सभापतिमा तीनमध्ये कसले बाजी मार्ला ? – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper
शेखर र गगनको दौडानपछि संस्थापन पक्षमा छटपटी : नेपाली कांग्रेसको १५औं महाधिवेशन - २०८४ पछि

सभापतिमा तीनमध्ये कसले बाजी मार्ला ?

काठमाडौं । नेपाली कांग्रेसभित्र कुनै नाटकीय परिवर्तन नआएमा पार्टीको १५ औं महाधिवेशन २०८४ सालको आम निर्वाचनपछि मात्र हुनेछ । कतिपयले यसरी महाधिवेशनको मिति पर सार्नु पार्टीको विधान र संविधान विपरित हुने तर्क पनि गर्ने गरेका छन् । तर पार्टीको विधान र संविधान अनुसार नै प्रकृया शुरु गरेर आम निर्वाचनपछि महाधिवेशन गर्न सकिने कानुनविदहरुले नै उपाय बताएका छन् । व्यवहारिक रुपमा आम निर्वाचनको मुखैमा पार्टीको महाधिवेशन गर्दा त्यसमा हुने जितहारले पार्टीलाई क्षति पुर्याउने तर्क बलियो हुँदै गएको छ । यो वास्तविकतालाई बुझेर सार्वजनिक कार्यक्रममा समयमै महाधिवेशन हुनुपर्छ भने पनि २०८४ को निर्वाचनअघि महाधिवेशन सभपातिका आकांक्षीदेखि वरिष्ठ नेताहरुले राम्रोसंग बुझेका छन् । यो वास्तविकताका बीच सभापतिका आकांक्षीहरु भने महाधिवेशनको तयारीमा जुटिसकेका छन् । जिल्ला दौडाहा गरेर होस् या भेटघाट र छलफललाई निरन्तरता दिएर उनीहरुले अभियान तीब्र बनाएका हुन् ।

सभापतिका आकांक्षीद्धय महामन्त्री गगन थापा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले महाधिवेशन केन्द्रित गतिविधि अघि बढाएपछि संस्थापन खेमाभित्र छट्पटी शुरु भएको छ । कांग्रेस विधानमा दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्थाका कारण सभापति देउवा आगामी महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा हुने छैनन् । यो कुरा देउवाले पार्टीको औपचारिक बैठकमा समेत भनिसकेका छन् । देउवा आफू सभापतिको उम्मेदवार नभएता पनि उनले कसलाई अघि सार्छन् त्यो महत्वपूर्ण कुरा हुनेछ । त्यसो हो भने संस्थापन खेमाबाट सभापतिको उम्मेदवार को त ? धेरै कांग्रेसजनका मनमा उब्जिएको प्रश्न हो यो । कतिपयले महामन्त्री थापालाई सभापतिले समर्थन गर्न सक्ने अड्कलबाजी पनि गरेका छन् । तर पनि देउवाले अहिलेसम्म यस विषयमा मुख खोलेका छैनन् ।

राजनीतिका चतुर खेलाडी देउवाले महामन्त्री थापालाई समर्थन गर्लान् या नगर्लान् अहिले नै केही भन्न सकिने अवस्था छैन । तर इतर समूहका थापा र डा. शेखरबीच फाटो ल्याउनका लागि देउवाले यस्तो रणनीति अख्तियार गरेको कतिपय कांग्रेसजनको बुझाई छ । यसो गर्दा एकातिर गगनलाई पनि आफू देउवातिर नजिएको भान परेको छ भने देउवा त्यहि नाममा गगनलाई बिश्वासमा लिएर पार्टीमा आफू अनुकुलका निर्णय गराउन चाहन्छन् । यसो हुँदा शेखर र गगनको दुरी बढ्ने निश्चित छ । संस्थापन पक्षका नेताहरु भने आफूमध्येबाट कुनै एकजनालाई देउवाले अघि सार्नुपर्ने पक्षमा छन् । त्यहि सन्देश बोकेर फागुन पहिलो साता सभापति देउवा निवास बुढानीलकण्ठमा संस्थापन खेमाका ११ भाइको बैठक बसेको थियो । जुन बैठकको सन्देश के हो भने ११ भाइमध्ये देउवाले अघि सार्ने कुनै पनि नेतालाई स्वीकार्न तयार छौं ।

