डा.दीपकप्रकाश बास्कोटाको “निष्ठाको यात्रा” ले देखाएको बाटो | Naya Bikalpa
December 5, 2022, Monday

डा.दीपकप्रकाश बास्कोटाको “निष्ठाको यात्रा” ले देखाएको बाटो

कृष्णप्रसाद खनाल

डा.दीपकप्रकाश बास्कोटाले नेपालीमा अनुवाद गर्नुभएको श्री शङ्कराचार्य उपदेशामृत पढेर भर्खर सकेको थिएँ । विशेष कामले गतवर्ष चैत्रमा भेट गर्न उहाँकै निवास, वास्तु भवन लगनखेल गएकोबेला उहाँले तीनवटा महत्वपूर्ण पुस्तकहरू मलाई साभार गर्नुभएको थियो । तीमध्ये महर्षि सन्देश, श्री शंङ्कराचार्य उपदेशामृत र भाभातीत ध्यान विशेषाङ्क थिए । मैले उहाँलाई सफल राजनीतिज्ञ, सहकारीका अभियन्ता र आध्यात्मिक क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति भन्ने थाहा थियो । भौतिक रुपमा भेटघाट गर्ने र परिचय गर्ने मौका मिलेको भने थिएन । उहाँसँगको एक घण्टाको परिचयात्मक बसाइमा जेजति कुराहरू भए ती अति सान्दर्भिक र जीवनोपयोगी थिए । यसैक्रममा उहाँको “निष्ठाको यात्रा” नामक पुस्तक लोकामणिको जानकारी पाएपछि कार्यक्रममा सहभागी हुन कौतुहल लागिरहेको थियो । २०७९ साउन १२ गते राष्ट्रिय सभागृह, काठमाडौंमा एक विशेष कार्यक्रममा नेपाली कांग्रेसका नेता केवी गुरुङ्गबाट लोकार्मण गरिएको कार्यक्रममा विशिष्ट अतिथि मेरा गुरू पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीलाई देखेर कार्यक्रमको रौनकता विशिष्ट हुनेमा ढुक्क थिएँ । कार्यक्रममा नेता शेखर कोइरालाको पनि उपस्थिति थियो । लोकार्पण गरिएको “निष्ठाको यात्रा” एक हप्तामा पढेर सकें । विभिन्न विषयमा डा. बास्कोटासँग सम्बन्धित ३२ शीर्षकमा पुस्तक तयार गरिएको रहेछ । सबै शीर्षकहरू उत्कृष्ट छन् र तीनले खोजेको डा.दीपकप्रकाश बास्कोटाको जीवनको सार्थकता झल्काएका छन् । एकसरो किताब पढिसकेपछि भारतका पूर्व प्रधानमन्त्री अटलविहारी वाजपेयीले भनेको महत्वपूर्ण कुराको याद आयो । “निष्ठाको यात्रा” को निष्पक्ष पाठक भएर उहाँलाई वाजपेयीको यो भनाइसँग जोड्न मन लाग्यो । ‘इंसान बनो, केवल नाम से नहीं, शक्ल से नही हृदय से, बुद्धि से, संस्कार से, ज्ञान सें’ । यो भनाइका प्रतिक डा.बास्कोटा आफूलाई चिनाउन सफल हुनुभएको मैले पाएँ । उहाँ जस्तो स्थापित व्यक्तित्वको म समीक्षा गर्ने औकातको मान्छे होइन । तर पनि राजनैतिक शास्त्रको विद्यार्थी भएकोले दार्शनिक, राजनीतिज्ञ र विद्वानहरूका बारेमा जान्न उत्सुक भएकोले डा.दीपकप्रकाश बास्कोटाका बारेमा केही नलेखी बस्न मन लागेन ।

डा.दीपकप्रकाश बास्कोटालाई उक्त पुस्तकको अध्ययनपछि जानेको र बुझेको कुरा यहाँ संक्षेपमा समेट्न खोजेको छु ।
दीपकप्रकाश बास्कोटाले आफ्नो आत्मकथाको हार्दिक समर्पणमा उहाँलाई आजीवन राजनीतिक संरक्षकत्व प्रदान गर्ने, उहाँले प्रारम्भ गरेको विकास मोडेल ‘कंचनजंघा टि–इस्टेट’ लाई मान्यता प्रदान गर्दै त्यस्ता सबै कृषि कार्य सहकारिताको माध्यमबाट हुनुपर्छ भनी उत्प्रेरित गर्ने आदिका महानायक नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति भनेर अर्पण गर्नुभएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री बी.पी. कोइरालाबाट प्रभावित भएर राजनीतिमा होमिनुभएका डा.बास्कोटा राजनीतिमै स्थापित हुनुभयो । बी.पी.बाट आर्थिक अनुशासनको पाठ सिक्नुभएका डा.बास्कोटा दृष्टान्त दिँदै भन्नुहुन्छ– केवी गुरुङसँग कालिङपोङबाट इलाम फर्कने क्रममा बाटो खर्च माग्न वीपीलाई भन्दा रामबाबुसँग वीपीले लाग्ने खर्च हिसाब गरेर फिर्ता गर्ने समय समेत यकिन गराएर दिन भन्नुभएछ । वीपीको आर्थिक अनुशासनको पालना आफु सांसद र मन्त्री हुँदा पनि डा. बास्कोटाले पालना गरेको आफ्नो आत्मकथामा उल्लेख गर्नुभएको छ । पूर्वप्रधानमन्त्री गिरिजप्रसाद कोइरालाबाट राजनीतिक प्रतिज्ञा र अडान सिक्नुभएका डा. दीपकप्रकाश बास्कोटाले एउटा गहकिलो दृष्टान्त पेश गर्दै भन्नुहुन्छ– युरोप भ्रमणका क्रममा जर्मनीका चान्सलार विलीब्राटलाई गिरिजाप्रसाद कोइरालासँगको भेटमा ब्रान्टले भनेछन्, कोइराला सत्तामा कि त मानिस बुलेटबाट जान्छन् कि त ब्यालेटबाट । तिमीहरूले बुलेट पनि इन्डियामा छाडेर आयौ, ब्यालेट पनि हा¥यौ । अब कसरी सत्तामा पुग्छौ ? भन्ने प्रश्नको उत्तर दिँदै डा.बास्कोटालाई गाउँका जनतासँग मिलेर गाउँ गाउँ जाने, उनीहरूसँग मिलेर काम गर्ने र राजनीति त्यही गाउँमा गर्ने, समस्या समाधान गाउँमै गर्ने, उनीहरूको विकाससँगै काम गर्ने त्यसपछि गाउँका जनताले माया गर्छन् र चुनाव जित्न सकिने महत्वपूर्ण कुरा बताउनुभएछ । गिरिजाप्रसाद कोइरालाका ती कुराबाट प्रभावित भएर सहकारी र चिया उद्योगको स्थापना गर्दै डा.बास्कोटाले माध्यमिक विद्यालय, डेरी उद्योग, वाटर टर्वाइन, हातेकागज उद्योग खोल्दै जनतासँग नजिक भएर व्यवहारमा नै उत्रेर काम गर्न थाल्नुभएछ ।

वि.सं. २००५ सालमा पाँचथरको रानीटारमा जन्मनुभएका डा.बास्कोटा आफ्नो पुर्खाको इतिवृत्तान्त स्मरण गर्दै आफू सन्तानमा कान्छो भएको तर मातापिता र दाजुहरू परलोक भैसकेको उल्लेख गर्नुहुन्छ । २०२४ सालमा एसएलसी उत्तीर्ण गर्नुभएका डा.बास्कोटा सुरुमै कक्षा ७ मा भर्ना भएर त्यसको १७ महिनामै एसएलसी परीक्षा दिएको स्मरण गर्दै पढाइमा तिक्ष्ण भएको कुरा उहाँ व्यक्त गर्नुहुन्छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ बासीहरूको पायक पर्ने भारतका सिक्किम, दार्जिलिङ, आसाम घुम्ने, रोजगारी उद्योगधन्दा व्यापार संचालन गर्न सहयोगी हुनाले डा.बास्कोटा पनि ती ठाउँहरू घुमेर नेपाल फर्केपछि गाउँमा चियावगान खोल्ने र खानेपानीको प्रबन्ध मिलाउने भिजन लिएर आउनुभएछ । इलाम कलेजका प्राचार्य भारत विहारका माक्र्सवादी कम्युनिष्ट पार्टिका नेता रहेछन् जसले गर्दा विद्यार्थीहरूलाई कम्युनिष्ट बनाउने क्रममा डा.बास्कोटाजीलाई पनि अखिलमा रहेर काम गर्न भनेपछि आफु नेपाल विद्यार्थी संघमा रहेर काम गर्न केवी गुरुङ्गले प्ररित गरिसकेकोले अखिलमा प्रवेश गर्ने कुरा अस्वीकार गर्नुभएको रहेछ । यही राजनैतिक प्र्रतिषोध साँधेर प्राचार्यले उहाँलाई तीनवर्षसम्म परीक्षामा सहभागी नहुने गरी रेष्टिकेट गरिदिएपछि उहाँलाई निकै तनाव भएछ । प्रतिशोध स्वरुप काठमाडौं गएर प्राचार्यलाई हटाउनेसम्मको काम गर्नुभएछ । यस कामलाई आफैले आफैलाई पश्चातापको रुपमा लिएको पाइन्छ ।
त्यसपछि उहाँले आफुले चियावगान स्थापनाको लागि गरेको प्रयासलाई गिरिजाप्रसाद कोइरालाले जर्मन चान्सलर विली ब्रान्टलाई भेटेपछि सम्वादबाट जन्मेको गाउँ जाने, गाउँका जनतासँग मिलेर काम गरेको कुरा प्रेरणाका रुपमा लिँदै डा.बास्कोटाले पाँचथरमा चियावगान सुरु गरेको उल्लेख गरेको पाइन्छ । गाउँका अव्यवस्थित स्कूललाई व्यवस्थित गराउन नयाँ नमुना मा.वि. स्थापना, वाटर टर्वाइनको स्थापना, कागज कारखाना, डेरीको संचालन गरेर एकैपटक पाँचवटा कामको सुरुवात डा.बास्कोटाले जतिपनि उद्योग र कामको थालनी गर्नुभयो ती सबै प्रत्यक्ष जनतासँग सम्बन्धित थिए । यसबाट मानिसहरूमा आफ्नो सेवा भाव प्रत्यक्ष अनुभव हुने र आफ्नो राजनैतिक स्वार्थ पूर्ति हुने गहकिलो माध्यम हुने शिक्षा गिरिजाप्रसाद कोइरालाबाट पाएको अनुभव गर्नुहुन्छ ।

नभन्दै चियावगानको थालनीसँगै गज्जवको एउटा संजोगको कुरा बताउँदै डा.दीपकप्रकाश बास्कोटा बताउनुहुन्छ कि, “राजा वीरेन्द्रले आफ्नो पूर्वाञ्चल भ्रमणको शिलशिलामा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमलाई चियाक्षेत्र घोषणा गरेछन् ।” आफ्नो चियावगानले पनि समर्थन पाउने भैहाल्यो र जनतालाई उत्प्रेरित गराउन हौसला मिलेछ । बास्कोटा कुशल योजनाकार र भविष्यद्रष्टा हुनुहुन्छ भन्ने कुरा उहाँले चियावगानलाई विस्तार गर्न ३६ लाखको एउटा योजना तर्जुमा गरेर ६ लाखमा एकहजार रोपनी जग्गा पाइने त्यो जमानाको सस्तो जग्गाको जोहो गर्नुभएछ । कुनै पनि योजना थालनी गरेको पाँचवर्षभित्र लगानी उठाउन नसके सफल नहुने व्यवसायिक धर्म उहाँले पुरा गर्नुभयो । उहाँका सबै योजना सफल भए । आफूले गरेको योजनामा जनताहरू, सहमत हुने र लागतखर्च अनुमानभन्दा बढी स्वीकार्ने जनमत तयार भएपछि डा.बास्कोटा खुशि हुनु स्वभाविक थियो ।

व्यवसायको थालनीको साथसाथै त्यसले सफलता पाएपछि डा.दीपकप्रकाश बास्कोटाको आँखा अब राजनीतितिर मोडिएछ । उहाँ त्यसपछि पुरै राजनीतिमा समर्पित हुनुभएछ । ३ वर्षसम्म कुनैपनि परीक्षा दिन नपाउने गरी रेष्टिकेट भएपछिको नजिताले अध्ययनमा ब्रेक लाग्ने नै भयो । त्यतिबेला पंचहरूको बोलवाला खपिसक्नु थिएन । उहाँको राजनीतिको आँखा २०२५ सालमा बीपी कोइराला जेलबाट छुटेपछि विराटनगर हुँदै धरान पुगेर वक्तव्य दिनुभएछ । बीपी फर्केर वनारस गएपछि नेपाल विद्यार्थीसंघको सम्मेलनमा नेपालबाट विद्यार्थीहरूको सहभागिता बढ्नेनै भयो । त्रि.वि. स्वतन्त्र विद्यार्थी युनियनका सचिव अर्जुननरसिंह केसीलाई पहिलोपटक इलाममा भेट गर्नुभएछ । २०२६ सालमा पहिलोपटक बास्कोटा गाउँपञ्चायतको वडा अध्यक्ष भएर काम गर्नुभएको रहेछ । वीपीको पनि प्रेरणा जुनठाउँमा रहेर काम गर्नुभएको छ त्यहि ठाउँबाट डेमोक्रायासीको काम गर्नुस भन्नेमा थियो ।

त्यतिबेला पाँचथरमा पंचायतका हार्डलाइनर पञ्चपद्मसुन्दर लावतीको बोलावालालाई सरकार, प्रशासक, अञ्चलाधिश सबैको समर्थन रहन्थ्यो । बास्कोटाले पद्मसुन्दर लावतीसँग जिल्ला पञ्चायत सभापति चुनावका प्रतिस्पर्धामा पराजय भोगेपछि लावतीलाई यो पटकको चुनावमा पहिलोपटक जती मत नपाएकोले आफू पराजित भएर पनि जितेको कुरा लावतीलाई बताउनुभएछ ।

वनारसमा निर्वासित जीवन बिताउँदै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहिरहेका बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले १४ जना कार्यकर्तालाई पठाएको चिठी लिएर आएका सूर्यमान गुरुङ्गलाई कांकडभिट्टास्थित बोर्डरमा समातेर उहाँले ल्याएका चिठिहरू अंचलाधिश कार्यालयमा बुझाइएछ । ती चिठी पाउनेमध्ये डा.दीपकप्रकाश बास्कोटा पनि हुनु भएकोले उहाँ गाउँमै रहेको अवस्थामा प्रहरीहरूले पक्रेर पाँचथर जेलमा लगेछन् । त्यसवापत् डा.बास्कोटालाई राजकाज मुद्दा लगाइएछ ताकि त्यही घटनामा अरुलाई शान्ति सुरक्षाको पूर्जी दिइएको रहेछ । डा.दीपकप्रकाश बास्कोटालाई राजकाज मुद्दा लगाएर जन्मकैद र मृत्युदण्डसम्म दिन खोजिएछ । यो राजनीतिक प्रतिशोध साँधेर तत्कालिन मन्त्री पद्मसुन्दर लावती र अन्चलाघीश छिरिङ तेन्जिङ लामाले दुःख दिन खोजेको बुझिन्छ । संजोगबस पद्मसुन्दर लावती र अन्चलाधीश छिरिङ तेन्जिङका बिचको मतभेदले त्यो डरलाग्दो सजाय पाउने अवस्थाबाट डा.बास्कोटा मुक्त भएको उल्लेख छ । यहाँनेर तत्कालिन अंचलाधीश छिरिङ तेन्जिङ लामाले डा.बास्कोटालाई भनेका शब्दहरू घत लागेकाले साभार गर्न मन लाग्यो “तिमी मेरो छोराजस्तो मान्छे हौं दीपक । तिम्ले देश, काल र परिस्थितिअनुसार राजनीति गर्नु । म पनि २०१५ सालमा कांग्रेशको मतदाता हुँ । आज अन्चलाधीश छु । तिमीले चुरीफुरी गर्दैमा पञ्चायत शासन उल्टिदैन । त्यस्तै परिस्थिति आयो भने उल्टिन्छ पनि होला । अब तिमी गाउँमा गएर विकास र निर्माणको काम गर्नु । तिम्रो जिल्लाको लावतीले मलाई यसो–यसो भनेका थिए । तर, अब त त्यसलाई सहयोग गर्ने पक्षमा म छैन । तिमी जिल्लामा गएर कामगर्न थाल । यदि म अर्को चुनावसम्म अञ्चलाधीश, रहिरहें भने तिम्लाई राष्ट्रिय पञ्चपातको चुनावमा जिताएर छाड्छु ।” अञ्चलाधीशले यति भनेपछि ६ महिना जेलजीवन बिताएर डा.बास्कोटा पाँचथर घरमा फर्कनुभएछ ।

परिस्थितिले मानिसलाई कता डो¥याउँछ भन्न सकिन्न । राजनीति गर्दाको परिणाम राजकाज मुद्दा लगाएर आजीवन कारावास वा मृत्युदण्डको साजय भोग्नबाट उम्केर उहाँ समीक्षा साप्ताहिकमा पुग्नुभएछ । २०२६÷२०२७ सालमा एउटा विद्यार्थी सम्मेलनमा भाग लिन काठमाडौं जाँदा डा.बास्कोटाको समीक्षा साप्ताहिकका सम्पादक मदनमणि दीक्षितसँग भेट भएछ । आफ्नो रुचि पत्रकारितामा काम गर्ने सुनाएपछि त्यही सम्मेलनको रिपोर्ट लेखेर देखाउन भनेअनुसार सो रिपोर्ट दीक्षितलाई दिएपछि “सरकारले मेरो पत्रिकालाई कालोसूचिमा राखेको हुँदा विज्ञापन पाइदैन । त्यसैले स्वयंसेवी भएर सहयोग गर्न”भनेर डा.बास्कोटालाई देशभरिको कार्यक्षेत्र हुने गरी सूचना विभागको परिचयपत्र दिलाइदिनुभएछ । पद्मसुन्दर लावतीसँग प्रतिशोध राखेर छापिएका समाचारकै कारण पत्रिका बढी संख्यामा बिक्री भए पनि त्यस किमिसको प्रतिशोधात्मक लेखाइ आफैलाई मन नपरेको कारण आत्मग्लानी डा.बास्कोटाले महसुस गर्नुभएछ । प्रजातन्त्रको आन्दोलनमा लडिरहँदा बास्कोटा २०३६ सालको जनमत संग्रहमा निलो रंग अर्थात बहुदलीय व्यवस्थाको पक्षमा उभिएर जिल्लामा विभिन्न कामहरू गर्नुभएछ । सफल व्यक्तिलाई विरोधीहरूले रुचाउँदैनन् । त्यसैक्रममा उहाँको सफल राजनीति देखेर काल्पनिक मुद्दा लगाउने र ज्याननै लिने हर्कत जस्ता कुरा विरोधीले गरेछन् । खुकुरी उज्याएर आफ्नै घर बनाउने साइला भन्ने व्यक्तिले उहाँलाई मार्न लगाइएछ । चिनजानको व्यक्ति आफैलाई मार्न आएको देखेर ‘ए साइला’ भन्ने वित्तिकै उसले मार्ने आँट नगरेको डा.बास्कोटा बताउनुहुन्छ । यसरी बहुदलको पक्षमा लागेर भोग्नुपरेको व्यथा त छँदै थियो, निर्दलले जितेपछिको आतङ्क र उच्छृंखलता सहिसक्नुथिएन । बहुदलमा लागेका नेपाली कांग्रेशका नेता कार्यकर्तालाई विभिन्न खाले झूठा मुद्दा लगाएर दुःख दिन थालियो । २०४२ सालमा नेपाली कांग्रेशले संचालन गरेको सत्याग्रह कार्यक्रममा सिंहदरबारमा बम विस्फोट गराइयो र लमजुङ जिल्लाबाट राष्ट्रिय पंचायतमा प्रतिनिधित्व गर्ने रा.पंस. डम्बरजंग गुरुङको बम विस्फोबाट मृत्य भयो । (सो डम्बरजंग गुरुङको कुरा पुस्तकमा लेखिएको छैन) कांग्रेसले नेतृत्व गरेको विभिन्न कार्यक्रममा डा.बास्कोटाले नेतृत्व गरेको उल्लेख छ ।२०५१ सालको मध्यावधि निर्वाचनमा डा.बास्कोटा विजय भएपछि गिरिजाप्रसाद कोइरालाले उहाँलाई गरेको विश्वास सार्थकतामा परिणत भयो । गिरिजाप्रसाद कोइरालाले मन्त्रीको लागि सक्षम ठानेका डा.बास्कोटालाई राज्यमन्त्रीमा शिफारिस गर्दैगर्दा सहायकमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो असन्तुष्टि व्यक्त गरेको अवस्थामा त्यतिबेलै अविश्वास प्रस्ताव सामना गर्नुप¥यो । त्यसपछिको लोकेन्द्रबहादुर चन्द्र प्रधानमन्त्रीको पालामा आफू गृहराज्यमन्त्री भएर उत्कृष्ट काम गर्नुभएछ । गृहमा सहकायकमन्त्री र राज्यमन्त्री भएर नेपाल प्रहरी लगायत गृह प्रशासनमा गरेको सुधार, यहाँबाट प्राप्त गरेको विश्वास र इमान्दारीताको लागि राजा वीरेन्द्रसँग भेट गर्ने अवसर पाउनुभएका डा.बास्कोटाले राजा वीरेन्द्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय शान्ति सुरक्षा बारे, गृहमन्त्रीको काम कर्तव्यका बारेमा डा.बास्कोटालाई सुझावहरू प्राप्त भएछन् । यसरी राजाले मन्त्रीलाई भेट दिएर राज्य संचालनका गहन विषयमा छलफल र मार्ग दर्शन गरिने कर्मप्रति बास्कोटाजीको व्यक्तित्व झल्किन्छ । २०५२ सालदेखि सुरु भएको माओवादीको शसस्त्र आन्दोलनमा तत्कालिन प्रधानमन्त्री देउवा उनीहरूलाई पेलेरै जानेपक्षमा थिए । तर राजनीतिमा खारिएका, गिरिजाप्रसाद कोइरालाको विवश्वास पात्र बन्न सफल भएका र गृहमन्त्रालयमा रहेर सहायकमन्त्री र राज्यमन्त्रीका रुपमा कुशल भूमिका निभाइसक्नुभएका डा.बास्कोटा भने माओवादीसँग वार्ताको माध्यमबाट अगाडि बढदै समस्या हल गर्ने पक्षमा हुनुहुन्थ्यो । माओवादी समस्या हल गर्ने सम्बन्धमा डा.बास्कोटाले गिरिजाप्रसाद कोइरालालाई जानकारी गराएर विश्वास दिलाएका विभिन्न अवस्थाहरू रहेछन् ।

राजनीतिमै रहेर डा.बास्कोटाले आफूलाई सहकारी र आध्यात्मको क्षेत्रमा प्रवेश गर्न थाल्नुभएछ । सायद राजनीति प्रतिको वितृष्णाले त्यसो भएको होला भन्ने मलाई लाग्छ । महर्षि महेश योगीको ‘भावातीत ध्यान’ ले मान्छेलाई सही मान्छे बनाउँछ भने विश्वास लागेर भावतीत ध्यान र सहकारीको लक्ष्यलाई अगाडि बढाउँदै जानुभयो । गिरिजाप्रसाद कोइरालाले फिदिममा चियाको विकासका लागि जे गरेका छौ, सहकारीबाट पनि देशभर त्यस्ते गर्नुपर्ने भनेको कुराले डा.बास्कोटालाई साह्रै छोएछ र त्यसबाट उर्जा मिलेको भन्दै त्यो उर्जा शक्तिबाट २०–२० वर्ष सहकारी क्षेत्रमा सफलापूर्वक स्वयमसेवी भएर काम गरेको बताउनुहुन्छ । गाउँदेखि केन्द्रसम्म संगठन गर्दै सहकारी महासंघको १७ वर्ष अध्यक्ष भएको कुरा प्रसन्न हुँदै बास्कोटा बताउनुहुन्छ । यतिमात्र होइन सहकारीको ऐन, नियम, नीतिको मस्यौदा, गाउँदेखि केन्द्रसम्म सहकारीको संगठनको स्थापना र स्थायी व्यवस्था नभएसम्म साझा केन्द्र २०१८ ले गर्दै आएको काम कारबाही राष्ट्रिय सहकारी बोर्डले गर्ने भन्ने थिए । यी सबै त्यतिबेला २०४८ मा संसदबाट पास भएका रहेछन् । राष्ट्रिय सहकारी संघको तदर्थ समिति गठन हुँदा त्यसको नेतृत्व पनि बास्कोटाले पाएपछि संघको नेतृत्व पनि उहाँले नै सम्हाल्नुभएछ । ऐन, नियमको व्यवस्था गरेर सहकारी संघलाई स्थापित गरेपछि कृषि क्षेत्रमा सहमागीले फड्को मारेको प्रत्यक्ष हेर्न जापान जानुभएका डा.बास्कोटाले त्यहाँका कृषकले कृषि पेशा अपनाएपछि उसले अन्यत्र भौतारिन नपर्ने र कृषिले उसलाई पुरै आत्मनिर्भर बनाउने रहेछ । न त कृषकले बिउको समस्या, मलको अभाव, बजारको अभाव सबै सहकारीमार्फत सरकारले कृषकलाई उपलब्ध गराउने रहेछ ।
सहकारीलाई विकास र समुन्नत बनाए पछि डा.बास्कोटा अस्वस्थ भएर उपचार गराउँदै गर्दा महर्षि महेश योगीले स्वीजल्र्यैन्डबाट एकजना ब्रम्हचारी वैज्ञानिक उस स्ट्रवल मार्फत ध्यान सिकाउन नेपाल आएको कुरा बताएछन् । महर्षिले तयार पार्नुभएको “अमृतकलश” नामक रोग प्रतिरोधी औषधी १२–१५ वटा रोगलाई निकोपार्छ भनेर महिनामा एउटा खानेगरी दिनुभएछ । केही दिन ध्यान सिकाएर उहाँ फर्कनुभएछ । डा.बास्कोटालाई तनावको कारणले अस्वस्थ भएको र त्यसको व्यवस्थापन गर्न ध्यानले सम्भव छ । आयुर्वेदको ज्ञान पनि चाहिन्छ भन्नुभएछ । दिल्ली जान सम्झाउनुभएछ । दिल्लीमा गएर डा.बास्कोटाले राजवैध त्रिगुणसँग भेट गरेपछि राजवैद्यले ३ मिनेट मात्र समय दिनुभएछ किनभने कुनै पनि विरामीले उहाँबाट १ मिनेटभन्दा बढी समय नपाउने रहेछ । राजवैद्यले डा.बास्कोटाको नाडी समातेर दाहिने हातले लेख्न थाल्नुभएछ । मुटु र रक्तचापको समस्याबाट जीवनभर होसियार रहनू भन्दै अरु समस्या पनि बताउँदै जानुभएछ । गर्ने नगर्ने काम र खाने नखाने कुराको विवरण पछि उपलब्ध गराइदिनुभएछ ।

राजगुरुको कुरामा आत्मविश्वास भएपछि डा.बास्कोटाले सेवन गरिरहेका औषधि फालेर राजवैद्यले भनेका कुरामा अनुशासनमा बस्ने प्रण गनुृभएछ । पछि सन् १९९७ मा अन्तर्राष्ट्रिय सहकारी संघको सम्मेलनमा जेनेमा जाँदा डा.बास्कोटा वेलायत जर्मनी हुँदै भ्लोड्रममा (जर्मनी र नेदरल्यान्ड) महर्षि महेश योगी बसेको ठाउँमा पुग्नुभएछ र त्यही डा.बास्कोटाजीलाई महेश योगीले भेट दिनुभएछ ।

भावातीत ध्यान अत्यन्तै महत्वपूर्ण ध्यान रहेछ । भावातीत ध्यान गर्नेहरूलाई त्यो ध्यानले के गर्छ होइन, के गर्दैन भन्ने रहेछ । बुझ्दा हुने रहेछ । स्वस्थ जीवनका लागि, बौद्धिक विकासका लागि, पाचन प्रकृयालाई सहज बनाउनका लागि, नाडी सोधनका लागि, समाधिस्थ हुनका लागि यो ध्यान अत्यन्तै उपयोगी रहेछ । आदि कुराहरूको अध्ययन गरेर डा.बास्कोटाले सन् २००० देखि भावतीत ध्यान सुरु गरेको उल्लेख गर्नुहुन्छ । महेश योगी मार्फत डा.बास्कोटाले नेपालमा यज्ञ गरेपछि सात राजनैतिक दल र सरकार बिच १२ बुँदे सहमति भएको कुरा विश्वास गर्नुृहुन्छ । त्यसपछि संविधान सभाको निर्वाचनको घोषणा भएछ । माओवादीको हातहतियार व्यवस्थापन, नगरी संविधानसभाको निर्वाचनमा जानुहुँदैन भन्ने डा.बास्कोटाको कुरालाई गिरिजाप्रसाद कोइरालाले त्यति महत्व नदिएको स्थिति रहेछ । विगतका तीन तीनवटा निर्वाचनमा सांसदको टिकट प्राप्त गरेर गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र बन्नुभएका डा.बास्कोटा अब पछिका दिनहरूमा निर्वाचनको टिकट नलिने कुरा कोइरालालाई बताउनुभएछ । सायद डा.बास्कोटालाई भावातीत ध्यानबाट ठूलो प्रभाव र विश्वास परेको पनि हुनसक्छ । अर्कोतर्फ डा.बास्कोटाले भन्नेगरेका यथार्थ कुराहरूको गिरिजाप्रसाद कोइरालाले महत्व नदिएर पनि हो कि भन्ने अनुमान गर्न सकिन्छ । सन् १९९९ तिरको कुरो हो डा.बास्कोटाले महर्षि महेश योगीलाई भेटगर्दै भन्नुभएछ, ‘तपाइको ज्ञानबाट मैले धेरै लाभ लिएँ, त्यो लाभ अरु नेपालीलाई पनि दिलाउन चाहान्छु’ भनेर तपाइको आशीर्वाद लिन आएको हुँ । त्यसपछि महर्षि खुशी भएर नेपालमा भावातीत ध्यानकेन्द्र स्थापना गरी ध्यान सिकाउनका लागि डा.बास्कोटालाई अनुमति दिनुभएको कुरा उल्लेख छ ।

यस पुस्तकमा धेरै क्षेत्र समेटिएका छन् । धेरै विषयवस्तुको विशेषता भएकोले शोधकार्यमा लागेका व्यक्तिहरूले यस पुस्तकको रोजाइमा पर्न सके वेश हुने थियो । माथिनै भनिसकियो कि डा.बास्कोटाले चिया वगानको स्थापना गरेर चिया खेती सुरु गरिसक्नुभएको सन् १९९५ मा कञ्चनजंघा टी स्टेटेको परीक्षण उत्पादन गरेपछि १९९२÷१९९३ देखि अर्गानिक प्रविधिमा गएर सर्टिफिकेशन भएपछि युरोपमा अर्गानिक चिया निर्यात गर्न थाल्नुभयो । आफू यूरोप जाँदा ती चियाहरू महङ्गो हुने धारणा राख्ने भए पनि पठाइदिन आग्रह गर्ने गरेको उहाँ बताउनुहुन्छ । नेपाललाई अर्गानिक मुलुक बनाएर पर्यटनमा देश विकास गर्न सकिने महत्वपूर्ण कुरा डा.बास्कोटा राख्नुहुन्छ ।

निष्कर्ष : डा.दीपकप्रकाश बास्कोटाको “निष्ठाको यात्रा” ले मार्गदर्शन गरेका महत्वपूर्ण कुराहरू यस छोटो लेखबाट खुल्न सक्दैन । तर पनि यस पुस्तकमा उहाँले प्रस्तुत गर्नुभएका घटनाक्रम सरसर्ती हेर्दा निकै महत्वपूर्ण छन् र तीनबाट सार लिएर हामी अगाडि बढ्यौं भने पुस्तकले दिन खोजेको सन्देश वा डा.दीपकप्रकाश बास्कोटाबाट धेरै सिक्न सक्छौं ।
(खनाल एपोलो अफसेट प्रेस प्रा.लि. का संचालक हुनुहुन्छ ।)

 

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ भाद्र १३, ११: ३४

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ भाद्र १३, ११: ३४

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

सत्ता गठबन्धनले जनमत पार्टीको सहयोगमा बहुमतको सरकार बनाउने
सत्ता गठबन्धनले जनमत पार्टीको सहयोगमा बहुमतको सरकार बनाउने
  • २०७९ भाद्र १३, ११: ३४

काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै सत्ता गठबन्धन दलका शीर्ष नेताले सत्ता गठबन्धनलाई...