गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता

गण्डकी : गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित भएसँगै ‘राइड सेयरिङ’ले कानुनी मान्यता पाएको बताए ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो । “सम्मानित सर्वोच्च अदालतको फैसलालाई समेत आधार मान्दै राइड सेयरिङ कम्पनीलाई वैधानिकता दिइएको छ, नियमावलीमा भएको व्यवस्थाअनुसार यो छिट्टै कार्यान्वयनमा जान्छ”, मन्त्री केसीले भने । सर्वोच्च अदालतले यसअघि पठाओजस्ता राइड सेयरिङ कम्पनीलाई उपभोक्ताको हक, श्रम र रोजगारीजस्ता मौलिक हकसँग जोड्दै कानुनी व्यवस्था छिटो मिलाउन निर्देशनात्मक आदेश दिएको थियो ।

अनधिकृत रूपमा सेवा दिइरहेका राइड सेयरिङ कम्पनीलाई लामो सयमको प्रयासपछि कानुनी दायरामा ल्याइएको मन्त्रीले केसीले बताए । नियमावलीका विषयमा यातायात व्यवसायीहरूसहित सरोकार भएका पक्षसँग चरणबद्ध छलफल गरिएको मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका उपसचिव प्रदीपकुमार रेग्मीले बताए । “राइड सेयरिङका विषयमा यातायात व्यवसायीहरूका केही फरक मत छन्, तर व्यापक छलफल र तयारीपछि नियमावली ल्याइएको छ”, उनले भने, “यातायात व्यवस्थापन प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेकाले आवश्यक कानुनी प्रबन्ध गरेर राइड सेयरिङलाई वैधता दिइएको हो ।”

यसअघि गत असारमा प्रदेश राजधानी पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्यलाई मन्त्रालयले रोक लगाएको थियो । यातायात व्यवसायीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै विरोध जनाएका थिए । प्रदेश सरकारले बनाएको नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ ।

नियमावलीमा भएको व्यवस्थाअनुसार मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’ कम्पनीमा दर्ता हुन पाउने छन् । राइड सेयरिङ सेवाका लागि प्रदेश सरकारका इजाजत लिनुपर्ने व्यवस्था छ । दुईपाङ्गे सवारीको अनुमति लिँदा रु २५ हजार र चारपाङ्ग्रेको रु ५० हजार र दुवै सेवा दिने कम्पनीले रु ७० हजार तिनुपर्ने जनाइएको छ । अनुमति लिँदाको कुल रकमको ५० प्रतिशत नवीकरणमा तिर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

राइड सेयरिङ कम्पनीले सवारीसाधन दर्ता गरेबापत यातायात व्यवस्था कार्यालयमा छुट्टै सेवा शुल्क पनि तिर्नुपर्ने मन्त्रालयले जनाएको छ । सवारी धनीले पनि छुट्टै शुल्क तिनुपर्ने व्यवस्था छ । बिनाइजाजत राइड सेयरिङ सञ्चालन गरेमा कानुनी कारबाही र जरिवानाको व्यवस्था गरिएको छ । सेवाको अनुगमनका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा छुट्टै समिति गठन हुने व्यवस्था नियमावलीले गरेको छ । नेपालमा पठाओ, इनड्राइभज, सजिलो, ट्याक्सीमाण्डुलगायत राइड सेयरिङ एप सञ्चालनमा छन् ।

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८२ बैशाख ३१, १२: ०४

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८२ बैशाख ३१, १२: ०४

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८२ बैशाख ३१, १२: ०४

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...