July 29, 2021, Thursday

रेलदेखि चिल्ड्रेन प्याराडाईजसहित २१ शिर्षकमा दमक र झापामा बजेट


नयाँ बिकल्प,
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८-०७९ को लागि १६ खर्ब ४७ अर्ब रुपैयाँ बजेट छुट्याएको छ। बिभिन्न शीर्षकमा बजेट भएपनि यतिबेला धेरैको ध्यान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा र गृहनगर दमकमा कति बजेट गयो होला भन्ने छ।

शनिबार अध्यादेशबाट ल्याइएको बजेट अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्दै गर्दा उपस्थिति मन्त्रीहरूले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा कुन कुन शिर्षकमा कति बजेट पर्यो होला भनेर ध्यानपूर्वक सुनिरहँदा बारम्बार झापाको नाम आउँदा अनौठो भने मानेका थिएनन्।

प्रधानमन्त्री ओली झापाको क्षेत्र नम्वर ५ बाट निर्वाचित भएका हुन्। उनको गृह जिल्ला दमक नगर हो । ओलीकै निर्वाचन क्षेत्रमा दमक नगरपालिका गौरादह नगरको आठ वडा, कमल गाउँपालिकाको चार वडा र गौरीगंज गाउँपालिकाको ३ वटा वडा मात्र पर्छन्।

यो निर्वाचन क्षेत्रको दमक र गौरादह नगरपालिका र कमल गाउँपालिकाको केही क्षेत्रमा पर्ने गरी ग्रिन इण्डष्ट्रि पार्क निर्माणलाई मुलुककै मेगा प्रोजेक्टको रुपमा मानिन्छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा प्रधानमन्त्री अ‍ोलीको गृहनगर दमकमा मात्र ७ वटा शीर्षकमा र दमकबाहेक झापाका अन्य स्थानीय तहमा १४ गरी २१ व्टा शीर्षकमा बजेट बिनियोजना गरिएको छ। यो बाहेक दमकमा बहुउद्देश्यीय २१ तले बिजनेस टावर निर्माणाधिन छ।

४६ अर्ब बजेट लाग्ने यो औद्योगिक पार्कको लागि सरकारले यसैवर्ष पनि औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको लागि बजेट छुट्याएको छ । १८० नम्वर बुँदामा यो औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण र व्यवस्थापनमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरिने जनाइएको छ ।

दमकमा बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराई बहुआयामिक विकास गर्न गुणस्तरीय शिक्षासहितको चिल्ड्रेन प्याराडाइज स्थापना गरिने गरी बजेट छुट्याइएको छ । यो बजेट ८८ नम्वर बुँदामा उल्लेख छ।

दमकमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला निर्माण गरी दुई वर्षभित्र सञ्चालनमा ल्याइने गरी निर्माण प्रारम्भ गरिने गरी बजेटको बुँदा नम्वर २५२ मा उल्लेख गरिएको छ। कमल गाउँपालिकामा पर्ने यो रंगशालनको नाम आदिवासी जनजाति राख्नु पर्ने स्थानीयको अडानले विगत चार वर्षदेखि निर्माणमा अबरोध छ।

दमक शहरसहित जनकपुर, बीरगंज र नेपालगंजमा ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न गरिने भनी बजेटको बुँदा नम्वर २७० मा जनाइएको छ।

दमकमा बहुतले बसपार्कसहितको सिटी पार्क निर्माण गर्न बुँदा नम्वर ३४७ मा बजेट छुट्याइएको उल्लेख छ।

दमक नगरपालिकाको पश्चिम भएर बग्ने मावा नदी लगायतका अन्य नदि नियन्त्रणको लागि जनताको तटबन्ध कार्यक्रम र झापाकै भद्रपुर नगरपालिकालाई मेची नदी कटानबाट संरक्षण गर्न बजेट १३१ नम्बर बुँदामा विनियोजन गरिएको छ।

दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका क्षेत्रमा मानवबस्तीको सुरक्षा तथा कृषियोग्य भूमिको संरक्षण र जमिन उकास गरी उत्पादनशील उपयोग गर्न रतुवा खोला तथा झापाकै कन्काईसहितका अन्य नदी नियन्त्रणको लागि ३ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको १३० नम्वर बुँदामा उल्लेख छ।

झापाको मेचिनगरमा प्रदेश र स्थानीय तहमार्फत कृषि थोक बजार स्थापना गर्ने भनी बजेटको १०४ नम्वर बुँदमा उल्लेख गरिएकोछ।

सुरुङको माध्यमबाट एक नदीको पानी अर्को नदीमा पथान्तरण गरी खानेपानी, सिँचाइ र विद्युत्का लागि बहुउद्देश्यीय प्रयोग गर्न सम्भावनायुक्त नदी पथान्तरण आयोजना सञ्चालन गरी झापादेखि कञ्चनपुरसम्म सिँचाइ सुविधा विस्तार गर्न १२३ नम्वर बुँदामा बजेट विनियोजन गरिएको छ।

