
काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष्य र समानुपातिक प्रणाली निर्वाचनको परिणाम पश्चात् निर्वाचन आयोगले निर्वाचितहरुलाई प्रमाणपत्र हस्तारण गरिसकेपछि हिजै निर्वाचनको विवरण राष्ट्रपति समक्ष बुझाएको छ । सो निर्वाचन परिणाम राष्ट्रपतिले संसद सचिवालयमा पठाएपश्चात् प्रतिनिधिसभाको बैठक आह्वान हुनेछ । तर त्यसभन्दा अगाडि राष्ट्रिय मान्यता प्राप्त दलहरुले आ–आफ्ना संसदीय दलको नेता चयन गर्नु पर्ने हुन्छ ।
पहिलो दलले पनि सरकार गठन गर्नका लागि संसदीय दलको नेतानै प्रधानमन्त्री हुने हुँदा दलको दावीसहित मन्त्री मण्डलको नामावली राष्ट्रपतिका पेस गरेपछि नयाँ सरकार चयन हुने प्रकृया सुरु हुनेछ । अबका केही दिनमा नयाँ सरकार गठन हुने निश्चित भइरहँदा प्रमुख प्रतिपक्षी दलहरु र राष्ट्रिय मान्यता पाएका दलहरुले पनि आ– आफ्नो संसदीय दलहरुमा दलका नेतादेखि प्रमुख सचेतक, सचेतकलगायतका पदहरुको टुंगो लगाउनुपर्नेछ ।
मतका आधारमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल हुने कुरा पनि प्रष्टै छ भने एमाले र नेपाली कम्युनिस्ट पार्टी सहितका दलहरु क्रमश तेस्रो बेञ्चमा रहने छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता को हुने भन्ने बिषय निकै चर्चाको विषय वनिरहेको छ । विशेष महाअधिवेशनमा सामेल नभएका , पार्टिलाई भजाएर सधै हालिमुहाली चलाई रहेका र विशेष महाअधिवेसन वाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको नेतृत्व स्विकार गर्ननसकेकाहरुले सर्लाही चारवाट थापालाई हराउन गरेका विभिन्न अन्तर्घाति दृष्यहरु छर्लङ्गै छ ।
तथापी संघीय निर्वाचन पश्चात् पनि थापाविरुद्ध सामाजिक सञ्जालमा आएका वेतुकका टिप्पणीले फेरि पनि कांग्रेसले संसदमा उचित र लामो संसदीय अनुभवि व्यक्तिको खोजी गर्नुभन्दा अहिले फेरि गुट र नातासँग जोडेर दुईतिहाई सरकारको लाचार प्रतिपक्षी बनाएर सिङ्गो कांग्रेसको खस्कँदै गएको शाखलाई बचाउनेभन्दा बद्नाम गराउनेतर्फ कांग्रेसका निवर्तमान पदाधिकारीदेखि वरिष्ठ नेताहरुसमेत लागि परेका देखिन्छन ।
गगनकुमार थापाको हस्ताक्षरबाट निर्वाचन लडेका नेताहरुले कांग्रेस विधान मिच्दै पार्टीलाई कब्जामा राखेर लाखैँ कार्यकर्ताको पसिना चुस्न पल्केकाहरुले विधानको धारा १७÷२ अनुसार दुई तिहाइ नजिक पुगेको महाअधिवेशन प्रतिनिधिको विशेष महाधिवेशनलाई समेत निर्वाचन पश्चात् पुनः विशेष महाधिवेशन चिन्दैनैँ भन्नेहरुले कांग्रेस बनाउने हैन भत्काउने कार्यमै उद्धत देखिएको छ । निर्वाचनकै समयमा पनि विशेषवाट आएका केन्द्रीय नेताहरुलाई क्षेत्रीय सभापतिहरुले गालीगलौज गर्नेदेखि निर्वाचन हराउन लागेका कारण कांग्रेस नराम्ररी पराजय हुन पुग्यो ।
सभापति थापाले निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा समेत गरिसकेका छन् । देशकै बागडोर सम्हालीसकेको कांग्रेस आमनिर्वाचनको समयमा चरम आन्तरिक झगडा र पार्टीभित्रैबाट चरम अन्तर्घात तथा रास्वपाले ल्याएको सुनामीका कारण संसद्मा निकै सानो आकारमा खुम्चिन पुगेको अवस्थामा समेत पुन घर जझडा सुरु हुँदा बन्दै गरेको संसदमा समेत कांग्रेसको भूमिका लज्जास्पद हुने देखिन्छ ।
प्रत्यक्ष र समानुपातिक गरेर कांग्रेसले पाएको ३८ सिटमा सँसदीय अभ्यासमा अधिकांस नयाँ र कम अनुभव भएका निर्वाचितहरुलाई केही समय संसद्भित्रको गतिविधि बुझ्न समय पनि लाग्ने र नयाँ उदाएको पार्टी रास्वपाले संसदको गतिविधिलाई कसरी सुचारु गर्छ त्यसअनुसार प्रमुख प्रतिपक्षी दलको भुमिका र दलको नेताको परिपक्वतामा भरपर्ने हँुदा त्यस्तो व्यक्तिको चयन कांग्रेसले संसदीय दलमा गर्नसके आम कांग्रेसजनमा आशा र उत्साह कायम रहिरहने देखिन्छ । किनकि निर्वाचनको परिणामले इमानदार कांग्रेसमा निराशा छाएको प्रस्ट देखिएको छ । संसदीय दलको निर्वाचन सहमति, सहकार्य र एकतामा गर्नसके मात्र कांग्रेस बलियो हुने र कांग्रेसभित्र रहेको महारोग सकिने विश्वास गर्न सकिन्छ ।
त्यसैले यतिबेला संसदीय दलमा चर्चामा आएका कांग्रेसका वरिष्ठ नेता पूर्वसहमहामन्त्री एवं प्रवक्ता अर्जुन नरसिंह के.सी, निवर्तमान सहमहामन्त्री, सांसद भिष्मराज आङ्गदम्वे, साँसद मोहन आचार्य, सांसद टेकबहादुर गुरुङ, वर्तमान केन्द्रीय सदस्य एवम् साँसद प्रकाशसिंह कार्र्की रहेका छन् । यसमध्ये सँसद्मा नयाँ अनुहार कार्र्की मात्र भएता पनि कांग्रेसका पुराना र पाका नेता हुन् ।
त्यसैगरी टेक वहादुर गुरुङ्ग पनि पटक पटक निर्वाचित सांसद हुन्, निवर्तमान संसद् तथा इन्जिनियर मोहन आचार्य रसुवा जस्तो कांग्रेसका लागि कस्टकर वागमती प्रदेशबाटै पहिलो निर्वाचित कांग्रेस सांसद जित्न सफल व्यक्ति हुन् । निवर्तमान सहमहामन्त्री एवम् सांसद भिष्मराज आङ्गदम्वे कांग्रेसका पूर्वी पहाडी जिल्लाका पिलरका रुपमा मानिन्छन् । त्यसैगरी सर्वाधिक चर्चा, पुराना पाका र संसद्को रोष्टममा उभिएर शसक्त प्रतिपक्षी दलको नेताको भूमिका खेल्न सक्ने नेताका रुपमा अर्जुन नरसिंह केसीको यतिबेला कांग्रेसजनमा मात्र नभई राजनैतिक वृत्तदेखि बौद्धिक जगतमा समेत उनको चर्चा परिचर्चा चलिरहेको छ । अर्जुन नरसिंह केसी कांग्रेसको राजनीतिभन्दा पहिले दुई पटक सदनमा निर्वाचित हुँदै २०४८ देखि २०७९ सम्म निरन्तरजस्तै संसदीय अभ्यासमा अभ्यस्त, रहँदै आएकाले उनलाई कोही कसैसँग जोडेर हेर्ने आँखाले राजनैतिक प्रतिशोध साँधेकै नहोला भन्न हिचकिचाउनु पर्ने कारण देखिँदैन ।
कांग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसी २०२७ सालमै नेविसंघका पहिलो संस्थापक संयोजक, तत्कालीन समयमै वीपीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयमा पहिलो महासचिव, २०३६ को बहुदल र निर्दलमा बहुदलका प्रमुख प्रचारक, २०४२ सालको सत्याग्रहको लागि गणेशमान सिंहको निर्देशनमा आर्थिक संकलक देखि २०३२ सालमै त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापकदेखि कांग्रेस पार्र्टीको निरन्तर सात पटकसम्म निर्वाचित केन्दिय सदस्य तथा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको सभापतित्व कालमा सहमहामन्त्री तथा सफल प्रवक्ताको भूमिका निभाएको कारण नेपाली मिडियाले निकै पच्छाएका व्यक्तिका रुपमा परिचित केसी राज्यको शिक्षा, स्वास्थ्य, भैतिक योजना शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । समानुपातिक सूची देउवा कार्यकालमै टुंग्याएको र तत्कालीन दुई महामन्त्रीहरुलाई पन्छाएर एकलौटी ढङ्गले निर्वाचन आयोगमा सूची वुझाइएकोले केसी उतिबेला देउवासँगै नजिक रहेकाले पारिवारिक दबाबले मात्र बाहिरीरुपामा विशेष महाधिवेशनलाई समर्थन गरेको त्यतिबेला पनि चर्चा नचलेको हैन । किनकि १३औं महाधिवेशनमा केसी गगन कुमार थापासँगै छुट्टाछुट्टै गुटबाट महामन्त्रीको पदमा भिडेका थिए भने प्रचार प्रसारमा समेत जोडतोडले चलेकै थियो ।
यतिबेला पनि देउवाकै जोडमा केसीलाई खस आर्यको क्लस्टरमा पहिलो नम्बरमा राखेर पठाएको चर्चा पार्टीभित्रैबाट नसुनिएको भने हैन । त्यसकारण अहिलेको लागि नेपालको राजनीतिदेखि भु–राजनीति बुझेका र छिमेकी मुलुकसम्म राम्रो सम्बन्ध विस्तार गर्नसक्ने व्यक्तिका रुपमा अर्जुन नरसिंह केसीलाई हेरिएको पाइन्छ । किनकी कुनै पनि विशिष्ठ विदेशी राष्ट्र प्रमुख नेपालको राजकीय भ्रमणमा आउँदा राष्ट्रपति, प्रधानमन्त्रीपछि प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्ने कुटनैतिक मर्यादाभित्र पर्नेहुँदा कांग्रेसले त्यसलाई बुझेको हुनुपर्दछ ।
कांग्रेसलाई मात्र नेपालमा लोकतान्त्रिक पार्टीको रुपमा मान्दै आएका कतिपय लोकतान्त्रिक मुलुकहरुले वान टु वान वार्ता भेटघाट गर्ने र सम्बन्ध विस्तार गर्ने चलन चल्दै आएको छ । यस्तो राजकीय भ्रमणमा संसद्को प्रमुख प्रतिपक्षी दलको नेताको ठूलो भुमिका रहने हुँदा वीपी, गिरिजाप्रसाद, सुशील कोइराला हुँदै शेरबहादुर देउवाको उच्च कदले कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध अहिलेसम्म धानिँदै आएकोले उचाईलाई निरन्तरता दिन सक्ने व्यक्ति केसी मात्र रहेको राजनैतिक वृत्तमा चर्चा परिचर्चा चलेको सुनिन्छ । त्यसैले अहिलेको अवस्थामा पार्टीभित्रको सन्तुलनदेखि भु–राजनीतिसम्मका उपर्युक्त पात्र अर्जुन नरसिंह केसी कांग्रेसको संसदीय दलका नेताका रुपमा सर्वाधिक चर्चाको विषय बनेको छ । केसी आफ्नै बलबुताले लोकप्रियता कमाउँदै आएका नेता कांग्रेस वृत्तमा मात्र नभई सर्वसाधारण व्यक्तिहरुसँग पनि निकै परिचित छन्, ७८ वर्षीय केसी सम्भवत यो संसद्मा उनी सबैभन्दा जेष्ठ सदस्यका रुपमा पनि चर्चा चलेको हुँदा २७५ सांसदलाई संसद्को सपथ खुवाउने व्यक्तिका रुपमा पनि पर्न सक्छन् ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५...
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । राखेपको कार्यकारी समितिको मिति...
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।शुक्रबार मध्याह्न १२:३४...