सत्ता गठबन्धनले जनमत पार्टीको सहयोगमा बहुमतको सरकार बनाउने | Naya Bikalpa
February 7, 2023, Tuesday
कांग्रेस ३ र माओबादी केन्द्रले २ प्रदेशको नेतृत्व लिने बाँकीमा सहमति खोजिँदै

सत्ता गठबन्धनले जनमत पार्टीको सहयोगमा बहुमतको सरकार बनाउने


काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै सत्ता गठबन्धन दलका शीर्ष नेताले सत्ता गठबन्धनलाई नै निरन्तरता दिने भएका छन् ।

प्रतिनिधि सभातर्फको प्रत्यक्ष निर्वाचनतर्फ एक सय १६५ निर्वाचन क्षेत्र मध्ये हालसम्म १६४ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस सदनको सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ । नेपाली कांग्रेसले हालसमम ५७ निर्वाचन क्षेत्रमा विजय हासिल गरेर पहिलो पार्टी बनेको छ । उसले सत्ता गटठबन्धनमा आबद्ध दलहरुको सहयोगमै पुनः सरकार निर्माण गर्न पहल समेत गरेको छ ।

सत्ता गठबन्धनमा आबद्ध दल माओबादी केन्द्रले हालसम्म १७ संघीय संसद सदस्य निर्वाचित गर्न सफल भएको छ भने नेकपा (एकीकृत समाजबादी)ले १०, लोकतान्त्रिक समाजबादी दलले ४ र राष्ट्रिय जनमोर्चाले १ सिटमा जीत निकालेको छ । बागमति प्रदेशको दोलखामा भएको पछिल्लो मत गणना अनुसार माओबादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरुले प्रत्यक्षमा ८८ स्थानमा मात्र जित निकाल्न सफल भए ।

सत्ता गठबन्धनमा आबद्ध दलहरुले गत मंसिर ४ गते भएको संघीय संसद र प्रदेश सभा सदस्य निर्वाचनमा तालमेल गरेर चुनावी मैदानमा होमिएका थिए । पाँच दलमध्ये नेकपा एस, लोसपा र राजमोले निर्वाचन कानून बमोजिम सद्दर मतको ३ प्रतिशत अर्थात थ्रेस होल्ड कटाउन सक्ने अवस्था देखिँखदैन । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले खसेको मतको करिव दुई दशमलव ९० प्रतिशत मात्र मत ल्याए पनि थ्रेस होल्ड कटाउने अवस्था देखिँदैन ।

थ्रेस होल्ड कटाएका दल नेपाली कांग्रेसले करिव ३२ र माओबादी केन्द्रले करिव १४ सिट समानुपातिक प्रणालीबाट पाउने अनुमान गर्न सकिन्छ । यसरी गठबन्धआबद्ध दलहरुको प्रतिनिधिसभामा उपस्थित हुने सङ्ख्या प्रतिनिधिसभाको जम्मा सङ्ख्या तीन सय ३० को ५० प्रतिशत कटाउन अर्थात बहुमत ल्याउन तीनदेखि चार सिट अपुग देखिन्छ ।

प्रतिनिधिसभामा बहुमत पुर्याउन कुनै पनि दलको नेताले एक सय ३८ सदस्यको समर्थन लिन सक्नु पर्छ । सत्ता गठबन्धनमा आबद्ध दलको सख्या करिव एक सय ३५ देखि एक सय ३६ हुने देखिन्छ । त्यसैले सरकारलाई सुविधाजनक बहुमत सदस्यको समर्थन लिन सत्ता गठबन्धन आबद्ध दलका नेताहरुले तराई मधेशमा उदीयमान शक्तिको रुपमा देखिएको सीके (चन्द्रकान्त) राउत नेतृत्वको जनमत पार्टीको समर्थन र सहभागितामा सरकार बनाउने कसरत गरिरहेका छन् । त्यसो मधेश प्रदेशबाट संघीय संसदमा निर्वाचित भएका ३ स्वतन्त्र सांसदको मसर्थन सत्ता गठबन्धनका दलका नेताले पाउन सक्ने अवस्था नभएको होइन । तर पुन नपुग बहुमतको सरकार संचालन गर्न चुनौति हुन सक्ने भए पछि सीके राउतसँगको सहकार्यमा जान राजनीतिक दलहरु तयार भएका हुन् ।

नेकपा माओबादी पृष्ठभूमि भएका तर अघिल्लो बर्ष मात्र नेकपा एमाले गएका प्रभु साह र उनी निकटका किरण साहले सत्ता गठबन्धनकै सहयोग र समर्थनमा रौतहट क्षेत्र नम्वर ३ र २ बाट जित निकालेका छन् भने कांग्रेसको तर्फबाट उम्मेदवार भएर तीन पटक निर्वाचित भएका स्वतन्त्र सांसद डा. अमरेसकुमार सिंहको समर्थन सत्तारुढ गठबन्धनका दलले पाउने सक्ने अवस्था छ ।

सत्ता गठबन्धनमा आबद्ध दल नेकपा (एस)ले थ्रेस होल्ड कटाउन नसक्दा सत्ता गठबन्धनलाई नयाँ सरकार निर्माण गर्नमा चुनौति थपिएको छ । त्यसैले सघीय संसदको निर्वाचनमा तीन प्रतिशतभन्दा बढी मत पाएको जनमत पार्टीले समानुपातिकमा करिव ४ सिट जित्ने अवस्था देखिन्छ । जनमत पार्टीले प्रत्यक्षतर्फ पार्टी अध्यक्ष सीके राउत मात्र विजयी भएका छन् । उनले जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी क्षेत्र नम्वर २ को निर्वाचनमा भारी मतान्तरले पराजित गरेका थिए । संघीय संसदमा न्युनतम ५ जना सांसदको प्रतिनिधित्व गर्ने जनमत पार्टीले मधेश प्रदेशमा एक्लै ६ स्थानमा विजय हासिल गरेको थियो । यस्तो अवस्थामा जनमतले समानुपातिकमा पनि न्युनतम ३ सिट ल्याउन सम्भावना छ । जसले गर्दा जनमत पार्टीसँगको तालमेल र गठबन्धनले मधेश प्रदेश सरकार बनाउन पनि सहज हुने देखिन्छ ।

देउवाले नेतृत्व लिने सम्भावना

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्वर ४ बाट निर्वाचित सांसद गगन कुमार थापाले आगामी गठबन्धन सरकारको नेतृत्व आफूले लिने भन्दै गरेको प्रचारबाजी र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत महामन्त्री थापालाई आफूले कांग्रेस संसदीय दलको पहिलो बैठकमा प्रधानमन्त्रीको प्रस्ताव गर्ने भन्ने अभिव्यक्तिले साकार रुप लिन सक्ने अवस्था देखिँदैन ।

मंसिर ४ गतेको निर्वाचनमा सभापति देउवा निकटका नेताहरु गृहमन्त्री वालकृष्ण खाँण, सहमहामन्त्रीहरु उमाकान्त चौधरी, महेन्द्र यादव, भिष्मराज आङ्दम्बे, पूर्वउपसभापति विजयकुमार गच्दार जस्ता हस्तीले पराजय बेहोरे पनि हाल निर्वाचित ५७ जना सांसदमा सभापति देउवा पक्षधर ३२ जना निर्वाचित भएका छन् । पूर्वउपसभापति रामचन्द्र पौडेल, पूर्वमहामन्त्री डा. शशांक कोइराला र प्रकाशमान सिंह र बहालवाल महामन्त्री गगनकुमार थापा आफै प्रधानमन्त्रीको दाबेदार भएर प्रस्तुत भएका छन् । महामन्त्री शर्मा थापाको पक्षमा खुलेका छन् । सांसद प्रदीप पौडेल र राजनकुमार केसी कतै पनि खुलेका छैनन् ।

५७ जना निर्वाचित सांसदमध्ये डा. शेखर कोइराला पक्षधर १८ जना मात्र सांसद छन् । समानुपातिकमा आउने करिव ३२ जना सांसदमध्ये २० जना बढी सभापति देउवा पक्षधर उम्मेदवारहरु नै चयन हुने सम्भावना छ । त्यसैले सभापति देउवाले चाहेमा उनकै पक्षमा बहुमत सांसदहरु लाग्ने सम्भावना टड्कारो देखिन्छ । त्यसैले युवा नेता तथा महामन्त्री गगनकुमार थापाको संससदीय दलको नेतामा उम्मेदवार भएर जित्ने अनि संयुक्त सरकारको नेतृत्व लिने सम्भावना देखिँदैन ।

७ प्रदेशमा कुन दलले कहाँ नेतृत्व पाउने ?

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरुको औपचारिक बैठक नबसे पनि दुई पक्षिय र बहुपक्षीय अनौपचारिक छलफलले ठोस आकार लिन थालेको छ । जस अनुसार जनमत पार्टीका अध्यक्ष सीके राउतको कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट समेत भइसकेको छ । संघीय सरकार र प्रदेश सरकारमा भागबण्डा खोजेको जनमत पार्टीले महत्वपूर्ण मन्त्रालय र मधेश प्रदेशमा मुख्यमन्त्रीकै दाबी गरेपछि घनीभूत छलफल हुन थालेका छन् ।

सात वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा गठबन्धन दलको स्पस्ट बहुमत आउने देखिए पनि मधेश प्रदेशमा भने जनतम पार्टी निर्णायक शक्ति भएको छ । मधेश प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेसले १३, लोसपाले ७ तथा माओबादी र नेकपा एसले ४–४ प्रदेश सभा सदस्य गरी २८ जना निर्वाचित भएका छन् । उता एमाले एक्लैले सबैभन्दा धेरै १५ प्रदेश सभा सदस्य निर्वाचित गर्न सफल भएको छ भने जनता समाजबादी पार्टीले ९ सिट गरी २६ सिटमा जीत निकालेको छ । मधेश प्रदेशमा जनमत पार्टीका ६ जनाले प्रदेश सभा सदस्यमा जीत निकालेका छन् भने ६ जना स्वतन्त्र छन् । त्यसैले मधेश प्रदेशमा राउत नेतृत्वको पार्टी निर्णायक भए पछि यो प्रदेशमा जसपा–एमालेको गठबन्धन प्रदेश सरकार बनाउन नदिने कसरतमा लागेका कांग्रेस र माओबादी लगायतका पार्टीले जनमत पार्टीको समर्थन जुटाउन भगिरथ प्रयास गरेका हुन् ।

सत्ता साझेदार दलमध्ये नेपाली कांग्रेस बागमति, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल बनेको छ । उसले समानुपातिकमा पाउने मत समेत हिसाव गर्दा बहुमतको नजिक पुग्ने देखिन्छ । त्यसैले कांग्रेसले जुनसकुै प्रदेशको भए पनि तीन वटा प्रदेशको मुख्यमन्त्री लिने विषयमा प्रारम्भिक छलफल भएको छ । यस्तै माआबादी केन्द्रले कर्णाली र सुदूरपश्चिममध्ये एउटा प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ । उसले २ वटा प्रदेशमा पुनः मुख्यमन्त्रीको दाबी गरेको हो । नेकपा एसले देशभरका सात वटै प्रदेशमा उम्मेदवारी दिँदा जम्मा १५ प्रदेश सदस्य मात्र निर्वाचित गर्न सकेको छ । तर उसले एउटा प्रदेशमा मुख्यमन्त्रीको माग गरेको छ ।

सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच, प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र मन्त्रिमण्डलमा शक्ति वाँडफाँटको खाका भने टुंगो लागिसकेको छैन । नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

कांग्रेसका पूर्वसांसद कर्मा घलेको मृत्यु
कांग्रेसका पूर्वसांसद कर्मा घलेको मृत्यु
  • २०७९ मंसिर १९, १२: ०६

  काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद कर्मा घलेको मंगलबार (आज) निधन भएको छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा...

राष्ट्रपतिमा कांग्रेसको उम्मेद्वाररलाई विजयी गराउछौं – डा. शेखर
राष्ट्रपतिमा कांग्रेसको उम्मेद्वाररलाई विजयी गराउछौं – डा. शेखर
  • २०७९ मंसिर १९, १२: ०६

नारायणगढ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरुसँग छलफल गरेर कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउने बताएका छन् ।...

बालिका हत्यारालाई जन्मकैदको फैसला
बालिका हत्यारालाई जन्मकैदको फैसला
  • २०७९ मंसिर १९, १२: ०६

काठमाडौं । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि...