July 29, 2021, Thursday

प्राविधिक शिक्षालय छुट्टै बनाउने भनेर त्यसको प्रोसेसमा अगाडि बढिरहेका छौं

तपाईंको थातथलो कहाँ हो ?
मेरो जन्म चाहीं भारतमा भएको हो । जन्म घर र माइतीघर पुतलीबजार नगरपालिकामै भएको हो । जन्म भारतमा भएपनि पढाइलेखाइ नेपालमै भएको हो ।

नेपाली मान्छे इण्डियामा कसरी जन्म भयो ?
मेरो बुबा इण्डियामा जागिर गर्नुहुन्थ्यो । हामी एकजना दाजु र चार जना दिदी बहिनी हौं । त्यसमा म सबैभन्दा कान्छी हो । बुबाको इण्डियामा जागिर भएपछि आमा पनि उतै हुनुहुन्थ्यो । म त इण्डियामा जन्मेकी मात्रै हुँ । साढे दुई वर्षको हुँदा उहाँहरुले नेपाल ल्याउनुभएको हो ।

स्कुले पढाइ त स्यामै भयो, त्यसपछि उच्च अध्ययनको लागि बाहिर जानुभयो ?
पढाइको कुरा गर्नुपर्दा कखरा पनि ११, १२ वर्षको उमेरमा मात्रै चिन्ने अवसर पाएँ । त्यतिबेला छोरीलाई पढाउने चलन पनि थिएन ।

छोराछोरीलाई पढाउनुपर्छ भनेर नयाँ शिक्षा नियम आएपछि हामीहरु चौरमा जम्मा भएर पढेका थियौं । त्यतिखेर स्कुलहरु पनि केही थिएन । त्यसपछि हाम्रो गाविसभरिमा एउटा सितला मावि नामक हाइस्कुल थियो ।

मैले त्यहीं सितला माविबाट एसएलसी पास गरेँ । त्यसपछि मेरो तीनजना दिदीहरुको विवाह भयो । दाजु चाहीं इण्डियामै बैंकमा जागिर गर्नुहुन्थ्यो । बुबाको म साढे दुई वर्षको हुँदै इण्डियामै मृत्यु भएको रहेछ । मैले बुबालाई चिन्दैन थिएँ ।

त्यसपछि आमाले हामीलाई नेपाल लिएर आउनुभएको रहेछ । म र आमा मात्रै गाउँमा थियौं । मलाई पढाउने लेखाउने र यो ठाउँमा पु¥याउने आमाको ठूलो योगदान छ । आमा र म मात्रै गाउँमा बस्थ्यौं ।

म कक्षा ६ मा पढ्दै अनेरास्ववियुको राजनीतिमा लागेँ । महिला मुक्ति आन्दोलनमा लागेँ । मैले २०४३ सालमै पार्टीको सदस्यता लिइसकेकी थिएँ । तत्कालीन मालेबाट पार्टी सदस्यता लिएकी हुँ । २०४३ सालदेखि अहिलेसम्म पार्टी सदस्यता निरन्तर छ । त्यसबेला पार्टी सदस्यता लिने कुरा एकदमै गाह्रो थियो ।

स्कुले पढाइपछि इण्डिया पढ्न जानुभएन ?
मैले एसएलसी पास गरिसकेपछि मलाई इण्डिया नै लगेर पढाउने र आमालाई पनि उतै लाने भनेर दाजु आउनुभयो । त्यतिबेलासम्म म यता पार्टीमा लागिसकेकी थिएँ । आमा पनि नेपाल मन पराउने भएर जान चाहनुभएन ।

म पनि पार्टीमा पनि काम गर्न थालेको र पढाइपनि यतै भएकाले जान चाहिँन । त्यसपछि दाजु इण्डिया जानुभयो । उहाँले मलाई आर्थिक सहयोग चाहीं गरिदिनुभएन ।

कसको प्रेरणाले सानै उमेरमा राजनीतितिर आकर्षित हुनुभयो ?
म गाउँमा बस्थे । हाम्रो घरबाट अलि तल भूर्तेल जेठाबा भन्ने हुनुहुन्थ्यो । उहाँका दुईवटा श्रीमती हुनुहुन्थ्यो । अनि उहाँले जेठी श्रीमतीलाई बढी पिट्नुहुन्थ्यो ।

कहिलेकाहीं चाहीं दुवै श्रीमतीदेखि रिस उठ्यो भने दुवैको चुल्ठो एकैठाउँमा बाँधेर पिट्नुहुन्थ्यो । त्यतिबेला ती दुई भुर्तेल जेठीआमाहरु एकसाथ रुनुहुन्थ्यो, हात मुख केही फर्काउनुहुनथ्यो ।

अनि मलाई उहाँले यसरी श्रीमतीहरुलाई किन यसरी पिट्नुहुन्छ भनेर मलाई अचम्म लाग्यो । एकचोटीको कुरा मेरो दाजु इण्डियाबाट घर आउनुभएको थियो । उहाँ एकदमै राम्रो पढेलेखेको विद्धान हुनुहुन्थ्यो । उहाँ आएको बेलामा पनि ती भुर्तेल जेठाबाको घरमा त्यस्तै घटना घट्यो । अनि दाजु र म भुर्तेल बाको घरमा गयौं र उहाँहरुलाई छुट्याइयो ।

अनि मेरो दाजुले ती भुर्तेबालाई किन यसरी आमाहरुलाई पिटेको भनेर गाली गर्नुभयो । उहाँहरुको झगडा सबै मिलाएर घर आइसकेपछि मैले दाजुसँग प्रश्न गरेँ, ‘यी ठूलाबाले आमाहरुलाई पिटिरहनुहुन्छ ।

आमाहरु बोल्नुहुन्न । हात मुख केही पनि फर्काउनुहुन्न किन यसो गरेको होला दाजु’ भनेर । त्यतिबेला मेरो दाजु पनि कम्युनिष्ट पार्टीमै इण्डियामा लाग्नुभएको रहेछ । अनि मलाई दाजुले तिमी अहिले सानै छौं ।

यस्ता कुरा बुझ्दिनौं । ‘अब तिमीले यस्ता पीडामा परेका महिलाहरु न्याय दिनका लागि पढेर वकिल, न्यायाधीश हुनुपर्छ । अनि मात्र यस्ता पीडित आमाहरुलाई न्याय दिनुपर्छ’ भन्नुभयो ।

त्यतिखेरसम्म त म स्कुलै गएको छैन कहाँ पढ्ने होला ? कसरी वकिल, न्यायाधिश हुनेहोला भन्ने खुल्दुली लाग्न थाल्यो । दाजु त भन्नुभयो केही समय गाउँमा बसेर जानुभयो । अनि गाउँमा छोराछोरी सबैलाई पढाउनुपर्ने भन्ने नियम आयो अनि पढ्ने मौका पाएँ ।

पढ्न थालेपछि घरेलु हिंसामा परेका महिलालाई न्याय दिलाउन के उपाय अपनाउनुभयो ?
त्यतिबेला हाम्रो हजुरबाहरुका ५, ७ वटा श्रीमतीहरु हुने । गाउँमा दुई, तीनवटाभन्दा कम श्रीमती भएका केटा मान्छे नै देखिँदैन थियो । कुनै महिलाहरु यसो बोल्न खोज्दा ‘नाकले पानी पिउनु हुँदैन, मुखले पिउनुपर्छ’ भन्ने । यस्तो खालको विभेद थियो, त्यतिबेला गाउँमा ।

पछि म जुन स्कुलमा पढ्थे त्यहाँ अखिलले एकदमै राम्रो काम गरेको थियो । त्यहाँका दाजुदिदीहरुले हाप छुट्टी हुदाँ, एक ठाउँमा लानुहुन्थ्यो र परिवर्तनका लागि क्रान्तिकारी गीत सुनाउनुहुन्थ्यो । त्यसपछि असल बन्नुपर्छ, पञ्चायतको विरुद्धमा लाग्नुपर्छ भनेर सुझाउनुहुन्थ्यो । समानताका, न्यायका कुरा गर्नुहुन्थ्यो उहाँहरुले ।

मलाई कसरी न्याय पाइन्छ होला भन्ने लागिरहन्थो । ठ्याक्कै ती अखिलका दाजुदिदीहरुलाई भेटेपछि महिलाहरुले न्याय पाउने यही पाटोबाट रहेछ भनेर अखिलको विद्यार्थी आन्दोलना लागेँ। त्यसपछि महिला अधिकारका लागि आवाजहरु बुलन्द गर्न थालेँ ।

थिचोमिचोमा परेका महिलालाई अधिकारको लागि बोल्न सचेतना गराउन थालेँ । खासमा भन्ने हो भने पढेर महिला हकहितको लागि अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा चाहीं मैले आफ्नै दाइबाट पाएकी हुँ ।

त्यसपछिका जीवन संघर्षका दिन कसरी अगाडि बढे ?
मेरो इतिहास त सधैंभरि दुखद् नै रह्यो । पहिला पनि दाजुले इण्डिया लगेर पढाउने भन्नुभएको थियो । आमा म इण्डिया जान चाहेनौं ।

त्यतिबेला म आन्दोलनमा लागिसकेकी थिएँ । त्यो कुरा आमालाई पनि बुझाइसकेकी थिएँ । दाजुले चाहीं यहाँ जग्गाजमीन बेचेर लगिसक्नुभएको थियो ।

आमाले चाहीं एउटा पसल राख्नुभएको थियो । अनि आमाले मलाई ‘अब दाइले तिमीलाई पढाउन सहयोग गर्ने भएन । त्यसकारण तिमी पोखरामा पिएन क्याम्पस पढ्ने हो भने म पनि पोखरामै व्यापार गर्छु । तिमी पिएन क्याम्पसमा भर्ना हुने भन्ने भएपछि त्यतिबेला पिएन क्याम्पसमा पढ्ने पहिल्यै नाम निकाल्नुपर्ने थियो ।

मैले कानुन र एजुकेसन दुईवटा संकायमा पढ्छु भनेर फारम भरेँ । पछि मेरो दुवै फ्याकल्टिमा नाम निस्कियो । त्यसपछि मैले के देखेँ भने दाजु सपोर्ट नगर्ने अरुले पनि मेरो सपोर्ट गर्ने आधार थिएन । अनि आमाले पोखरामा व्यापार गरेर म पढ्न सक्छु जस्तो लागेन ।

अनि साथीहरुलाई भनेँ अब मेरो आर्थिक अवस्थाले पोखरा बसेर पढ्न सक्ने अवस्था रहेन । अब जागिर पनि खान्छु, प्राइभेटबाट पढ्छु, भनेर टिचर भएँ । यसरी पढाउँदै प्राइभेट पढ्दै गरेर ब्याचलर क्लियर गरेँ । त्यसपछि पेशागत संगठनको केन्द्रीय उपाध्यक्ष दुई कार्यकाल भएँ ।

टिचरको जागिर कति वर्ष खानुभयो ?
मैले स्थायी जागिर खाएको ठ्याक्कै बीस वर्षमा स्वइच्छिक लिएकी हुँ । त्यो चाहीं मैले मुलुकमा गणतन्त्र आइसकेपछि मेरो पहिलादेखि समाज सेवा इच्छा त्यसको लागि राजनीतिमा जान्छु भनेर जागिरबाट स्वइच्छिक अवकास लिएकी हुँ ।

मैले घरपरिवारको सल्लाहमै जागिर छाडेकी हुँ । जागिर खाँदा पनि आफूले पढाउने स्कुललाई नमुना विद्यालयको रुपमा विकसित गरेकी थिए ।

जागिरबाट अबकास लिएर पूर्ण रुपमा समाज सेवामा लाग्न थालेपछि एमालेले मलाई पुतलीबजार नगरपालिकामा मेयरको टिकट दियो । चुनाव पनि राम्रोसँग जित्न सफल भएँ ।

चुनावी घोषणापत्र अनुसार काम गर्न सक्नुभएको छ ?
चुनावी घोषणापत्रमा हामी गर्न नसक्ने कामहरु केही राखेका थिएनौं, गनसक्ने नै राखेका थियौं । निर्वाचित भइसकेपछि हामीसँग प्रतिस्पर्धा गर्ने साथीहरुलाई पनि राखेर हाम्रा घोषणापत्रमा काम गर्न सुरु गरेका छौं ।