बुढानीलकण्ठ बैठकमा उपसभापति पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउद र उमाकान्त चौधरी थिए । बुढानीलकण्ठ बैठकमा डा. शशांकको उपस्थितिले कोइराला परिवार १५ आंै महाधिवेशनमा फरक कित्तामा उभिने प्रष्ट सन्देश दिएको छ । सो बैठकमा सभापति देउवाले आफूले अहिलेसम्म कसैलाई सभापतिको उम्मेदवारका रुपमा अघि नसारेको प्रष्ट पार्दै सहमतिका साथ एकजना अघि सार्नुपर्नेमा जोड दिएका थिए । सहभागी नेताहरुले पनि १४ औं महाधिवेशनबाट शिक्षा लिएर एक भएर अघि बढ्ने र त्यसका लागि आफ्नो तर्फबाट जस्तोसुकै त्याग गर्न पनि तयार रहेको प्रतिवद्धता जनाएका थिए ।

बुढानीलकण्ठ बैठकपछि पूर्व उपसभापति निधिको पहलमा चैत १६ गते उनकै निवास नयाँ बानेश्वरमा संस्थापन समूहका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा निधिसहित सिंह, गच्छदार, गोपालमान, सिटौला र डा. शशांक सहभागी थिए । सो बैठकमा पनि उनीहरुले १५ औं महाधिवेशनमा संस्थापन खेमाबाट सभापतिका लागि सर्बसम्मत उम्मेदवार अघि सारेर जाने प्रतिबद्धता जनाएका थिए । उनीहरुले संस्थापन र अरु समूहका नेताहरुलाई क्रमशः यसमा जोड्दै घेरा फराकिलो बनाएर अघि बढ्ने बताएका छन् । एक नेताका अनुसार आगामी बैठक डा. शशांक निवास महाराजगञ्जमा वैशाख पहिलो साता बस्ने सहमति भएको छ । जुन बैठकमा थप नेताहरु समेत सहभागी हुनेछन् ।

यसरी संस्थापन पक्षका नेताहरु आन्तरिक छलफलमा रहेका बेला महामन्त्री थापा र डा. शेखरले जिल्ला दौडाहा र कार्यकर्तासंगको भेटघाटलाई तिव्रता दिएका छन् । संस्थापन खेमाका नेताहरु पुरानो टिमलाई एकढिक्का राखिराख्न र सभापतिमा एकजना साझा उम्मेदवार खडा गर्न सकेमा १५ औं महाधिवेशनमा पुनः नेतृत्व हात पार्न सकिनेमा ढुक्क छ । तर त्यस्तो व्यक्ति को हुन सक्ला त ? देउवाको राजनीतिक जीवनमा अनवरत सहयोग गरेर १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरको निधि बलियो उम्मेदवार हुन सक्छन् । त्यसो त बिकल्पमा सिटौला, प्रकाशमान वा डा. शशांक पनि हुन सक्छन् । देउवा पक्षका एक नेताका अनुसार यी अनुहारमध्ये सभापतिका लागि सबैभन्दा सहज चाँही डा. शशांक हुन सक्छन् । किनभने अरु नेताभन्दा शशांकलाई भोलिका दिनमा आफू अनुकुल संचालन गर्न सकिनेमा देउवा ढुक्क छन् ।

महामन्त्री थापा युवापुस्तालाई हातमा लिएर अघि बढ्दा आफ्नो टिम बलियो हुनेमा आशाबादी छन् । त्यसो त अर्का महामन्त्री बिश्वप्रकाश शर्मा, महामन्त्रीका पराजित उम्मेदवार स्वास्थ्यमन्त्री प्रदीप पौडेलमात्र होइन, उनको टिममा उपसभापति पूर्ण खड्का लगायतका केही नेताहरु जोडिने थापा पक्षका नेताहरुको बुझाई छ । अर्कातिर, डा. शेखरका पक्षमा आफ्नो टिमका बलबहादुर केसी, डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, डा. गोविन्द पोखरेल जस्ता पुराना अनुहारमात्र होइन, संस्थापन खेमाबाट एनपी साउद, बालकृष्ण खाँड र मोहनबहादुर बस्नेत लगायतका नेताहरु जोडिने बताइएको छ । त्यसो हुँदा आफ्नो टिम सबैभन्दा बलियो हुने शेखर पक्षको बिश्वास छ ।

त्यसो हुदा तुलनात्मक रुपमा संस्थापन खेमाको मत एकै ठाउमा हुन सक्छ, भलै केही नेता थापा वा शेखरकै टिममा किन नजोडिउन् । यसरी हेर्दा महाधिवेशनमा त्रिपक्षीय भिडन्त हुने देखिन्छ । यसो हुँदा पहिलो चरणमा कसैको पनि ५१ प्रतिशत मत नआउन सक्छ । जसले गर्दा सभापतिको निर्वाचन दोस्रो चरणमा हुनेछ । त्यतिबेला कसले कसलाई साथ र समर्थन गर्छ यसै भन्न सकिदैन । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ बैशाख १, १५: ०७

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ बैशाख १, १५: ०७

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...

पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
  • २०८२ बैशाख १, १५: ०७

जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक...