डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै – Naya Bikalpa
April 28, 2026, Tuesday      Epaper
गगन–विश्व पन्छाउँदै राष्ट्रियसभा र समानुपातिकमा टिकटमा एकलौटी गरेका देउवा कोइरालाको राजनीति भविष्य विसर्जनतर्फ

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो । त्यसअघि विसं १९९३ मा स्थापना गरिएको विराटनगर जुट मिलमा त्यही समय विराटनगरका मजदुरहरूले एउटा नयाँ इतिहास कोरे । विराटनगर जुट मिललगायत उद्योगमा कार्यरत मजदुरहरु संगठित भए । तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायतको पहलमा संगठित आन्दोलन सुरु भयो ।

तारिणीप्रसाद र गिरिजाप्रसादले मजदुरमाझ जगाएको चेतनाकै कारण कामदारहरु एकजुट भएर आन्दोलनमा होमिए । उनीहरुले ३५ प्रतिशत तलब वृद्धिलगायतका क्रान्तिकारी माग अघि सारेका थिए । राणा शासनले दमन सुरु ग¥यो । विपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरुलाई गिरफ्तार गरी २२ दिन पैदल हिँडाएर काठमाडौँ ल्याइयो । तर पनि आन्दोलन रोकिएन । विसं २००७ सालमा नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वमा राणा शासनविरुद्ध सशस्त्र आन्दोलनको केन्द्र विराटनगरको त्यहि जुट मिल हुन पुग्यो । मुक्ति सेनाले विराटनगर कब्जा गर्ने व्रmममा मजदुरले अद्भुत साहस देखाएका थिए । त्यसकारण विराटनगर जुट मिलको त्यो संघर्ष २००७ सालको क्रान्तिको जग बन्न सफल भएको थियो । त्यसअर्थमा नेपालको प्रजातान्त्रिक इतिहासमा विराटनगर कहिल्यै विर्सन नसक्ने ऐतिहासिक स्थल बन्न सफल भएको हो । त्यसमा पनि कांग्रेसजनहरुका लागि त पिताजी कृष्णप्रसाद कोइरालाको निवास पवित्र भूमि नै मानिन्छ । उनै कृष्णप्रसादका तीनै सुपुत्रहरु मातृकाप्रसाद, विश्वेश्वर प्रसाद र गिरिजाप्रसाद नेपालका प्रधानमन्त्री बनेर नयाँ इतिहास रच्न सफल भएका हुन् ।

नेपालको राजनीतिक इतिहासमा कांग्रेस र कोइराला परिवार एक अर्काका पर्यायका रुपमा रहदै आएका थिए । जहानियाँ राणा शासन अन्त्य गर्न आन्दोलनको जग बसाउने विराटनगर जुट मिल जसरी आज बन्द अवस्थामा छ, त्यसैगरी कोइराला परिवारका एकजना सदस्य डा. शेखर कोइरालाका कारण कांग्रेसमा कोइराला परिवारको बिरासत गम्दै गइरहेको छ । व्यक्तिगत स्वार्थका लागि कोइरालाले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका हरेक गलत निर्णयको साक्षी बसेका कारण कांग्रेसमा कोइराला परिवारको बिरासत भिरबाट गुल्टिन मात्र बाँकी छ ।

१४ औं महाधिवेशनमा कोइराला समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका डा. कोइराला देउवासंग पराजित भएका थिए । तर महामन्त्री लगायत सदस्यहरुमा कोइराला टिमबाट ४० प्रतिशत सदस्य विजयी भएका थिए । त्यसपछिका दिनमा आफ्नो टिमलाई एक ठाउँमा राखेर अघि बढ्नु पर्नेमा कोइरालाले आफ्नै टिमका सदस्यहरुलाई समेत बीच बाटोमा अलपत्र छाडेर स–साना स्वार्थ पूर्तिका लागि देउवासंग अनेक सम्झौता गर्दै गए । यसरी आफ्नो समूह छिन्नभिन्न भइरहेको सन्दर्भमा भएको भदौ २३ र २४ को जेनजी विद्रोहपछि सिंगो कांग्रेस ओरालो यात्रामा रहेका बेला फागुन २१ गतेको निर्वाचन अघिपार्टीको विशेष महाधिवेशन कि निर्वाचनपछि नियमित महाधिवेशन गर्ने भन्ने विबादमा पार्टीभित्र दुईधार विकसित हुँदा डा. कोइराला देउवा पक्षको साथमा उभिए ।

परिणाम वर्षौदेखि कोइराला परिवारका लागि काँध थाप्दै आएको समूहले गगन थापालाई नेता मान्दै राजधानीको भृकृटीमण्डपमा विशेष महाधिवेशन सम्पन्न गराएरै छाड्यो । जुन महाधिवेशनमा डा. कोइरालाका समर्थकहरुमात्र होइन, महामन्त्री गगन लगायतका नेताहरु अन्तिम समयसम्म पनि उनको पर्खाईमा थिए । कांग्रेसका कतिपय नेताहरुको भनाईमा यदि कोइराला भृकुटीमण्डपको विशेष महाधिवेशनमा उपस्थित मात्र भएको भए पनि आजको दिनमा कांग्रेस सभापति उनै शेखर हुने थिए ।

आखिर शेखर किन देखिएनन् त भृकुटीमण्डपको विशेष महाधिवेशनमा ? सानेपा स्रोतको दावी अनुसार त्यतिबेलासम्म डा. शेखरले समानुपातिक निर्वाचनका लागि आफ्नो तर्फबाट केही नेताहरुको नाम देउवाले तयार पारेको सूचीमा पार्न सफल भएका थिए । यतिमात्र होइन, राष्ट्रियसभामा रिक्त सदस्य पदको निर्वाचनमा पनि डा. कोइरालाले देउवासंग सहमति गरेर आफू निकटका नेताहरुलाई टिकट दिलाउन सफल भएका थिए । त्यहि ललिपपका लागि देउवासंग सम्झौता गरेका कोइराला आफू भने सभापति गगनले हस्ताक्षर गरेको टिकट लिएर फागुन २१ गतेको निर्वाचनका लागि मोरंग क्षेत्र नं ६ पुगेका थिए । यो त्यहि निर्वाचन क्षेत्र हो जसलाई कांग्रेसको सबैभन्दा बलियो निर्वाचन क्षेत्र मानिदै आएको थियो । किन पनि भने त्यहिंबाट कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला जीवनभर ठूलो मतान्तरका साथ विजयी हुँदै आएका थिए । कांग्रेसको त्यति धेरै जनाधार भएको क्षेत्र भएता पनि यस पटकको निर्वाचनमा डा. कोइरालाको लज्जास्पद पराजय भयो । कतिसम्म भने रास्वपाकी रुविना आचार्यले डा. कोइरालालाई ४२ हजार ६६३ मतान्तरले हराइदिइन् ।

यो मत परिणामबाट डा. शेखरको राजनैतिक हैसियतमाथि ठूलो प्रश्नचिन्ह खडा भएको छ । उता, आफ्नो टिममा पनि कोइराला क्रमशः कमजोर हुँदै गएका छन् । देशभरका कार्यकर्ताहरुले कोइरालाको साथ छाडिसकेका छन् भने केन्द्रीय नेतृत्वमा उनी निकट रहेका नेताहरु पनि आ आफ्नो राजनीतिक भविश्यका लागि अब कोइरालालाई काँध थापेर हिड्न सकिदैन भन्ने निष्कर्षमा पुगिसकेका छन् । कोइराला निकट भनिएका डा. गोविन्द पोखरेल समूह परिवर्तनका लागि खुट्टा उचालेर बसेका छन् । दिलेन्द्रप्रसाद वडुले निर्वाचन अघि नै कोइरालाको साथ छाडेर गगनको समूहमा जोडिइसकेका छन् । कोइराला समूहमा रहेका बद्री पाण्डेअघिल्लो सरकारमा पर्यटनमन्त्री थिए । पर्यटनमन्त्री हुँदा अनेक प्रकरणमा मुछिएका पाण्डेको राजनीतिक छवीमा दाग लागिसकेको छ । त्यसकारण उनी पनि यतिबेला शेखरको समूहमा टाँसिइरहने कि छाडेर मूलधारको कांग्रेसमा जोडिने भन्ने अन्यौलमै छन् । डा. मिनेन्द्र रिजाल, जीवन परियार, दिपक गिरीलगायतका नेताहरु पनि कोइरालाले गरेका गलत निर्णयको साक्षी बनेर कति दिनसम्म बस्न सकिन्छ भनेर बिकल्पका लागि छलफल गर्दै गगन नजिक नेताका सम्पर्कमा जान थालेका छन् ।

कांग्रेसमा वीपीको निधनपछि कोइराला परिवारको विरासत लामो समयसम्म गिरिजाप्रसादले धान्दै आएका थिए । आफूपछि त्यो विरासत जोगाइराख्नका लागि गिरिजाप्रसादले सुशील कोइरालालाई महामन्त्री बनाएका थिए भने छोरी सुजाता कोइरालालाई उपप्रधानमन्त्रीसमेत बनाएका थिए । त्यतिमात्र कहाँ हो र,मेडिकल प्राक्टिसमा रहेका डा. शेखर र डा. शशांकलाई पनि उनै गिरिजाप्रसादले राजनीतिमा ल्याएका थिए ।

जसका पछाडिको एउटै मात्र स्वार्थ थियो, कोइराला परिवारमै कांग्रेसको राजनीति केन्द्रित रहिरहोस् । हुन पनि गिरिजाप्रसादको निधनपछि १२ औं महाधिवेशनमा सभापति जितेर केही समय सुशीलले त्यो विरासत जोगाएका थिए । तर सुशीलको निधनपछि कोइराला समूहका रामचन्द्र पौडेलले देउवासंगको प्रतिस्पर्धामा १३ औं महाधिवशेनमा पराजित भएपछि १४ औं महाधिवेशनमा पौडेल मौन बसेर देउवलाई समर्थन गरे । जतिबेला डा. शेखर प्रतिस्पर्धामा रहेका थिए । गिरिजाप्रसादले आश गरेर अघि सारेका कोइराला परिवारका सदस्यहरुमध्ये शेखर देउवासंगका अनेक सम्झौताका कारण माथि उठ्नै नसक्ने अवस्थामा पुगेका छन् ।

सुजाता स्वास्थ्यका कारण पनि पछिल्लो समय सक्रिय छैनन् । डा. शशांक आफ्नै कारण निष्क्रिय छन् । डा. शेखर कोइराला सधैं देउवालाई साथ दिएकोले एक थान समानुपातिक सांसद बनाएर लोभिए । यसो हँुदा राणा शासनदेखि विरासत धान्दै आएको कोइराला परिवार कांग्रेसको मियोबाट क्रमशः टाढिदै गएको बुझ्न सकिन्छ । यसर िकोइराला परिवार टाढिनु अनि देउवा बिदेशतिर पलायन हुनुले अब हुने नियमित महाधिवेशनपछि कांग्रेसको राजनीति गगन थापाको वरिपरी घुमिरहने देखिन्छ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

सरकारले ल्यायो अध्यादेश, जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सरकारले ल्यायो अध्यादेश, जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
  • २०८३ बैशाख १५, १६: ५८

काठमाडौं : सरकारले दुई वटा नयाँ अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी र...

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०८३ बैशाख १५, १६: ५८

काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न...

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
  • २०८३ बैशाख १५, १६: ५८

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्...