April 19, 2021, Monday

अलैँची ब्लक यान्त्रिकीकरणतर्फ अलैँची किसान


नयाँ विकल्प
बागलुङ–अलैची उत्पादन लागत घटाई आम्दानी बढाउनका लागि किसान यान्त्रिकीकरणतर्फ आकर्षित बनेका छन् । जनशक्ति र समयसमेत कम लाग्ने भएपछि किसानले आधुनिक खेती प्रणाली अपनाउन थालेका हुन् ।

परम्परागत सीप र प्रविधिको ठाउँमा नयाँ यन्त्र, उपकरणको प्रयोग बढ्दो छ । उन्नत प्रविधि अपनाउँदा कम लागतमा उत्पादन बढाउन सकिने गलकोट अलैँची ब्लक सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए ।

कृषि औजार तथा उपकरणमा दिइने सरकारी अनुदानले किसानलाई यान्त्रिकीकरणतर्फ लाग्न प्रोत्साहित गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको अलैँची ब्लक कार्यक्रममा सम्मिलित १२ जना अलैँची किसानले यही साता ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो (मिनिटिलर) पाएको संयोजक भण्डारीको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बागलुङले ५० प्रतिशत अनुदानमा अलैँची किसानलाई मिनिटिलर वितरण गरेको हो । रु ५२ हजार पर्ने मिनिटिलर किसानले रु २६ हजारमा पाएका हुन् । अलैँचीका बिरुवा, सिँचाइ, अलैँची सुकाउने भट्टी, त्रिपाललगायतका सामग्री किसानले ८५ प्रतिशतसम्म अनुदानमा पाउँछन् ।

गलकोट नगरपालिका–१ र ४ लाई समेटेर अलैँची ब्लक कार्यक्रम सञ्चालन गरिएको छ । वडा नं १ को चौराहा, पात्लेखोला, भण्डारवन, टोड्के, ज्यामिरे, थलिङ, भैँसे र वडा नं २ को चमुवा, खरुवा, नुवाकोटलगायतका ठाउँमा अलैँचीको व्यवसायिक खेती हुँदै आएको छ ।

दुवै वडाका गरी २५० किसान अलैँची खेतीमा लागेका छन् । “करिब १० हेक्टर जतिमा अलैँची खेती छ, यो वर्ष १५ क्विन्टल उत्पादन भयो”, संयोजक भण्डारीले भने । उत्पादित अलैँचीमध्ये केही बाहिर निर्यात हुन्छ भने गलकोटमै प्याकेजिङ गरेरसमेत बिक्री गर्ने गरिएको छ । प्रतिकिलो रु ६०० मा अलैँची बिक्री हुन्छ ।

वि.सं २०५४ देखि गलकोटमा अलैँची खेती शुरु भएपनि समूहगतरूपमा वि.सं २०७२ देखि खेती गर्न थालिएको हो । शुरुका तीन वर्ष पकेट र त्यसपछि ब्लक कार्यक्रम सञ्चालन भइरहेको छ । गलकोटसहित ताराखोला गाउँपालिका र जैमिनी नगरपालिकालाई समेटेर अलैँची जोन कार्यक्रम सञ्चालनका लागि प्रस्ताव अघि बढाइएको छ ।

कृषिको आधुनिकीकरणका लागि किसानलाई सीप, प्रविधि र अनुदान उपलब्ध गराउने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खाद्यान्न बालीसहित तरकारी, फलफूल खेतीमा यान्त्रिकीकरण गर्ने क्रम बढेको केन्द्रको भनाइ छ । निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बन्न यान्त्रिकीकरणले सघाउने गरेको छ ।

केन्द्रले कृषि समूह, सहकारी र व्यक्तिलाई अनुदानमा कृषि यन्त्र, उपकरणहरू प्रदान गर्दै आएको छ । किसानले आफ्नै लगानीमा समेत आधुनिक कृषि प्रणालीलाई अपनाउन थालेका छन् । सरकारी निकायले पनि कृषिमा सीप, क्षमता र प्रविधि हस्तान्तण तथा विकासका कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् ।

किसानले खाद्यान्न बालीतर्फ गहुँ, धान चुट्ने ‘थ्रेसर’, मकै छोडाउने ‘कर्न सेलर’, उन्नत खालको अन्न भकारी, ‘सुपर ग्रीन ब्याग’ जस्ता सामग्री अनुदानमा पाउने गरेका छन् । यस्तै तरकारी बालीतर्फ आरा, करौँती, ‘सिकेचर’, हजारीलगायतका औजारहरू अनुदानमा किसानलाई दिने गरिएको छ । धान बत्ताउन प्रयोग हुने पङ्खा, आधुनिक मौरी घार, महदानी, पञ्जा, टोपी जस्ता सामग्री पनि किसानले अनुदानमा पाउँछन् । रासस

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ चैत्र १३, १३: २१: ५७

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ चैत्र १३, १३: २१: ५७

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ चैत्र १३, १३: २१: ५७

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP