आज एनपीएलको फाइनल खेल हुँदै: सुदूरपश्चिम र लुम्बिनीबीच भिडन्त – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

आज एनपीएलको फाइनल खेल हुँदै: सुदूरपश्चिम र लुम्बिनीबीच भिडन्त

काठमाडौं।आज नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३ः३० बजे भिडन्त हुँदैछ ।
साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका रोहित पौडेलले सम्हालेका छन् । सुदूरपश्चिमको जिम्मा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान रहेका दीपेन्द्रसिंह ऐरीको रहेको छ ।

रोयल्स लिग चरण खेल र साविक उपविजेता भएकाले लायन्सभन्दा बलियो देखिएको छ । लिग चरणका सातमध्ये चार खेल जितेर पहिलो क्वालिफायर खेल्दै रोयल्स उपाधि नजिक पुगेको हो । रोयल्स गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेट पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।लायन्स यो वर्ष लिग चरणका सातमध्ये चार खेलमा विजयी हुँदै इलिमिनेटर र दोस्रो क्वालिफायर आफ्नो पक्षमा पार्दै फाइनलमा सुरक्षित भएको हो । लुम्बिनी गत संस्करणमा लिग चरणबाटै आउट भएको थियो ।
राष्ट्रिय टोलीका उप–कप्तान एवं प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सको टोलीमा विनोद भण्डारी, सिल्डन ज्याक्सन, हरमित सिंह, आरिफ शेख, स्कट कुग्गेलियन, इशान पाण्डे, मुख्तार अहमद, हेमन्त धामी, अभिनाष बोहरालगायतका क्षमतावान खेलाडी छन् ।

अर्कोतिर, राष्ट्रिय टोलीका कप्तान एवं अलराउन्डर रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीको टोलीमा डी’आर्ची सर्ट, दिनेश अधिकारी, निरोसन डिकवेल्ला, सन्दीप जोरा, जोहानेश जोनाथन स्मिथ, दिलिप नाथ, रुवेन ट्रम्पलम्यान, शेर मल्ल, अभिषेश गौतम, तिलक भण्डारी लगायतका अनुभवी खेलाडी छन् ।सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारी दोस्रो स्थानमा आसीन छन् । उनले आठ खेलमा कुल दुई सय ६४ रन बनाइसकेका छन् । यसक्रममा उनले दुई अर्धशतक पनि प्रहार गरेका छन् । उनले बनाएको उच्च स्कोर अविजित ६९ रन हो । सुदूरपश्चिम रोयल्सका आरिफ शेख पनि लयमा देखिएका छन् ।

उनले आठ खेलमा कुल एक सय ८० रन बनाएका छन् । उनले बनाएको उच्च स्कोर अविजित ४५ रन हो । कप्तान दीपेन्द्र ऐरीले पनि कुल एक सय ४९ रन बनाइसकेका छन् ।अर्कोतिर, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल पनि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा तेस्रो स्थानमा आसीन छन् । उनले नौ खेलमा कुल दुई सय ६० रन बनाइसकेका छन् । उनले बनाएको उच्च स्कोर ४९ रन हो ।

लुम्बिनीका लागि डी’आर्ची सर्टले पनि कमालको प्रदर्शन गर्दै आएका छन् । उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पाँचौं स्थानमा छन् । उनले नौ खेलमा कुल दुई सय ४२ रन बनाएका छन् । यसक्रममा उनले एक अर्धशतक पनि प्रहार गरेका छन् ।लुम्बिनी लायन्सका निरोसन डिकवेल्ला पनि लयमा छन् । उनले पाँच खेलमा कुल एक सय २६ रन बनाएका छन् । दिलिप नाथले पनि नौ खेलमा कुल एक सय २१ रन बनाएका छन् ।

यसैगरी, सर्वाधिक विकेट लिने बलरको सूचीमा सुदूरपश्चिम रोयल्सका अविनाष बोहरा दोस्रो स्थानमा छन् । उनले आठ खेलमा १६ विकेट लिइसकेका छन् । सर्वाधिक विकेट लिने बलरको सूचीमा तेस्रो स्थानमा लुम्बिनी लायन्सका शेर मल्ल छन् । उनले नौ खेलमा १४ विकेट लिएका छन् ।पहिलो स्थानमा रहेका विराटनगर किङ्सका सन्दीप लामिछानेले १७ विकेट लिएका छन् । त्यसैले फाइनल खेलमा सुदूरपश्चिमका अविनाष र लुम्निीका शेर दुवैसँग सन्दीपलाई उछिन्न अवसर रहने छ ।

सुदूरपश्चिमका हरमित सिंहले पनि आठ खेलमा १२ विकेट लिएका छन् । लुम्बिनी लायन्सका रुवेन ट्रम्पलम्यानले पनि नौ खेलमा १२ विकेट नै कुम्ल्याइसकेका छन् । सुदूरपश्चिमका स्कट कुग्गेलियनले पनि सात खेलमा १० विकेट लिएका छन् ।एनपीएलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स तेस्रोपटक आपसमा भिड्न लागेका हुन् । यसअघि, दुईपटक यी दुई टोली आपसमा भिडिसकेका छन् । तर, दुवै भिडन्तमा सुदूरपश्चिमले लुम्बिनीलाई हराएको छ ।

पहिलो संस्करणको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको थियो । दोस्रो संस्करणमा पनि यी दुई टोली लिग चरणमा आपसमा भिडेका थिए । उक्त खेलमा पनि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हराएको थियो ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै कार पुरस्कार जित्ने दौडमा पनि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सकै खेलाडीबीच चर्को प्रतिस्पर्धा देखिन्छ । यो दौडमा सुदूरपश्चिमका विनोद भण्डारी र लुम्बिनीका रोहित पौडेल छन् ।सुदूरपश्चिमका विकेटकिपर ब्याट्सम्यान विनोदले दुई सय ६४ र लुम्बिनीका कप्तान रोहितले दुई सय ६० रन बनाइसकेका छन् । रोहितले सात विकेट पनि लिएका छन् । उनले एउटै खेलमा २५ रन खर्चिएर तीन विकेट हात पारेका छन् ।

अर्कोतिर, विकेटकिपरको भूमिकामा विनोद भण्डारीले विपक्षी टोलीका १० ब्याट्सम्यानलाई पेभेलियन फर्काएका छन् । यसक्रममा उनले सातवटा क्याच लिएका छन् भने तीन ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् ।रोहित पौडेलले पनि नौ खेलमा ६ वटा क्याच लिएका छन् । उनले एउटै खेलमा दुई क्याचसमेत लिएका छन् । यसका अतिरिक्त, कप्तानको भूमिकामा टोलीलाई फाइनलसम्म पुर्‍याउन पनि रोहितको भूमिका महत्त्वपूर्ण छ ।

त्यसैले कार पुरस्कारमा सुदूरपश्चिमका विनोद र लुम्बिनीका रोहित दुवैको बलियो दाबेदारी देखिन्छ ।यसरी, दुई फरक विशेषतासहित फाइनलमा पुगेका दुई अब्बल टोली सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त हुनेछ । अब, आक्रामक चरित्रसहित अघि बढेको सुदूरपश्चिम र सुस्त गतिमा यात्रा अघि बढाएको लुम्बिनीबीच कसले बाजी मारेर उपाधी जित्ला आज अपरान्हको खेल कुर्नुपर्नेछ ।

सम्बन्धित समाचार

डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
  • २०८२ मंसिर २७, १०: ०४

काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८२ मंसिर २७, १०: ०४

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
  • २०८२ मंसिर २७, १०: ०४

काठमाडौं : आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग– २ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित...