June 21, 2021, Monday

व्यावसायिकता र प्रजातान्त्रिक मिसन बुझेको नेतृत्वको स्थापना आवश्यक

१.नेपाल पत्रकार महासंघको २६ औँ निर्वाचन यही चैत्र २५ गते नेपालभर एकैपटक हुँदैछ । पत्रकारितामा लाग्ने र पत्रकारिताप्रति चासो राख्ने मानिसहरु र संस्थाहरुका लागि यो महोत्सव नै हो ।

पहिले पनि निर्वाचन हुन्थे र अहिले पनि हुन लागेको छ । फरक केमा मात्र हो भने पहिले प्रतिनिधिमूलक तरिकाले हुन्थ्यो । अर्थात् यतिजना पत्रकारहरुबाट छानिएका प्रतिनिधिबाट निर्वाचन हुन्थ्यो ।

त्यो व्यवस्था पनि एकप्रकारले ठिकै थियो किनभने त्यसले क्षेत्रीय र स्थानीय प्रतिनिधिहरुको धारणालाई प्रतिनिधिमार्फत् आदेश दिन्थ्यो । तर पत्रकारितामा प्रवेश गर्नेहरुका लागि र उम्मेदवार हुन चाहने प्रत्येक योग्यता पुगेका व्यक्तिहरुको सहभागिता हुन नसकेकोले सम्पूर्ण योग्य मतदाताले मत दिएर आफ्ना नेतृत्वदायी नेताहरु छान्ने प्रक्रियामा अहिले निर्वाचन हुन थालेको हो ।

२. नेपाल पत्रकार महासंघको इतिहासले भन्छ–यो वाणीविहीनहरुको वाणी बोल्न र प्रजातन्त्रका पक्षमा बोल्ने एक सशक्त संस्था हो । अपवादको रुपमा कोही पर्लान् तर पत्रकारिताको धर्म नै वाणीविहीनहरुको बोली बोल्नु नै हो । यो सामाजिक सेवा पनि हो, अक्षरको सेवा पनि हो र निष्पक्षताको एउटा उदाहरण पनि हो । त्यस्तै हुनु पनि पर्छ ।

३. यता पत्रकार र पत्रकारिताप्रति समाजको, राज्यको र पत्रकारहरुको आफ्नै पनि केही गुनासाहरु देखिन्छन् । कति गुनासाहरु वस्तुगत होलान्, कति गुनासाहरु विषयगत होलान् र कति गुनासाहरु आफैँमा अनुत्तरित पनि होलान् । गुनासो आफैँमा वस्तुनिष्ठ हँुदैनन् तर सबै गुनासाहरु बेलैमा सम्बोधन भने गरिनु जरुरी छ ।

सामान्यतया गुनासाहरुको पछिल्तिरको मुख्य कारण भनेको आर्थिक असमानताबाट सुरु हुन्छ । हाम्रो प्रेस संस्थागत हुने प्रक्रियामा छ र त्यो क्रम कहिले दू्रत गतिमा परिवर्तन हुन लागेको देखिन्छ त कहिले परिवर्तन हुनै नसक्ने अवस्थामा छ कि जस्तो देखिन्छ ।

४.आर्थिक कारणले हुने समस्याको समाधान आर्थिक सम्पन्नताले मात्र दिन्छ तर नैतिकताका आउने ह्रासलाई आर्थिक कारणले झन झन विकृतिपूर्ण बनाएको पनि हुन्छ । हाम्रो देशमा देखिएको सूचना सचेतनाको स्तर जति उँचो छ, त्यति नै आर्थिक र सामाजिक पाटो कमजोर छ भनिन्छ ।

५. नेपालमा प्रजातन्त्रको लागि लेख्ने प्रेसको कहिल्यै खडेरी परेन र प्रेसमार्फत् नै उच्चस्तरको प्रजातान्त्रिक चेतना जनस्तरमा लगिन्थ्यो । त्यसको पनि नेपाली जनताले उच्च मूल्याङ्कन गरेकै छन् र २०४६ अनि २०६२-६३मा नेपाली प्रेस र पत्रकार संघले गरेको त्याग र योगदानका कारणले आज पनि नेपाल पत्रकार महासंघ चर्चाको केन्द्रमा रहन्छ । नेपालको कृतज्ञ समाजले त्यही बेलाको पत्रकार संघको प्रजातान्त्रिक सचेतना वाहकको रुपमा आज पनि हेर्छन् ।

६. त्यही सचेतना वाहकहरुको निर्वाचनमा सबैको चासो हुने नै भयो । झन यसपटक नयाँ पुस्ताले समेत प्रत्यक्षरुपमा निर्वाचनमा भाग लिन पाउने छ र आफ्ना नेतृत्वलाई आफ्नै प्रत्यक्ष मतले जनादेश दिने काम गर्ने छ । अनि पत्रकारितामा आउने पर्ने परिवर्तनका लागि आगामी नेतृत्वले सक्षम नेतृत्व प्रदान गरोस् भन्ने अपेक्षा गर्नु स्वाभाविक हो ।

७. पत्रकारिता र पत्रकारको समूहमा राजनीतिक चासा हुन्छ नै । एकपटक एकजना पत्रकारिताका गुरुले एउटा प्रशिक्षणका क्रममा भन्नुभएको थियो– छाला कारखानामा पत्रकार जाँदा सुटकेस पनि दिन्छन्, जुत्ता पनि दिन्छन् र पर्स पनि दिन्छन् । त्यसो गर्नुको दुईओटा कारणहरु हुन्छन्—एउटा आफ्नो उत्पादनको प्रचार र अर्को हो यी उत्पादनका वारेमा आउने नराम्रा समाचारहरु प्रकाशित र प्रसारित नगरियोस् ।

उत्पादकले नबोली भन्ने कुरा महत्वपूर्ण हुन्छ र पत्रकारले सामान पनि लिने अनि समालोचनात्मक चेतले समाचार पनि बनाउने गर्नुपर्छ । अर्थात् राजनीतिक दल वा नेताको कुरा सुन्ने, राम्रा कुराहरुको प्रशंसा गर्ने अनि नराम्रा कुराहरुको कडा आलोचना गर्ने जसले गर्दा उसले नैतिकताको पाठ थाहा पाओस् ।

तर पत्रकार स्वयं उनीहरुको जालमा पसेमा त्यहीँनेर समस्या आउने देखिन्छ । सायद समाजको गुनासाहरु पनि त्यहीँ हो र पत्रकारिता अनि राजनीतिका बिचको फरक पनि त्यही हो ।

८. पत्रकारिताका आफ्नै सीमा र आचार संहिता हुन्छन् । पत्रकारितामा अपनाइने आचार संहिता भनेको स्वनिर्मित र स्वचालित हुन्छन् यदि पत्रकारिताको संस्कृति प्रजातन्त्रप्रति प्रतिबद्ध हुनसक्दा । तर राज्य जहिले पनि आफ्ना कुुराहरु मान्ने जमात चाहन्छ जस्तो कि प्रहरी र सेना हुन्छन् । कर्मचारीलाई जस्तै बन्धनमा रहोस् भन्ने चाहन्छन् ।

जबसम्म सरकारको भरमा पत्रकारिता चलाउनु पर्ने हुन्छ, सरकारी विज्ञापनमा भर परेर पत्रकारिता गर्नुपर्ने अवस्था रहन्छ, त्यो बेलासम्म सरकारले पत्रकारहरु पनि प्रहरी र सेनाजस्तै सरकारको प्रत्यक्ष आचार संहितामा राख्न चाहन्छ ।

९. अहिले हामी व्यावसायिक पत्रकारिता र मिसन पत्रकारिताको मिश्रित अवस्थामा छौँ । एकातिर प्रजातन्त्रमाथिको खतरा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित सत्ताधारीहरुबाटै सदा रहने भय छ र पत्रकारिताले प्रजातन्त्रको पक्षधरता छोड्न सक्दैन जसलाई हामी मिसन पत्रकारिताको रुपमा मान्छाँै ।

अनि त्यही पेसाबाट जीवन निर्बाह गरेर समाजमा स्वाभिमानी भएर बाँच्नु छ, त्यहाँनिर व्यावसायिकताको पनि आवश्यकता झन देखिन्छ । त्यसैले एउटै कलमले मिसनको पनि काम गर्नु आवश्यक परेको छ भने त्यही कलमले बाँच्नका लागि विषयगत रुपमा पनि लेख्नु जरुरी भएको छ ।

१०. त्यसैले आगामी नेतृत्वले निर्भीकताका साथ यस्तो काम गरोस् जसले पत्रकारिताको गिर्दो साखलाई पनि पहिलेको नैतिक धरातलको दृष्टिमा माथिल्लो उँचाइमा पु¥याओस्, सरकारप्रतिको निर्भरतालाई पनि कमी गराओस्, पत्रकारहरुको सृजनशीलता र श्रमजीवीहरुको श्रमको पनि सही मूल्याङ्कन गराउन सकोस् । एउटा श्रमजीवी पत्रकारले आफ्नो प्रेसबाट कुनै गुनासो राखेर काम गर्नु नपरोस् ।

११. यस्ता कामका लागि सरकारको पनि सहयोग आवश्यक पर्छ । प्रेस काउन्सिलको पनि सहयोग चाहिन्छ । संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरुको प्रत्यक्ष सहयोग चाहिन्छ तर उनीहरुको दया र कृपामा विज्ञापन पाउने दिन हटाउनु पर्छ । एउटा त्यस्तो कोषको स्थापना गरौँ र त्यसलाई पत्रकारहरुको प्रत्यक्ष संलग्नतामा पत्रकारहरुको हितमा, पत्रिकाहरुको या सञ्चार संस्थाहरुको हितमा लगाऔँ ।

सञ्चय कोषको व्यवस्था गरौँ, पेन्सनका व्यवस्था गरौँ, स्वास्थ्य बिमाको सहुलियतको व्यवस्था गरौँ तर स्वतन्त्ररुपमा, वस्तुगतरुपमा । तर जे गराँै प्रजातान्त्रिक प्रक्रिया र पारदर्शी प्रक्रियामा गरौँ । कम्तीमा पनि गुनासाहरुलाई न्यूनतामा लैजाऔँ ।

१२. अनि दुनियाँलाई प्रजातान्त्रिक प्रक्रियको उपदेश दिने हामी पत्रकारहरुले पनि प्रजातान्त्रिक हुने कोसिस गर्नैपर्छ । हाम्रा निजी संस्थाहरु देखि सार्वजनिक संस्थाहरु सबै पत्रकारिताका लागि निडर र निष्पक्ष हुन सक्नुपर्छ । सामाजिक न्यायको पाटोलाई बिर्सनु हुँदैन । सामाजिक न्यायको पाटोमा आर्थिक समानता र नैतिक सद्भावको आवश्यकता पर्छ ।

१३. र अन्त्यमा, यसपटकको निर्वाचनमा करिब १३हजारभन्दा बढी पत्रकारहरुको प्रत्यक्ष संलग्नता र मतदानबाट स्थानीय, प्रादेशिक तथा संघीय कार्यसमितिहरु बन्नेछन् । नयाँ पुस्ताका लागि यो नयाँ अनुभव हुनेछ र निष्पक्षताका साथ आफूलाई मतपत्रमार्फत् आफैँलाई सेवा गर्ने जमातको निर्णय गर्ने अधिकार आएको छ जसका लागि कर्तव्य पूरा गर्नु पर्नेछ ।

यो महान प्रजातान्त्रिक प्रक्रियाको थालनीले पत्रकारिताको नेतृत्वमा नयाँ युगको थालनी पनि हुनेछ । विवेकको प्रयोगले मात्र पत्रकारिताको महत्व संसारभर बढेको हो र हाम्रो यो थालनीमा पनि विवेकको प्रयोग गरेर सक्षम नेतृत्व तयार गर्न हामी सक्षम हुनेछौँ भन्ने शुभकामना । आगामी नेतृत्वमा जो साथी आए पनि पत्रकार र पत्रकारिताको विकासमा लाग्ने कुरामा कुनै शंका नै भएन ।

सँगसँगै प्रजातन्त्रप्रति देखिएको कालो बादललाई चिर्ने क्षमता पनि आगामी नेतृत्वले राख्न सकोस् । मिसन र व्यावसायिकताको मिश्रण बुझेको विवेकपूर्ण नेतृत्व दिन सक्षम नेतृत्व आओस् ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ चैत्र २३, १२: ५८: ४४

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ चैत्र २३, १२: ५८: ४४

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ चैत्र २३, १२: ५८: ४४

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP