
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा पाँच मिनेट मौनधारण गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक निश्कल राईले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमाको रक्षाका लागि योगदान पुर्याएका शहीद तथा योद्धाहरूप्रति सम्मान व्यक्त गर्दै पाँच मिनेट मौनधारण गर्न आह्वान गरेका थिए ।
त्यसलगत्तै कांग्रेससँगै नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नकेपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा अन्य विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर मौनधारणमा सहभागी भएका थिए ।
राईले प्रधानमन्त्री शाहले हालै दिएको ‘नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ’ भन्ने अभिव्यक्तिले देशको स्वाभिमानमा चोट पुर्याएको आरोप लगाए । उनले नेपालको सीमा पूर्वमा चिवाभञ्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम राख्न आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको सम्मानमाथि प्रधानमन्त्रीको भनाइले प्रश्न उठाएको दाबी गरे ।
संसदमा धारणा राख्दै राईले नेपालको एकीकरणदेखि राष्ट्रिय स्वतन्त्रता र अखण्डताको रक्षा गर्न महत्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक व्यक्तित्वहरूको स्मरण गरेका थिए । उनले पृथ्वीनारायण शाह, वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा र भीमसेन थापाजस्ता योद्धाहरूको योगदानलाई सम्झँदै प्रधानमन्त्रीले इतिहासको सही मूल्यांकन गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि प्रहार गरेको भन्दै त्यसबाट शहीदहरूको आत्मसम्मानसमेत आहत भएको टिप्पणी गरे । साथै लोकतन्त्र, नागरिक सर्वोच्चता, सुशासन र जवाफदेहिताका लागि भएका विभिन्न आन्दोलन तथा संघर्षमा ज्यान गुमाएका शहीदहरूको सम्मानमा मौनधारण गर्न सांसदहरूलाई आग्रह गरेका थिए ।
संसदमा शहीदहरूको सम्झनामा सामान्यतया एक मिनेट मौनधारण गर्ने प्रचलन रहे पनि यसपटक विपक्षी दलहरूको अगुवाइमा पाँच मिनेटसम्म मौनधारण गरिएको हो ।
काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...
धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...
काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...