जापनिज इन्सेफ्लाइटिस संक्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

जापनिज इन्सेफ्लाइटिस संक्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

काठमाडौं : जापनिज इन्सेफ्लाइटिस संक्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट मुत्यु हुनेको संख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो । सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन । “विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेको संख्या धेरै हो”, उनले भने, “मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन् ।”

उनका अनुसार यस वर्ष जापानिज इन्सेफ्लाइटिस संक्रमण १६४ र गत वर्ष ८६ जनामा देखिएको थियो । खोप शाखा प्रमुख डा गौतमले खोप लगाएकामा विस्तारै खोपले काम गर्न छाडेपछि पनि संक्रमणले गर्दा मृत्यु भइरहेको बताए । जापनिज इन्सेफ्लाइटिस अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ ।

“विगतको तथ्यांक हेर्दा जापनिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै गइरहेको छ”, उनले भने, “लामखुट्टे सक्रिय भएर हो कि, सुँगुर वा हाँसको पालनले गर्दा हो त्यसको अध्ययन हामीले गरिरहेका छौं ।” उनका अनुसार यस वर्ष कोशी प्रदेशमा चार, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा पाँच, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई गरी ३१ जनाको मृत्यु भएको छ ।

इन्सेफ्लाइटिसबाट २८ जिल्ला उच्च जोखिमका रहेका छन् । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइएको छ । नेपालमा सन् १९९८ देखि वर्ष मुनिका बालबालिकालाई नियमित जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइँदै आइएको छ । नेपालमा सन् १९७८ मा पहिलो पटक रुपेन्देहीमा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको हो । जापानमा भने सन् १८६१ मा देखिएको थियो ।

खोपशाखा प्रमुख डा गौतमले जापनिज इन्सेफ्लाइटिसको संक्रमण सन् १९९० देखि धेरै नै देखिने थालेको बताए । त्यसपछि सरकारले राष्ट्रिय खोपमा इन्सेफ्लाइटिसविरुद्धको खोप पाँच वर्ष मुनिका बालबालिकालाई प्रत्येक वर्ष नियमित दिँदै आएको हो ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०८२ आश्विन २४, १२: २३

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०८२ आश्विन २४, १२: २३

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०८२ आश्विन २४, १२: २३

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...