चन्द्रागिरि नगरपालिकाको आफ्नै प्रशासकीय भवनबाट नगरवासीलाई सेवा – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

चन्द्रागिरि नगरपालिकाको आफ्नै प्रशासकीय भवनबाट नगरवासीलाई सेवा

काठमाडौं । काठमाडौँ जिल्लाको पश्चिम भागमा रहेको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरि नगरपालिका हो । उक्त नगरपालिकाले सांस्कृतिक, मौलिक एवम् कलात्मक काठको आँखीझ्याल भएको छ तलाको भवन निर्माण सम्पन्न गर्दै साेमबार समुद्घाटन गरेकाे छ । नगरपालिकाका दैनिक कार्य सम्पादन तथा सेवा प्रवाह आगामी फागुन १ गतेबाट सोही भवनबाट हुने जनाएकाे छ ।

चन्द्रागिरि– १२ गुर्जुधारास्थित जिल्ला समन्वय समितिको नाममा रहेको सात रोपनी जमिन मध्ये तीन रोपनीमा नगरपालिकाले प्रशासकीय भवन बनाएकाे हाे । जिल्लाकाे दक्षिण पश्चिम भेगमा रहेका थानकोट, दहचोक, नयाँ नैकाप, वाड भञ्ज्याङ, सतुंगल, मातातीर्थ, मच्छेगाउँ, बलम्बु, महादेवस्थान, तीनथाना लगाएतका स्थानहरुबाट चन्द्रागिरि नगरपालिका बनाइएको थियो ।

नगरपालिकाले भर्खरै निर्माण सम्पन्न गरेकाे भवन बालबालिका, जेष्ठ नागरिक र अपाङगता मैत्री रहेकाे र साे भवन अधिकांश नगरवासीलाई पायक पर्ने स्थानमा रहेकाे छ । भूकम्पप्रतिरोधि र अग्नी नियन्त्रक उपकरण जटित सो भवनमा करिव २५० क्षमताको सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्ष, मिटिङ हल र अण्डरग्राउण्ड पार्किङको व्यवस्था गरिएको छ ।

साेमबार जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्य र चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नवनिर्मित साे भवनकाे संयुक्त रुपमा उद्घाटन गरेका थिए । विसं २०७६ मङसिर ११ गते साे भवनकाे संयुक्त रुपमा शिलान्यास गरिएको थियो ।

उक्त भवन दुई स्थानीय तहकाे संयुक्त साझेदारीमा रु २१ करोड लागतमा बनेको हो भने भवन बाहर आकर्षक बगैँचा सम्पन्न हुन बाँकी रहेको इञ्जीनीयर रविन्द्र रिजालले बताए । समन्वय समितिको रु १० करोड र बाँकी आन्तरिक स्रोतबाट भवन निर्माण भएको बताइएको छ ।

रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माण गरेको सो भवन सम्झौता अनुसार वि.सं २०७८ बैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका १५ वडामध्ये धेरैले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् भने वडा नं ३ र ४ को नयाँ कार्यालय भवन हालै मात्र निर्माण सम्पन्न भएको छ । त्यस्तै वडा नं ७, ११ र ५ काे वडा कार्यालयका लागि जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेलले नयाँ विकल्पलाई बताए ।

समुद्घाटन समारोहमा नगरप्रमुख गिरीले नगरपालिकाले नवनिर्मित आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने प्रतिवद्धता व्यक्त गरे । आफ्नो कार्यकालमा नगरका वडा कार्यालय र नगरपालिकाकै प्रशासकीय भवन बनाउँन सफलता मिलेकोमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयाेग गर्ने सम्पूर्ण नगरवासीलाई धन्यवाद ज्ञापन गरे।

त्यसैगरी जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शिवसुन्दर राजवैद्यले महामारीका बीचमा भवन निर्माण सम्पन्न भएकाे बताउँदै आगामी दिनमा पनि समन्वय समिति र नगरपालिकाका बीच सहकार्य र सहमति गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

उद्घाटन समारोहमा नगरपालिकाका कम्प्युटर अधिकृत सीताकुमारी कार्कीलाई नगर प्रमुख गिरीले दोसल्ला ओडाई नगद रु ५० हजारसहित सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी थानकोट अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्मालाई पनि रु ५० हजार नगद सहित सम्मान पत्रबाट गरिएको थियो ।

त्यस्तै, १३ औं साग खेलकूद प्रतियोगितामा चन्द्रागिरी नगरनिवासी पदक विजेता खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा कराँतेमा स्वर्णपदक विजेता प्रवीण मानन्धर, बक्सिङमा रजत पदक विजेता ललिता महर्जन, भलिबलमा रजत पदक विजेता प्रतिभा माली, सलिना श्रेष्ठ, रेश्मा भण्डारी तथा प्रशिक्षकद्वय कराँतेका वीरकृष्ण शाही र बक्सिङका दीपक महर्जनलाई पनि सम्मान गरिएको थियो ।

चन्द्रागिरि नगरपालिकाको भवन उद्धाटन समारोहको स्वागत मन्तव्य उप–प्रमुख लिशा नकर्मीले गरेकी थिइन् । त्यस्तै, वडा नं. १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले सबैलाई धन्यवाद व्यक्त गरेका थिए । उद्धाटन समारोहको कार्यक्रम सञ्चालन नगर प्रवक्ता एवम् वडा नं ११ का वडा अध्यक्ष हरिभक्त महर्जनले गरेका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ २४, १६: ३५

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ २४, १६: ३५

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ २४, १६: ३५

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...