मधु आचार्यद्वारा कांग्रेस बैठकमा १० बुँदे प्रस्ताव – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

मधु आचार्यद्वारा कांग्रेस बैठकमा १० बुँदे प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको हालको संरचना, कार्यशैली र सरकारप्रतिको भूमिकाबारे व्यापक सुधारको माग गर्दै १० बुँदे प्रस्ताव पार्टी बैठकमा प्रस्तुत गरेका छन्। उनले पार्टीलाई सुदृढ, सशक्त र जनमुखी बनाउने उद्देश्यले यी सुझावहरू अघि सारेका हुन्।

प्रस्तावमा उनले नेपाली कांग्रेसको १५ औं महाधिवेशन यही वर्षको चैत्र मसान्तसम्म सम्पन्न गर्ने योजना अघि सारेका छन्। त्यसका लागि कार्तिक मसान्तसम्म क्रियाशील सदस्यता समापन र मंसिरभित्र वडा तथा पालिकास्तरका अधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखिएको छ। बाँकी तहका अधिवेशन पुष, माघ र फागुन महिनाभित्र सम्पन्न गरी चैत्रमा केन्द्रीय महाधिवेशन भव्य रुपमा आयोजना गर्नुपर्ने उल्लेख छ।

उनले पार्टी विधान परिमार्जनका लागि “विधान संशोधन सुझाव मस्यौदा समिति” तत्काल गठन गर्ने, गठबन्धन सरकारको कार्यसम्पादनबारे मध्यावधि समीक्षा गर्ने, तथा संविधान संशोधनको विषयमा पार्टीभित्र उच्चस्तरीय बहसको थालनी गर्ने प्रस्ताव पनि अघि सारेका छन्।

त्यस्तै, भ्रष्टाचारविरुद्ध कांग्रेसको प्रतिवद्धता थप प्रखर बनाउनु पर्ने, सरकारभित्र र पार्टीभित्र सुशासन र सुसंस्कार निर्देशिका लागू गर्नु पर्ने, पार्टीको सबै तहको कार्यकाल चार वर्षबाट घटाएर तीन वर्ष कायम गर्ने, र भातृ संस्थाहरूको नियमित अधिवेशन तथा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने सुझाव पनि छन्।

संवैधानिक पदमा हालै भएका नियुक्तिसम्बन्धी सर्वोच्च अदालतको फैसलालाई उनले संविधानको मूल मर्ममाथिको प्रहार भन्दै पार्टीले त्यसबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

यस्ता छन् उनका १० बुँदे भनाइ

१. नेपाली कांग्रेसको १५ औं महाधिवेशन यसैसाल (वि. सं २०८२ साल) को चैत्र मसान्तसम्म गर्न सकिन्छ, गरौँ। कार्तिक मसान्तसम्म क्रियाशील सदस्यताको काम सकौं र मंसीर भित्र वडा र पालिका स्तरको अधिवेशन गरौँ। पुष, माघ र फागुन भित्र बाँकी तहको अधिवेशन सम्पन्न गरी चैत्रमा केन्द्रीय महाधिवेशन भब्यताकासाथ आयोजन गरौँ।
२. ⁠पार्टीको सबै तहबाट आग्रह भएअनुसार विधानलाई आवश्यकता अनुसार परिमार्जन गर्न अविलम्व “विधान संशोधन सुझाव मस्यौदा समिति” गठन गरौँ।
३. ⁠वर्तमान गठवन्धनको कार्यसम्पादन माथि मध्यावधि समिक्षा गरौँ। सरकारलाई थप प्रभावकारी बनाउन एजेण्डागत तथा रणनीतिगत सुधार गरौँ। सरकारले शिक्षक, किसान, विद्यार्थी, चिकित्सक, सहकारी पिडित, मिटरब्याजी पिडित, भूमिहीन, सुकुम्वासी लगायत जो जोसँग जे जस्तो सहमति वा संझौता गरेको छ, ईमानदारितापूर्वक सो को कार्यान्वयन गरौँ। बाढी पहिरो पिडितले पूरै एकवर्ष कुर्दापनि सरकार भेट्टाएका छैनन। अहिले पनि स्थिति भयावह छ, विपदसँग जुध्ने सरकारी तयारी ज्यादै निमसरो देखिएको छ, संकटापन्न नागरिक माथि जिम्मेवार अभिभावकको भूमिका निर्वाह गरौँ। दुग्ध किसानले आफूले सरकारलाई दिएको दूधको समयमै पैसा पाएका छैनन, खेती सिजनमा मल-बीऊ पाएका छैनन, यसको अविलम्व बैकल्पिक स्थायी समाधान खोजौं। वर्तमान सरकार निर्माणको क्रममा सहमति गरिएअनुरुप संविधान संशोधन माथि पार्टी भित्र आन्तरिक वहस चलाउन र ठोस प्रस्ताव तयार गर्न “नेपाली कांग्रेस संविधान संशोधन उच्चस्तरीय सुझाव समिति” गठन गरौँ।
४. ⁠संवैधानिक पदहरूमा नियुक्तिका सन्दर्भमा सर्वोच्च अदालतबाट हालै भएको फैसलाले संविधानसभाद्वारा निर्मित संविधानको मूल मर्ममाथि गंभीर प्रहार गरेको छ। संविधानको सर्वोच्चतालाई कमजोर बनाएको छ। ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचको शक्ति सन्तुलनलाई खलबलाएको छ। यसबारे यो बैठक मार्फत पार्टीको ठोस धारणा सार्वजनिक गरौँ।
५. ⁠भातृ संस्थाहरूको हरेक २ वर्षमा तोकिएको महिना र दिनमा अधिवेशन सुनिश्चित गरौँ। उपयुक्त सफ्टवेयर प्रयोग गरी प्रत्येक सदस्य मतदाता रहनेगरी प्रत्यक्ष निर्वाचनबाट नेतृत्व निर्वाचित गरौँ।
६. ⁠पार्टीको सबै तहको कार्यकाल विद्यमान ४ वर्षबाट घटाएर ३ वर्ष कायम गरौँ।
७. ⁠सरकार भित्र र पार्टी भित्र पनि सुशासन अभियान चलाऔं। निर्वाचित जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका जारी गरेजस्तै पार्टी नेता एवं सदस्यहरूका लागि पनि “नेपाली कांग्रेस सुशासन र सुसंस्कार निर्देशिका” जारी गर्न जरुरी भयो, गरौँ।
८. ⁠नेपाली कांग्रेसका बाँकी विभागहरू अविलम्व गठन गरौँ। प्रत्येक विभागमा १८-३० उमेर समूह र विषय विज्ञ, बुध्दिजिवीहरूको कम्तिमा एक-तिहाई सहभागिता रहनेगरी सबै विभागलाई शीघ्र पूर्णता दिऔं।
९. ⁠भ्रष्टाचारको सवालमा नेपाली कांग्रेसको “कोही अपराधि नउम्किउन, निर्दोष कोही नफसुन” भन्ने दृष्टिकोण र प्रतिवध्दतालाई मन, वचन, कर्मले अझै प्रखर तुल्याऔं। भ्रष्टाचारलाई तिरष्कार गरौँ।
१०. ⁠सय दिने विशेष अभियानको क्रममा चितवन पुगेर तोकिएका जिम्मेवारी सम्पन्न गरेपछि मैले पाएको निष्कर्ष के हो भने हामीले आफूलाई जगमा रहेका, संघर्ष गरेका, समूदायसँग जोडिएका अग्रज एवं साथीहरूको राय सुझाव अनुसार समयसापेक्ष रूपान्तरण गर्यौं भने पार्टीलाई पूर्ववत अझै सशक्त, मजवुत र लोकप्रिय बनाउन सकिन्छ। आगामी दिनमा जिल्ला-जिल्लामा २ वटा अभियान संचालन गर्न प्रस्ताव गर्दछु- (क) आन्तरिक मेलमिलाप तथा एकता अभियान (ख) “जनताको सरोकार, जनतासँग एकाकार” अभियान

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०८२ असार २२, २१: ०७

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०८२ असार २२, २१: ०७

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०८२ असार २२, २१: ०७

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...