
काठमाडौं : साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २८औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा सहकारीका सदस्य, स्थानीय जनप्रतिनिधि, कृषि क्षेत्रसँग आबद्ध व्यक्तित्व तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले साना किसान सहकारीहरूले देशभर किसानको आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन्। उनले बागमती प्रदेशमा मात्रै २६० वटा साना किसान सहकारी सक्रिय रहेको उल्लेख गर्दै यस्ता संस्थाको सेवा र पहुँच अझ विस्तार गर्न प्रदेश सरकार सहकार्यका लागि तयार रहेको बताए।

उनले देशभर करिब १,२०० साना किसान सहकारीमार्फत लाखौं किसान परिवार आबद्ध रहेको उल्लेख गर्दै सहकारी क्षेत्रप्रति जनविश्वास कायम रहनु सकारात्मक पक्ष भएको बताए। सहकारी क्षेत्रका केही संस्थामा देखिएका समस्या र अनियमितताका बीच साना किसान सहकारीहरूले भने आफ्नो विश्वसनीयता जोगाएको उनको भनाइ थियो।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले कृषि, सडक, उद्योग र पर्यटनलाई एकीकृत रूपमा जोड्ने नीति अघि सारेको जानकारी दिँदै त्यसका लागि चालु आर्थिक वर्षमा विशेष बजेट विनियोजन गरिएको बताए। स्थानीय तथा रैथाने उत्पादनको संरक्षण, संकलन, प्रशोधन, ब्रान्डिङ र बजारीकरणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले ‘एक पालिका–एक उत्पादन’ अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए।

उनले कोदो, फापर लगायतका रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याइने जानकारी दिए। साथै अदुवा, लसुन, प्याज, बेसार र खुर्सानीजस्ता दैनिक उपभोगका कृषि उत्पादनमा पनि अनुदानको व्यवस्था गरिने उनको भनाइ थियो।
प्रदेश सरकार कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउने लक्ष्यका साथ अघि बढिरहेको उल्लेख गर्दै बानियाँले किसानलाई उत्पादनसँगै प्रशोधन र बजारीकरणमा जोड्न आवश्यक रहेको बताए। उनले सहकारीमार्फत दुग्ध उत्पादन तथा संकलनमा उल्लेखनीय काम भइरहेको भन्दै दुग्धजन्य वस्तुको प्रशोधन तथा मूल्य अभिवृद्धिका लागि आवश्यक प्रविधि र उपकरण उपलब्ध गराउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

सहकारीहरूले दूधबाट घिउ, दही, चीज, आइसक्रिम लगायतका उत्पादन तयार गरी बजार विस्तार गर्नुपर्ने सुझाव दिँदै उनले यसले किसानको आम्दानी बढाउन मद्दत पुग्ने बताए। प्रदेश सरकारले दुग्ध उत्पादनमा दिँदै आएको अनुदानलाई निरन्तरता दिने र आवश्यक सुधारसहित थप प्रभावकारी बनाउने उनले स्पष्ट पारे।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले गरिब तथा विपन्न समुदायको आयआर्जन वृद्धि, सीप विकास, कृषि उत्पादन वृद्धि र स्वरोजगार प्रवर्द्धनलाई प्राथमिकता दिएको उल्लेख गरे। सहकारीमार्फत किसानलाई प्रविधि, तालिम र वित्तीय पहुँच उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनले बताए।

कार्यक्रममा संस्थाका उत्कृष्ट किसान, दुग्ध उत्पादक तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। सहभागीहरूले सहकारीले स्थानीय किसानको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरेका थिए।
सहकारीका पदाधिकारीहरूले संस्थाले विगत २८ वर्षदेखि कृषि, पशुपालन, बचत तथा ऋण सेवा, दुग्ध उत्पादन र ग्रामीण आर्थिक विकासमा निरन्तर काम गर्दै आएको जानकारी दिएका थिए। आगामी दिनमा पनि किसानको आय वृद्धि र कृषि व्यवसायको आधुनिकीकरणमा संस्थाले आफ्नो भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...
धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...
काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...