May 14, 2021, Friday

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको बलमा अपहरित प्रजातन्त्र फिर्ता भएको थियो ।

प्रजातन्त्र या लोकतन्त्रको पुनर्बहाली गर्दै त्यसैको जगमा करिब अढाइ सय वर्षदेखि राज्य गर्दै आएको शाहकालीन राजतन्त्रको समेत अन्त्य ग¥यो र नेपालमा त्यसैले फागुन ७ गतेको क्रममा वैशाख ११ गते पनि जोडिएको हो ।

२००७ सालमा राणा शासनको अन्त्यका लागि एक्लै नेपाली काँग्रेसले सशस्त्र क्रान्ति गरेको थियो र १०४ बर्से जहानियाँ शासनको अन्त्य गरेको थियो । २०१७ सालमा जब दलहरुको अब काम छैन भन्दै राजा महेन्द्रले निर्दलीय व्यवस्थाको रुपमा पञ्चायती व्यवस्थाको सूत्रपात गराए, अनि नेपाली काँग्रेस एक्लै प्रजातन्त्रको पक्षमा संघर्षरत रह्यो ।

अन्ततः लामो प्रजातान्त्रिक संघर्षपश्चात् २०४६ साल तत्कालीन वाममोर्चासँग मिलेर नेपाली काँग्रेसले गुमेको वहुदलीय व्यवस्थाको पुनस्र्थापना गरेको थियो ।

२. पुनस्र्थापित प्रजातन्त्रको विशेषता थियो, संवैधानिक राजतन्त्रभित्र संसदीय वहुदलीय व्यवस्था । व्यवस्थापिकाभित्र राजा । किङ इन पार्लियामेन्ट । कार्यकारी भूमिकामा प्रधानमन्त्री अनि राजकीय भूमिकामा राजा । संविधानले सर्बेसर्बा राजालाईमानेको अनि राजाले मन्त्रिपरिषदको सल्लाहमा मात्र राजकीय शक्तिको प्रयोग गर्ने ।

३.२०४७ साल कार्तिक २३ गते तयार गरिएको प्रजातान्त्रिक संविधानको कार्यान्वनको क्रममा राजा संविधानअन्तर्गतको सीमित अधिकारमा रहन बाध्य भएका थिए र मौनताका साथ आफ्नो अधिकारका लागि लालायित थिए र पनि राजतन्त्र एकप्रकारले सीमित अधिकारमा आफ्ना अधिकारको प्रयोग गर्न लाग्दै थियो । राजालाई पनि त्यो संविधान मान्न मुस्किल परिरहेको बुझिन्थ्यो ।

संवैधानिक राजतन्त्रअन्तर्गतको संसदीय प्रजातन्त्रको दुई ओटा निर्वाचन हँुदानहुँदै तत्कालीन भूमिगत नेकपा माओबादीले संसदीय व्यवस्था र प्रजातन्त्रका विरुद्धमा जनयुद्ध सुरु गरेको थियो ।

कोही भन्थे, त्यसमा राजाको पनि हरियो झन्डा छ, कोही भन्थे भारतको पूर्ण सहयोग छ । कोही भन्थे मुलुकको गरिबी र पछौटेपनको फाइदा उठाउँदै विद्रोहलाई विस्तारित गर्नका लागि माओबादी रणनीति अत्यधिक सफल हुँदैछ तर त्यसको सुरक्षित अवतरण र असली गन्तव्य कहाँ हो भन्नेमा स्वयं जनयुद्धका नायकहरु पनि स्पष्ट थिएनन् ।

तर मुलुक हत्या हिंसा र अत्यन्त तरल अवस्थाबाट गुज्रँदै थियो गन्तव्यविहीन राजनीतिको क्षितिजतर्फ जसको कुनै सीमा पनि थिएन, कुनै आधार पनि थिएन र परिणामका वारेमा कोही पनि निश्चित थिएन ।

अर्थात् मुलुक एउटा गन्तव्यविहीन यात्रामा निस्किएको थियो हत्या र हिँसाको आडमा । विद्रोही पक्ष र राज्यपक्ष सशस्त्र भिडन्तमा थिए र परिणामका वारेमा कोही पनि निश्चित थिएन भन्ने कुरा अहिले १५ वर्षसम्म पनि मुलुक राजनीतिक अस्थिरतामा जकडिनुले स्पष्ट पारको छ ।

४. त्यो २०४७ सालको प्रजातान्त्रिक व्यवस्थामा अहिलेको विकासक्रम संशोधन गर्ने ठाउँ प्रशस्त थियो तर मुलुक एउटा गलत गन्तव्यहीन यात्रामा जानका लागि होला, स्थिति कहिले पनि राजनीतिक स्थिरतातर्फ मोडिन पाएन चाहे सरकार वहुमतीय प्रणालीमा स्थापना भएको होस् या अल्पमतीय प्रणालीमा स्थापना भएको होस् । लाग्थ्यो त्यो कतै तयार गरिएको रणनीतिभित्र हाम्रा राजनीतिक पात्रहरु आफ्नो भागको नाटक मञ्चन गर्दैथिए ।

५. त्यही उतारचढावका बिचमा र माओबादी जनयुद्धको उच्च ताप र रापभित्रै राजा वीरेन्द्रको वंशनाश भयो अर्थात् द्रव्यशाहदेखि सुरु भएको राजतन्त्रको एउटा कडी आफैँ चुँडियो र राजाको रुपमा ज्ञानेन्द्र शाह शासनारुढ भए । मुलुकमा फेरि राजतन्त्रले संविधानभन्दा आफू ठुलो भएको भूमिका खोज्यो र मुलकुलाई संसदविहीनताका अस्थिर राजनीतिमा धकेल्दै निरुंशता लादियो ।

झट्ट देख्दा पात्रहरुले क्रमबद्ध काम गरिरहेका देखिन्थे तर कतै लेखिएको स्क्रिप्टमा कोही भूमिका ओठ चलाइरहेका थिए जस्तो राजनीतिक विकासक्रम थियो ।

राजा संविधानको धारामा टेकेको घोषणा गर्थे तर त्यो कुरा संविधानमा हुँदैनथ्यो अर्थात् राजा बाधा अड्काउ फुकाउँदै राजनीतिलाई यसरी जेल्दै थिए कि त्यो जालोमा आफैँ जेलिए र मुलुक फेरि लोकतन्त्रको खोजीमा एक भयो अनि जनयुद्ध र जनआन्दोलनका पात्रहरु मिलेर २०६३ सालमा विघटित संसद राजाको घोषणाबाट ब्युँझाउँदै, त्यही ब्युँझिएको संसदले राजतन्त्रलाई कार्यकारीबाट पनि हटायो र अन्ततः २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको नै समापन भएको घोषणा व्यवस्थापिकाले गरेको थियो ।

६. आजको गणतन्त्रको गन्तव्यको पृष्ठभूमिको अनुसन्धान गर्न नै बाँकी छ तर नाङ्गा आँखाले देख्दा २०६३सालको वैशाख ११ गते नै त्यो प्रवेश विन्दु वा प्रस्थान विन्दु मानिन्छ तर राजाले २००७ सालको ऐतिहासिक सम्बोधनलाई बिर्सेर जब आफ्नो वचनबद्धता तोडे र संविधानसभाको निर्वाचन गराएनन् अनि बेलैमा संविधानको व्यवस्था पनि गरेनन् ।

तर संविधानसभाको तयारी नगरी आफैँले संविधान घोषणा गरी निर्वाचन त गराए तर त्यो २०१५ सालको निर्वाचनबाट गठित प्रजातान्त्रिक सरकार १८ महिनामा नै अपदस्त गरी निर्दलीयता लादे, त्यही समय नै राजतन्त्रको अन्त्यको प्रस्थान विन्दु थियो । धेरैलाई याद पनि होला, संविधानविद् आइभर जेनिङ्सले राजाले गलत मनसायले संकटकाल प्रयोग गरे सर्पले छुचुन्द्रो पक्डे जस्तो होला भनेर सचेत गराएका थिए ।

भनेका रहेछन् राजालाई–यदि मुसो सम्झेर सर्पले छुचुन्द्रो समायो भने सकेसम्म त छुचुन्द्रोले ग्याँस छोडेर भाग्ने छ अनि त्यो ग्याँसले सर्प दृष्टिविहीन हुनेछ, कर्थकदाचित निलेछ भने त्यो छुचुन्द्रोको विषले सर्पको शरीरभरि कोर निस्किने छ र जिउ पट्टपट्ट फुटेर मर्नेछ ।

