गठबन्धन एमालेको विरुद्ध कि कांग्रेसलाई उम्मेदवार उठाउन छेक्ने संयन्त्र ? | Naya Bikalpa
December 5, 2022, Monday

गठबन्धन एमालेको विरुद्ध कि कांग्रेसलाई उम्मेदवार उठाउन छेक्ने संयन्त्र ?

१.नयाँ संविधान घोषणा पछिको दोस्रो आम निर्वाचन पनि अब धेरै नजिक आउन थालेको छ र दलहरु आफ्ना उम्मेदवार चयनमा केन्द्रित भएका छन् । स्वाभाविकै हो । जनतामा देखिएको निराशा, जिज्ञासा, कुण्ठा, मौनक्रान्तिको चाहना सबैको उत्तर आगामी मंसिर ४मा आउने अपेक्षा गरिएको छ ।

२. त्यसो त निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यपछि नै नेपालको दुरावस्थाको अन्त्य हुने कल्पनामा हजारौँ नेपालीहरु निरंकुश व्यवस्थाका विरुद्धमा लागे, सहादत प्राप्त गरे, कति जेलमा सडे, कति अपाङ्ग भए, कतिको जीवन एउटा अनकण्टारमा हरायो । र पनि राजाको निरंकुशताका विरुद्धमा लागिरहेका जमातले एकदिन पञ्चायतको विकल्पमा वहुदलीय व्यवस्थाको पुनस्र्थापना गरेरै छाडे । तर मुलुकमा पञ्चका ठाउँमा अरु शासकहरु आए तर मुलुकको कायापलट भएन भन्ने गुनासो रह्यो । त्यसको बदलामा वहुदलीय व्यवस्थाको विकल्पका लागि भनेर तत्कालीन नेकपा माओबादीले जनयुद्धको प्रायोजन ग¥यो , प्रकारान्तरमा जुन वहुदलीय व्यवस्थाको विरुद्ध जनयुद्ध गरिएको थियो, त्यसैसँग मिलेर जनआन्दोलन गरेर राजाको निरंकुश शासनको विरुद्धमा नयाँ जनआन्दोलन भयो । अन्ततः राजतन्त्रको नै अन्त्य भयो र गणतन्त्र नेपालको स्थापना भयो । निरंकुश राजतन्त्रको अन्त्यपछि संविधान सभाको निर्वाचन भयो र पहिलोपटकको संविधान सभाबाट संविधान निर्माण हुन सकेन र दोस्रोपटक निर्वाचन भयो । नेपाली कांग्रेसमा तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा र समन्वयको कारणले २०७२साल असोज ३ गते संविधान सभाबाट संविधान घोषणा हुने साइत जुरेकै हो । नेपालको अव्यक्त चाहनाको रुपमा रहेको संविधान सभाबाट बनेको संविधानको घोषणा सम्भव भएकै हो । तर भनिन्थ्यो, संविधान सभाको निर्वाचनले नेपालको राजनीतिक समस्या स्वतः समाप्त हुनेछ । तर भएन । पहिलो संविधान सभा असफल मात्र भएन, संविधानको खाकासमेत दिन सकेको थिएन । तर नेपालको इतिहासमा कम्युनिस्ट पार्टीका चार चारओटा प्रधानमन्त्री भने बने । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई नामका चार चार जना नेताहरु प्रधानमन्त्री भए तर संविधानको एउटा धारा पनि लेखिएको थिएन ।

३.दोस्रो पटक संविधान सभाको निर्वाचन भयो, नेपाली कांग्रेसका नेता सुशील कोइरालाको नेतृत्वमा संयुक्त सरकार बन्यो र त्यो सरकारले समन्वय गरेर संविधान सभाबाट संविधान घोषणा गर्न सक्यो जबकि भारतका तर्फबाट ठुलो दबाब परेको थियो, तोकिएको समयमा घोषणा नहोस् । खासमा दुई वर्षको समयसीमा बनाएर २०६४सालमा संविधान सभाको निर्वाचन भएको थियो । संविधान सभाको पहिलो बैठकबाट दुई वर्षभित्रमा संविधान नेपाललाई दिइने सर्त थियो तर चार वर्षमा बरु स्वतः विघटन हुन पुग्यो । अर्थात् नेपाली जनताले संविधान सभाको निर्वाचनपश्चात् राजनीतिक समस्या समाधान स्वतः हुने जुन कल्पना र अपेक्षा थियो, त्यो पूरा भएन ।

४. संविधान घोषणा भएपछि जुन गणतान्त्रिक लोकतान्त्रिक संसदीय व्यवस्थाको अभ्यास भएको छ, त्यसको पनि पहिलो आम निर्वाचनपश्चात् राजनीतिक अस्थिरताको अन्त्य होला र मुलुकले विकासको गतिलाई तीब्रता देला भन्ने अपेक्षा थियो । प्रायोजितरुपमा भए पनि नेकपा एमाले र माओबादी केन्द्रका बिचमा नेपाली कांग्रेसलाई सत्तामा जानका लागि रोक्न र मुलुकमा पचासौँ वर्षसम्म कम्युनिस्ट पार्टीको एकछत्र राज्य अकण्टक गराउन भनेर एकता भयो, निर्वाचनमा करिब दुई तिहाइको सरकार पनि बन्यो । लागेको थियो, अब देशमा अस्थिरताको अन्त्य भयो, ठुला कम्युनिस्ट पार्टीहरु मिलेर सत्ता चलाउने छन् र मुलुक अविरलरुपमा विकासको गतिमा अगाडि बढ्ने छ । कतिपय प्रश्नको उत्तर सकारात्मकरुपमा पाउनका लागि , अन्य विवादास्पद कुरामा समेत तत्कालीन प्रधानमन्त्री तथा एकीकृत कम्युनिस्ट पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले दुई वर्षपछि सोध्नू भनेर बेला, समय, घण्टा र मिनेटसम्मको समयसीमा तोक्नु भएको थियो । तर २०७४साल मंसिरको निर्वाचनमा मिलेर उम्मेदवार उठाएका दुई ओटा ठुला कम्युनिस्ट पार्टीहरुले आफ्नौ एकीकृत पार्टी २०७६देखि चर्काउन थाले, २०७७साल फागुन २३मा संवैधानिकरुपमा नै अलग थलग भए र २०७८ असार २९गते त आफ्ना आफ्ना बाटो हिँड्दै नेपाली कांग्रेसको अपरिहार्य नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बन्न पुग्यो जसले अहिलेको दोस्रो आम निर्वाचन गराउँदै छ र २०७९साल बैसाख ३१गते सम्पन्न स्थानीय सरकारको निर्वाचन गराउन सक्यो निर्बिघ्न तरिकाले ।

५. प्रत्येक निर्वाचनाम भनिन्छ, अब मुलुक राजनीतिक अस्थिरतामा जाकिने छैन र यो निर्वाचनले नयाँ बाटो पहिल्याउने छ । त्यसो भनेको त २०१५सालको निर्वाचनदेखि हो । अहिले पनि अपेक्षा गरौँ, २०७९सालको निर्वाचनले पनि मुलुकमा राजनीतिक अस्थिरताको अन्त्य गर्नेछ र मुलुक आर्थिक क्रान्तिमा तल्लिन हुने समय आउने छ ।

६.तर गठबन्धन र नेकपा एमालेका बिचको प्रतिस्पर्धामा पनि के देखिन्छ भने गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु छान्न सकस परेको छ । निर्वाचन कसका बिचमा भइरहेको छ त ? एमालेका विरुद्धमा आम निर्वाचन हुँदैछ कि कांग्रेसका विरुद्ध ? किन कांग्रेसलाई सबै स्थानमा उठ्न छेकिँदैछ ? या एमालेको विगतमा देखिएको निरंकुशता फेरि नदोहोरियोस् भनेर गरिएको कसरत हो ? खासगरी १६५ र ३३० स्थानमा गठबन्धनका कारणले सरकारमा सँगै भएका दलहरु एकअर्कालाई छिर्की हान्दै, अझ नेपाली कांग्रेसलाई कमजोर बनाउने रणनीति तयार गरेर कांग्रेसलाई नै त्यसमा फसाउन खोजिरहेका देखिन्छन् । एकातिर कम्युनिस्ट एकताको कुरा गरिन्छ, अर्कोतिर एमालेलाई कमजोर गराउन कांग्रेससँग मिल्ने भनिन्छ जहाँ कांग्रेस स्वतः कम उम्मेदवार उठाउने बाध्यतामा हुनेछ र कतिपय स्थानमा आफ्ना उम्मेदवार विहीनतामा निर्वाचनमा होमिने छ । अहिले मुलुकभर आम निर्वाचन हुँदैछ कि एकअर्कालाई छेकेर निर्वाचनमा उम्मेदवार हुन रोक्ने षडयन्त्र हुँदैछ ?

७. के कुरा बिर्सनु भएन भने मंसिर ४ गते हुने यो आम निर्वाचन हो । प्रत्यक्ष र अप्रत्यक्ष समानुपातिक मतले निर्वाचित प्रतिनिधिहरुको समिश्रणबाट संसदहरुको गठन हुनेछ र त्यहीँबाट सरकार बन्नेछ । यसैले प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिहरुको निर्वाचन गर्नेछ । आगामी दिनमा मुलुकको योजना तयार गर्नेछ, शासन तथा प्रशासनको नेतृत्व गर्नेछ । भावी मुलुकको खाका तयार गर्नेछ । आगामी दशकमा नेपाल विकासोन्मुख देशको हाराहारीमा पुगेर गरिबी उन्मूलनको संघारमा पुग्नेछ र प्रत्येक वर्ष वार्षिक आय ५ हजार अमेरिकी डलरभन्दा बढी प्रतिव्यक्ति आय हुने देशको रुपमा विकसित हुनु परेको छ । अपेक्षा गरौँ अबको निर्वाचनले कम्तीमा पनि जनतालाई निराश बनाउने गरी जनप्रतिनिधिहरु छानिने छैनन् र उम्मेदवार बनाउने दलहरुले पनि त्यस्ता मानिसहरु संसदमा पठाउने छैनन् जो संसद बैठकमा नै जाँदैनन्, ऐनको मस्यौदाहरु नै पढ्दैनन् र मुलुकका बारेमा एकमिनेट पनि चिन्ता गर्दैनन् । अहिलेको प्रतिनिधि सभामा धेरैपटक हाजिर भएर भाग्ने सांसदहरुका कारणले संसदको बैठक स्थगित हुन पुगेको उदाहरणहरु देखिएका छन् ।

८.वधाइ तथा शुभकामना—युवा साहित्यकार, महाकाव्यकार डाक्टर नवराज लम्सालले अग्नि महाकाव्यका लागि २०७८सालको प्रतिष्ठित मदन पुरस्कार पाउनु भएकोमा वधाइ तथा शुभकामना दिन चाहन्छु । यसबाट हामी नेपालीहरुले पाएको नयाँ जोसका साथ समाज परिवर्तनका लागि समर्पित अग्नि महाकाव्यको बाटो यति सहज हुँदै जाओस् कि महाकविको रुपमा लम्सालको गणना होस् र राष्ट्रिय प्रतिष्ठित पुरस्कार र सम्मानका साथै अन्तर्राष्ट्रिय सम्मानसमेत मुलुकले लम्सालका माध्यमबाट पाउन सकोस् भन्ने अपेक्षासहितको शुभकामना व्यक्त गर्दछु ।

९. श्रद्धाञ्जलि तथा समवेदना—प्रसिद्ध समाजवादी चिन्तक तथा प्रतिनिधि सभाका सदस्य नेपाली कांग्रेसका नेता प्रदीप गिरिको भाद्र ४ गते भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धासुमन अर्पण गर्दछु र शोकसन्तप्त गिरि परिवारप्रति यो शोक सहन सक्ने क्षमता भगवानले दिऊन् भन्ने कामना गर्दछु । अपेक्षा गरौँ, स्वर्गीय गिरिका अन्य कृतिहरुको पनि प्रकाशन गर्न उहाँको आफ्नो दल तथा शुभचिन्तकहरुसँग अनुरोध छ ।

१०.र अन्त्यमा, नेपाली कांग्रेस कमजोर हुँदा प्रजातन्त्र कमजोर भएको देखिँदो रहेछ, राजनीतिमा विकृति देखिन थालेको रहेछ । त्यसैले आफ्नो पार्टीलाई कसरी बाहिरिया शक्तिको बढी प्रभावबाट जोगाउने र प्रजातन्त्रका पक्षमा सतीसालझैँ उभिने संस्थाको भविष्यका वारेमा आम प्रजातन्त्रवादीमा देखिएको चिन्ताप्रति त्यो दल आफैँ पनि चिन्तित होला भन्ने अपेक्षा गर्दै आगामी निर्वाचन स्वस्थ प्रतिस्पर्धा, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहना राख्नु प्रजातन्त्रका पक्षमा त होला नि , होइन र ? नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ भाद्र १९, १२: ०६

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ भाद्र १९, १२: ०६

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

सत्ता गठबन्धनले जनमत पार्टीको सहयोगमा बहुमतको सरकार बनाउने
सत्ता गठबन्धनले जनमत पार्टीको सहयोगमा बहुमतको सरकार बनाउने
  • २०७९ भाद्र १९, १२: ०६

काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै सत्ता गठबन्धन दलका शीर्ष नेताले सत्ता गठबन्धनलाई...