ओलीले राजीनामा नदिए हटाउने तयारी ! – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper
रुपान्तरण र पुनर्जागरणको पक्षमा ८० प्रतिशत सदस्य, राजीनामा दिएर मार्ग प्रशस्त गर्न ओलीमाथि चर्काे दबाब

ओलीले राजीनामा नदिए हटाउने तयारी !

काठमाडौं । छ महिनाअघि ११ औं महाधिवेशनबाट शक्तिशाली बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सचिवालय बैठकमै नेतृत्वबाट हट्न दबाब बढेको छ । १९ जनाको सचिवालयमा एकजना उपाध्यक्ष र एकजना सचिव बाहेक अरु सबै पदाधिकारीले सोझो र घुमाउरो शैलीमा ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब दिएका छन् । जबकि जेन जी बिद्रोहपछि कमजोर बन्दै आएका अध्यक्ष ओलीको राजीनामा शब्द उच्चारणमात्र होइन, आलोचना गर्नसमेत शीर्ष नेताहरु डराउथे । यद्यपि ओलीको हठकै कारण फागुन २१ को निर्वाचनमा भोग्नु परेको लज्जास्पद पराजयपछि इतर समूहका कोठे बैठकमा भने अब ओलीको नेतृत्वमा एमाले पार्टी अघि बढ्न नसक्ने भन्दै बिकल्प खोज्नुपर्ने मसिनो स्वर आएको थियो । तर पनि ओलीको कोपभाजनमा पर्ने डरका कारण कसैले मुख खोल्न सकिरहेका थिएनन् ।

एमालेमा आमूल सुधार चाहने केही परिवर्तनकारी युवा नेताहरुले गरेको पटक पटकको कोठे बैठकपछि शनिबारको सचिवालय बैठकमा सदस्यहरु नेतृत्व बिरुद्ध बोल्न तयार भएका हुन् । कुनै एकजना सदस्यले मात्र यस्तो अभिव्यक्ति दिंदा अप्ठेरो पर्ने भएकोले उनीहरुले आपसी सल्लाहमा ओलीलाई नेतृत्वबाट हट्न दबाब दिएका हुन् । एमालेको १९ सदस्यीय सचिवालयमा यतिबेला ओली स्पष्ट रुपमा अल्पमतमा परेका छन् । शनिबार बोल्ने १० जना सदस्यहरूले पुनर्गठनको पक्षमा धारणा राखिसकेका छन् । यस्तो धारणा राख्नेमा पाँचमध्ये चार जना त उपाध्यक्ष नै छन् । ओली निवास गुन्डुमा भएको सचिवालय बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघु पन्तले २१ फागुनको निर्वाचन परिणामले पार्टीको नीति र नेतृत्वको पुनगर्ठनको माग गरेको बताएका हुन् । एक्ला उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेको नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानु पर्ने धारणा राखेका थिए । एक्लो उपाध्यक्ष रामबहादुर थापाले ओलीको प्रतिरक्षा गरेका थिए । उपाध्यक्ष थापाले संकटको समयमा नेतृत्वलाई साथ दिनुपर्ने र हेडक्वाटरको रक्षा गर्नुपर्ने बताएका थिए ।

कतिसम्म भने ओलीका खास भनी चिनिएका उपाध्यक्षद्धय पौडेल र पृथ्वीसुब्बा तथा महासचिव शंकर पोखरेलले समेत ओलीले राजीनामा गरेर मार्गप्रशस्त गर्न माग गरेका थिए । उनीहरुले अहिलेको अवस्थामा पार्टी पुनर्गठन नगरी अघि बढ्न नसकिनेमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीबाट अब पार्टी आन्दोलन अघि बढ्न नसक्ने निष्कर्ष सुनाएका थिए । ‘अध्यक्ष ओली अब तपाईंले राजीनामा दिनुस्, तपाईंबाट पार्टी आन्दोलन अघि बढ्न सक्दैन,’ बैठकमा उनले भने । अध्यक्ष ओलीले पार्टी पुनर्गठनका पक्षमा उठेको आवाजलाई सम्बोधन गर्नुपर्ने र निकास दिनुपर्ने धारणा उनले राखेका थिए । रघुवीर महासेठले पार्टी कसका कारण कमजोर रह्यो समीक्षा गर्नुपर्छ भनेका थिए भने अर्का सचिव यामलाल कँडेल, हिक्मत कार्की, राजन भट्टराई र छविलाल विश्वकर्माले लगायतले तल पार्टी चलाउन सक्ने अवस्था नभएको समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्यालले ओलीको सिधै राजीनामा नमागेको भए पनि घुमाउरो शैलीमा बाहिरिनु पर्ने बताएका थिए । उपमहासचिव भट्टले पार्टी पुनर्गठन गर्ने भए ६० वर्षमाथिका सबैले बिदा लिऔं भनेर चुनौती दिएका थिए । सचिव पद्मा अर्यालले नेतृत्वले सोचेकोजस्तो अवस्था तल नरहेको भन्दै सुधारको खाँचो औंल्याएकी थिइन् । ‘माथिबाट हेर्दा जस्तो देखिन्छ, तल त्यस्तो छैन,’ उनको भनाइ थियो । सचिव महेश बस्नेतले अध्यक्षको बचाउ गर्दै संकटपूर्ण अवस्थामा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेर आपराधिक काम नगर्न चेतावनी दिएका थिए । ‘यस्तो बेलामा अध्यक्ष ओली नेतृत्वबाट हट्नुपर्छ भन्ने अपराधी हुन्,’ बस्नेतले भने ।

आफूले विश्वास गरेर जिम्मेवारी दिएका नेताहरुले नै पदत्याग गरी मार्गप्रशस्त गर्न दबाब दिएपछि अध्यक्ष ओली थप आक्रोशित देखिएका छन् । सचिवालय बैठकमा सदस्यहरुका कुरा सुनेपछि अध्यक्ष ओली आक्रामक शैलीमा प्रस्तुत भएका थिए । बैठकमा केहीबेर नेताहरुबीच भनाभन भएको थियो । अध्यक्ष ओलीले उपाध्यक्षहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा वातावरण असहज भएको थियो । उनले काठमाडौंमा भएको महाधिवेशनबााट निर्वाचित भएर आएको स्मरण गराउँदै कसैले अध्यक्ष पद छाड्नका लागि दबाब दिदैंमा आफूले त्यसै नछाड्ने घोषणा गरेता पनि एमालेभित्र तल्लो तहदेखि निकै आक्रोश बढ्दै गएका कारण यतिबेला सिंगो एमालेभित्र पनि विशेष महाधिवेशनको चर्काे दवाव सिर्जना हुने देखिन्छ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

सुदूरपश्चिम सरकारमा कांग्रेसको नयाँ शक्ति सन्तुलन, तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
सुदूरपश्चिम सरकारमा कांग्रेसको नयाँ शक्ति सन्तुलन, तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
  • २०८३ जेष्ठ ११, १६: ०८

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ...

कांग्रेसका सांसददेखि वडासदस्य समेतलाई सदस्यता अद्यावधिक अनिवार्य गर्न तल्लो तहसम्म सर्कुलर
कांग्रेसका सांसददेखि वडासदस्य समेतलाई सदस्यता अद्यावधिक अनिवार्य गर्न तल्लो तहसम्म सर्कुलर
  • २०८३ जेष्ठ ११, १६: ०८

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका सांसददेखि वडा सदस्यसम्मका सबै निर्वाचित जनप्रतिनिधि र पार्टीका विभिन्न तहका पदाधिकारीहरूलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता...

व्यवसायी भट्ट र अग्रवाललाई आठौं पटक म्याद थप
व्यवसायी भट्ट र अग्रवाललाई आठौं पटक म्याद थप
  • २०८३ जेष्ठ ११, १६: ०८

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौं पटक थप गरेको छ ।...