मिल्नुहोस् । त्यसरी मिलेको पार्टीसँग नेपाली कांग्रेस मुकाविला गरेर बहुमत ल्याउन तयार छ ।

अब कांग्रेस एक्लैले कम्युनिष्टसँग मुकाबिला गर्न सक्छ ?
कम्युनिष्टहरु फुटेका छन्, अब हामी जित्छौं भनेर अत्तालिएर हाफपाइन्टमै दौडेर चुनावमा जाँदैनौं ।

सबै कम्युनिष्ट मिलेर आएपनि उनीहरुसँग मुकाविला गर्ने कांग्रेस हामी बनाउँछौं । त्यो बनाउने कुरामा हामीहरु सक्षम छौं । त्यसैले कम्युनिष्ट पार्टी फुटेको छ भनेर कांग्रेस चुनावमा जान लागेको छैन । सबै मिलेर आए हुन्छ ।

कांग्रेसलाई चुनाव जित्न कुनै दलसँग कार्यगत एकता गर्नुपर्दैन हो ?
चुनाव जनताको बलमा जितिने हो । अहिले जनताले कांग्रेसप्रति ठूलो आशा भरोसा राखेका छन् । त्यो दिलाउन कांग्रेस तयार छ ।

लोकतान्त्रिक पार्टी जहिले पनि जनतामा विश्वास गर्दछ । अहिले जनतामा कांग्रेसप्रति अकर्षण बढेको छ । त्यसको सम्बोधन कांग्रेस गर्न सक्छ ।

कांग्रेस प्रवेश गरेर आउनेले कस्तो अपेक्षा राखेको पाउनुभयो ?
हिजो माओवादी जनयुद्धमा लडाकु भएर हिँडेका नेकपाका स्थानीय नेता, कार्यकर्ताहरु पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपाबाट जनप्रतिनिधि भइसकेका साथीहरु पनि हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ ।

उहाँहरुले ‘हिजो हामी कम्युनिष्टहरुको भ्रममा प¥यौं, जसरी हिजोका दिनमा हामीलाई कम्युनिष्टका सिद्धान्त, विचार, दृष्टिकोण प्रवाह गरेका थिए, त्यो सत्तामा गएपछि बिर्सिए,’ भन्नुभएको छ ।

कम्युनिष्टहरु न जनताको परिवर्तनको पक्षमा उभिन सके, न गरीव निमुखाको आवाज मुखरित गर्न सके, न हिजो हामीसँग बोलेका बाँचाहरु पुरा गर्न सके, न नेताहरुको चरित्र राम्रो देखियो ।

नेपाली कांग्रेस पार्टीले ‘जे बोल्दो रहेछ, त्यो गर्दोरहेछ र जे गर्दोरहेछ, त्यो बोल्दोरहेछ, जनतालाई भ्रममा नराख्ने पार्टी नेपाली कांग्रेस रहेछ त्यसैले नेपालको पुरानो ऐतिहासिक पार्टी कांग्रेसमा आएका छौं,’ भनेका छन् ।

तिनीहरु निशर्त कांग्रेस प्रवेश गरेका हुन् ?
उहाँहरु निशर्त ढंगले प्रवेश गर्नुभएको हो । अहिले कांग्रेसले के नै दिन सक्छ र । अहिले हामी प्रतिपक्षमै छौ ।

धेरै, गाउँपालिका, नगरपालिका प्रदेश र संघमा पनि हाम्रो प्रतिनिधित्व छैन । अनि अहिले कांग्रेसले के दिन सक्छ ? त्यसैले बिना लोभलालच राजनीतिक स्थायित्वको लागि कांग्रेसप्रति जनआकर्षण बढेको हो ।

दलित, जनजाति, अल्पसंख्यक, उत्पीडितहरु कम्युनिष्टमा थिए ती समुदाय कांग्रेस किन आए जस्तो लाग्छ ?
जनयुद्धमा होस् या शान्तिपूर्ण आन्दोलनमा होस् । नेकपा एमाले र तत्कालीन माओवादी दुईवटा पार्टीले जे–जुन मुद्दा दलित, जनजाति, मधेसी, अल्पसंख्यक, उत्पीडित, लैंगिक हिंसा, राजनीतिक र व्यवहारिक विभेद, वर्गीय विभेदलगायत विभिन्न नाममा कम्युनिष्टहरुले मुद्दा उठाएका थिए ।

ती मुद्दाहरु उनीहरु सत्तामा गइसकेपछि छोडेर आफ्नो स्वार्थमा लागे । कम्युनिष्ट एउटा इलिट समुदाय भएर सम्भ्रान्त बन्न थाले । आफै सामन्त बन्न थाले । त्यसैले कम्युनिष्टहरुले माथि झुठको खेती गरेका रहेछन् भनेर ती समुदाय नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

आज माक्स र लेनिन जन्मेको देशमा लोकतन्त्र स्थापित भइसकेको छ । कम्युनिष्ट नेता जन्मेको देशमा त उनीहरुको शासनसत्ता छैन भने उनीहरुको फोटो राखेर नेपालमा राजनीतिक गर्ने नेताले के काम गर्न सक्छन् ? त्यसैले हामी कांग्रेसमा प्रवेश गरेको भन्ने उनीहरुको भनाइ छ ।

सम्बन्धित समाचार

चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
  • २०७७ फाल्गुन २४, १५: १६: २६

नयाँ विकल्प, काठमाडौं – चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले...

भोलिदेखि दसैँ तिहारका लागि नयाँ नोट
भोलिदेखि दसैँ तिहारका लागि नयाँ नोट
  • २०७७ फाल्गुन २४, १५: १६: २६

नयाँ विकल्प, काठमाडौं – असोज ४ गते अर्थात भोली गतेदेखि दसैंरतिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ । नेपाल...

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
  • २०७७ फाल्गुन २४, १५: १६: २६

नयाँ विकल्प, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् । आइतवार महेन्द्र...