“देशको नेतृत्व जसले गर्छ, म उसैको समर्थन गर्छु” – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

“देशको नेतृत्व जसले गर्छ, म उसैको समर्थन गर्छु”

भीम रावल– उपाध्यक्ष–नेकपा एमाले

वाम गठबन्धनको स्पष्ट बहुमतमा अहिले सदन र सरकार अघि बढीराखेको छ । गत साता झण्डै तीन चौथाइ सांसदहरुबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरे भने एमाले कै उम्मेद्वार विद्या देवी भण्डारी पुनःराष्ट्रपति पदमा निर्वाचित भइसकेकी छिन् । आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्रीलाई एमाले र माओवादी भित्रै व्यवस्थापन गर्न कठिन हुदाँ मन्त्रीमण्डल विस्तार गर्न धौं–धौं परे पनि शुक्रबार तेस्रो पटक मन्त्रीमण्डल विस्तार गरेको छन् ।

यद्यपी पूर्णता भने अझै बाँकी रहेको छ । संघीय समाजवादी फोरम मधेशवादी दल ओली सरकारमा सहभागी हुने भएकोले पूर्णता भने बाँकी नै छ । यिनै समसामयिक विषयवस्तुहरुमा केन्द्रीत रहेर एमालेका नेता तथा पूर्व गृहमन्त्री भीम रावलसँग पत्रकार ऋषि धमलाले गरेका कुराकानीको सम्पादित अंशः

मन्त्रीमण्डलले अझै पूर्णता पाउन बाँकी छ होइन ?
प्रधानमन्त्रीले काम गर्दै हुनुहुन्छ । म यस नयाँ बिकल्प साप्ताहिक मार्फत के भन्न चाहन्छु भने प्रधानमन्त्रीले सबै पक्षलाई समेटेर राष्ट्रलाई अब समृद्धिको बाटोमा ढुक्कसँग अगाडि लैजानको लागि गृहकार्य गरिराख्नु भएको छ । नेपालको इतिहासमा अत्यन्तै ठूलो अवसर हाम्रो अगाडि छ ।

राजनीतिक स्थायित्व देशलाई दिने र जनताका समृद्धिका आकाक्षाहरु पुरा गर्ने र हाम्रो राष्ट्रलाई एउटा स्वाधीन र स्वभीमानी पूर्ण रुपमा अन्तर्राष्ट्रिय समुदायमा स्थापित गर्ने धेरै ठूलो अवसर प्राप्त भएको छ । यो अवसरलाई पूर्णरुपमा उपयोग गर्नको लागि उहाँले सबै पक्षलाई समेटेर राष्ट्रलाई एकताबद्ध बनाएर अगाडि लैजानको लागि प्रयास स्वरुप यसमा विलम्ब भएजस्तो मलाई लाग्दैन । त्यसैले सबैलाई समेटेर बनाउने प्रयास गरिएको हो ।

पार्टीमा मन्त्रिमण्डल विस्तार गर्दा छलफल भएर गरेको हो ?
हामीले त्यो विषयमा कति बेला, क–कसले गर्नुहुन्छ भन्ने कुराको सम्पूर्ण जिम्मेवारी स्थायी कमिटीबाट प्रधानमन्त्री अथवा पार्टीका अध्यक्षलाई नै सुम्पिएका छौं । उहाँले नै यसको तय गर्ने हो ।

प्रधानमन्त्रीले पार्टीमा सल्लाह नै नगरी आफूखुसी निर्णय गर्नुहुन्छ भन्ने छ नि ?
त्यस्तो होइन । हाम्रो प्रायः मन्त्रीहरु नियुक्ति गर्ने सम्बन्धमा स्थायी कमिटिले सम्बन्धित नेतालाई नै जिम्मेवारी दिने गरेको छ । अहिले पनि प्रधानमन्त्री अथवा पार्टी अध्यक्षलाई नै त्यो जिम्मेवारी दिइएको हो । हामीले स्थायी कमिटिबाट आवश्यक परामर्श पछि त्यो गर्न सकिन्छ भनेका छौं । अब त्यसमा प्रधानमन्त्री या पार्टी अध्यक्षले कस–कसलाई बनाउने भनेर उहाँले गर्ने कुरा हो ।

एमाले भित्रको गुटबन्दी र भागवण्डा मिलेको छैन भन्छन नि हो ?
हामी अहिले भागवण्डामा गएको छैनौं । अहिले देशलाई समृद्धिको बाटोमा लैजान धेरै ठूलो अवसर प्राप्त भएको हुनाले हामीले ती कामहरु सम्पन्न गर्न सक्छौं भन्ने उद्देश्य राखेका छौं किनभने हामीसँग जितेर आउनु भएका एक सय एक नेताहरु हुनुहुन्छ । एक से एक संसदमा सदस्यहरु हुनुहुन्छ ।

संविधानले नै जुन सिमा तोकिदिएको छ त्यो कारणले चाँही जसलाई पायो त्यसलाई मन्त्री बनाउन त सकिदैनन नि । हाम्रो प्राथमिकता भनेको देश र जनता नै हो ।

प्रधानमन्त्रीले आफूले चाहेको व्यक्तिलाई मन्त्री बनाउन बाटो खुलेको हो ?
आफ्नो मान्छे भन्ने नै हुँदैन । सबै पार्टीका मान्छेहरु हुनुपर्छ । त्यस्ता विभिन्न कुराहरु कसले के सोच्छ, त्यो बेग्लै कुरा हो । तर अहिले कसरी राष्ट्रलाई एकताबद्ध बनाएर समृद्धिको बाटोमा लाने र हाम्रो राष्ट्रको स्वाभिमान स्वतन्त्रता, अखण्डता र स्वाधीनतालाई कसरी बलियो बनाउने र जनताका आकांक्षा र आवश्यकताहरु कसरी पुरा गर्ने त्यो चुनौति हाम्रो सामु छ । प्रधानमन्त्री अहिले यसमै केन्द्रीत हुनुहुन्छ ।

महाधिवेशनपछि माधव नेपाल गुट छोडेर तपाई पनि प्रम ओलीको गुटतिर लानु भएको आरोप छ नि ?
यो लज्जास्पद कुरा हो । म नेकपा एमालेको मान्छे हुँ । मैले राष्ट्रको हितमा, जनताको हितमा जे कुरा उचित हुन्छ त्यो माधव कुमार नेपालले भनेपनि समर्थन गर्छु, झलनाथ, बामदेव र पार्टी अध्यक्ष जसले भनेपनि समर्थन गर्छु । तर यदि त्यो जनता र देशको हितमा छैन भने म कसैको पनि समर्थन गर्दिन । मैले नेकपा एमाले पार्टी मात्रै चिनेको छु ।

त्यस बाहेक मैले केही पनि चिन्दिन र गुटउपगुटको कुरा पनि मलाई थाहा छैन । नेकपा एमाले पार्टीले देश र जनताको हितको निम्ति जुन लक्ष्य राखेको छ त्यस कुरालाई पुरा गर्ने कुरामा मेरो पुरा समर्थन हुन्छ । जुनसुकै नेताले गर्नुभए पनि । तर त्यसको विपरित गयो भने म अरु कोही पनि चिन्दिन । नेकपा एमालेको नीति मात्रै चिन्छु ।

एउटाको गुटबाट उठेर उपाध्यक्ष हुने अनि पछि उसैलाई धोका दिनुभएको भन्ने पनि चर्चा छ नि ?
होइन, त्यो बिल्कुलै होइन । मैले कसैलाई पनि धोका दिएको छैन । यो एकदम हाँस्यास्पद कुरा हो । म त्यतिबेला एउटा प्यानलबाट अवश्य उठेको थिएँ र त्यो प्यानलको नेतृत्व माधव कुमार नेपालले गर्नुभएको थियो ।

त्यो महाअधिवेशनको पक्षमा थियो । अब मेरो अगाडि दुइवटा कामहरु छन् । जनता र देशको सेवा गर्ने, जनता र देशको पक्षमा कहाँकहाँ कुरा आउँछन् जस्तो की माधव कुमार नेपालले त्यसको नेतृत्व गर्नुभयो भने मेरो समर्थन उहाँलाई नै हुन्छ । त्यसको नेतृत्व जसले गरेपनि मेरो पूर्ण रुपमा समर्थन छ । त्यसकारण त्यतिबेला एउटा स्थितिमा म एउटा प्यानलमा आउनुपर्ने थियो र म आएपनि तर अहिले म नेकपा एमालेको प्यानलमा मात्रै छु ।

तपाईलाई पनि मन्त्री बन्ने इच्छा थियो होला तर किन व्यक्त गर्न सक्नुभएन ?
हैन मैले कहिले पनि भनिन र मन्त्री बन्नको लागि मैले लविङ गरेको थिइन । २०५१ सालमा जुन बेलामा म निर्वाचित भएर आएको थिएँ । पहिलो पटक नेकपा एमाले नेपालको सबैभन्दा ठुलो दल भएको थियो । त्यतिबेला पनि मैले मलाई मन्त्री बनाउनुपर्छ भन्ने प्रस्ताव राखिन जब की म पहिलो पटक त्यतिबेला मन्त्रीपरिषद्मा जाँदै थिएँ । यो देश र जनताको आवश्यकता अनुसार पार्टीको आवश्यकता अनुसार हुने कुरा भएकोले न मैले इच्छा व्यक्त गरेको छु न कसैलाई आग्रह गरेको छु ।

तर तपाईकै पार्टीमा पनि त त्यस्ता नेताहरु हुनुहुन्छ जो मन्त्री बन्न लाइन लागेर बस्नुभएको छ ?
मैले लाइन लागेर बसेको देखेको त छैन । तर जनताबाट निर्वाचित भएर आइसकेपछि कुनै पनि सांसदले मैले देश संचालन गर्ने अवसर पाए हुन्थ्यो भनेर आकाक्षा राख्दैमा हामीले अन्यथा लिनु पनि हुँदैन जस्तो मलाई लाग्छ ।

संविधानअनुसार उपसभामुख प्रतिपक्षर्ला दिनुपर्ने होइन र ?
हैन हाम्रो नेपालको संविधानमा कुनै दुई वटा अलग अलग दलले अलग अलग पद लिनुपर्छ भन्ने कहाँ लेखेको छ र ? हामी दुईवटा दल छौं । नेपाली काँग्रेस प्रमुख विपक्षी दल जोसँग हामीले निर्वाचनमा त्यत्रो नीतिगत भिन्नता राखेर जितेर आयौं । त्यो पार्टीलाई दिनुपर्छ भन्ने कुनै आवश्यकता नै छैन नी ।

नेपाली काँग्रेसमा प्रतिस्पर्धा गर्नुपर्छ भनेर उहाँको सिद्धान्त अनुसार नै उहाँहरुले उपसभामुख लिन मिल्दैन नि । ठूला पार्टी कुनै पनि हालतमा मिल्नु हुँदैन भनेर काँग्रेसका सभापतिले सिद्धान्त प्रतिपादन गरेपछि उहाँलाई हामीले बहुमत हुँदाहुँदै ल यो पद लिनु भनेर किन दिने ।

एमाले पार्टी सत्तारुढ दल भएर उपसभामुख लिन मिल्छ त ?
हाम्रो नेपालको संविधानमा सरकारमा रहेका राजनीतिक दलहरुबाट लिन नहुने भन्ने त छैन नी । एमाले माओवादी पार्टी एक भए त त्यो कुरा हो, अहिले त एक भइसकेको छैन नि ।

त्यसो भए तपाईहरु कुनै पनि पद छोड्ने सोचमा हुनुहुन्न ?
किन छोड्ने ? नेपाली काँग्रेसले छोडेको थियो र हामीले छोड्नु पर्ने ? हामी त्यसै किन दिने उपसभामुख ? त्यो त प्रतिस्पर्धा गरेर जित्नु अनि लैजानु नि । पार्टी सभापतिले नै ठुला पार्टीहरु हामी यसरी मिल्नु हुँदैन भनिसकेपछि हामी किन हाम्रो भाग दिने ? हामीले त पहिलेनै मिलेर जाउँ भनेका थियौं नि तर उहाँहरुले मान्नुभएन ।

काँग्रेससँग एमालेको सम्बन्ध सधैका लागि बिग्रेको भन्न खोज्नुभएको हो ?
त्यस्तो होइन । अहिले पद र प्रतिस्पर्धाको कुरा गर्दा मिल्ने कुरा आउँदैन । तर राष्ट्रका साझा सवालमा हामी मिलेर जानुपर्छ । देशको हितमा एक हुनुपर्छ भनेर हामीले भनेका छौं नि । सँधैका लागि राजनीतिमा बन्द हुने भन्ने हुँदैन । हो सरकारमा कहिले एमाले आउँछ, कहिले काँग्रेस तर राष्ट्रियताको कुरामा त एक हुनै पर्छ ।

अब एउटा फरक प्रसंगतिर लागौं, कैलालीमा अबोध युवतीमाथि बोक्सीको आरोप लगाइयो र कुटियो तर तपाई मौन रहनुभयो नि ?
त्यस्तो होइन मैले त त्यहाँको राजनैतिक प्रतिनिधिको हैसियतले त्यो घटनाको निन्दा गरेर छानविन समिति समेत गठन गरिसके ।

दोषीलाई कार्वाही गर्नुपर्छ भनेर तपाईले भन्नुभएको सुनिएन नि ?
ममताप्रसाद चौधरीको सम्बन्धमा त्यहाँको संयोजकको हैसियतले छानविन गरेका छौं । तर ममताप्रसाद चौधरी माथि नै हमला भएको छ । त्यसको पनि हामीले निन्दा गरेका छौं र अहिले सत्यतथ्य के हो भन्ने कुरा पत्ता लगाउन हाम्रो पार्टीको छानविन समितिले काम गर्दै छ । म विद्यार्थी कालदेखि अहिलेसम्म धामी, झाँक्री, बोक्सी, छाउपडी प्रथा, जातिय विभेद, कमैया प्रथा आदिको विरुद्धमा निरन्तर जुटिरहेको छु र समाजमा चेतना बढाउने काम गरिराखेको छु ।

एमाले–माओवादी पार्टी एकता कहिले हुन्छ ? बताइदिनुस् न ?
हामी अहिले अन्तरिम विधान र राजनीतिक प्रतिवेदनमा काम गरिरहेका छौं र मस्यौदा तयार गरिसकेका छौं । त्यो संयोजन समितिमा पेश गर्छौ, संयोजन समितिमा पेश गरिसकेपछि पार्टीको विधिगत घोषणाको दिशातर्फ अग्रसर हुन्छौं । हामीलाई लाग्छ दुई हप्ता भित्रमा हामीले यो सम्पूर्ण प्रक्रियागत कुराहरु पुरा गर्न सक्छौ । त्यसपछि संयोजन समितिले निर्णय गरेअनुसार मिति तय हुन्छ ।

सम्बन्धित समाचार

कमजोर पटकथाको शिकार ‘काजी’
कमजोर पटकथाको शिकार ‘काजी’
  • २०७४ चैत्र ५, ०८: ४९

चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...

Navigarea simplificată în jocurile de noroc online devine mai accesibilă cu https://casinos-online-romania.it.com/
  • २०७४ चैत्र ५, ०८: ४९

Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.

tc-check-https://test.com/
  • २०७४ चैत्र ५, ०८: ४९

tc-check https://test.com