कांग्रेसले जरा अभियानलाई तिव्रता दिने – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
सर्वोच्चद्धारा थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपश्चात देउवा खड्का गुटमा रुवाबासी

कांग्रेसले जरा अभियानलाई तिव्रता दिने

काठमाडौं । नेपाली कांग्रेसका दुई खेमामध्ये कुन चाहिँ आधिकारिक भन्ने विषयमा सर्वोच्च अदालतले आफ्नो निर्णय सुनाउँदै गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएको छ । सर्वोच्चले पूर्वबहादुर खड्काले विशेष महाधिवेशन बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेसंगै कांग्रेसमा तीन महिना लामो विवाद निरुपण भएको छ । सर्वोच्चका न्यायाधीशद्धय सारंगा सुवेदी र नृपध्वज निरौलाको गत शुक्रबारको इजलासले यस्तो फैसला गरेको हो ।

निर्वाचन आयोगले समेत विशेष महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिएसँगै पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र उनीद्वारा कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्काले यस निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । निर्वाचन आयोगको सो मान्यता विरुद्ध सर्वोच्च अदालत पुगेका खड्काकोे माग अस्वीकार गर्दै अदालतले रिट खारेज गरेको हो । शुक्रबारको यस्तो फैसलासँगै गत पुस अन्तिम साता तात्कालिन महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई सभापति चुनेपछिका सबैखाले विवाद टुंगिएको छ ।

सर्वोच्चको फैसलामा पार्टीभित्र विधिवत विशेष महाधिवेशन माग भए पनि तत्कालीन संस्थापन पक्षले नगरेपछि विधानसम्मत रूपमा विशेष महाधिवेशन पक्षधरले महाधिवेशन गरेको उल्लेख छ । विशेष महाधिवेशनबाट पार्टीका सभापति चुनिएका गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएको र थापाको हस्ताक्षरबाट उम्मेदवार चयन भइ निर्वाचन समेत सम्पन्न भइसकेको पनि अदालतले उल्लेख गरेको छ । फैसलामा भनिएको छ, …उम्मेदवारको मनोनयन भई निर्वाचनसमेत सम्पन्न भई राजनीतिक वैधता पाई रिट निवेदन गर्दाको अवस्थामा हाल सारभूत परिवर्तन भईसकेको अवस्थामा रिट निवेदनको रोहबाट हस्तक्षेप गरी हेर्न उपयुक्त देखिएन ।

अदालतले प्रारम्भिक सुनुवाइका क्रममा अन्तरिम आदेश जारी नगरेपछि कांग्रेस गगन थापाकै नेतृत्वमा प्रतिनिधिसभा चुनावमा भाग लिएको थियो । देउवा पक्षकै कतिपय नेताहरू समेत थापाद्वारा हस्ताक्षरित उम्मेदवारी मनोनयनपत्र लिएर चुनावमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला साम्यजस्तो देखिएको पार्टीको आन्तरिक विवाद चुनावमा कांग्रेसले नराम्ररी पराजय भोग्नु परेपछि विवाद थप बल्झिएको थियो । निर्वाचनपछि कार्यबाहक सभापतिका हैसियतमा खड्काले समानान्तर केन्द्रीय समिति बैठक डाकेर बैठकको निर्णयलाई पार्टीको लेटरहेड प्रयोग गर्दै आएका थिए । त्यसपछि कांग्रेस केन्द्रीय समिति बैठकले अनुशासन समितिमार्फत लेटर हेड दुरुपयोग नगर्न चेतावनी दिएको थियो । फैसलापछि प्रतिकृया दिदैं सभापति थापाले अदालतको फैसलालाई कसैले पनि जितहारका रुपमा लिन नहुने भन्दै पार्टी एकताका पक्षमा आफू थप लचक हुने बताएका छन् । उनले पार्टीका शीर्ष नेताको योगदानको कदर गर्नमा कुनै कसुर बाँकी नराख्ने भन्दै शीर्ष नेताहरुलाई भेटेर बृहत्तर एकताका लागि आहवन गर्ने बताएका छन् ।

उता, सर्वोच्चको फैसला लगत्तै बसेको खड्का समूहको बैठकले विशेष महाधिवेशनका कतिपय विषयमा असहमति भएता पनि सर्वोच्चको फैसला स्वीकार्दै अघि बढ्ने निर्णय गरेको छ । वैशाख २१ गतेको आम निर्वाचनमा थापाको हस्ताक्षरबाट टिकट लिएर गइसकेपछि खड्का समूहले गर्दै आएको समानान्तर भेलाले सिंगो पार्टीलाई कमजोर बनाएको थियो । निरन्तर रुपमा आफुलाई कार्यबहाक भन्दै बैठक बोलाउने गरेका खड्का गुटमा धमाधम नेताहरु नै जान छाडेका छन् । जस अनुसार सात भाइमध्ये गोपालमान श्रेष्ठ विशेष महाधिवेशनलाई समर्थन गरी भृकुटीमण्डपमै उपस्थित भएका थिए । भने सर्वाेच्चको फैसलापछि चार भाइ मात्र बैठकमा उपस्थित हुन थालेका छन् ।

जसमा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह देखिएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले १५औं महाधिवेशनको तयारी र क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई तिव्रता दिने भएको छ । आइतबार नेपाली कांग्रेस काठमाडौंको जिल्लाले गरेको जरा अभियानको थालनीको बैठकमा महामन्त्री प्रदीप पौडेलले जरा अभियानबारेमा गाउँ सभापति, क्षेत्रीय सभापति जिल्ला कार्यसमिति, महासमिति सदस्य लगायतको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै जरा अभियान भनेकै तल्लो तहसम्म कसरी जोडिन सकिन्छ भन्ने नै भएको हुँदा यसलाई तिव्रता दिनुपर्ने बताए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ बैशाख ७, १२: ५४

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ बैशाख ७, १२: ५४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ बैशाख ७, १२: ५४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...