काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रका विभिन्न निर्णयप्रति असहमति जनाउँदै सभापति शेरबहादुर देउवासँग चित्त बुझ्ने जवाफ माग गरेका छन्। सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको केन्द्रीय समिति बैठकमा उनले महाधिवेशनको तयारीदेखि अनुशासन समिति, संगठन, गठबन्धन र व्यक्तिगत नियुक्तिसम्मका विषयमा धारणा राखे।
कोइरालाले सभापति देउवालाई सम्बोधन गर्दै प्रश्न गरे, “विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो? त्यो हेरियो? क्रियाशीलको १० वर्षे अवधि पुगेको थियो?” उनले स्मरण गराए कि पार्टीको एक महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य बन्ने इच्छा राख्दा गिरिजाप्रसाद कोइरालाले १० वर्ष नपुगेको आधारमा रोकिदिएका थिए।
उनले पार्टी अनुशासन समितिको निष्पक्षतामाथि पनि प्रश्न उठाए। “अनुशासन समितिको संयोजकले व्यक्तिगत रूपमा चिठी पठाउनुभएको छ। त्यो अधिकार उहाँलाई कसले दियो?” भन्दै उनले केन्द्रीय समितिको बाहिरका वरिष्ठ व्यक्तिलाई अनुशासन समितिमा राख्नुपर्ने तर्क गरे।
गठबन्धन र सत्ता समीकरणमाथि असन्तोष
कोइरालाले माओवादीसँगको गठबन्धन र पछिल्लो एमालेसँगको सत्ता साझेदारीको कारण पनि प्रष्ट पार्न माग गरे। उनले भने, “२०७९ मा माओवादीसँग चुनावी तालमेल ग¥यौं, अहिले एमालेसँग सत्ता साझेदारीमा छौं। के कारणले कांग्रेसले नेतृत्व छाडेर एमालेलाई सरकारको बागडोर सुम्पियो?” साथै संविधान संशोधनका लागि गरिएको भनिएको सहमति कार्यान्वयनमा नपुगेकोप्रति पनि उनले प्रश्न उठाए।
पार्टी महाधिवेशनको मिति स्पष्ट गरिनुपर्छ
शेखर कोइरालाले आगामी १५औं महाधिवेशन २०८२ मंसिरमै गर्नुपर्नेमा जोड दिए। उनले भने, “यदि त्यो मितिमा महाधिवेशन हुन सक्दैन भने किन? कारणसहित चित्त बुझ्ने जवाफ चाहिन्छ।” साथै उनले पदाधिकारीहरू महाधिवेशनका नाममा घुमिरहेको देखिएको पनि टिप्पणी गरे।
भातृ संगठनमा विघटन र असन्तोष
कोइरालाले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ र दलित संघबारे पनि गम्भीर प्रश्न उठाए। उनले नेविसंघ र तरुण दलको असन्तुष्टि समाधान गर्न र महिला संघको अधिवेशन कानुनीरूपमा सम्भव नभएको जनाए। “इलाममा महिला संघको कार्यक्रममा पुरुषहरूबाट महिलामाथि हातपात भएको विषयमा पार्टी नेतृत्वको ध्यान जाओस्,” उनले भने।
दलित संघका ४२ जिल्ला विघटन गरिएको सुन्नमा आएको भन्दै कोइरालाले प्रश्न गरे, “जिल्ला विघटनको अधिकार कसले दियो? दलित संघ अधिवेशनमा जान लागेको हो कि विघटनमा?”
वि.पी. कोइरालाको सालिक अनावरणमा बहिष्कार गर्नेलाई कारबाही किन होइन?
शेखर कोइरालाले बीपी कोइरालाको सालिक अनावरण कार्यक्रममा सहभागी नहुने नेतामाथि अनुशासन नलागाउनुको औचित्यमाथि पनि प्रश्न उठाए। उनले भने, “वि.पी. कोइरालाको सालिक अनावरणलाई अवरोध गर्नेहरू कस्ता कांग्रेसी हुन्? यस्ता कार्यमा अनुशासन लाग्दैन?”
सभापतिलाई खुला चेतावनीजस्तै सुझाव
कोइरालाले बैठकमा पार्टी सभापतिबाट आफूलाई कारबाहीको कुरा उठाइएकोप्रति आपत्ति जनाउँदै स्पष्ट जवाफ मागे। “चितवनमा दिनेश कोइरालालाई मैले उठाएको भन्दै मलाई कारबाहीको कुरा उठाइएको रहेछ। यसको आधार के हो?,” उनले प्रश्न गरे।
बैठकमा उनले पार्टीभित्र गुटबन्दी, भागबण्डा, कमजोर अनुशासन र संगठनात्मक शिथिलताले कांग्रेस कमजोर बन्दै गएको तर्क गर्दै भने, “मैले सधैं संयम देखाएँ, तर अब सहनशीलतालाई कमजोरी नठानियोस्।”
दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...
मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...
महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...