
काठमाडौं : नेपाल संवत् ११४७ को स्वागतमा नेपाली कांग्रेस काठमाडौं महानगर समितिले शनिबार राजधानीमा शुभकामना सुकुण्डा र्याली आयोजना गरेको छ। मौलिक संस्कृति, ऐतिहासिक सम्पदा र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने सन्देशसहित निकालिएको र्यालीमा कांग्रेस सभापति गगन थापा पनि सहभागी भएका थिए।
नेपाल संवत्को नयाँ वर्षलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै यसको ऐतिहासिक तथा सामाजिक महत्त्व नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले र्याली आयोजना गरिएको महानगर समितिले जनाएको छ। र्यालीमा कांग्रेसका क्रियाशील सदस्य, वडा समितिका पदाधिकारी तथा सदस्य, क्षेत्रीय र महाधिवेशन प्रतिनिधि तथा पार्टीका शुभेच्छुकहरूको सहभागिता थियो।

काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेका पुराना बस्ती र टोलहरूको परिक्रमा गर्दै निकालिएको र्यालीमा परम्परागत नेपाली वेशभूषामा सजिएका महिलाहरू सुकुण्डासहित सहभागी भएका थिए। उनीहरूको उल्लेख्य उपस्थितिले र्यालीलाई थप सांस्कृतिक र आकर्षक बनाएको थियो।
र्यालीमा सहभागी कांग्रेस सभापति गगन थापाले परम्परा र संस्कृति जोगाउने कार्यले आपसी माया, ममता, सद्भाव र स्नेह बढाउने बताए। उनले ऐतिहासिक परम्परालाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको भन्दै काठमाडौं महानगर समितिलाई विशेष धन्यवाद दिएका थिए।

नेपाल संवत् नेपाली समाजको मौलिक इतिहास, सभ्यता, पहिचान र सांस्कृतिक गौरवसँग जोडिएको महत्त्वपूर्ण सम्पदा हो। यसको संरक्षण र प्रवर्द्धनमार्फत परम्परागत संस्कृति तथा मौलिक पहिचानप्रति नयाँ पुस्तामा जागरुकता अभिवृद्धि गर्ने सन्देश र्यालीले दिएको छ।

काठमाडौंको लगनचोकबाट सुरु भएको र्याली ब्रह्मटोल, वन्दे, हुमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक र न्युरोड गेट हुँदै तेबहाल पुगेर समापन भएको थियो।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...
भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...