७. नभन्दै राजाको गलत गन्तव्यले र राजकीय अतृप्त भोकले राजतन्त्रलाई नै सखाप पारेको हो, त्यसको पछिल्लो प्रस्थान विन्दु वैशाख ११ गते हो । पहिलो त पुस १ नै हो २०१७ सालको ।

८. अहिले हामी २०७२ सालको संविधानसभाले बनाएको संविधानअन्तर्गत छौँ तर त्यो संविधानलाई गलत तरिकाले प्रयोग गरिएको छ । जो सत्तामा हुन्छ, उसैको कार्यको आलोचना र प्रशंसा दुवै हुन्छ । अहिलेको सत्ताका नायक नेकपा एमालेका सुप्रिम केपी शर्मा ओली हुनुहुन्छ । उहाँ संविधानका धाराका छिद्रबाट छिरेर शासन गर्न चाहनु भएको देखिन्छ ।

त्यस्तो बेलामा यस पटकको लोकतन्त्र दिवस परेको छ । ओलीको व्यक्तिगत इच्छामा नै, संविधानमा नलेखिएका वुँदाका आधारमा संसद अकाल मृत्युमा परेको थियो तर सर्वोच्च अदालतले त्यो कदम सरकारको असंवैधानिक थियो भनेर ब्युँताइदिएको छ । प्रधानमन्त्रीले अहिलेको शासनका लागि संसद अवरोध भएको प्रमाणित गरिरहनु भएको छ ।

त्यस्तो बेलामा लोकतन्त्र दिवसले १५ वर्षको समय गुजारेको दिन आएको थियो वैशाख ११ गते । सामान्यतः दिवस मनाउने या सम्झने भनेको वाचा पूरा भए कि भएन भनेर हो ।

के साँच्चै मुलुकमा लोकतन्त्रले आफ्नो काम गरिरहेको अवस्था छ त ? जुन वाचा गरेर २०६२—०६३को जनआन्दोलन भएको थियो र राजाबाट सत्ता खोस्न त्यो आन्दोलन सक्षम भएर लोकतन्त्र राजाको हातबाटै राजाको मुखबाटै खोस्न सक्षम भएको थियो, ती पूरा हुन सकेका छन् त ? अहिलेको सरकारको गन्तव्य के हो ? अराजकता, अव्यवस्था कि लोकतान्त्रिक शासन व्यवस्था जहाँ संसदले निर्णायक भूमिका निर्बाह गरेको हुन्छ ।

९. र अन्त्यमा, प्रसिद्ध चिकित्सक तथा नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दीक्षितले हालैको कुनै अन्तरवार्तामा भनेको सम्झन्छु—नेपालमा अब जे पनि हुनसक्छ । जे पनि हुनसक्छको मतलब हो, राजनीतिले जब लय छोड्छ, अनि जे पनि हुनसक्छ । अनुमान गर्न गाह्रो छ अब के हुन्छ ? दलहरुले प्रजातन्त्रका खास अर्थहरुको बाटोमा आफूलाई लैजान नै सकेका छैनन् ।

अचेल सामाजिक सञ्जालमा हेर्नुपर्छ, राजनीतिक दलका नेताहरुप्रति कति क्रूर टिप्पणी गरेका हुन्छन्, कति व्यंग्य गरेका हुन्छन् जसले भयानक निराशाको गन्ध आउँछ । जबसम्म यो निराशाको अन्त्य गर्न सकिँदैन, तबसम्म कुनै पनि निर्वाचनले ल्याउने परिणामका आधारमा समाजमा लोकतान्त्रिक संस्कृतिको विकास गर्न सकिँदैन ।

मुलुक फेरि कालो गाजलको गन्तव्यहीन सुरुङ्गे यात्रामा प्रवेश गरिसकेको छ । मुलुक एकपछि अर्को प्राकृतिक विपदसँग जुध्दै यहाँसम्म आएको छ र अहिले वैश्विक आपत कोरोनासँग जुघिरहेको अवस्था छ । यो बेलामा पनि दलहरु एकभएर प्रजातान्त्रिक आचरण प्रदर्शन गरेर जनताका समस्याहरु समाधान गर्न सक्दैनन् भने अब यो देशलाई दैवी शक्ति पशुपति नाथले मात्र बचाउन सक्छन् कि ?

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७८ बैशाख १३, १३: २७: ५१

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७८ बैशाख १३, १३: २७: ५१

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७८ बैशाख १३, १३: २७: ५१

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP