
काठमाडौं : नेपाली कांग्रेस पछिल्ला केही महिनादेखि आफ्नो अस्तित्वमै प्रश्न उठ्ने गरी दलदलमा फसेको छ । संस्थापन पक्षको नेतृत्वमा चलिरहेको राजनीतिक खेलले फेरि एकपटक केन्द्रीय समितिको बैठक सारिएको छ । बैठक सार्नुको कारण सार्वजनिक भएको छैन, तर परिणाम भने स्पष्ट छ- पार्टी झनै अन्योल र अविश्वसनीय नेतृत्वतर्फ धकेलिँदै गएको छ।
शुक्रबार बस्ने भनिएको बैठक फेरि आइतबारका लागि सर्यो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज दिउँसो २ बजे बस्ने भनिएको बैठक आइतबार दिउँसो २ बजेसम्मका लागि सरेको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । तर बैठक किन सार्नु परेको भनी कुनै उल्लेख गरिएको छैन ।
तर कांग्रेसभित्रका स्रोतहरू भन्छन्- यो बैठक स्थगन कुनै बाधाका कारण होइन, संस्थापन पक्षले महाधिवेशन नटारिएकै कारण संवाद टुटाउने गरेको खेल हो ।
पार्टीको १५औं महाधिवेशनको विवाद मिलाउन शीर्ष नेताहरूबीच गहन संवाद पनि भएको छ । त्यसका लागि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच बिहीबार रातिसम्म छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन ।
महाधिवेशन टार्ने संस्थापनको खेल
कंग्रेसको विधान अनुसार मंसिरभित्रै महाधिवेशन सकिनुपर्ने हो । तर बैठकहरू सारिँदै छन्, निर्णय हुँदैन र नेतृत्वले आफूअनुकूल समय तानेर नियमित महाधिवेशनलाई एकपछि अर्को बहानामा धकेलिरहेको उग्र आलोचना सर्वत्र छ ।
विशेषतः ‘सात भाइ’- कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, शशांक कोइराला, विजय गच्छदार र प्रकाशशरण महतको समूहले स्पष्ट अडान लिएका छन्: पहिले चुनाव, पछि महाधिवेशन ।
बिहीबार मध्यराति सात भाइले सभापति देउवालाई थर्काएपछि बैठक सारिएको कांग्रेस स्रोत बताउँछ ।
उनीहरूको अडानलाई पार्टीभित्र ‘टिकट–राजनीतिको अन्तिम मौका सुरक्षित गर्ने खेल’ भन्न थालिएको छ ।
यता संस्थापनइतर र युवा नेतृत्व चाहिँ ठाडै भन्छन्- “पहिले पार्टी, अनि चुनाव । नयाँ नेतृत्व बिना कांग्रेस जनतासामु जान सक्दैन ।”
५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेका छन् । विधानले तीन महिनाभित्र विशेष महाधिवेशन गर्नैपर्छ भन्छ । तर नेतृत्व भने यो वैधानिक व्यवस्था नै नदेखेजस्तो गरिरहेको छ ।
राजनीतिक विश्लेषकहरूले कम्युनिष्ट पार्टीहरूमा नेतृत्व वर्षौंसम्म नबदलिनु ‘संस्थागत चरित्र’ मानिए पनि कांग्रेसजस्तो लोकतान्त्रिक दलमा यस्तो अन्तहीन अल्झन गैरलोकतान्त्रिक व्यवहार भएको बताइरहेका छन् ।
कांग्रेसलाई आजको परिस्थितिमा हेर्ने हो भने- बैठक बोलाउने, स्थगित गर्ने, पुनः बोलाउने, फेरि स्थगित गर्ने यो चक्रले नेतृत्वको कमजोरी होइन, नेतृत्वको नियत उजागर गरेको उनीहरूको निष्कर्ष छ ।
जेनेजी आन्दोलनपछि सार्वजनिक जीवनमा निष्क्रिय रहेजस्तो देखिएका सभापति शेरबहादुर देउवा अचानक सक्रिय भएका छन् । उनी शीर्ष नेताहरूसँग गोप्य बैठक पनि बस्दै आएका छन् ।
तर यी छलफलहरूले समाधान होइन, सत्ताको पुरानै मोडेल बचाउने संकेत दिएको स्रोतहरू बताउँछन् । देउवा पक्षीय नेताहरू भन्छन्- चुनावअघि महाधिवेशन भए पार्टी कमजोर हुन्छ । तर युवा इतर पक्ष भन्छ- चुनावअघि नेतृत्व नफेरे कांग्रेस झनै कमजोर हुन्छ ।
अर्थात्, संस्थापन पक्ष आफ्नो समय जित्न खोज्दैछ, इतर पक्ष पार्टी बचाउन ।
महामन्त्री गगन थापाले पुस १६–१९ को नियमित महाधिवेशनको कार्यतालिका पेस गरेका थिए । तर संस्थापनले यसको प्रतिवाद गर्दै सहमहामन्त्रीमार्फत वैशाखसम्मका लागि सारेर प्रस्ताव गरेको छ ।
अझै रोचक कुरा- सहमहामन्त्रीलाई यस्तो प्रस्ताव ल्याउने वैधानिक अधिकारै छैन । यसले संस्थापनको उद्देश्य झनै स्पष्ट बनाउँछ- तालिका देखाउने, महाधिवेशन टार्ने ।
यही कारण युवा तथा परिवर्तनवादी नेताहरूले यस्तो ‘कागजी तालिका’ नमान्ने चेतावनी दिएका छन् ।
विशेष महाधिवेशन माग गर्ने ५५ प्रतिशत प्रतिनिधिहरूले विज्ञप्ति जारी गर्दै स्पष्ट भनेका छन्- नेतृत्वले आफ्नै विधान पेलिरहेको छ, बैठकहरू अनावश्यक लम्ब्याइँदै छन्, नियमित महाधिवेशनको मिति तोक्नै आनाकानी गरिएको छ ।
उनीहरूले भनेका छन्, “हामीलाई महाधिवेशनको तालिका होइन, महाधिवेशन नै चाहिएको हो । नयाँ नेतृत्व, नयाँ नीति र नयाँ दिशा चाहिएको हो ।”
संस्थापन पक्ष चुनावपछिका लाभ–हानिको हिसाबमा अडिएको छ । इतर तथा युवा नेतृत्व लोकतान्त्रिक विधान र नयाँ एजेन्डाको पक्षमा उभिइरहेका छन् ।
जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...
काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...
काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...