काभ्रे । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ ।
प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाईले बताए । मङ्सिरमै प्राविधिक प्रक्रियाको काम सकिनेछ भने पुसदेखि उडान थालिनेछ । सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परिरहेका बेला मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको हो ।
कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला तीन दिनसम्म परीक्षण उडान गरिएको थियो । त्यसपछि अन्य दुई समयमा पनि व्यावसायिकरुपमा उडानका लागि परीक्षण गरिएको थियो । उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले अनुमति दिइएको बताइएको छ । दैनिक १० उडान भर्न बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म अनुमति पाएको हुमागाईले बताए ।
तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने बताइएको छ तर, सुरुमा पाँच र त्यसपछि १० प्याराग्लाइडिङ सञ्चालन गरिने छ । प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवाले अध्ययन गरिरहेको हुमागाईले बताए । यस्तै प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा अवतरण हुन्छ । गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरी चार किलोमिटर हो ।
प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने अवतरण हुने स्थान बन्चरेटार एक हजार तीस सय मिटरमा छ । पनौती नगरले पनि आर्थिक वर्ष २०७९÷८० मा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ । यो वर्ष हाइकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्न आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै साहसिक खेलजन्य गतिविधिको प्रवद्र्धनार्थ प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, साइक्लिङलगायत सञ्चालन गरिने योजना छ । नगरले यसअघि गत वर्ष चैतमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङको सुरुआत गरेको थियो । उक्त साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नम्बर वडाको नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ ट्रेल रुट तय गरिएको छ ।
नगरको आयोजनामा ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानडा र भारतका करिब दुई सय राइडरले साइक्लिङ गरेका थिए । यसैगरी नेपाल पर्यटन बोर्डले गत वर्ष असोजमा पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको थियो । यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्रीसमेत सार्वजनिक गरेको छ ।
यस्तै, साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको उल्लेख गर्दै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको थियो । बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल, साँगा–पनौती हाइक, गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), चराको दृष्यावलोकन, योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग र जात्रा–मेला अवलोकन गर्न सकिने छ ।
काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेद्धारा भ्रष्टाचार गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षकविरुद्ध झण्डै साढे चार...
सिन्धुली । सर्पको टोकाइबाट एकै घरका दाजु-भाइको मृत्यु भएकाे छ । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले टाेकेर एकै परिवारका दुई...