उदयपुर–१ मा बिदुर बस्नेतको प्रतिबद्धता : स्थायित्व र विकास मुख्य एजेन्डा, भूमि समस्या दुई वर्षमै समाधान – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

उदयपुर–१ मा बिदुर बस्नेतको प्रतिबद्धता : स्थायित्व र विकास मुख्य एजेन्डा, भूमि समस्या दुई वर्षमै समाधान

काठमाडौं : नेपाली कांग्रेसका तर्फबाट उदयपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिदुर बस्नेतले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै ‘रुख’ चिह्नमा मतदान गर्न मतदातासँग अपिल गरेका छन्।

२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बस्नेतले राजनीतिक स्थायित्व, संविधानको रक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा दिगो विकासका एजेन्डालाई प्राथमिकतामा राखेको बताएका छन्। स्थिर सरकार निर्माणका लागि प्रत्यक्ष जनमत आवश्यक रहेको उल्लेख गर्दै उनले आफूलाई इमान्दार, योग्य र कर्मठ उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।

नदी नियन्त्रणदेखि सिंचाइ विस्तारसम्म प्राथमिकता

त्रियुगा उपत्यकामा बर्सेनि दोहोरिने बाढी र कटान समस्यालाई प्रमुख चुनौतीका रूपमा औंल्याउँदै बस्नेतले त्रियुगा नदी नियन्त्रणका लागि सुरु भएको तटबन्ध निर्माण कार्यलाई निरन्तरता दिन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

चुरे तथा महाभारत क्षेत्रबाट बग्ने लोहाल, बबिया, कंग, हडिया, सिवाई, गिदेरी, द्वार, बरुवा र सरस्वती खोलालगायत साना–ठूला खोलाको नियन्त्रणमार्फत कृषियोग्य जमिन जोगाउने उनको योजना छ। भूमिगत सिंचाइ, डिप ट्युबवेल, कुलो–नहर विस्तार र सप्तकोशी कटान नियन्त्रणका लागि राष्ट्रियस्तरमै पहल गर्ने उनले बताएका छन्।

वन्यजन्तुबाट हुने क्षति रोक्न स्थायी विद्युतीय तारबारसहितको संरचना निर्माण गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने योजना पनि उनले अघि सारेका छन्।

सडक र पुल निर्माणमा जोड

त्रियुगा नगरपालिका तथा आसपासका क्षेत्रमा निर्माणाधीन तथा प्रस्तावित सडक आयोजनालाई निरन्तरता दिने बस्नेतको भनाइ छ। गाईघाट–फत्तेपुर सडकखण्ड कालोपत्रे, भण्टाबारी–रौतासम्म सडक स्तरोन्नति, अन्तरजिल्ला जोड्ने सडकको सम्भाव्यता अध्ययनलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिने उनले उल्लेख गरेका छन्।

सिवाही त्रियुगा पुल, गिदेरी खोलाको पुल र दुधकोशीमा स्थायी पुल निर्माणका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता उनले जनाएका छन्। ग्रामीण विद्युतिकरण तथा “एक वडा–एक करोड” बजेट अवधारणालाई केन्द्रीय स्तरमा उठाउने उनको योजना छ।

उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरकारी लगानी वृद्धि र व्यवस्थापन सुधार आवश्यक रहेको बस्नेतको धारणा छ। विशेषज्ञको सुझावका आधारमा उद्योग सञ्चालन गरी रोजगारीका अवसर विस्तार गर्ने उनले बताएका छन्। साथै अन्य सम्भावित औद्योगिक क्षेत्रको विकासमा पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

शिक्षा र स्वास्थ्यमा संरचनात्मक सुधार

शिक्षा ऐन जारी गर्न पहल गर्ने, शिक्षक सेवा–सुविधा सुनिश्चित गर्ने र सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड दिने उनको योजना छ।

त्रियुगा–४ फर्सेट क्षेत्रमा मेडिकल कलेज स्थापना, तीनवटै पालिकामा सुविधासम्पन्न अस्पताल सञ्चालन तथा जिल्ला अस्पताललाई १०० शैयाको बनाउने लक्ष्य उनले अघि सारेका छन्।

धार्मिक तथा साहसिक पर्यटन प्रवर्द्धनका लागि रौतापोखरी क्षेत्र विकास, राफ्टिङ र प्याराग्लाइडिङ सञ्चालनका लागि कानुनी तथा पूर्वाधार तयारी गर्ने बस्नेतले बताएका छन्।

जोगिदहस्थित निर्माणाधीन विमानस्थल सम्पन्न गर्न संसद्मा आवाज उठाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। साथै प्रत्येक पालिकामा खेल मैदान निर्माण र प्रस्तावित क्रिकेट मैदानका लागि बजेट सुनिश्चित गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्।

दीर्घकालदेखि समाधान हुन नसकेको भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान गर्ने लक्ष्यसहित आवश्यक कानुनी व्यवस्था गर्न पहल गर्ने बस्नेतको भनाइ छ। सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई स्थायी लालपुर्जा वितरण गर्ने विषयलाई प्राथमिकतामा राखिने उनले उल्लेख गरेका छन्।

बस्नेतले चुनावी भाषणमा अव्यावहारिक र पूरा गर्न नसकिने आश्वासन नदिने दाबी गरेका छन्। “जे गर्न सकिन्छ त्यही मात्र बोल्ने र बोलेको काम गरेर देखाउने परम्परा कांग्रेसको हो,” भन्दै उनले मतदातासँग सहयोगको अपिल गरेका छन्।

उनले फागुन २१ गते ‘रुख’ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरेका छन्।

यस्ता छन् उनका प्रतिबद्धता :

आदरणीय उदयपुर क्षेत्र नं. १ का सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू :-
राजनैतिक स्थायित्व, संविधानको रक्षा, शान्ति, विकास र आर्थिक समृद्वि तथा भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासनको प्रत्याभूत दिन जनताको प्रत्यक्ष मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरी स्थिर सरकार गठन गर्न अतिनै आवश्यक हुन्छ । यसै सन्दर्भमा यहि २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उदयपुरको निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसको उम्मेदवार भई चुनाव चिन्ह रुख छाप लिएर तपाईहरुको अमूल्य मतको अपेक्षा गर्दै म बिदुर वस्नेत पुनःएकपटक यहाँहरुको घर आँगनमा आएको छु। संघीयता कार्यान्वयनको इतिहाँसमा तेश्रोपटक हुन लागेको यो निर्वाचनमा मैले आफूलाई एक इमान्दार, योग्य र कर्मठ उम्मेदवारको रूपमा लिएको छु । तपाईंहरूबीच चुनावि अभियानमा होमिने यो अवसर पाउँदा म ज्यादै गौरवान्वित भएको छु । यसकारण फागुन २१ गते हुने निर्वाचनमा रूख चिन्हमा आफ्नो अमूल्य मत दिई मलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराई एकपटक जनसेवा गर्ने मौका दिनुहुनेछ भन्ने पूर्ण आशा, विश्वास र भरोसा गरेको छु । प्रतिनिधिसभा भनेको समृध्द मुलुक निर्माणको लागि चाहिने नीति, नियम र कानुनहरु बनाउने, सरकार गठन गर्ने तथा विकास निर्माणका लागि बजेट बनाउने र योजनाहरु सञ्चालन गर्ने थलो पनि हो। त्यसैले भौगोलिक र साँस्कृतिक विविधताको धरातलमा अवस्थित यस क्षेत्रमा बस्नुहुने तपाईं सम्पूर्ण जनतामा आर्थिक सामाजिक, शैक्षिक, भौतिक र सांस्कृतिक पक्षको सुक्ष्म अध्ययन विश्लेषण गरी अल्पकालिन र दीर्घकालिन योजनाहरु सञ्चालनमा मेरो ध्यान केन्द्रित हुनेछ । यस क्षेत्रबाट तपाईहरुको अमूल्य भोट लिएर म जनप्रतिनिधि हुदा वा नहुदाका बखतमा पनि स्रोत, साधन र मेरो बुताले भ्याएसम्म विकास निर्माण र आम जनताको जनजीविकाको सवालमा मेरो सक्रिय पहलकदमि रहनेछ भन्ने पूर्ण विश्वास दिलाउछु । नेपाली काँग्रेसका जनप्रतिनिधिले यस अघि यस क्षेत्रमा प्रस्ताव गर्नुभएका र सन्चालन भएर पनि पुराहुन नसकेका कतिपय अधुरा योजनाहरुलाई निरन्तरता दिदै अवका दिनमा निम्नअनुसारका कार्यक्रमहरु सञ्चालनमा म केन्द्रति रहने छु भन्ने तपाई आम मतदाता समक्ष यो प्रतिवद्धता जाहेर गर्दछु ।