तपाईंहरुका पनि एजेन्डाहरु छन्, ल्याउनुहोस् भनेर सर्वपक्ष ढंगले कुरा राख्यौं । उहाँहरुसँग हाम्रो घोषणापत्र यस्तो तपाईहरुका थप सुझाव सल्लाह के छ भनेर माग्यौं ।

यसरी सबैसँग सझुाव सल्लाह मागेर एकीकृत कार्ययोजना बनायौं । र, प्रथम नगरसभाबाट नीति कार्यक्रमहरु घोषणा ग¥यौ । नीति तथा कार्यक्रम घोषणा गरिसकेपछि ‘समृद्ध पुतलीबजार, सुखी नगरवासी भन्ने नारा राख्यौ ।

त्यसपछि शिक्षा, स्वास्थ्यका र अन्य सामाजिक कुरा छँदै थिए । त्यसबाहेक कृषि र पर्यटनलाई प्राथमिकतामा राखियो भने हाम्रो विकास गर्न सकिन्छ भन्ने मान्यताका साथ हामी अगाडि बढ्यौं । यही नाराका साथ हामी अगाडि बढ्दै गएका छौं । हामी निर्वाचित भइसकेपछि नगरको विकासको लागि धेरै नै काम गरेका छौं ।

पुतलीबजार नगरपालिकमा दूर्गम गाउँहरु पर्दछन्, त्यहाँका जनतामा खड्किएको आवश्यकता के देख्नुहुन्छ ?
जनप्रतिनिधि नहुँदा ती गाउँका सबै टोलवस्तीहरुमा सडक पुगेको थिएन । ती सबै ठाउँमा हामीले सडक पु¥यायौं । अर्को पुतलीबजार नगरपालिकामा पानीको व्यवस्था चाहीं थियो तर त्यो एकदमै अस्वस्थ थियो ।

त्यो खानेपानीलाई स्वस्थ र सफा बनाएर सबै जनतासामु पु¥याउँछौं भनेर अभियान चलायौं । त्यसपछि यहाँका जनताले स्वस्थ खाने पानी पाएका छन् । अहिले पनि तीन÷चारवटा खानेपानी योजनाहरु सम्पन्न हुँदैछन् ।

यस नगरपालिकामा ९ हजार ९ सय ७५ घरधुरी रहेका छन् । ती सबै घरधुरीमा एक घर एक धाराको अभियानमा हामी गएका छौं । अर्को काठका पोलहरु विस्थापित गर्ने अभियान थियो । त्यो आगामी वर्ष सम्पन्न गर्ने छौं ।

पुतलीबजार नगरपालिकामा कतिवटा वडा छन् ?
यस पुतलीबजार नगरपालिकामा १४ वटा वडाहरु छन् । ती १४ वडामा २ सय ९४ वटा टोल छन् । त्यो २ सय ९४ चलाउनका निम्ति १४ वडामा १४ जना महिला समाज परिचालकहरु राखेका छौं ।

ती १४ जना समाज परिचालकलाई गाइड गर्ने २ जना कर्मचारीहरुको व्यवस्था गरेका छौं । ती समाज परिचालकहरुमार्फत ती २ सय ९४ वटा टोलमा जनताको समस्याका पहिचान गर्ने काम गर्दछन् ।

हरेक टोलका नागरिकहरुलाई पुतलीबजारमा आएका सेवा, सुविधाहरु यी परिचालक मार्फत पु¥याउने काम गरेका छौं । यहाँको स्रोतसाधनको लगानी प्रतिफल दुवैसँग जनताको पहुँच हुने व्यवस्था मिलाइएको छ ।

पुतलीबजार नगरपालिकामा कति विद्यालय भवनहरु छन् ?
यस नगरपालिकामा कलेज दुईवटा छन् । सामुदायिक विद्यालय ७० वटा छन् । संस्थागत विद्यालयहरु १६ वटा छन् । एउटा नमुना विद्यालयमा यस वर्षदेखि सव–इन्जिनियर पढाउन सुरु गरेका छौं ।

