July 29, 2021, Thursday

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका


१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले दिएको सन्देशलाई हामीले ध्यान दिएनौँ । अहिले अवस्था नाजुक भई नै सकेको देखिन्छ ।

२. कोरोना कहरको दोस्रो छालले विश्वभर नै अचानक छोपेको छ । हाम्रो छिमेकी देश भारतमा दैनिकरुपमा ४ लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित हुन थालेका छन् भने दैनिकरुपमा करिब ३हजारभन्दा बढीको त्यही भाइरसबाट निधन समेत भएको पाइन्छ ।

३. भारतको अवस्थाले हामीलाई झस्काएको छ किनभने भारतको प्रभाव नेपालमा देखिन थालेको छ र सीमितरुपमा गरिएको पिसिआर परीक्षण र एन्टिजिन परीक्षणबाट पनि दैनिकरुपमा करिब ६ हजारजतिको संख्या संक्रमित भेटिन थालेको छ ।

४. दोस्रो छाल अचानक आएको देखिए पनि त्यसको संकेत भने देखिएको थियो । दोस्रो छालको पहिलो लहरमा नै फेरि हाम्रो स्वास्थ्य अवस्थालाई नंग्याउन थालेको छ । हाम्रो छिमेकी देश भारतमा त यसले ताण्डव नृत्य नै देखाउँदैछ र त्यसको प्रभाव नेपालमा पनि स्पष्टतः देखिन थालेको छ ।

सरुवा रोग विशेषज्ञहरुको अनुमान र तथ्यका आधारमा भन्ने हो भने भारतमा देखिएको कोरोना सुनामीको १५ दिनदेखि १ महिनाभित्रमा नेपालमा पनि त्यस्तै प्रभाव देखाउन सक्छ किनभने भारतमा बिचल्लीमा परेका र त्यहाँको अवस्था सहज नभएपछि आफ्नो घर आउने नेपालीहरु संगै विषाणु पनि आउन सक्ने सम्भावना देखिन्छ ।

नेपाल र भारतको भौगोलिक अवस्था र खुला सीमानाका कारणले आवत जावतमा जति कडाइ गरे पनि सम्भव हुन सक्दैन । सीमामा स्वास्थ्यको लागि व्यवस्था गर्न सकिन्छ तर घर आउने नेपालीहरुलाई रोक्न सकिँदैन । पोहोर अव्यवस्थित र विना तयारी रोक्दा झन त्यहीँ कोरोनाले नेपालीहरुलाई आक्रान्त पारेको थियो ।

सीमासम्म हिँडेर आएका नेपालीहरुको जिम्मा न त भारतीय पक्षले लियो, न त नेपालमा प्रवेश गर्न नसकेकाहरुको जिम्मा नेपालले नै लियो । अहिले पनि त्यो कुरा दोहोरिन थालेको छ । सीमाबाट या त विना परीक्षण भागेर नेपाल आउँछन् या त परीक्षण गरे पनि त्यहाँ केही दिन क्वारेन्टिनमा बस्ने या परीक्षण पोजिटिभ भएको अवस्थामा अस्पतालमा व्यवस्थित गर्ने क्षमतामा कुनै विस्तार गरिएको छैन । यो वास्तविकता हो जसलाई नेपाली जनताले भोगिरहेका छन् ।

५.वास्तवमा विश्वको जुनसुकै भागमा रहेका नेपालीहरुको जिम्मा त नेपालले लिनुपर्छ यदि जानकारी पाएमा । झन अहिलेको जस्तो वैश्विक समस्यामा त मानवीय कुरा हो , जसले पनि जहाँ पनि जहिले पनि एकअर्कालाई सहयोग गर्नुपर्छ र मात्र मानवताको रक्षा हुन्छ । तर अहिले भारतको अवस्था कस्तो छ भने दैनिकरुपमा करिब ४लाखभन्दा बढी मानिसहरु कोरोनाबाट संक्रमित छन् र करिब ३ हजार मानिसहरुले ज्यान गुमाइरहेका देखिन्छन् ।

विश्वका देशहरु भारतलाई कसरी यो अवस्थामा सहयोग गर्न सकिन्छ भनेर तम्सिएका छन् । भारतको त्यो सुनामीको लक्षणले नेपाललाई पनि छोएको छ र अचानक देखिएको कोरोना कहरको कसरी व्यवस्थापन गरेर जनताको ज्यान बचाउने भन्नेमा लागेको देखिन्छ ।

६.एकप्रकारले भन्नुपर्दा हामी जनता पनि निस्फिक्री हुन थालेका थियौँ र सरकारले त पहिलेका भएका , तयार पारिएका आपदकालीन पूर्वाधारहरुको समेत जगेर्ना गर्न सकेको थिएन र फेरि कहिल्यै पनि कोरोना फर्कने छैन भनेर नयाँ तयारी पनि केही गरेको थिएन ।

बालुवाटारबाट अस्पतालको शिलान्यास गर्दैमा न त आवश्यक अस्पताल निर्माण गर्न सकिएको थियो , न आउन सक्ने कोरोना सुनामी छालको कल्पना नै गर्न सकिएको थियो । नेपाली उखान छ—स्याल मार्न जाँदा बाघको शिकार गर्ने तयारी गर्नुपर्छ किनभने झाडीतिर त बाघ पनि भेटिन सक्छ या बाघ पनि स्यालको शिकार गर्नका लागि त्यतै झाडीतिर लुकेर बसेको हुनसक्छ ।

७. हिजो तयारी गरिएन भनेर न त कोरोनाको भाइरसले नेपालीलाई भेट्न छोड्छ, न हामी सतर्क हुन नै सकेका छौँ । हेर्दा हेर्दै कोरोनाले कहर दिन थालेको अवस्था छ र मुलुक फेरि अचिन्त्य आपदमा फसेको छ ।

८.वास्तवमा यो पटक , दोस्रो छाल आउनु अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने वैश्विक अवस्थालाई समीक्षा गर्दै चेतावनी दिइरहेको थियो कि कुनै पनि बेलामा फेरि कोरोनाको कहर मुलुकले भोग्नुपर्छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी त कतिपय सरकारी भेलामा समेत जान छोड्नु भएको थियो किनभने उहाँको चेतावनीलाई अटेर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रमुख आतिथ्यमा कार्यक्रम हुने गरेका थिए र सदनमा पनि उहाँले पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई जबाफ दिँदै स्वास्थ्यको प्रोटोकल नमान्नेमा पूर्वस्वास्थ्यमन्त्री देखिनु भयो अनि गगन थापाले सदनमा नै त्यसमा कमजोरी स्वीकार गर्नु भएको थियो ।

पहिलो छालमा स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचारलाई प्रेसले बाहिर ल्यायो र सरकारले त्यसको खण्डनमात्र गरेन , कतिपय पत्रकारहरुमाथि कार्बाही गर्न चाह्यो तर अहिले त्यो कुरामा स्वयं हालका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्वीकार गर्नु भएर स्वतन्त्र प्रेसको खोजीलाई मान्यता दिनु भएको छ।

अर्थात् अहिले देखिएको कोरोनाको छालले सुनामीको रुप लिनसक्ने कुरामा अनुमान गर्न सकिन्छ र कसरी नेपाली जनताको स्वास्थ्य सुरक्षा गर्ने भन्ने योजनाको मूर्तरुपको कामना गर्न सकिन्छ ।

९.एकातिर स्वास्थ्य सुरक्षामाथि आएको प्राकृतिक र टार्न नसकिने चुनौतीले मुलुकलाई जर्जर पार्न थालेको छ भने यो बेलामा पनि गर्न सकिने स्वास्थ्य सुरक्षामा अझै सरकारको ध्यान पुग्न थालेको देखिँदैन । मानिसहरुलाई एकठाउँबाट अर्को ठाउँसम्म गएर रोग सार्न र रोग लिन नसक्ने त गरिन्छ लकडाउन वा सर्टडाउन गरेर , निषेधाज्ञा जारी गरेर तर त्यसबाट पर्ने असरले दैनिक रोजगारीको अवस्थामा पनि कसरी मुखमा माड लगाउने भन्ने पनि छ ।

आर्थिक अवस्था जर्जर हुँदैछ वारम्बारको वैश्विक समस्याले । झन पोहोरदेखिको निरन्तर कोरोना कहरले गर्दा परेको मानसिक, सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असरले बालक तथा बृद्धमा पर्ने मानसिक दबाबको लेखाजोखा गर्न सकिएको छैन । आत्महत्याको दर अचानक उकालो लागेको देखिन्छ र मानसिक विषादको पनि उस्तै समस्या देखिएको बताइन्छ ।

१०. सरकार जनताको अभिभावक हो । जुनसुकै अवस्थामा पनि जनताको अभिभावकत्व सरकारले लिनुपर्छ र त्यसको प्रतिकार्यको तयारी गर्दै त्यसलाई कार्यान्वयन बेलैमा गर्न थाल्नुपर्छ ।

११.यसबिच शैक्षिक अवस्था झन विकराल भएको छ । करिब १ करोड मानिसहरु—बालबालिका , किशोर किशोरी तथा युवावस्थामा पदार्पण गर्न थालेका उमेरमा मानिसहरु— घरमै बसेर आफूलाई भविष्यको तयारी गरिरहेको अवस्था छ , जुन भविष्यको कुनै गन्तव्य देखिएको छैन । पढाइ, लेखाइ, खेलाइ, कक्षा कोठाहरुको अन्तक्र्रिया र परीक्षाहरुको अवस्था अन्यौलपूर्ण भएको छ ।

विश्वविद्यालयहरुको पढाइको क्यालेन्डर चौपट भएको छ र भावी पुस्ताले आफ्नो शैक्षिक भविष्य अन्धकार देख्न थाल्नु मुलुकका लागि सबैभन्दा अन्धकारको विषय हुन थालेको छ । तर दोष कसैको पनि छैन तर मुलुकमा आउन सक्ने कोरोना कहरको तयारी गर्न नसक्नुमा अन्ततः दोष र उत्तरदायी त सरकारलाई नै मान्नुपर्छ । झन अहिले त सरकार पनि तीन तीन तहका छन् ।

कोरोना कहरको भावी अवस्थाको तयारी गर्नु पथ्र्यो धेरै कुरामा । ओखतीमा, अस्पतालमा, स्वास्थ्य सामग्रीमा र सुविधामा । सुविधा पहिलो स्वास्थ्य सेवकलाई, सुरक्षा सेवकलाई र खासमा संक्रमितलाई । संक्रमणका डरले बन्दाबन्दीमा प्रभाव पर्नेहरुका लागि पनि चिन्तन जरुरी छ सेवाको ।

१२.अबको कोरोनाको उपचार भनेको तयारी हो स्वास्थ्य सेवाको । एकान्तवासका लागि तयारी हो । संक्रमण नहोस् भनेर खोपको उचित व्यवस्था हो । अस्पतालहरु निजी हुँदैनन् , सरकारी हुँदैनन् , ती त विरामीका लागि सेवा गर्ने ठाउँ हुन् । त्यही भावनाले सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई सक्रिय बनाउनु जरुरी छ । राज्यका लागि सबै बराबरी हुन् । जनताको आवश्यकतामा कुनै बहाना हुँदैन । मौकामा हीरा फोर्नु पर्छ ।

१३.कहीँ कतै पनि जनताले आफूलाई एक्लो महसुस गर्न नपाऊन् । अभिभावकविहीन जनताको रुपमा आफूलाई नपाऊन् । सबैलाई संवेदनशील भएर व्यवहार गरियोस् चाहे संक्रमित विरामीलाई स्याहार सुसार गर्ने कुरामा होस् या अग्रपंक्तिमा बसेर सेवा गर्नेहरुलाई दिइने सेवा सुरक्षाको प्रश्नमा होस् ।

फजुल खर्चमा मुलुकलाई ऋणको भार बोकाउनु भन्दा जनताको जीवनस्तर बचाउनका लागि जसरी पनि जहाँबाट पनि सहयोग लिन सकिन्छ र बचाउन सकिन्छ । राज्यले जनतालाई बचाएमात्र राज्यलाई पनि जनताले बचाउँछन् । जनताको जीवन बाँचेमात्र जनताले राज्यलाई दिने कर तिर्नेछन् र राज्यको ढुकुटी भर्नेछन् । मौकामा हीरा फोर्नुपर्छ ।

सरकारले खोपको सीमितरुपमा भए पनि गरेको व्यवस्थालाई जनताले सह्राएका छन् र आगामी दिनमा पनि स्वास्थ्यको वारेमा , शिक्षाका वारेमा र अन्य आधारभूत आवश्यकता पूरा गर्ने मामिलामा सरकार नचुकोस् ।

१४.विद्यालय र विश्वविद्यालय तहका परीक्षाका वारेमा धेरै चिन्ता किन नलिउँ भने जसले अध्यापन गराएका हुन् , तिनले परीक्षाको असल व्यवस्थापन र मूल्याङ्कनको पनि ठिक व्यवस्थापन गर्न सक्छन् । अहिले सरकारको पहिलो कर्तव्य भनेको स्वास्थ्य मन्त्रालयले गरेको अनुमान अनुसारको दैनिकरुपमा करिब ११ हजारसम्मको संख्यामा संक्रमण हुन सक्ने कोरोना कहरका लागि तयारी गर्ने हो ।

अहिलेसम्म करिब २०लाख नेपालीले पहिलो खोप पाएका छन् र ३लाखजति नेपालीले दोस्रो खोप पाएका छन् । संसारको अहिलेका अवस्था हेर्दा तत्काल खोपको व्यवस्था सबैका लागि एकै ठाउँबाट होला , नहोला । विभिन्न देशहरुसँगको सहयोग र समन्वयबाट खोपको व्यवस्था जरुरी छ र बढ्दो संख्यामा देखिएका संक्रमितलाई स्वास्थ्य सुरक्षाको व्यवस्था अहिलेको मुख्य सरोकार भएको छ किनभने कुनै त्यस्तो ओखती अझै बनेको छैन जसले कोरोनाको ठ्याक्क ओखतीको काम गरोस् । पहिले जनताको जीवन जोगाऊँ अनि अरु विवादका कुराको छिनोफानो गर्दै गरुँला ।

१५. र अन्त्यमा, विश्व प्रेस दिवसको उपलक्ष्यमा सबै सञ्चारकर्मीहरुलाई वधाइ र शुभकामना छ । १मे विश्व मजदुर दिवस, २ मे विश्व सूचना तथा प्रविधि दिवस र ३ मे विश्व स्वतन्त्र पत्रकारिता दिवस । यो पटकको १ मेको सन्देश भनेको कुनै पनि मजदुर यो महामारीमा भोकै नमरोस् , कसैको पनि काम नखोसियोस् र कुनै पनि मजदुरले आफूलाई निरीह नपाओस् रोजगारीबाट यही महामारीमा हाल धुुनु परेर ।

यसैगरी सूचनामा सबै नेपालीको पहुँच हाम्रो जरुरत हो । झन यस्तो महामारीमा सूचनाको गलत खेती गरिन्छ सम्बन्धित पक्षबाट जसले सेवा उपलब्ध गराउने हो । प्रेसको भूमिका भनेको सूचनामा आफ्नो पहुँच कायम गर्दै सही सूचना दिएर जनतालाई सुसूचित गर्ने । विश्व प्रेस दिवसका उपलक्ष्यमा हामीले कामना गर्ने भनेको कुनै पनि पत्रकार सूचना दिएकै कारणले भौतिक तथा मानसिक पीडामा कहिल्यै पर्नु नपरोस् ।

यता केही समयदेखि स्वतन्त्र प्रेसलाई कसरी सीमित गर्ने भनेर साइबर कानुनको दुरुपयोग गरिँदैछ र प्रेसलाई भजन मण्डलीको रुपमा प्रयोग गर्ने काम बारम्बार हुँदैछ । त्यसैले यो कोरोना कहरमा पनि स्वतन्त्र आवागमन गर्ने अवस्था नहुँदा पनि स्वतन्त्र प्रेसलाई कुनै बाधा नपरोस् । आपद विपदमा प्रेसले नै सही समाचार दिनेगर्छ र मात्र दुनियाँले त्यसको सही अवस्था थाहा पाउँछन् अनि सरकारले पनि आफ्ना दृष्टि नपुगेका कुरामा सुधार गर्न पाउँछ ।

सरकार र प्रेस एकअर्काका पूरक हुनुपर्ने बेलामा यो प्रेस दिवस मनाउन थालिएको छ त्यो पनि कोरोना कहरका बिचमा । सबै पत्रकार तथा सञ्चार कर्मीहरुप्रति शुभकामना र आगामी वर्ष पक्कै पनि प्रेसका लागि अत्यधिक स्वतन्त्रताको वर्ष होस् भन्ने चाहना सहित ।

सम्बन्धित समाचार

नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
  • २०७८ बैशाख २४, २१: १८: १८

नयाँ बिकल्प, काठमाडौं – करिव ३१ सयको विन्दुमा पुगेको नेप्से बिहीवबार दोहोरो अंकले आरालो लागेको छ। आज १५.११ अंकले गिरावट...

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ बैशाख २४, २१: १८: १८

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ बैशाख २४, २१: १८: १८

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

भर्खरै

TOP