१. कृषि, सिंचाई तथा नदी नियन्त्रण
यस त्रियुगा उपत्यकाको विकराल समस्याको रुपमा रहेको नदी नियन्त्रणको काम अविच्छिन्न रुपमा अगाडि बढाउन म दृढ सङ्कल्पित छु । यस अघिदेखि नै सन्चालन हुँदै आएको तर हाल बजेट अभावमा बीचैमा अलपत्र परेको त्रियुगा नदी नियन्त्रण गर्न सुरु भएको तटबाँध निर्माणको कार्यलाई सुचारु गर्न म आफ्नो ठाउँबाट सबल प्रयास गर्नेछु । यस बाहेक चुरे तथा महाभारत पहाडबाट यस भू-भागमा बगेर आउने लोहाल खोला,
बविया खोला, कङ्ग खोला, हडिया खोला, सिवाई खोला, गिदेरीखोला, द्वार खोला, बरुवा खोला र सरस्वती खोला लगायत दर्जनौंको सङ्ख्यामा रहेका साना तथा ठूला खोला खहरे नियन्त्रण गरी किसान दाजुभाइको खेति योग्य जमिनलाई सुरक्षित राख्ने मेरो पहिलो प्रयास हुने छ । यस विषयमा म सचेत छु र हरहमेसा यसका लागि संसदमा आवाज उठाउने छु । यस भेगको खेतियोग्य जमिनमा सदाबहार उत्पादनमा जोड दिनु हामी सबैको कर्तब्य हो । यसकालागि भूमिगत सिंचाइ योजना, डिप ट्यूवेल सिंचाई योजना र मुहान अर्थात पानीको श्रोतका आधारमा आवश्यकता अनुसार कुलो, पैनी तथा नहर निर्माण लगायतका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक पहलकदमी लिने छु । जिल्लाको पूर्वी भेगमा रहेको सप्तकोशीको कटान नियन्त्रणका लागि राष्ट्रिय र आवश्यक परेमा अन्तर्राष्ट्रिय स्तरसम्म पनि ठोस रुपमा पहलकदमी गर्ने छु । साविक तपेश्वरीको भागलपुर, बाँनडाडा र टप्पु क्षेत्रमा आरक्षण क्षेत्रबाट आएका जनावरहरुले हरेक वर्ष किसानहरुको बालीनालीमा पुऱ्याउने क्षतिलाई रोक्न स्थायी किसिमको बिद्युतीय तारबार सहितको कम्पाउण्ड वाल निर्माण गरी मानव र वन्यजन्तु बीचको द्वन्दलाई सदा सदाको लागि समाधान गर्ने व्यवस्था मिलाउन अहम भूमिका निभाउने छु । किसान दाजुभाईहरुलाई समयमा नै अनुदानमा विउविजन र मल उपलब्ध गराउन प्रभावकारी रुपमा भुमिका खेल्नेछु ।
२. सडक सञ्जाल निर्माण :-
यस अघिदेखि नै सञ्चालनमा ल्याइएको त्रियुगा नगरपालिका क्षेत्र भित्रको दिपुटोल उत्तर भोटखोला पानीटकि, खाटमन्दिर झोरा, बगरटोल देउरी, श्रीपुर पानीटकि पुष्पबाटिका लाइनटोल हुदै रामावि बगाहा राईटोल बगाहा चौक बहुवर्षे सडक त्रिनपा ९ ८, ६, ५, ४ का लागि निरन्तरता दिन पहल गर्ने छु । देउरी- श्रीपुर- दमौती- बुर्जाकान्ला-लालपत्ता-पात्ले- घनचक्रे बहुवर्षीय सडक योजनाका लागि राष्ट्रिस्तरमै पहल गर्नेछु । त्रिनपा ६ शान्तीनगर सडक कालोपत्रे, त्रिनपा ९ चौकीवारी-सखुवनी-माथानेटोल र डाँडाटोल जोड्ने सडक कालोपत्रे गर्न पहल गर्नेछु । क्रमागत रुपमा सन्चालन हुने भण्टावारी- कपासे सरस्वती-धौरी-चिलाउने भन्ज्याङ-आहाले- रौता सडक, करमगाछि- बेलदोभान- चिलाउने भन्ज्याङ्ग सडक, बेलदोभान- डहर जोड्ने सडक, गाईघाट फत्तेपुर सडकको हडिया-फत्तेपुर खण्डमा कालोपत्रे बनाउन र अन्तरजिल्ला जोड्ने महुली हडिया-धाप्लाङ् सडकको सम्भाब्यता अध्ययनका निमित्त ठोस पहल गर्ने छु । आमबासी बानडाडा हुँदै रामपुर – बरगाछी जोड्ने सडकको कालोपत्रेका लागि म पहल गर्ने छु । बेल्टार- विरेन्द्रबजार हुदै बंशिलाघाट सडक, छुईला-चौदण्डिगढी सडक र बसाहा विरेन्द्रचोक देखि आमसाल हुदै चौदण्डिगढी भएर रानीटार जोड्ने सडकमा कालोपत्रे गर्नका लागि मेरो अथक प्रयास रहनेछ । रामपुरदेखि साविक बबला हुदै मैनामैनीसम्म जाने सडकहरुको स्तरोन्नति गरी क्रमशः कालोपत्रे गर्न र सोमवारे कोठूबाट कोसोभा खोलाहुँदै मैनामैनी जाने सडक निर्माणमा क्रमागत रुपमा बजेट व्यवस्थापन गर्न मेरो दृढ पहल हुनेछ ।
३. भौतिक पूर्वाधार निर्माण तथा उद्योग :-
विकासको मेरुदण्ड भनेकै पूर्वाधारहरुको निर्माण र ती पूर्वाधारहरुको दिगोपन हो भन्ने मेरो मान्यता छ । यसकालागि फत्तेपुर- गाईघाट खण्डमा पर्ने खोलाहरुमा लागत इष्टिमेटको आधारमा पुल, कलभर्ट र स्ल्याव, कजवे निर्माण जस्ता कार्यक्रमहरु ल्याउन मेरो अथक प्रयास रहनेछ । यस अघि निर्माण सम्पन्न हुनै लाग्दा पिलर धसिएर भत्किएको सिवाही त्रियुगा पुल, बेलका स्थित गिदेरी खोलामा निर्माणाधीन रहेको पक्कि पुल र गाईघाट-दिक्तेल सडक अन्तर्गत फोक्सिनटार स्थित दुधकोशीमा स्थायी पक्कीपुल निर्माणको लागि अनवरत रुपमा म पहल गर्नेछु । यस बाहेक चौदण्डिगढी नगरपालिकाको अजगरा-ज्यामिरे जोड्ने त्रियुगा नदीमा झोलुङ्गे पुल, बेलका ३ गिदेरीखोलामा रातापानी जोड्ने झोलुङ्गे पुल, त्रिनपा ६ को कोल्टार स्थित सिसुवारी बोलामा झोलुङ्गे पुल निर्माणमा पहल गर्नेछु। ग्रामीण क्षेत्रमा विद्युतिकरण गर्न आवश्यक्ता अनुसार म लागिपर्ने छ । वडाको विकासका लागि केन्दीय सरकारबाटै सम्बोधन हुने गरी कम्तिमा पनि ‘एक वडा एक करोड” को बजेट अनुदान भन्ने मेरो नयाँ अवधारणा रहेको र यसलाई स्थापित गराउन म संसदमा जोडदार रुपले प्रस्तुत हुनेछु। दक्षिण एसियामै उच्चगुणस्तरको तथा अपार खानीभण्डार सुरक्षित भई हाम्रो गौरवशाली औद्योगिक प्रतिष्ठानको रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई पूर्ववत् ढंगले सञ्चालनमा ल्याउन त्यहाँ भए/ रहेका समस्याहरुको पहिचान गरी तिनको समाधान गर्दै एकपटक प्रर्याप्त मात्रामा सरकारी लगानी बढाएर एवम् त्यहाँ अर्को प्लान्टसमेत निर्माण गरेर सिमेन्ट उत्पादन बढाउने र यसका लागि विगतमा भए गरे जस्तो सरकारी हस्तक्षेप पूर्ण रुपमा बन्द गरेर बिज्ञहरुको सुझावका आधारमा सञ्चालनमा ल्याउने र ठूलो सङ्ख्यामा रोजागारीका अवसरहरु श्रृजना गर्नुपर्छ भन्ने मेरो नीतिगत मान्यता छ । यस मान्यतालाई मूर्तरुप दिन म भगीरथ प्रयत्न गर्नेछु । यस बाहेक, अन्य सम्भाब्य औद्योगिक क्षेत्रको विकासका निमित्त समेत म लागि पर्नेछु ।
$. शिक्षा तथा स्वास्थ्य :-
गुणस्तरीय शिक्षा हरेक विकासको मुहान हो । त्यसैले शैक्षिक क्षेत्रमा विद्यमान रहेका तमाम समस्याको समाधानमा मेरो अथक प्रयास रहने छ । विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक दरबन्दी निर्धारण, शिक्षकहरुको सेवा, सुविधा, निवृत्तिभरण, औषधोउपचार, निजामति सो सरहको सेवा सुविधाहरु निश्चित हुनेगरी कानुन निर्माण गराउने, हाल अड्किएको शिक्षा ऐन जारी गर्ने र सामुदायिक विद्यालयहरुलाई शैक्षिक उपलब्धिहरुको आधारमा आर्थिक र भौतिक रुपमा उपयुक्त शैक्षिक वातावरणयुक्त हुनेगरी व्यवस्थित पार्न संसदमा अहम भूमिका खेल्नेछु । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ को फर्सेट क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न र क्षेत्र नं. १ का तिनवटै पालिकाहरुमा सुविधासम्पन्न अस्पताल सञ्चालनका लागि मेरो अहम भूमिका रहने छ। सदरमुकाममा ३रहेको जिल्ला अस्पताललाई एकसय शैयाको बनाएर स्वास्थ्य विज्ञानका क्षेत्रमा भएका आधुनिक उपकरण र दक्ष चिकित्सकहरुको थप प्रबन्ध गरी आम नागरिकलाई सुलभ स्वास्थ्य उपचार सेवाको व्यवस्था मिलाउन मेरो अथक प्रयास रहनेछ ।
५. संस्कृति तथा पर्यटन
सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकासमा हाम्रो आफ्नै मौलिक परम्परा छ । सबै जातजाति, भाषा, धर्म र संस्कृतिको संरक्षण एवम् सम्बर्द्धन हुन आवश्यक छ । हाम्रो समाजमा परापूर्व कालदेखि चलि आएको धार्मिक, सांस्कृतिक र सामाजिक सहिष्णुताको मौलिक मान्यतामा कत्तिपनि बिचलित नभई म सवैखाले सम्प्रदायको सह-अस्तित्व कायम गरेर अगाडि बढ्नेछु । यस जिल्लाको पर्यटन क्षेत्रको विकासमा म अग्रसर हुनेछु । जल पर्यटनका लागि रसुवाघाटदेखि चतारासम्मको राफ्टिङ चलाउन, बेलकाको बोप्ताङ्ग, चौदण्डिगढी र त्रियुगाको रमाईलो डाँडा क्षेत्रमा व्यवसायिक प्याराग्लाईडिङ्ग उडानको लागि आवश्यक कानुनको निर्माण गर्न म पहल गर्ने छ । धार्मिक पर्यटनका लागि प्रसिद्ध रौतापोखरी क्षेत्रको विकासमा संसदमा मेरो सक्रिय भूमिका रहनेछ । यस बाहेक यस क्षेत्रमा रहेका त्रियुगा शान्तिधाम, खाटमन्दिर, मुढगडा, भिमसेनथान, पाण्डबवास लगायतका रहनेछ । यस अघि नेपाली क्षेत्रको विकासमा मेरो सक्रिय सहभागिता काँग्रेसका नेता आदरणीय डा. नारायण खड्काले पहल गरी निर्माणाधीन अवस्थामा रहेको जोगिदहस्थित विमानस्थलको निर्माणमा ठोस पहल गर्नेछु । प्राविधिक र मौसमी दुवै दृष्टिकोणले उडान र अवतरणमा कुनै प्रतिकूलता नभएको यो विमानस्थल निर्माणमा बजेटको सुनिश्चितताका लागि म संसदमा टड्कारो र जोडदार आवाज उठाउने मात्र हैन कुनैपनि अवस्थामा जोगिदह विमानस्थलको निर्माण कार्य सम्पन्न गराउन निरन्तर लागिपर्ने छ । हरेक पालिकामा व्यवस्थित खेल मैदान निर्माण गर्न र त्रियुगा नगरपालिकाको प्रस्तावित क्रिकेट खेल मैदानको लागि भौतिक संरचनाहरु निर्माण गर्न आवश्यक पर्ने बजेट केन्द्रीय स्तरबाटै ब्यवस्था गर्न अथक पहल गर्ने छु। उदयपुर थरुहट रङ्गशालाको स्तरोन्नति गरी राष्ट्रियस्तरको खेलमैदान बनाउन लागिपर्ने छ । चौदण्डीगढी न.पा. ४ बसाहस्थित नारदमुनि थुलुङ्ग स्मृती रंगशालाको पुर्वाधार निर्माणमा आवश्यक पहल गर्नेछु ।
६. भूमि सम्बन्धी समस्या
भूमि सम्बन्धी समस्या आजको समस्या हैन र यो समाधान गर्न नसकिने पनि छैन । वर्षौंदेखि भोगीचर्ची आएको, जोतखन गरेको जग्गाको स्वमित्व किसानलाई नहुनु दुःखद कुरा हो । यसका निम्ति ठोस कानुन बनाएर भूमि आयोगलाई सम्पूर्ण अधिकार दिन, हाल स्थानीय तहहरुले दिएका अस्थायी प्रकृतिका भोगाधिकार पुर्जालाई स्थायी गरी लालपुर्जा वितरण गर्नेगरी अबको दुईवर्ष भित्रमा सुकुम्वासी र अव्यवस्थित बसोबासीलगायतका भूमिसम्बन्धी सम्पूर्ण समस्याहरुलाई सदाका लागि समाधान गर्नेगरी संसदमा मेरो प्रस्तुति हुनेछ । गाईघाट बजार क्षेत्रमा रहेको टाउन प्लानिङ्गका घडेरीको समस्या समाधानमा पहल गर्नेछु । आदरणीय आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरू :
हामी भविष्यमा हनै नसक्ने फुटा र खोक्रा आश्वासनहरुप्रति सचते छ। नेपाली काँग्रेस जे बोल्छ त्यो गरेर देखाउने र जे गर्न सकिन्छ त्यतिमात्रै बोल्ने पार्टी हो । नेपाली काँग्रेस सस्ता र तिलस्मी सपनाहरु बाँड्दै हिँड्ने राजनैतिक दल होईन । नेपाली काँग्रेसको सुदीर्घ इतिहास र निर्वाचनको समयमा हुन नसक्ने र परा गर्न नसकिने फुटा प्रतिबद्धता विगतका यावत कर्मण्यताहरुले यस तथ्यलाई पुष्टि गरेका छन् । त्यसैले व्यक्त गरेर आम मतदातालाई आकर्षित गर्न वा भ्रममा पार्नु अन्याय हो भन्ने मैले बुझेको छु । कृषि, पशुपालन, खानेपानी र जनजीविकाका हरेक सवालमा मेरो हृदयदेखिको साथ सहयोग तपाईंहरुसँग रहनेछ भन्ने प्रण गर्दछु । मलाई यो निर्वाचनमा तपाईंहरुले आफ्नो अमूल्य मत दिएर विजयी गराउनु हुनेछ भन्ने पूर्ण आशा भरोसा र विश्वास गर्दै आम सर्वसाधारण मतदाता, सञ्चारकर्मी, बुद्धिजीवी सवैमा इतिहासले सुम्पेको यो महत्वपूर्ण दायित्व पूरा गर्न आ-आफ्नो ठाउँबाट चुनावि अभियानमा उत्साहकासाथ लाग्न पनि यसै प्रतिबद्धता पत्र मार्फत हार्दिक अनुरोध समेत
गर्दछु ।
जय नेपाल !
“सबै अट्ने देश, सबैलाई जोड्ने काँग्रेस”

बिदुर बस्नेत
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार
रुख चिन्हमा मदनान गरौं । २०८२ फागुन २१ गते

बदलियो कांग्रेस, बलल्छो देश
गणतान्त्रीक प्रणालीमा समुन्नत समाजको निर्माण नेपाली कांग्रेसको रुख चिन्हमा गरौँ मतदान उदयपुर १ का कर्मठ र योग्य उम्मेदवार यो अवसर आउदैन फेरी बार-बार ।।
प्रतिवद्धता पत्र
निर्वाचन क्षेत्र नं. १, उदयपुर
बिदुर बस्नेत
प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयपुर क्षेत्र नं. १

सम्बन्धित समाचार

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
  • २०८२ फाल्गुन १४, १४: ४१

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०८२ फाल्गुन १४, १४: ४१

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०८२ फाल्गुन १४, १४: ४१

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...