शिक्षालाई एउटा प्रमाणपत्रमा मात्र सीमित नगरेर सीपमुलक र व्यवसायिक बनाउनुपर्छ भनेर प्राविधिक शिक्षालाई जोड दिएका छौं । प्राविधिक शिक्षालय छुट्टै बनाउने भनेर मेरै अध्यक्षमा समिति बनाएर त्यसको प्रोसेसमा अगाडि बढिरहेका छौं ।

स्वास्थ्यको अवस्था कस्तो छ ?
स्वास्थ्यको हकमा हाम्रा १४ वटा वडामध्ये २ वटामा स्वास्थ्य केन्द्र छैन । १२ वटा वडामा राम्रा–राम्रा स्वास्थ्य चौकीहरु छन् । तीनवटा स्वास्थ्य केन्द्रहरु छन् । यो वर्ष हामीले दुईवटा स्वास्थ्य केन्द्रहरु खडा गर्दैछौं ।

पुतलीबजारमै प्रदेशस्तरीय अस्पताल छ । हामी आउँदा त्यो अस्पतालको अवस्था नाजुक थियो । पहिला हामी मातहतमै थियो । अहिले प्रदेशअन्तर्गत गएको छ । स्वास्थ्यको सवालमा अस्पतालको एकदमै राम्रो स्तरोन्नति गरेका छौं ।

जेष्ठ नागरिकहरुलाई टोल–टोलमा स्वास्थ्यकर्मी खटाएर महिनामा ६ दिन स्वास्थ्य चेक गर्ने व्यवस्था गरेका छौं । टोलमा पनि आउन नसक्नेलाई घरघरमा गएर स्वास्थ्य परीक्षण गरिन्छ । प्रदेश स्तरीय अस्पताल पनि छ । अस्पताल जान समस्या भयो भनेर गाडीको व्यवस्था गरेका छौं।

गर्भवती तथा सुत्केरी महिलाहरुलाई कस्तो खालको कार्यक्रम ल्याउनुभएको छ ?
गर्भवती तथा सुत्केरी महिलाहरुको हकमा घरमै व्यथा लागेर अस्पताल आउन नसक्नेको लागि अस्पताल जानको लागि गाडीको व्यवस्था गरेका छौं । एम्बुलेन्स छ भने त्यो लाने छैन जुन गाडी भेटिन्छ त्यही लिएर जाने भनेर घोषणा गरेका छौं ।

कुनै पनि गर्भवती महिलाले पैसा नभएकै कारणले अस्पतालबाट जानबाट बन्चित हुनुपर्दै उहाँहरुलाई तुरुन्त गाडीको व्यवस्था गरेर अस्पताल पु¥याउँछौं । त्यसको माझमा पारेर २ वटा एम्बुलेन्सहरु स्टेनवाइ राखेका छौं ।

त्यसको पैसा नगरपालिकाले तिर्नुपर्छ । जसरी संघीय र प्रदेशले हेलिकप्टरको व्यवस्था गरेजस्तै हामीले एम्बुलेन्स, गाडीको व्यवस्था गरेका छौं । त्यस्तै गर्भवती आमाहरुलाई निःशूल्क क्याल्सियम चक्की दिने गर्दछौै ।

अर्को पार्टीले जितेका वडाहरुमा बजेट हेरफेर गरिन्छ भन्ने छ तपाईंहरुले सबैलाई समान रुपले काम गर्न सक्नुभएको छ ?
हामी अहिलेसम्म ८ वटा नगरसभाहरु सर्वसम्मत ढगलबाट सकिसकेका छौं । विशेष नगरसभा बोलाउनु परेको छैन । बजेट वितरणमा पनि हाम्रो विधि छ, जनसंख्या, भूगोल हेरेर विधि बनाइन्छ । पुतलीबजार नगरपालिकामा तीनवडा नेपाली कांग्रेसले जितेको वडा छ ।

अरु नेकपा एमालेको तर्फबाट जितेको छ । नगरसभामा नेपाली कांग्रेसका २२ जना हुनुहुन्छ । हामी ७३ जना छौं । यति हुँदा पनि बजेट बाँडफाँडमा कुनै खालको विभेद छैन ।

न्यायिक समितिमा कस्ता मुद्दाहरु बढी आउन्छन् ?
तीन सदस्यीय न्यायिक समितिमा दुई जना पुरुष एकजना महिला हुनुहुन्छ । न्यायिक समितिमा विशेष गरेर घरेलु हिंसाका मुद्दाहरु बढी आउने गरेका छन् ।

पछिल्लो समय डिभोर्सको मुद्दाहरु पनि आउने गरेका छन् । थोरै जग्गा किचलोको काम मुद्दाहरु पनि आउँछन् । यहाँ आउने धेरै मुद्दाहरु आपसी परामर्शबाट मिलापत्र गरेर टुंग्याउने गर्दछौं ।


पहिला विवाह गरेका दर्ता नगरेका लुकिछिपी बसेका पहिल्यै छोराछोरी भइसकेकाको कसरी नाता प्रमाणित गर्ने ?
यो हाम्रो आन्दोलनको उपलब्धी पनि हो । नेपाली दिदी बहिनीहरुले धेरै सौता व्यहोर्नुपरेको थियो । अहिलेको कानुनले बिना कारण दोस्रो विवाह गर्न दिएको छैन ।

श्रीमती मरेको अथवा सधैंभरिलाई अस्वस्त भएको लगायत विशेष परिस्थितिबाहेक दोस्रो विवाह गर्नुहुँदैन भनेर हाम्रो महिला आन्दोलनले ल्याएको उपलब्धी हो ।

यी बाहेक दोस्रो विवाद गर्न पाउँदैनन् । अब कतिपयले घरको श्रीमतीलाई ढाँटेर बाहिरै अर्की राखेर बाहिरै छोराछोरी पाएका घटनाहरु पनि छन् ।

ती दुई बाबु आमाको बदमासीले बच्चा जन्मन्छ, त्यसको दोष होइन । त्यसकारण, त्यो बच्चा व्यवारिसे हुनुहुँदैन भनेर बच्चा कायम हुन्छ । तर, बहुविवाह भनेर दर्ता हुँदैन ।

अब बाबु आमाको बहुविवाह भनेर दर्ता हुँदैन बच्चाको अधिकार पाउने गरी कायम हुन्छ । बाबु आमाको गल्तीले बच्चाले दुःख पाउनुहुँदैन ।

अहिले आएको कानुन महिला मैत्री हो ?
यो कानुन त धेरै महिला मैत्री हो । व्यथिति गेरेर बच्चा जन्माएर अलपत्र पार्ने, त्यसमा बच्चाको गल्ती हुँन । त्यसकारणले बच्चाले दुःख पाउनुहुँदैन । त्यसैले बाबु आमाको बहुविवाह भनेर दर्ता हुँदैन ।

दलित, उत्पीडित पनि त्यही क्षेत्रमा होलान्, उनीहरुको लागि कस्तो प्याकेज कार्यक्रम छन् ?
अहिलेको सरकारले दलित भनेर विभेद गरेको छैन । त्यसैले कसैलाई पनि जातको आधारमा विभेद गर्न मिल्दैन ।

यदि कसैले जातको आधारमा विभेद गर्दछ भने त्यसलाई कडा कारबाही हुनुपर्छ । यी कुरा भनिरहँदा पनि व्यावहारमा लागु भएको छैन । तपाईंले भनेजस्तो केही समस्या छ तर पहिलाको जस्तो समस्या अहिले छैन ।

समाज धेरै परिवर्तन भइसकेको छ । अहिले पहिलाको जस्तो छैन ।

सम्बन्धित समाचार

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७७ चैत्र १०, ११: ५४: २६

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७७ चैत्र १०, ११: ५४: २६

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

उखु बेचेको रकम पाउन किसान आए काठमाडौंः ६ उद्योगले ४१ करोड अझै दिएनन
उखु बेचेको रकम पाउन किसान आए काठमाडौंः ६ उद्योगले ४१ करोड अझै दिएनन
  • २०७७ चैत्र १०, ११: ५४: २६

नयाँ बिकल्प,काठमाडौं । उखु बेचेको रकम चिनी मिलले नदिएपछि उखु किसानहरु फेरि आन्दोलन गर्न काठमाडौ आएका छन्। सरकारसँग चिनी उद्योगीले...

भर्खरै

TOP