झापाको चन्द्रगढीस्थित भद्रपुर बिमानस्थल लगायतका १० वटा बिमानस्थलको बिस्तार एवम् स्तरोन्नति गर्न १ अर्ब ३३ करोड रुपैयाँ बजेट छुट्याइएको बुँदा नं. १५५ मा उल्लेख छ।

झापाको चन्द्रडाँगीमा दुई वर्षभित्र कृषि फार्मलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरी सञ्चालनमा ल्याइने कुरा बजेटको ११४ नम्वर बुँदामा उल्लेख गरिएको छ।

झापासहित २५ जिल्लामा ५ हजार स्यालो ट्युबवेल र २ सय डिप ट्युबवेल जडानका लागि बजेट १२७ नम्वर बुँदमा विनियोजन गरिएको छ ।

झापादेखि कञ्चनपुरसम्मको चुरे पहाडको भावरक्षेत्रमा कोशी, गण्डकी, कर्णाली एवम् तिनका सहायक नदी प्रणालीलाई अन्तरआवद्ध गरी नहर निर्माण गर्न सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको बुँदा नम्वर १३३ मा उल्लेख छ ।

पश्चिम बंगालको पानीटंकीदेखि झापाको काकारभित्ता हुँदै चारआलीसम्म पेट्रोलियम पाईपलाईन विछ्याउने कार्य प्रारम्भ गरी तीन वर्षभित्र संचालनमा ल्याउने कुरा बजेटको बुँदा नम्वर २१०मा उल्लेख छ।

झापाको शान्तिनगरदेखि धरान खण्डको मदन भण्डारी राजमार्ग निर्माण कार्यको प्रारम्भ गर्ने भनि बजेटको बुँदा नम्वर २७६ मा जनाइएको छ। योसहित सुर्खेत खण्डको सडक निर्माणको लागि तीन अर्ब २० करोड रुपैयाँ बिनियोजन गरिएको बजेटको बुँदा नं.२७६ मा जनाइएको छ।

झापाको गौरीगंजसँगै जोडिएको रतुवा, झापा गाउँपालिकासँग जोडिएको कन्काई र बिरिङ नदिमाथि हुलाकी राजमार्गमा निर्माण गरिने पुलसहित अन्य आठ वटा नदिमाथिको पुल निर्माण गर्न ६ अर्ब ३९ करोडको बजेट बिनियोजन गरिएको बुँदा नं. २७७ मा उल्लेख छ।

झापादेखि कञ्चनपुरसम्मका तराईका १८ जिल्लामा पर्ने पूर्व –पश्चिम राजमार्गबाट जिल्ला सदरमुकाम हुँदै दक्षिणी सीमा जोड्ने सडकलाई चार लेनको सडक बिस्तार गर्न २ अर्ब ६६ करोड रुपैयाँ छुट्याउने कुरा बुँदा नम्वर २८० मा उल्लेख छ।

झापाको बिर्तामोड –भद्रपुर लगायता देशका प्रमुख शहरी क्षेत्रमा ठूला क्षमताका विद्युतिय वस संचालन गरेमा अनुदान दिने व्यवस्था बजेटको बुँदा नं.२९२ मा जनाइएको छ।

झापाको कारकरभिट्टा –इनरुवा खण्डमा पर्ने पूर्व –पश्चिम रेलमार्गको जग्गा अधिग्रहण र अन्य तयारी सम्पन्न गरी निर्माण कार्य थालनी गरिने कुरा बजेटको बुँदा नं ३०२ मा उल्लेख छ।

झापाको बिर्तामोठ– चन्द्रगढी, धनुषाको जनकपुर– ढल्केबर, वाँकेको कोहलपुर –नेपालगंज लगायतका नगरपालिकालाई जोडेर मेगा सिटीमा बिकास गरिने र गुरुयोजना तर्जुंमान गर्न अन्तराष्ट्रिय शहरी योजनाविद्को परामर्श सेवा लिने बजेटको बुँदा नं. ३३३ मा जानइएको छ।

झापाको चन्द्रगढीमा सार्वजनिक पदाधिकारीलाई अवधिक रुपमा प्रशिक्षण प्रदान गरी निरन्तर सिकाई कार्यक्रम प्रवद्र्धन गर्न उच्चस्तरीय प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ भनी बजेटको बुँदा नम्वर ४१६ मा जनाइएको छ।

स्थानीय तहले गर्न सक्ने सामान्य १ करोड रुपैयाँका कार्यक्रमदेखि अर्बाैंका आयोजना पनि झापामा पारिएको छ । यसले झापाप्रति प्रधानमन्त्रीको मोह देखाउँछ । यो बजेटमा धेरै शीर्षकमा झापा परेपछि वितरणमुखी र निर्वाचन केन्द्रित भएको भनी आलोचना गरिएको छ।

सम्बन्धित समाचार

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ जेष्ठ १६, १९: ३७: ०६

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ जेष्ठ १६, १९: ३७: ०६

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ जेष्ठ १६, १९: ३७: ०६

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

भर्खरै

TOP