आजबाट भक्तपुरको प्रसिद्ध विस्का जात्रा सुरू – Naya Bikalpa
March 29, 2024, Friday

आजबाट भक्तपुरको प्रसिद्ध विस्का जात्रा सुरू

काठमाडौं । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तौमढीस्थीत (न्यातापोला) पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ ।

विस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ । रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ ।

जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने गर्दछन् । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । जात्राको दोस्रो दिन शून्य भनिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ ।

उक्त बलिपूजाको मासु प्रसादका रूपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ । बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ ।

बिस्का जात्राको पाँचौँं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ । बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ । जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पु¥याई जात्रा सम्पन्न गरिन्छ । नौ दिनसम्म चल्ने जात्राका लागि आवश्यकताअनुसार सुरक्षाकर्मी परिचान गर्ने पूरा तयारी भइसकेको भक्तपुरका महानगरीय प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले जानकारी दिए ।

जात्राका लागि ९५० नेपाल प्रहरी, ४०० सशस्त्र प्रहरी परिचालन गरिने र आवश्यकता परे थप सुरक्षाकर्मी परिचालन गर्ने गरी तयारीसहित जात्रामा उच्श्रृृङ्खल गतिविधि गर्ने र हुलदङ्गा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरूपमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
  • २०७८ चैत्र २७, ११: ४६

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको...

काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
  • २०७८ चैत्र २७, ११: ४६

काठमाडौं । संघीय राजधानी काठमाडौंको मुख्य नाका चन्द्रागिरि नगरपालिकास्थित वडा नं. २ वाणभञ्ज्याङको कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा यही चैत...

सर्वोच्चको आदेशः पशुपति क्षेत्रमा गाडी चल्न,शव गाड्न वैकल्पिक ठाउँ खोज्नुपर्ने
सर्वोच्चको आदेशः पशुपति क्षेत्रमा गाडी चल्न,शव गाड्न वैकल्पिक ठाउँ खोज्नुपर्ने
  • २०७८ चैत्र २७, ११: ४६

  काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।...